भर्खरै :

‘केही कृति : केही अभिव्यक्ति’ अध्ययन गर्दा

चित्तरञ्जन नेपाली (नारायणप्रसाद राजभण्डारी) नेपाली साहित्यमा पहिलेदेखि सुनिएका, पढिएका र परिचित नाम हो । ‘केही कृति : केही अभिव्यक्ति’ संवत् २०५८ मा श्रीमती मेरी राजभण्डारी, कपनमार्ग, बाँसबारी, काठमाडौँ–३ बाट प्रकाशित रचनाहरूको सङ्कलन हो ।
‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ (२०१३ साल), ‘श्री ५ रणबहादुर शाह’ (२०२० साल) तथा ‘मुद्राराक्षस’, ‘खैय्यामया रूबाइ’ जस्ता अन्य लेख–रचना र अनुवाद साहित्यबाट परिचित लेखकलाई यस सङ्कलनबाट विविध विषयको जानकारी प्राप्त भएको अनुभव हुन्छ ।
२०५७ मंसिर २१ को दिन माधवलाल कर्माचार्यको परिचयबाट लेखकको २०५८/३/१/७ मितिको ‘मेरो भनाइ’ पछि ‘सायमिको मतिनामाथि एक दृष्टिकोण’ र ‘बहुलाकाजीको सपना’ एक परिचयले लेखक नेपालभाषा र नेपाली भाषाका साहित्य अनुरागी पनि हुनुहुन्छ भन्ने थाहा हुन्छ ।
नेपालभाषामा उपन्यासकार धुस्वा सायमि ‘मतिना’ नामको उपन्यासको मोटाइ, परिच्छेद, पात्रको संयोजन र समाजको परम्परागत चिन्तनबारे उपन्यासले भन्दा समालोचक चित्तरञ्जनजीले २०१६ सालमै खुलेर समाजलाई उदाङ्ग्याउनुभयो ।
नेपाली भाषाका कवि, लेखक र उपन्यासकार विजय मल्लको ‘बहुलाकाजीको सपना’ तथा कृष्णप्रसाद रिमालद्वारा निर्देशित उक्त नाटकसँग पाठकसँग परिचित गराउनुहुन्छ – चित्तरञ्जनजी । उहाँले २०२३ साल चैतको त्यस परिचयमा समकालीन जल्दाबल्दा कवि देवकोटा र नाटककार सम तथा तत्कालीन डबु र लेखकहरूको दृष्टिकोणबारे पनि स्पर्श गर्नुभएको छ ।
ऐतिहासिक पृष्ठभूमिमा लेखिएको डायमनशमशेरको ‘सेतो बाघ’ लाई ऐतिहासिक, काल्पनिक वा सामाजिक के उपन्यास हो भन्ने निक्र्योलबारे चित्तरञ्जनजीले छलफल सजिलो गराउन ४९ वटा टिप्पणी एवम् ८ वटा अङ्ग्रेजी र नेपाली पुस्तकहरूको स्रोत ग्रन्थहरूको नाम उल्लेख गर्नुभएको छ – भदौ २०३१ मा । यसरी लेखकले आवश्यक ग्रन्थ र पुस्तकहरूको आधारमा साहित्यको विवेचना गर्नु उपयुक्त हुने कुरो व्यवहारबाट देखाउने काम गर्नुभयो ।
त्यस्तै, उत्तम कुँवरको २०२०–२१ सालतिर जीवित लेखक, कवि, कलाकार, अनुवादक आदिसँग अन्तर्वार्ता र विषयवस्तु आ–आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने योजना थियो । ‘प्रस्तावनाः स्रष्टा र साहित्य’ शीर्षकको लेखमा तत्कालीन साहित्य र लेखकहरूको सक्रियताको परिचय दिनुहुन्छ – १२ चैत २०३३ सालमा लेखकले ।
आफ्नो अनुवाद साहित्य ‘मुद्रा राक्षस’ को ‘नाटकमा राक्षस’ मा घोत्लिनुहुन्छ चित्तरञ्जनजी ४० टिप्पणी र ८ वटा स्रोत ग्रन्थहरूको सूचीसहित २०३८ साल मंसिर ८ गते ‘मुद्रा राक्षस’ ‘नाटकमा राक्षस’ शीर्षकमा ।
संवत् २०३९ वैशाख १५ को ‘प्राक्कथन : अनुभव र अनुभूतिको’ शीर्षक, ‘मुद्रा राक्षसको अनुवाद चर्चा ऐतिहासिक पृष्ठभूमि’ मा समालोचक चित्तरञ्जन नेपालीले २०५६ सालको टिप्पणी र २०४० साल फागुन ८ गते २२ वटा टिप्पणीसहित परिशिष्टमा चन्द्रशमशेरले खड्गशमशेरलाई लेखेको पत्रको प्रतिलिपि तथा ९ वटा स्रोतग्रन्थहरूको सूची प्रस्तुत गर्नुभयो ।
‘मालती मङ्गलेको प्रदर्शन : एक अभिव्यक्ति’ मा १४ टिप्पणी, परिशिष्ठ र तीन स्रोतग्रन्थ एवम् पत्रिकामा गोर्खापत्र वर्ष ८५ अङ्क ६३ समालोचकले संवत् २०४२ साल असारमा लेख्नुभएको मिति समावेश छ ।
विजय मल्लको ‘कुलां चकनीतिनि : एक अभिव्यक्ति’ अर्थात् (शिक्षित फैलिनेछ) मा विश्वविद्यालयका छात्रछात्राहरूद्वारा मञ्चन गरिएको नाटकबारे चित्तरञ्जनजीले तत्कालीन समाजको शिक्षितहरूको जातीय भावनालाई खण्डन गर्ने उद्देश्यले लेखिएको नाटकबारे २०४२ सालमै समालोचना गर्नुभयो ।
२०४७ चैत २० गते नेपालभाषाका कवि दुर्गालालजीका आन्दोलनका कविताहरूबारे ६ टिप्पणीसहितको ‘भूमिका : इन्किलाबको पदचापको’ कवि हृदयको भावनाको ओतप्रोत कविताको समालोचना प्रस्तुत छ ।
१५ पाद टिप्पणी र ६ स्रोत ग्रन्थहरूको पृष्ठभूमिमा ८ भदौ २०५७ मा समालोचक चित्तरञ्जनले युगकवि सिद्धिचरण श्रेष्ठको ‘भीमसेन थापा’ को प्रकाशोन्मुख खण्डकाव्यमा बेलायती उपनिवेशवादीहरू र तिनीहरूका मतियार तथा नेपाली षड्यन्त्रकारीहरूबाट चलखेल भएको स्पष्ट पार्नुभएको छ । भीमसेन थापाले आत्महत्या गरेको झूट हो । एसिया, अफ्रिका र ल्याटिन अमेरिकी उपनिवेशहरूमा पनि साम्राज्यवादीहरूले स्वतन्त्रता र स्वाधीनताको सङ्घर्षमा नेतृत्व गर्ने नेताहरूलाई जिउँदै पिँजडामा राखेर युरोपमा लगेको र टाउकोसमेत बेलायत लगेको इतिहासमा उल्लेख छ । भीमसेन थापाको टाउको पनि बेलायतीहरूले नै लगेको हुनुपर्छ भन्ने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *