भर्खरै :

के होला पुटिन र बाइडेनबीचको बैठकमा ?

जेनेभा, १४ जून । संरा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच आसन्न भेटघाटले दुई देशबीचको तीतो सम्बन्धमा त्यत्ति ठुलो अन्तर नल्याए पनि दुई देशबीच संवादको पुनः थालनी महत्वपूर्ण हुने विश्लेषकहरूले बताएका छन् ।
निर्धारित कार्यतालिकाअनुसार बुधबार स्वीट्जरल्यान्डको जेनेभा सहरमा बाइडेन र पुटिनबीच भेटघाट हुँदै छ । जनवरी २० मा बाइडेन नेतृत्वको सरकार बनेपछि दुई देशबीचको यो पहिलो सशरीर भेटघाट हो ।
अठारौँ शताब्दीको भिल्ला ला ग्रान्गेमा हुन लागेको बैठकले दुवै देशलाई आपसी तनाव न्यून गर्न अवसर दिनेछ । साथै ह्वाइट हाउस र क्रेमलिनबीच साझा आधार पहिल्याएर सहकार्यको लागि सहज बनाउनेछ । तर, भेटघाटको भोलि नै दुई देशबीच आपसी निकटता भने बढिहाल्ने देखिंदैन ।
“शीतयुद्धयता हामी संसारमा अभूतपूर्व धुु्रवीकरण देख्दै छौँ । रुस र पश्चिमबीचको सम्बन्ध क्रमशः ओरालो लागेको छ । उनीहरूबीचको आपसी विश्वास सबभन्दा न्युनतम बिन्दुमा पुगेको छ”, जेनेभाको सुरक्षा नीति केन्द्रका निर्देशक थोमस ग्रिमिन्गरले भर्चुएल पत्रकार भेटघाटमा भने ।
“त्यसकारण दुई नेताहरूबीचको संवाद थालनी गर्ने यो उपयुक्त समय हो । विशेषतः एक पक्षले मात्र सफलतापूर्वक समाधान गर्न नसक्ने विश्वव्यापी चुनौतीहरू बढिरहेको सन्दर्भमा यो भेटघाट आवश्यक छ”, उनले थपे ।
“यो बैठकले भद्र संवादको लागि अवसर जुटाउने मेरो विश्वास छ”, ग्रिमिन्गरले भने । उनी स्वीट्जरल्यान्डका राजदूतका साथै स्वीस परराष्ट्र मन्त्रालयअन्तर्गत विभिन्न जिम्मेवार पद सम्हालिसकेका छन् ।
“जून महिनाको दुईपक्षीय शिखर सम्मेलनमा विभिन्न गम्भीर विषयमा असमझदारी कम गर्न आफ्ना रुसी समकक्षीसमक्ष कुरा राख्ने अवसर अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्राप्त हुनेछ”, लण्डनमा आधारित चितहम हाउसको रुस तथा युरेसिया परियोजनाका अध्येता म्याथ्यु बोलेगुइले भने । उनले युरोपेली नीति विश्लेषण केन्द्रको वेभसाइटमा आफ्नो लेख प्रकाशित गरेका छन् ।
“यो बैठकबाट कुनै ठोस निचोड निकालिनेमा कमैमात्र आशा गरौँ । न्यून आशा राख्नु र निराशाको लागि पनि तयार हुनु असल राज्यशिल्प हो”, म्याथ्युको लेखमा भनिएको छ ।
गत मार्च महिनामा मात्र संरा अमेरिकाले रुसी व्यक्ति र संस्थाविरुद्ध नयाँ रोक र निषेधाज्ञा घोषणा गरेको परिवेशमा यस्तो पूर्वानुमान भएको हो । रुसविरुद्ध संरा अमेरिकी निर्णयमा आयात र राहदानीमा पनि निषेध गरिएको छ ।
“तथापि, यो शिखर बैठक हुँदै छ र राष्ट्रपति बाइडेन र पुटिनबीच आपसमा सकारात्मक ढङ्गले कुराकानी हुनेछ”, उनले भने ।
“अहिले नै सम्बन्ध सामान्य बन्ने अपेक्षा गर्नु अपरिपक्वता हुनेछ । म लगातारको द्वन्द्वबीच संवाद र निश्चित क्षेत्रमा सहकार्यको सहअस्तित्वको अपेक्षा गर्छु”, उनले थपे ।
पेचिला विषय
चुनावमा हस्तक्षेप, साइबर हमला, मानवअधिकार र युक्रेनजस्ता दुई देशबीच गहिरो मतभेद र असहमतिबीच शिखर बैठक हुँदै छ ।
जेनेभाको ग्राजुएट इन्स्टिच्युटको अन्तर्राष्ट्रिय इतिहास र राजनीति विभागका प्रमुख एवम् अन्तर्राष्ट्रिय इतिहास र राजनीतिका प्राध्यापक मोहम्मद मोहमद औद मोहमेदोले भने, “दुवै पक्षले धेरै विषयमध्ये केही विषयमा सहकार्यको कुनै विकल्प नै नभएको अनुभव गराउन केही समय लाग्ने छ । तर, हामीले वास्तवमै हामीले प्रतीक्षा गर्नुपर्नेछ ।”
“हामी अवस्तुगत वा अति उच्च आकाङ्क्षी बन्नु हुन्न । रिस मरेपछि आज दुवै पक्ष संवादमा फर्केका छन्”, उनले भने ।
संरा अमेरिकी पक्षले यसअघि आफ्नो लक्ष्य दुई देशबीचको सम्बन्धमा ‘पूर्वानुमान गर्न सकिने अवस्था र स्थायित्व’ फर्काउनु भएको बताएको थियो । रुसी पक्षले दुईपक्षीय सम्बन्ध, रणनीतिक आणविक स्थायित्वसँग सम्बन्धित समस्या, कोभिड–१९ विरुद्धको लडाइँ र क्षेत्रीय द्वन्द्वजस्ता विषय संवादमा आउने बताएको थियो ।
“तर, हामीले अपेक्षाको व्यवस्थापन गर्नुपर्छ । द्वन्द्वको अवस्था त कायम नै रहनेछ । राष्ट्रपति बाइडेन आफै रुसको मामिलामा निकै कडा रहँदै आएका छन् । पुटिन पनि उनीभन्दा कम छैनन्”, ग्रिमिन्गरले भने ।
“तथापि, यदि दुवै पक्षको चासोका निश्चित विषयमा संवाद र सहकार्य भए त्यसले भविष्यमा राम्रो परिणाम दिनसक्छ”, प्राध्यापकले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *