यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
परम्परागत परीक्षा प्रणाली
महाव्याधि र सिकाइ प्रक्रिया
कोरोना महाव्याधिले संसारभर सबै क्षेत्रलाई लथालिङ्ग पार्दै मानव सभ्यतालाई प्रलयको डिलमा पु¥याइदियो । आजसम्म ठीक लागेका कुराहरू, राम्रा मानिएका आर्थिक, राजनैतिक तथा अन्य नीति र व्यवस्थाहरू, मानवीय व्यवहार के साँच्चिकै राम्रा हुन् र भन्ने नयाँ बहसलाई यो महाव्याधिले सतहमा ल्याइदियो । भौतिकरूपमा मानिसहरू समूहमा बस्न नमिल्ने हुँदा मानिसलाई एकान्तवास र एकलवास बस्नुपर्ने अवस्थामा पु¥याइदियो । एउटै कक्षा कोठामा धेरै जनासँगै बसेर ज्ञान र सीप सिकाइको प्रक्रियामा रहेका हाम्रा नानीहरू घरको साँघुरो कोठामा मोबाइल र कम्प्युटरको स्क्रीन अगाडि बसेर सिकाइलाई अगाडि बढाउनुपर्दा सुरुमा यसलाई हामीले सहजरूपमा स्वीकार्न सकेनौँ । के यस्तो पनि सिकाइ हुन्छ ? के नानीहरूले यसबाट केही सिक्न सक्लान् ? यस्तो पनि पठनपाठन हुन्छ ? यही विषयमा गन्थनमन्थन र बहस गर्दै विगत १३ /१४ महिनाको समयमा हामी यसमै अभ्यस्त हुँदै गयौँ ।
जब राष्ट्रिय स्तरका कक्षाहरूको परीक्षाको समय आयो । फेरि अर्को बहस चल्यो, के अनलाइन माध्यमबाट सिकाइको मूल्याङ्कन गर्न सम्भव छ र ? भौतिकरूपमा एसईई परीक्षा सञ्चालन गर्न नसकिने अवस्था आएपछि गत वर्ष पनि आन्तरिक मूल्याङ्कनकै आधारमा विद्यार्थीहरूको सिकाइ मापन गरियो । तर, गैरजिम्मेवार विद्यालय र शिक्षकहरूको बदमासीले यस्तो आन्तरिक मूल्याङ्कनको वैधता र वैज्ञानिकतामा ठूलो प्रश्न उठ्यो । यस वर्ष पनि हामी त्यही अन्योलमा रह्यौँ । तर, सिकाइ मूल्याङ्कनको अर्को विकल्प नरहेको अवस्थामा यसलाई नै निरन्तरता दिन बाध्य भयौँ । यद्यपि, हिजोको बदमासीलाई रोक्न शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कनको एउटा नयाँ आधार तयार गरी सार्वजनिक गरिसकेको छ ।
महाव्याधिले सिकाइको परम्परागत सोचमा परिर्वतन ल्याउन हामीलाई केही हदसम्म बाध्य पारेकै हो । त्यसका साथै अब सिकाइको मूल्याङ्कन के र कसरी भन्नेबारे पनि हामीलाई घोत्लिन विवश पारेको छ । जसरी कक्षा कोठाभित्र हुने सिकाइलाई मात्र सिकाइ ठान्ने हाम्रो मानसिकता छ, त्यस्तै कक्षा कोठाभित्रकै तीनघण्टे परीक्षालाई मात्र सिकाइ मापनको आधार मान्ने मानसिकता पनि उत्तिकै प्रबल छ । त्यसैले, यो सानो आलेखमा हामीकहाँ सिकाइ मूल्याङ्कनको प्रचलित मान्यता र परम्परा एवम् नयाँ र वैज्ञानिकता के हो र संसारकै अब्बल मानिने फिनल्यान्डमा सिकाइ मूल्याङ्कनको प्रचलित प्रणालीबारे केही चर्चा गर्ने जमर्को गरिएको छ ।
नेपालमा भूतरूपी परीक्षा
नेपालमा चाहे विद्यालय तहको होस् या कलेज या विश्वविद्यालय तहको, परीक्षा भनेबित्तिकै यसलाई सहजरूपमा लिइँदैन । कोही तर्सन्छन्, कोही झस्कन्छन्, कोही गल्छन् र कोही मनोवैज्ञानिकरूपमा बिरामी नै पर्छन् । किनकि, हाम्रो प्रचलित शैक्षिक प्रणालीले विद्यार्थीको वर्षभरिको सिकाइको मूल्याङ्कन केही घण्टाको परीक्षाको आधारमा गरिन्छ । वर्षभरि सिकेका ती कुराको जाँच शैक्षिक वर्षको अन्त्यमा लिइने परीक्षामा विद्यार्थीले सिकेको आधारमा होइन कि कण्ठ वा घोकेको आधारमा कापीमा लेख्न सकेको आधारमा गरिन्छ । पुस्तक वा शिक्षकले दिएको नोट या टिपोट हुबहु सो परीक्षामा लेखेको आधारमा उसको सिकाइ मापन गरिन्छ । केही घण्टाको त्यस परीक्षामा अलिकति तलमाथि हुनासाथ जो कोहीलाई पनि असफल घोषित गरिन्छ । यस्तो मूल्याङ्कन प्रणालीले विद्यार्थीको बहुआयामिक क्षमता, ज्ञान र सिर्जनशीलताको मापन कति सही तरिकाले गर्नसक्दछ भन्ने विषय सोचनीय छ । यस्तो परम्परागत शैलीअनुसार वर्षको अन्त्यतिर गरिने परीक्षासम्म आइपुग्दा वर्षको सुरुमा पढाइएको पाठ विद्यार्थीले बिर्सिसकेका हुन्छन् । यस्तो अवस्थामा विद्यार्थीले परीक्षाको अघि थोरै र सीमित समयमा कण्ठ गरेर परीक्षाको लागि तयारी गर्नुपर्ने हुन्छ । यसकारण यस्तो मूल्याङ्कन प्रणालीबाट विद्यार्थीको सिकाइको होइन, घोकाइको मात्र मापन हुने गर्छ । यस्तो मूल्याङ्कन पद्धतिको बारेमा अब हामीले सोच्न ढिलो गर्नुहुँदैन ।

फिन्डल्यान्ड र फरक मूल्याङ्कन प्रणाली
फिनिस शिक्षा प्रणालीमा माध्यमिक तहसम्म कुनै राष्ट्रिय स्तरका परीक्षा लिने गरिँदैन । गणित र भाषा विषयहरू जस्तैः अङ्ग्रेजी, फ्रान्सेली र स्वीडिसको राष्ट्रिय स्तरका परीक्षाको व्यवस्था गरिएको छ । तर, शिक्षकको निर्णयअनुसार विद्यार्थीहरूले आन्तरिक वा देशव्यापी कुनै पनि परीक्षा दिएर कक्षा पास गर्नसक्दछन् । यसका साथै हरेक परीक्षाको बनोट, किसिम र परीक्षाको माध्यमबाट के कुरा मूल्याङ्कन गर्ने भन्ने कुरा सबै शिक्षकहरूले नै निर्णय गर्छन् । यस विषयमा निर्णय गर्दा परीक्षाको उद्देश्य हरेक विषयको पाठ्यक्रमअनुसार विद्यार्थीले सिक्नुपर्ने कुराहरू पहिल्याई ती उद्देश्यहरू विद्यार्थीले प्राप्त गरेको वा नगरेको मूल्याङ्कन गर्नसक्ने परीक्षाको ढाँचाको निर्माण (वा डिजाइन) गरिन्छ । यसकारण, हरेक पाठ (chapter) अथवा केही पाठहरूको अध्यापन सकेपछि वर्षभरिका फरक किसिमका परीक्षाहरू लिएर निरन्तर मूल्याङ्कन प्रक्रिया -Continuous Assessment System) को माध्यमबाट हरेक विद्यार्थीको मूल्याङ्कन गरिन्छ र वर्षको अन्त्यमा सबै परीक्षाहरूको प्राप्ताङ्क सङ्कलित रिपोर्ट विद्यार्थीलाई दिइन्छ ।

फिनिस मूल्याङ्कन प्रणालीको मुख्य विशेषता भनेको विद्यार्थीको स्वयम् सिक्ने क्षमता (self-learning ability) को मापन गर्नु हो । यसका साथै परीक्षाको उद्देश्य विद्यार्थीलाई आफ्नो प्रगतिको बारेमा सचेत हुन सिकाउने तथा आफ्नो स्वयम् मूल्याङ्कन (self-evaluation) र अरू साथीको मूल्याङ्कन गर्न प्रेरित गरी सकारात्मक र सिर्जनात्मक पृष्ठपोषण (Positive&constructive feedback) दिन र लिन सक्षम बनाउनु रहेको देखिन्छ । विद्यार्थीको मूल्याङ्कन प्रक्रियाअन्तर्गत परीक्षा डिजाइन गर्दा सिकाइको विभिन्न क्षेत्रहरू जस्तैः सम्झने, बुझ्ने, विश्लेषण गर्ने इत्यादि सीप पहिचान गरेर ती सीपलाई प्राथमिकतामा राख्ने गरी हरेक सीपको लागि छुट्टै अङ्क दिइन्छ । यस प्रक्रियाअनुसार सम्झने अथवा कण्ठ गर्ने सीपलाई सबैभन्दा कम अङ्क र सिर्जनशील सीपलाई सबैभन्दा बढी अङ्क र महत्व दिइन्छ । त्यसबीचमा विद्यार्थीको बुझ्न सक्ने क्षमता, सिकेको कुरालाई व्यवहारमा प्रयोग गर्नसक्ने क्षमता, आफ्नो विश्लेषणात्मक र मौलिक विचार राख्नसक्ने सीप, मूल्याङ्कन गर्ने सीप आदिलाई क्रमैसँग प्राथमिकताको रूपमा सिकाइको आधार र उद्देश्यको रूपमा राखिन्छ । सिकाइको यस आधार र उद्देश्यलाई शिक्षाशास्त्रमा ब्ल्यूम टाक्सोनोमी भनिन्छ । सन् १९५६ मा अमेरिकी शिक्षा मनोविज्ञ बेन्जामिन ब्ल्युमले आफ्ना अन्य सहयोगीसँग मिली सिकाइको वर्गीकरण र सिकाइको उद्देश्यबारेमा एक वैज्ञानिक आधारको विकास गरेका थिए । (ब्ल्युम टाक्सोनोमीको सिकाइको वर्गीकरण बुझ्न दिइएको पिरामिड डाइग्रामलाई हेर्नुस् ।)
फिनिस विद्यालयका विद्यार्थीहरूलाई परीक्षाको नतीजाअनुसार प्रथम, दोस्रो गरेर चबलपष्लन गरिँदैन । यसले गर्दा विद्यार्थीहरूमाझ आफ्ना साथीहरूसँग अनावश्यक र अमैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने बानी बस्दैन । बरु, हरेक विद्यार्थीले आफ्नै प्रगतिको प्रक्रिया बुझ्न र आफैसँग प्रतिस्पर्धा गरी हरेक समय मिहिनेतका साथ नयाँ कुरा सिक्ने बानी बसाल्न सानो बेलादेखि नै प्रेरित गर्छ । केही विषयका परीक्षाहरू विद्यार्थी उपस्थित हुनेबित्तिकै उत्तीर्ण गराइन्छ र यस्तो परीक्षामा ग्रेड दिइँदैन । अरु सबैजसो विषयका परीक्षाहरूमा १ र ५ बीचको स्केलमा ग्रेड दिइन्छ जसमा १ भनेको उत्तीर्णाङ्क र ५ भनेको पूर्णाङ्क (full mark) हो । परीक्षामा मूल्याङ्कन गर्दा विषयगत ज्ञान जाँच्नेमात्र नभई विद्यार्थीको सिक्न सक्ने क्षमता, विषयप्रतिको उत्सुकता, समूह कार्य(group work) को हकमा विद्यार्थीको सामाजिक, सञ्चार तथा भाषागत सीप, नेतृत्व गर्ने सीप (social, communication, language skills, team leading skills) र सिर्जनशीलता इत्यादिलाई मूल्याङ्कनको आधार बनाइएको हुन्छ ।
यी विभिन्न सीपहरू मूल्याङ्कन गर्न शिक्षकहरूले विषय र जाँच्न खोजेको सीपको आधारमा विभिन्न किसिमका जाँचको तर्जुमा गर्छन् । उदाहरणको लागि विद्यार्थीको सिक्न सक्ने सीप तथा किताब वा विषयगत जानकारी जाँच्नको लागि खुला किताब परीक्षा open book exam) सीमित समय दिएर लिइन्छ । त्यसैगरी कक्षामा पढेको किताबी ज्ञानको व्यवहारिक प्रयोगको लागि परियोजना कार्य (project work) दिएर त्यसैलाई परीक्षाको रूपमा मूल्याङ्कन गरिन्छ । कुनै शिक्षकहरूले परीक्षा सकेपछि विद्यार्थीहरूलाई स्वयम् मूल्याङ्कन र अर्को विद्यार्थीको मूल्याङ्कन गर्न पनि दिइन्छ । यस प्रक्रियामा नियमसङ्गत र निष्पक्ष भई व्यवसायिक इमानदारितालाई ध्यानमा राखेर मूल्याङ्कन गर्न विद्यार्थीलाई सिकाइन्छ । त्यसैगरी परीक्षाको मूल्याङ्कनप्रति विद्यार्थी असन्तुष्ट भएको अवस्थामा विद्यार्थीले शिक्षकसँग पुनः परीक्षाको निवेदन गरी केही समयपछि नै अर्को परीक्षा दिने व्यवस्था हुनु पनि यस प्रणालीको अर्को महत्वपूर्ण विशेषता हो ।
विद्यार्थीको पढाइ यदि परीक्षाकेन्द्रित भएको अवस्थामा कण्ठ गरेर राम्रो अङ्क प्राप्त गर्नतिर विद्यार्थी लाग्नु स्वाभाविक हो । तर, कण्ठ गरेको सिकाइ दिगो नहुनेमात्र होइन त्यसको व्यवहारिक प्रयोग पनि हुँदैन । साथै यस्तो पढाइले बाहिरी जीवनका नयाँ कुरा सिक्न र नयाँ विचार सिर्जना गर्न पनि खासै मद्दत पु¥याउँदैन । सायद यही कारणले गर्दा फिनिस शिक्षा प्रणालीअन्तर्गत परीक्षाप्रति डर र त्रास जगाउनुभन्दा परीक्षाको माध्यमबाट सिक्न र स्वयम् मूल्याङ्कन गर्न विद्यार्थीलाई प्रेरित गरेको हुन्छ ।
भूते परीक्षालाई बिदा गर्न अब ढिलो नगर्ने कि ?
शिक्षा क्षेत्रको कुरा गर्दा तुलनात्मकरूपमा नेपालमा हाल प्रचलित प्रणाली परम्परागत नै छ भन्दा फरक नपर्ला । संसारका राम्रा शिक्षा प्रणाली भएका देशहरूमा पाठ्यपुस्तक होइन, पाठ्यक्रमको आधारमा पठनपाठन हुन्छ । तर, हामीकहाँ यो अझै टाढै देखिन्छ । तर, ढिलै भए पनि आधारभूत तहका कक्षा १, २ र ३ मा यस वर्षबाट एकीकृत पाठ्यक्रम लागु गरिसकेको छ । तीनघण्टे परीक्षालाई नै सिकाइ मापनको वैज्ञानिक आधार मान्दै आएका हामी नेपालीहरू अपर्झट आन्तरिक मूल्याङ्कनको आधारमा एसईई र १२ कक्षालगायत राष्ट्रिय स्तरका अन्य परीक्षाको सञ्चालन गर्नुपर्दा ठूलो अन्योलमा परेको अनुभव गरिरहेका छौँ । पूर्व प्राथमिक र प्राथमिक तहमा क्रमशः निरन्तर मूल्याङ्कन प्रक्रियालाई लागु गरिएको छ भने पूर्णरूपमा यसलाई लागु गर्ने र यसमा अभ्यस्त हुन बाँकी नै छ । अन्तर्राष्ट्रिय र वैज्ञानिक शैक्षणिक प्रणालीभित्र नेपाललाई समावेश गर्ने हो भने ढिलो वा चाँडो विश्वासिलो आन्तरिक मूल्याङ्कन प्रणाली र निरन्तर मूल्याङ्कन प्रणालीलाई आत्मसात गर्नुबाहेक हामीसँग हाललाई अरू विकल्प छैन । विद्यार्थीहरूमा नयाँ र सिर्जनात्मक सीप र क्षमताको विकास गराउनको लागि परम्परागत ३ घण्टे विद्यार्थी तर्साउने भूते परीक्षालाई बिदा गर्न अब ढिलो गर्नुहुँदैन । हो, नयाँ र वैज्ञानिक मूल्याङ्कनको आधारमा सिकाइ मापन गर्न शिक्षक तालिम र उनीहरूमा हुनुपर्ने पेशागत नैतिकता र इमानदारिता, समाजको शिक्षा र शिक्षकप्रतिको गलत बुझाइजस्ता चुनौतीहरू भने अझै बाँकी छन् ।
योगेन्द्रमान बिजुक्छेँ शिक्षक हुनुहुन्छ । नरेन्द्र कोजुले फिनल्यान्डमा वातावरण विज्ञानमा (अक्वाटिक विज्ञान प्रमुख) स्नातकोत्तर गर्नुभएको छ । कोजु हाल फिनल्यान्डमै कर्पोरेट वातावरण व्यवस्थापन विषयमा अध्ययनरत हुनुहुन्छ ।)
असार ४, २०७८
Very nice!
very informative!!