भर्खरै :

भोको पेटदेखि समृद्धिसम्मको एक शताब्दीको कठिन यात्रा– २

(चिनियाँ कम्युनिस्ट पार्टीको १०० औं स्थापना दिवसको अवसरमा बिहीबार चीनको राजधानी पेइचिङस्थित तेन आनमेन चोकमा आयोजित भव्य समारोहमा चिकपा केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङले दिनुभएको मन्तव्यको पूर्ण पाठको नेपाली अनुवाद प्रस्तुत छः)
हामीले उत्तम जीवनको लागि अथकरूपमा काम गर्न चिनियाँ जनतालाई सङ्गठितरूपमा नेतृत्व गर्नुपर्छ । देश जनताको हो, जनता नै देश हो । चीनमा हाम्रो नेतृत्व स्थापना गर्न र सबल बनाउन लड्दै गर्दा खासमा हामी जनताको समर्थन हासिल गर्न र कायम राख्न लडेका हौँ । पार्टीको जग, जीवन र शक्तिको स्रोत नै जनता हुन् । सबै चिनियाँ जनताका आधारभूत हितको प्रतिनिधित्व सधैँ पार्टीले गरेको छ । दुःख र सुखको दुवै समयमा जनतासँग पार्टी नै उभिएको छ र पार्टीले जनतासँग साझा भविष्य साटेको छ । पार्टीको आफ्नै केही विशेष स्वार्थ छैन । पार्टीले कुनै व्यक्तिगत स्वार्थ समूह, शक्ति समूह वा सुविधासम्पन्न समुदायको प्रतिनिधित्व गरेको छैन । चिनियाँ जनताबाट पार्टीलाई अलग बनाउने वा पार्टीलाई जनताको विरोधमा लाने कुनै पनि प्रयत्न अवश्यमेव असफल हुनेछ । ९ करोड ५० लाखभन्दा बढी पार्टी सदस्य र १ अर्ब ४० करोड चिनियाँ जनताले यस्तो परिस्थिति कदापि पनि आउन दिने छैनन् ।
आगामी यात्रामा हामीले इतिहास रचना गर्न जनतामाथि अझ नजिकबाट भर पर्नुपर्नेछ । जनताको दिलोज्यान लगाएर सेवा गर्ने पार्टीको आधारभूत लक्ष्यलाई अघि बढाउँदै हामी दृढतापूर्वक जनतासँगै उभिनुपर्नेछ । पार्टीको नीति कार्यान्वयनमा लानुपर्नेछ । जनताको रचनात्मकताको सम्मान गर्नुपर्नेछ र विकासमा जनताकेन्द्रित दर्शनको अभ्यास गर्नुपर्नेछ । हामीले जनताको प्रजातन्त्रका समग्र प्रक्रियाको विकास, सामाजिक न्याय र स्वच्छताको रक्षा एवम् विकासमा असन्तुलन तथा अपर्याप्ततालाई समाधान गर्नुपर्नेछ । साथै जनताका सबभन्दा तड्कारो कठिनाइ र प्रतिकूलताको हामीले हल गर्नेछौँ । यसो गरेर हामीले सर्वाङ्गीण मानव विकास र सबैको समृद्धि हासिल गर्नेतिर उल्लेखनीय र दिगो प्रगति प्राप्त गर्नेछौँ ।
हामीले माक्र्सवादलाई चिनियाँ सन्दर्भमा लागु गर्ने कामलाई निरन्तरता दिनुपर्छ । माक्र्सवाद हाम्रो आधारभूत निर्देशक सिद्धान्त हो । त्यही सिद्धान्तको जगमा हाम्रो पार्टी र देश उभिएको छ । हाम्रो पार्टीको आत्मा माक्र्सवाद हो । माक्र्सवादको ध्वजामुनि हाम्रो पार्टी अघि बढेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले माक्र्सवादका आधारभूत पक्ष र तथ्यबाट सत्यको खोजी गर्ने सिद्धान्तलाई अङ्गीकार गर्छ । चीनको यथार्थमा आधारित भएर हामीले समयको मिहीन अध्ययन गरी विचार निर्माण ग¥यौँ, इतिहासको पाइला–पाइलामा अग्रसरता लिँदै गयौँ र कष्टसाध्य खोजलाई निरन्तरता दिइरह्यौँ । त्यसकारण, हामीले चिनियाँ परिस्थिति र हाम्रो समयको आवश्यकताअनुुसार माक्र्सवादलाई व्यवहारमा लागु गर्ने कामलाई निरन्तरता दिनुपर्छ । हाम्रो सामाजिक क्रान्ति अघि बढाउन चिनियाँ जनतालाई नेतृत्व गरिरहनुपर्छ । आधारभूत तहमा हाम्रो पार्टीको क्षमता र चिनियाँ विशेषतासहितको समाजवादको शक्ति नै माक्र्सवादले काम गर्छ भन्ने तथ्यको प्रमाण हो ।
आगामी यात्रामा हामीले माक्र्सवाद–लेनिनवाद, माओ त्सेतुङ विचारधारा, तेङ स्याओ पिङ सिद्धान्त, तीन प्रतिनिधिको सिद्धान्त, विकासको वैज्ञानिक दृष्टिकोणलाई अँगीकार र नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादी सिद्धान्तको पूर्ण कार्यान्वयनलाई जारी राख्नेछौँ । हामीले माक्र्सवादका आधारभूत पक्षलाई चीनको विशिष्ट परिस्थिति र सुन्दर परम्परागत संस्कृतिमा अनुकूलन गर्ने कामलाई निरन्तरता दिनुपर्छ । हामीले माक्र्सवादलाई हाम्रो समयलाई अवलोकन गर्ने, बुझ्ने र समयको पदचाप बुझ्न प्रयोग गर्नुपर्छ । समकालीन चीन र एक्काइसौँ शताब्दीको माक्र्सवादको विकासलाई जोड दिनुपर्छ ।
हामीले चिनियाँ विशेषतासहितको समाजवादको प्रवद्र्धन र विकास गर्नुपर्छ । हामीले हाम्रो आफ्नै बाटो पछ्याउनुपर्छ – हाम्रो पार्टीका सबै सिद्धान्त र व्यवहारको आधारभूत पक्ष पनि यही हो । त्योभन्दा पनि बितेको शताब्दीको सङ्घर्षबाट हाम्रो पार्टीले निकालेको यो नै ऐतिहासिक निष्कर्ष हो । चिनियाँ विशेषतासहितको समाजवाद नै पार्टी र देशको आधारभूत उपलब्धि हो । असङ्ख्य कठिनाइ र महान् बलिदानबाट यो उपलब्धि हासिल भएको हो । राष्ट्रिय पुनःजागरण हासिल गर्न यही नै सबभन्दा सही बाटो हो । हामीले चिनियाँ विशेषतासहितको समाजवादको प्रवद्र्धन र विकास ग¥यौँ र भौतिक, राजनीतिक, सांस्कृतिक–नैतिक, सामाजिक र पर्यावरणीय आधारमा समन्वयकारी प्रगतितिर अघि बढ्यौँ । हामीले आधुनिकीकरणको नयाँ र मौलिक चिनियाँ बाटो बनायौँ । मानव अग्रगतिको नयाँ ढाँचाको रचना गर्न सफल भयौँ ।
आगामी यात्रामा हामीले पार्टीको आधारभूत सिद्धान्त, नीति र दिशा पछ्याउनुपर्छ । पाँच–वृत्त एकीकृत योजना र चार विस्तृत रणनीतिको कार्यान्वयन गर्नुपर्छ । हामीले सुधार र खुलापनलाई अझ व्यापकतामा गहिराइका साथ लागु गर्नुपर्छ, विकासको नयाँ चरणमा हाम्रो काम आधारित गर्नुपर्छ, विकासको नयाँ दर्शनको पूर्ण र इमानदार कार्यान्वयन गर्नुपर्छ । विकासको नयाँ ढाँचाको प्रवद्र्धन गर्नुपर्छ । हामीले उच्च गुणस्तरको विकासको प्रवद्र्धन गर्दैै विज्ञान र प्रविधिमा हाम्रो देशको शक्तिलाई अझ बलियो बनाउनुपर्छ । यो देश हामी जनताले चलाउने हो भन्ने कुरा सुनिश्चित गर्नुपर्छ, कानुनको आधारमा शासन चलाउनुपर्छ र मूल समाजवादी मूल्यलाई सम्वद्र्धन गर्नुपर्छ । विकासको क्रममा हामीले जनताको हित सुनिश्चित र सम्वद्र्धन गर्नुपर्छ, मानिस र प्रकृतिबीच सद्भाव कायम गर्नुपर्छ र हाम्रा जनतालाई समृद्ध, राष्ट्रलाई बलियो र देशलाई सुन्दर बनाउन समन्वयकारी कदम उठाउनुपर्छ ।
चिनियाँ राष्ट्रले इतिहासका ५ हजार वर्षभन्दा लामो समयमा सानदार सभ्यता हुर्काएको छ । बितेका १०० वर्षभन्दा लामो समयमा पार्टीले गरेको सङ्घर्षबाट अनुभवको अमूल्य धन सञ्चय गरेको छ । बितेका ७० वर्षमा पार्टीले चीनमा शासन चलाएर त्यस्तै अनुभव कमाएको छ । यही समयमा अन्य संस्कृतिका उपलब्धिबाट पनि पाठ सिक्न हामी उत्सुक छौँ । हामी सहयोगी भावनाका साथ आउने सुझाव र रचनात्मक आलोचनालाई स्वागत गर्छौँ । तर, हामी आफूलाई हाम्रोसामु उपदेश दिनु आफ्नो अधिकार ठान्ने कसैको पनि अर्ती उपदेश भने स्वीकार्न सक्दैनौँ । पार्टी र हामी चिनियाँ जनता आफैले छानेको बाटोमा आत्मविश्वासका साथ ठुलो फड्को मार्दैै अघि बढिरहनेछौँ । चीनको विकास र प्रगतिको भविष्य हाम्रै हातबाट सम्हाल्न हामी प्रतिबद्ध छौँ ।
हामीले राष्ट्रिय सुरक्षा र सशस्त्र बलको आधुनिकीकरणलाई अघि बढाउनुपर्छ । एउटा बलियो देशसँग बलियो सेना हुनुपर्छ । त्यसो भए मात्र राष्ट्रको सुरक्षा सुनिश्चित गर्न सकिन्छ । सशस्त्र सङ्घर्ष गर्दै गर्दा पार्टीले बन्दुक बोक्यो र जनताको आफ्नै सेना बनाउनुपर्छ भन्ने अकाट्य सत्यलाई पछ्यायो । पार्टी र जनताको लागि जनताको सेना अमिट उपलब्धि हो । हाम्रो समाजवादी देशको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र क्षेत्रीय एवम् विश्व शान्ति रक्षाको निम्ति सेना एउटा बलियो खम्बा हो ।
आगामी यात्रामा हामीले नयाँ युगमा सेनालाई बलियो बनाउन पार्टीको विचारका साथै नयाँ युगको लागि हाम्रो सैनिक रणनीतिलाई पूर्ण कार्यान्वयनमा ल्याउनुपर्छ । जनताको सशस्त्र बलमाथि पार्टीको सम्पूर्ण नेतृत्व कायम गर्नुपर्छ र सैनिक विकासमा चिनियाँ बाटो पछ्याउनुपर्छ । हामीले सशस्त्र बलको राजनीतिक कर्तव्यपरायण बलियो बनाउन विस्तृत कदम चाल्नुपर्छ, सुधार र प्रविधिमार्फत तिनलाई बलियो बनाउनुपर्छ, सक्षम सिपाहीँलाई तालिम दिनुपर्छ र कानुनअनुसार तिनको सञ्चालन गर्नुपर्छ । हामीले जनताको सशस्त्र फौजलाई विश्वस्तरमा उकास्नेछौँ ता कि हामी अझ क्षमतावान हुनसक्नेछौँ । सेनालाई हाम्रो देशको सार्वभौमिकता, सुरक्षा र विकासका चासो रक्षाको लागि थप भरपर्दो माध्यम बनाउन सक्नेछौँ ।
हामीले साझा भविष्यसहितको मानव समुदाय बनाउने कामलाई निरन्तरता दिनुपर्छ । शान्ति, सहभाव र सद्भाव ५ हजार वर्षभन्दा बढी समयदेखि चिनियाँ राष्ट्रले पछ्याएको र अघि बढाएका विचार हुन् । चिनियाँ राष्ट्रको वंशाणुमै आक्रामकता वा प्रभुत्ववादी स्वभाव छैन । पार्टीले मानवताको भविष्यमा चासो राख्छ । संसारभरका सबै प्रगतिशील शक्ति मिलेर अघि बढ्ने चाहना राख्छ । चीनले सधैँ विश्व शान्ति रक्षाको लागि काम गरेको छ, विश्वव्यापी विकासमा योगदान गरेको छ र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गर्दै आएको छ । आगामी यात्रामा हामी शान्ति, विकास, सहकार्य र आपसी हितको प्रवद्र्धन, शान्तिपूर्ण स्वाधीन वैदेशिक नीति र शान्तिपूर्ण विकासको बाटोप्रति कटिबद्ध रहनेछौँ । हामीले नयाँ ढङ्गको अन्तर्राष्ट्रिय सम्बन्ध, साझा भविष्यसहितको मानव समुदाय, संयुक्त प्रयासमा बेल्ट एन्ड रोड परियोजनाको उच्च गुणस्तरीय विकासको प्रवद्र्धन र संसारलाई नयाँ अवसर प्रदान गर्न विकासमा चीनले हासिल गरेका नयाँ उपलब्धि प्रयोग गर्नेछौँ । शान्ति, विकास, न्याय, निष्पक्षता, प्रजातन्त्र र स्वतन्त्रताको साझा मानवीय मूल्य हासिल गर्न सबै शान्तिप्रेमी देश र जनतासँग पार्टीले सहकार्य जारी राख्नेछ । हामी द्वन्द्व होइन, सहकार्य गर्नेछौँ । हामीले हाम्रो ढोका बन्द होइन, सबैको लागि खुला राख्नेछौँ । सबैको हार हुने खेल होइन, आपसी हितमा जोड दिनेछौँ । हामीले प्रभुत्ववाद र शक्ति राजनीतिको विरोध गर्नेछौँ र उज्यालो क्षितिजतिर इतिहासको पाङ्ग्रा अघि बढाइरहन लागिपर्नेछौँ ।
हामी चिनियाँहरू न्यायका पक्षधर जनता हौँ र हामी कुनै पनि शक्तिको धम्कीबाट डगमगाउने छैनौँ । राष्ट्रको रूपमा हाम्रो गौरव र आत्मविश्वासको बलियो भावना छ । हामीले कुनै पनि देशलाई अपमान, दमन वा निषेध गरेका छैनौँ र हामी कहिल्यै पनि गर्नेछैनौँ । त्यसरी नै हामी कुनै पनि विदेशी शक्तिले हामीमाथि अपमान, दमन वा निषेध गर्न दिनेछैनौँ । जसले यसो गर्ने प्रयत्न गर्छ, उसले १ अर्ब ४० करोड जनता मिलेर बनेको स्पातको ग्रेटवालसँग आफै ठोकिने आउने अवस्था बन्नेछ ।
हामीले धेरै समकालीन प्रवृत्तिसँग ठूलो सङ्घर्ष गर्नुपर्नेछ । लड्न हिम्मत र जित्ने साहसको कारण नै हाम्रो पार्टी अपराजयी बनेको हो । हाम्रा महान् सपना पूरा गर्न कडा मिहिनेत र अडानको खाँचो पर्छ । आज राष्ट्रिय पुनःजागरणको लक्ष्य अझ यथार्थमा रूपान्तरण गर्न पहिलाभन्दा हामी अझ नजिक, अझ आत्मविश्वासपूृर्ण र अझ सक्षम बनेका छौँ । तर, हामीले पहिलेभन्दा अझ मिहिनेत गर्नको निम्ति तयार भने रहनुपर्नेछ ।
आगामी यात्रामा हामीले अझ बढी सजगता देखाउनुपर्नेछ । शान्त समयमा पनि हामीले सम्भावित खतराको लागि आफूलाई तयार राख्नुपर्छ । विकास र सुरक्षाका पक्षलाई सन्तुलन गर्न राष्ट्रिय सुरक्षाबारे हामीले समग्र सोचाइ अवलम्बन गर्नुपर्नेछ । संसारमा एक शताब्दीमा एक पटक भइरहेको परिवर्तनको बृहत् सन्दर्भमा हामीले राष्ट्रिय पुनःजागरणको रणनीतिक कार्यान्वयन गर्नुपर्नेछ । चिनियाँ समाजका प्रधान अन्तरविरोधमा भइरहेको परिवर्तन र जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा फैलिरहेका नयाँ मुद्दा र चुनौतीमा नयाँ विशेषता र आवश्यकतालाई हामीले पूर्णरूपमा बुझ्न जरूरी छ । सङ्घर्ष अघि बढाउन, सबै जोखिम र चुनौती सामना गर्न आवश्यकताअनुसार नयाँ बाटो पछ्याउन र नयाँ पुल बनाउन समयअनुकूल हामी हिम्मतिलो बन्नुपर्नेछ ।
हामीले चिनियाँ जनताको महान् एकतालाई बलियो बनाउनुपर्छ । बितेको शताब्दीमा हाम्रो सङ्घर्षमा पार्टीले सधैँ संयुक्त मोर्चालाई महत्वपूर्ण स्थान दिँदै आएको छ । हामीले सम्भव भएसम्म बृहत् संयुक्त मोर्चाको विकास र सम्वद्र्धन गर्न, एकताबद्ध गर्न सकिने सबै शक्तिलाई सङ्गठित गर्न, परिचालन गर्न सकिने सबै सकारात्मक शक्तिलाई परिचालन गर्न र सामूहिक खोजको लागि सकेसम्म बढी शक्ति सञ्चय गर्न लगातार लागिपरेका छौँ । देशभक्त संयुक्त मोर्चा राष्ट्रिय पुनःजागरणको लक्ष्य हासिल गर्न देशभित्र र बाहिरका चिनियाँ राष्ट्रका सबै छोराछोरीलाई सङ्गठित बनाउने एउटा महत्वपूर्ण माध्यम हो ।
आगामी यात्रामा हामीले महान् एकता र ऐक्यबद्धतालाई सुनिश्चित गर्नुपर्नेछ । साझा पक्ष र विविधताको सन्तुलन मिलाउनुपर्नेछ । हामीले सैद्धान्तिक र राजनीतिक मार्गनिर्देशन तथा बृहत् सहमतिलाई बलियो बनाउनुपर्छ । प्रतिभाशाली दिमागलाई एक ठाउँमा ल्याउनुपर्छ । साझा क्षेत्र र हितको मिलनबिन्दुलाई फराकिलो बनाउनुपर्छ । यसो गर्न सके देशभित्र र बाहिरका चिनियाँ जनताको एउटै लक्ष्यमा आफ्नो भावना र ऊर्जा केन्द्रित गर्नसक्छौँ र एउटा बलियो शक्तिको रूपमा एक ठाउँमा उभिएर राष्ट्रिय पुनःजागरणको लक्ष्य हासिल गर्न सक्छौँ ।
हामीले पार्टी निर्माणको महान् नवीन परियोजनालाई निरन्तरता दिनुपर्छ । चिनियाँ कम्युनिस्ट पार्टी र अन्य राजनीतिक पार्टीबीच भिन्नता छुट्याउने एउटा आधार भनेको आत्मसुधार गर्ने चिकपाको हिम्मत हो । यति धेरै आरोह–अवरोहपछि पनि चिकपा यति जीवन्त र सक्रिय रहनुको महत्वपूर्ण कारण भनेको यसले प्रभावकारीरूपमा आत्मसमीक्षाको अभ्यास गर्छ र पूर्ण एवम् सघन आत्मअनुशासनको पालना गर्छ । त्यसकारण, इतिहासका विभिन्न कालखण्डमा चिकपाले जोखिम र परीक्षालाई समीचिन ढङ्गले सामना गर्न सक्षम भएको हो । त्यसको निम्ति विश्व परिस्थितिमा ठूलो परिवर्तन निम्त्याउने समयमा पनि पार्टी युगको अग्रमोर्चामा उभिने गरेको छ । पार्टी देशभित्र र बाहिर जस्तोसुकै जोखिम र चुनौती आइपरे पनि राष्ट्रको मेरूदण्डको रूपमा सधैँ दृढतापूर्वक उभिने गरेको छ ।
आगामी यात्रामा हामीले दिमागमा एउटा पुरानो सत्य वचन राखेर अघि बढ्नुपर्नेछ । असल स्पात बनाउन असल कामी हुुनुपर्छ भन्ने सत्य वचनलाई हामीले कदापि नबिर्सौँ । पूर्ण र सघन आत्मअनुशासन एउटा अन्त्यहीन यात्रा भएको वास्तविकतामा निहीत राजनीतिक सचेतना हामीले देखाउनुपर्नेछ । राजनीतिकरूपमा पार्टीलाई परिपक्व बनाएर हामीले नयाँ युग निर्माणको लागि पार्टी निर्माणको नयाँ परियोजनालाई प्रभावकारी बनाउँदै जानुपर्नेछ । हामीले पार्टी सङ्गठन प्रणालीलाई अझ गहन बनाउँदै उच्च क्षमता भएका कार्यकर्तालाई नैतिक र काममा क्षमतावान बनाउन प्रशिक्षण दिन जरूरी छ । उनीहरूलाई पार्टी सञ्चालनमा सुधारप्रति प्रतिबद्ध राख्नुपर्छ । इमानदार बनाउनुपर्छ । भ्रष्टाचारको विरोधमा उभिने बनाउनुपर्छ । पार्टीको अग्रगामी विशेषता र शुद्धतामा असर पार्ने कुनै पनि पक्षलाई जरैदेखि उखेल्नुपर्छ । पार्टीको स्वास्थ्यमा असर पार्ने कुनै पनि भाइरसलाई निमिट्यान्न पार्नुपर्छ । पार्टीले आफ्नो मूलस्वभाव, रङ र चरित्र रक्षा गर्ने कुरालाई सुनिश्चित गर्नुपर्छ । नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादको प्रवद्र्धन र विकासको लागि बलियो नेतृत्व गर्न पार्टीलाई सक्षम बनाउन सुनिश्चित गर्नुपर्छ ।
कमरेड र मित्रहरू,
हामी एक देश–दुई प्रणालीको भावनाप्रति अक्षरशः प्रतिबद्ध रहनेछौँ । यही भावनाअनुसार हङकङमा हङकङका जनताले र मकाउमा मकाउका जनताले शासन गर्नेछन् । दुवै क्षेत्रमा उच्च तहको स्वायत्तता कायम रहनेछ । केन्द्रीय सरकारले हङकङ र मकाउमा समग्र क्षेत्राधिकार कायम राख्नेछ । राष्ट्रिय सुरक्षाको रक्षा गर्न दुई प्रशासनिक क्षेत्रको लागि कानुनी प्रणाली र कार्यान्वयन संरचना बनाउनेछ । चीनको सार्वभौमिकता, सुरक्षा र विकासको चासोको रक्षा गर्दै हामी हङकङ र मकाउमा सामाजिक स्थायित्व सुनिश्चित गर्नेछौँ । दुई प्रशासनिक क्षेत्रमा दिगो समृद्धि र स्थायित्व कायम गर्नेछौँ ।
ताइवानको प्रश्न समाधान गर्न र चीनको पूर्ण पुनःएकीकरण सफल बनाउनु हाम्रो ऐतिहासिक लक्ष्य हो । चिनियाँ कम्युनिस्ट पार्टीको यो अदम्य प्रतिबद्धता हो । चिनियाँ राष्ट्रका सबै छोराछोरीको यो साझा चाहना पनि हो । हामीले एक चीन नीति र सन् १९९२ को सहमति अँगीकार गर्नेछौँ र शान्तिपूर्ण पुनःएकीकरणलाई अघि बढाउनेछौँ । ताइवान जलडमरूका दुवै छेउका हामी सबै देशभक्तहरू एक ठाउँमा आएर एकढिक्का भएर अघि बढ्नुपर्छ । ‘ताइवान स्वतन्त्रता’ तर्फका कुनै पनि प्रयासलाई हामीले नराम्ररी पराजित गर्न कडा कदम चाल्नुपर्छ र राष्ट्रिय पुनःजागरणको उज्यालो भविष्य बनाउन मिलेर काम गर्नुपर्छ । राष्ट्रिय सार्वभौमिकता र भूअखण्डता रक्षाको लागि चिनियाँ जनताको प्रतिबद्धता, चाहना र क्षमतालाई कसैले पनि न्यूनाङ्कन नगरोस् ।
कमरेड र मित्रहरू,
भविष्य युवाहरूको हो । हामी उनीहरूप्रति आशावादी छौँ । एक शताब्दीअघि प्रगतिशील युवाहरूको एउटा समूहले माक्र्सवादको राँको बालेर राष्ट्रिय पुनःजागरणको निम्ति ती अँध्यारो युगमा मिहिनेतपूर्वक बाटो खोजेको थियो । त्यसयता चिनियाँ कम्युनिस्ट पार्टीको ध्वजामुनि युवा चिनियाँहरूको पुस्तौँ पुस्ताले आफ्ना युवा दिनहरू पार्टी र जनताको नाममा समर्पित गरे । उनीहरू राष्ट्रिय पुनःजागरण अघि बढाउने जुझारू योद्धा बनिरहे ।
नयाँ युगमा हाम्रा युवाहरूले राष्ट्रिय पुनःजागरणमा योगदान गर्नुलाई आफ्नो लक्ष्य बनाउनुपर्छ । अनि गौरवशाली, आत्मविश्वासपूर्ण र हाम्रो समय, हाम्रो पार्टी र हाम्रा जनताका अपेक्षा एवम् युवा समयका सपना बाँच्न सक्ने चिनियाँ जनताको पहिचानसहित बाँच्न सकून् ।
कमरेड र मित्रहरू,
एक शताब्दीअघि चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको समयमा पार्टीका सदस्य पचास जनामात्र थिए । आज १ अर्ब ४० करोड जनसङ्ख्या भएको देशमा ९ करोड ५० लाखभन्दा बढी चिकपाका सदस्य छन् । चिकपा आजको विश्वमा सबभन्दा ठूलो सत्तारूढ पार्टी हो र अन्तर्राष्ट्रिय क्षेत्रमा यसको बृहत् प्रभाव छ ।
एक शताब्दीअघि चीन संसारको आँखामा ओरालो लागेको र क्षीण बन्दै गएको देश थियो । आज संसारसामु चीनले आफूलाई अघि बढ्दै गरेको देशको छवि बनाउन सफल भएको छ । जसको पुनःजागरण कसैले रोक्न चाहेर पनि रोक्न सक्नेछैन ।
बितेको शताब्दीमा चिनियाँ कम्युनिस्ट पार्टीले जनताको तर्फबाट विलक्षण ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भयो । आज चिनियाँ जनता दोस्रो शताब्दी लक्ष्य हासिल गर्न नयाँ यात्रातर्फ एकजुट बन्दै नेतृत्व गरिरहेको छ ।
सबै पार्टी सदस्य कमरेडहरू,
हाम्रो पार्टी स्थापनाका लक्ष्यप्रति इमानदार रहन र हाम्रा आदर्श एवम् भावनाप्रति दृढ रहन केन्द्रीय समितिको तर्फबाट सबै जनालाई आह्वान गर्न चाहन्छु । पार्टीका लक्ष्य हासिल गर्ने क्रममा हामीले जनतासँग सधैँ नजिकको सम्बन्ध कायम गर्नुपर्छ । जनतालाई केन्द्रमा राखेर उनीहरूको हितको लागि काम गर्नुपर्छ, दुःख र सुख दुवै समयमा जनतासँगै उभिनुपर्छ । अनि उत्तम जीवन हासिल गर्न र पार्टी एवम् जनताको गौरवलाई अझ उँचो बनाउन हामीले अथकरूपमा काम गर्नुपर्छ ।
कमरेड र मित्रहरू,
आज चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्ष भएको छ । अझै पनि पार्टी जीवन्त छ । चिनियाँ राष्ट्रको दिगो महानता हासिल गर्न पार्टी उत्तिकै कटिबद्ध छ । हामीले छिचोलेर आएको र अब हिँड्नुपर्ने बाटोलाई हेर्दा पार्टीको दृढ नेतृत्व र सबै जातिका चिनियाँ जनताको महान् एकताबाट सबै हिसाबले महान् आधुनिक समाजवादी देश बनाउन र राष्ट्रिय पुनःजागरणको चिनियाँ सपना साकार बनाउन हामी सफल हुनेछौँ ।
हाम्रो महान्, गौरवपूर्ण र सही पार्टी जिन्दावाद !
हाम्रा महान्, गौरवशाली र साहसिक जनता जिन्दावाद !
नेपाली अनुवादः सुशिला
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *