भर्खरै :

हेलम्बु–मेलम्ची बाढीबारे बाग्मती प्रदेश मामिलामा छलफल

काठमाडौँ, ५ असार । बाग्मती प्रदेश सभाको प्रदेश मामिला समितिले सिन्धुपाल्चोककोको हेलम्बु, मेलम्चीलगायतका क्षेत्रमा हालै गएको बाढी पहिरोबारे शनिबार छलफल ग¥यो । पीडित स्थानीय बासिन्दालाई राहत सहयोग उपलब्ध गराउनेदेखि दीर्घकालीन योजना निर्माणबारे समितिका सदस्यहरूले धारणा राखे ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले विपद्मा सरकार संवेदनशील तथा जिम्मेवार नदेखिएको प्रस्ट पार्नुभयो । दीर्घकालीन सोच तथा योजनाबद्ध ढङ्गमा सरकारले काम नगर्नाको कारण जनता दुःख भोग्न बाध्य भइरहेको चर्चा गर्दै प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार तथा सेवाका निम्ति तीनै तहका सरकारको सहकार्य तथा समन्वयात्मक भूमिका आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले विपद्मा सरकार सक्रिय नहुनु, उल्टै कमजोर तथा उदासीन देखिनु दुर्भाग्यपूर्ण भएको चर्चा गर्नुभयो । सांसद गोसाईले भन्नुभयो, “यतिखेरको आवश्यकता सामान्य राहतमात्र होइन । केही सामान्य वस्तु वितरणमा सरकार सीमित हुनु उपयुक्त हुँदैन । हेलम्बु – मेलम्चीको अप्रिय घटनाबाट पाठ सिकेर कहीँकतै नदोहोरिने वातावरण तयार गर्न आवश्यक छ । सिन्धुपाल्चोकका पीडित जनताको निम्ति आवश्यक बन्दोबस्त गर्न ढिलाइ नहोस् । जनधन जोगाउन सरकार गम्भीर होस् ।”
उहाँले भन्नुभयो, “प्राकृतिक स्रोतको दोहनमा स्वयम् सरकार तथा शासक दलका नेताहरू लागेकै कारण विपत्ति र विनाश बढ्दै छ । बाढी, पहिरो, भूकम्पको उच्च जोखिममा बाग्मती प्रदेश परेको हुनाले सरकारका उच्च सतर्कता तथा विशेषगरी पूर्वतयारी आवश्यक छ । अनुमगन, निरीक्षण तथा प्रतिवेदन निर्माणमा सरकार सीमित नहोस् ।
बैठकमा विभिन्न दलका प्रतिनिधिले विपद्विरुद्ध पूर्वतयारीको अभाव रहेको धारणा व्यक्त गरे । बैठक समितिका सभापति माधव पौडेलको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *