भर्खरै :

नेपालमा रसायनिक मल कारखाना सरकारले चाहे बनाउन सक्छ

काठमाडौँ, ५ असार । रोपाइँको चटारो छ । माना रोपेर मुरी फलाउन किसानहरू पानीमा रुझ्दै र घाममा डढ्दै धान रोप्न व्यस्त छन् । यही बेला सञ्चारमाध्यमहरूमा भने ‘रसायनिक मल नपाएर किसानहरू चिन्तित’ शीर्षकका समाचार प्रकाशित भइरहेका छन् । रोपाइँको समयमा रसायनिक मलको अभावका समाचार आएको यो पहिलो वर्ष भने होइन । नयाँ कुरालाई नै मात्र समाचार मान्ने हो भने अब यो कुनै समाचार नै रहेन । मलको अभाव हरेक वर्ष दोहोरिने नियमित चक्रजस्तै बनेको छ । रोपाइँको मारामार हुञ्जेल मल अभावको समाचारले बजार पिट्छ, सञ्चारमाध्यममा भङ्गेरा अक्षरमा समाचार छापिन्छन् । असार–साउन सकिएपछि क्रमशः सेलाउँदै जान्छ । अनि फेरि अर्को वर्षको जेठ–असारसम्मको लागि यस्ता समाचार र शीर्षक बिलाउँछन् ।
रसायनिक मलको अभावजस्तै पुरानो कुरा हो रसायनिक मल कारखाना स्थापनाको विषय पनि । नेपालमै रसायनिक मल कारखाना स्थापनाको कुरा पञ्चायतकालदेखिको कुरा हो । पञ्चायत बिदा भएको पनि तीस वर्ष बितिसकेको छ । तर, कृषिप्रधान देशमा अझै पनि यो कुरा कुरैमा सीमित छ । मल कारखाना बनाउने विषयमा केही कार्यदल पनि बने, केही थान प्रतिवेदन पनि तयार भए । तर, ती देशले भने अझै पनि छिमेकीसँग मल पैँचो ल्याउनुपरेको छ ।
रसायन इन्जिनियरहरू भने राज्यले रसायनिक मल कारखाना स्थापनालाई प्राथमिकतामा नराख्दा नेपाली किसानले हरेक वर्ष मलको अभाव भोग्न बाध्य भएको बताउँछन् । उनीहरूले नेपालमै रसायनिक मल कारखाना स्थापना सम्भव र आवश्यक भएकोमा प्रशस्त आधार दिएका छन् । शनिबार सामाजिक सञ्जाल ‘क्लव हाउस’को फल्चामा ‘नेपालमा रसायनिक मल कारखाना स्थापनाको आवश्यकता’ विषयमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै विज्ञहरूले राज्यले रसायनिक मल कारखानालाई रणनीतिक परियोजनाअन्तर्गत प्राथमिकतामा राखी चाँडै स्थापना गरे देशको आर्थिक विकासमा मद्दत पुग्ने बताए ।
“६६ प्रतिशत मानिस कृषिमा आधारित छन् । हरेक वर्ष ७ लाख मेट्रिक टन रसायनिक मलको माग छ । तर, नेपालमै अधिकांश कच्चा पदार्थ उपलब्ध भएर पनि देशमा रसायनिक मल कारखाना नहुनु दुर्भाग्य हो”, उद्योग मन्त्रालयका सहसचिव एवम् रसायनिक इन्जिनियर डा.चन्डिका भट्टले भन्नुभयो ।
नेपालमा लामो समयदेखि माटोमा युरिया मलको प्रयोग भइसकेको हुनाले तत्काल त्यसको प्रयोग बन्द गर्दा उत्पादकत्व घट्ने भएकोले अझै केही समय युरियाको विकल्प नभएको उहाँको तर्क थियो ।
“अब जाने बाटो अर्गानिक खेतीतिर नै हो । तर, त्यसको निम्ति अझै केही दशक लाग्न सक्छ । हाम्रो माटोलाई युरिया माटोको बानी परिसकेको छ । त्यसकारण, उत्पादकत्व बढाउन युरियाको तत्काल विकल्प छैन”, डा.भट्टले भन्नुभयो ।
अर्का रसायन इन्जिनियर डा. विवेक उप्रेतीले रसायनिक मल कारखानाको स्थापना देशको आर्थिक विकासको निम्ति ‘गेम चेन्जर’ अर्थात् ‘फरक परिणाम दिने’ परियोजना हुनसक्ने बताउनुभयो ।
रसायनिक मल उत्पादनका दुई वटा प्रविधि हुन्छन् । पहिलो पाइप लाइनबाट प्राकृतिक ग्यास ल्याएर त्यसबाट मल उत्पादन गर्ने र दोस्रो हावाबाट कार्बन डाइअक्साइड तानेर अन्य रसायनसँग मिलाएर मल बनाउने । भारतको आयल कर्पोरेसन आइओसीको आग्रहमा पहिलो प्रविधिबाट रसायनिक मल उत्पादनबारे अध्ययन भइसकेको छ । त्यसको निम्ति नेपालले भारतबाटै पाइप लाइनबाट ग्यास ल्याउनुपर्नेछ । सरकारले नवलपरासीको बर्दघाट र धनुषाको ढल्केवरमा प्रस्तावित कारखाना स्थापना यही प्रविधिअन्तर्गत अध्ययन भएको थियो । तर, नेपालले फेरि पनि कच्चा पदार्थको निम्ति भारतकै भरपर्नुपर्ने हुन्छ ।
“आइओसीले आफ्नो बजार विस्तारको क्रममा त्यो प्रस्ताव नेपाललाई दिएको देखिन्छ”, डा.भट्टले भन्नुभयो ।
यी दुई प्रविधिमध्ये दोस्रो प्रविधि नेपालको लागि उपयुक्त हुने डा. उप्रेतीको भनाइ छ ।
“त्यसको निम्ति हामीसँगै भएका प्राकृतिक स्रोत साधनको प्रयोग गर्नसक्छौँ”, उहाँले भन्नुभयो ।
सरकारले अहिले नै हरेक वर्ष ५ अर्ब रुपैयाँको अनुदान मलमा दिइरहेको छ । त्यही पैसालाई हामीले मल कारखाना बनाउन लगानी गर्न सके देशको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो । समयमै मलखाड किसानलाई दिन सके कृषि उत्पादनमा वृद्धि हुने र त्यसले देशको आर्थिक र सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो ।
“आफ्नै देशमा मल कारखाना भए राष्ट्रिय छवि उकासिनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा कूटनीति उचाइ पनि बढ्नेछ”, डा. उप्रेतीले भन्नुभयो ।
मल उत्पादनभन्दा आयात नै ठीक ?
छलफलमा केही सहभागीले नेपालमा चालू विद्युत्को मूल्यको आधारमा प्रतिबोरा मल उत्पादनको मूल्य आयात मूल्त्न्दा बढी हुने हो कि भनी प्रश्न गरे । तर, नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर सद्दाम बालाले आगामी सन् २०२४–२५ भित्र नेपालको कुल विद्युत् उत्पादन ६ हजार मेगावाट पुग्ने अवस्थामा आवश्यकताभन्दा बढी विद्युत्को लागि भारतको बजार खोज्नुभन्दा नेपालमै उद्योग स्थापनामा प्रोत्साहन दिनु उपयुक्त हुने बताउनुभयो ।
“भारतलाई विद्युत् बेचेर देशलाई धनी बनाउने सोच अझै धेरैको दिमागमा छ । तर, प्रतिस्पर्धात्मक भारतको बजारमा विद्युत् बेच्नु भनेको सस्तोमा विद्युत् दिनु हो । त्यसो गर्नुभन्दा देशमै उद्योग कलकारखाना स्थापनामा जोड दिनुपर्छ । मल कारखाना एउटा उपयुक्त विकल्प हुनसक्छ”, उहाँले भन्नुभयो ।
अहिले देशका अधिकांश बैङ्कले जलविद्युत्मा लगानी गर्न खोजिरहेका छन् । तर, उत्पादित विद्युत् कहाँ खपत गर्ने भन्नेबारे कुनै योजना छैन । त्यसकारण, सरकारले बैङ्कहरूलाई पनि उद्योग क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न जरुरी भएको बालाको भनाइ थियो ।
वातावरणीय प्रदूषणको चुनौती
डा. चण्डिका भट्ट मल कारखानाले वातावरणीयरूपमा घातक प्रभाव पार्ने बताउनुहुन्छ । “नेपालमा वातावरण प्रभाव मूल्याङ्कन (ईआइए) औपचारिकतामा मात्र सीमित छ । मल कारखाना उच्च तापक्रम र उच्च चापमा काम हुने उद्योग हो । त्यस्ता उद्योगले वातावरण र मानव स्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्न सक्छ”, उहाँले भन्नुभयो ।
तर, डा. विवेक उप्रेती भने वातावरणीय प्रभाव कम गर्ने प्रविधि पनि विकास भइसकेको हुनाले घातक ग्यास उत्सर्जन न्यून गर्न सकिने बताउनुभयो ।
हावाबाट कार्बन तानेर बनाइदिने परियोजना कार्बन शून्य प्रक्रिया हो । त्यसकारण, त्यसबाट वातावरणमा ठुलो प्रतिकूल प्रभाव नपर्ने उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *