भर्खरै :

पराजय – ११

यस लुकामारीको क्रममा ऊ झन् दुब्लो र अग्लो भयो । तर, अन्तिम समयसम्म पनि आफ्नो कमजोरीमाथि विजयी हुन सकेन । ऊ पिकासँगै अस्पतालबाट निस्कियो । उनीहरूले सबैसँग भर्खरै चिनेका मान्छेसँग बिदा लिएझैँ बेसुरे तालले बिदा लिए । भार्याले उनीहरूलाई गोरेटोमा आएर भेटेकी थिई ।
“कम्तीमा एकअर्कालाई बिदा त राम्ररी गरौँ,” उसले भनी । दगुर्दै आउनाले र लाजका कारण उसको मुहार धपधपी बलेको थियो । “त्यहाँ मलाई किन हो कुन्नि लाज लागिरहेको थियो । पहिले त यस्तो भएको थिएन । तर, यसपालि मलाई लाज लाग्यो ।” बिराम गरेको हाउभाउसहित उसले मेतचिकको हातमा बिँडी राख्ने फुलबुट्टे थैली थमाइदिई । खानीमा सबै केटीहरूले आफ्ना प्रेमीलाई यही उपहार दिने गर्थे ।
ऊ यसरी लजाउनु र उसले उपहार दिनु भार्याको स्वभावविपरीत थियो । यो देखेर मेतचिकको मनमा दया पलायो । तर पिकासँगै उभिएको थियो । त्यसैले मेतचिकले भार्याको गालामा ओठले छोयोमात्र । भार्याले रसिला आँखाले उसलाई बिदा गरी । उसका ओठहरू कामिरहेका थिए ।
“आएर मलाई भेट्नू !” ऊ चिच्याई तर उनीहरू वनमा ओझेल भइसकेका थिए । आफ्नो पुकारको कुनै उत्तर नपाएर ऊ भुइँमा खसी र भक्कानिँदै रुन थाली ।
उदास सम्झनाहरूको भारी बाटोमा फाल्दै मेतचिकले आफूलाई असल छापामार मान्यो । आफ्ना हातका नरम छालालाई घामको रापले डढाल्न उसले आफ्ना बाहुला माथि सा¥यो । नर्ससँगको त्यो भलाकुसारीपछि आफ्नो नौलो जीवन सुरु भएको छ र त्यस जीवनमा खस्रा र डढेका हातको ठूलो महत्व छ भन्ने सोच्यो ।
इरोखेदजा नदीको मुखमा जापानी फौज र कोलचकका सैनिकहरूले कब्जा जमाएका थिए । यात्राभरि उसले कहिले टाउको दुखेको त कहिले जोर्नीहरू दुखेको बहाना बनाइरह्यो । मेतचिकले गाउँको फेरो लगाउँदै उपत्यकाबाट जाने प्रस्ताव राख्यो, तर पिकाले मानेन । त्यसैले उनीहरूले अपरिचित गोरेटाहरू हुँदै पहाड चढ्नुप¥यो । यात्राको दोस्रो राति उनीहरूले चट्टाने भीरमा हातखुट्टाले टेक्दै नदीको किनारमा ओर्ले । त्यहाँ उनीहरूले नुनबिनाको परिकार चुमिजालाई ब्वाँसाले जस्तै झम्टे । पिकाको बिथोलिएको र निन्याउरो अनुहार देखेपछि मेतचिकले त्यो हरियो घाँसले घेरिएको तालको किनारमा बसेको शान्त र प्रसन्न बुढाको मोहनी तस्बिरलाई सम्झिन खुब कोसिस ग¥यो, तर उसले त्यसो गर्न सकेन । पिकाको कच्याककुचुक परेको अनुहारले त्यो शान्तिको अस्थिरता र असत्यतामा जोड दिँदै थियो जुन शान्तिले न आराम पाइन्छ, न मुक्ति पाइन्छ ।
उनीहरू छरिएका खेतहरू हुँदै अगाडि बढे । यहाँ जापानीहरूको चाइँचुइँ थिएन । उनीहरूले किसानहरूलाई यहाँबाट कम्पनी गुज्रेको थियो कि भनी सोध्दा किसानले नदीको धारभन्दा उल्टो दिशातिर औँल्याउँथे । यसको बदलामा उनीहरूले दुवैलाई नयाँ समाचार सोध्थे र महको क्वास पिउन दिन्थे । केटीहरूले मेतचिकलाई देखेर आँखा नचाउँथे । आइमाईहरू घाँटीघाँटी कामधन्दामा डुबेका थिए । पूरै बाटाघाटा गहुँका पोटिला र झरिला बालाले ढाकिएका थिए । बिहानपख शीतले भिजेका माकुराका जालाहरू टल्किन्थे । शरद् यामको बतासमा मौरीहरूको भुनभुन व्याप्त थियो ।
साँझपख उनीहरू शिबिशी पुगे । त्यो सानो गाउँ वनजङ्गलले ढाकेको पहाडको फेँदमा डुब्दो घामको प्रकाशमा फैलेको थियो । काती परेको एउटा सानो र थोत्रो मन्दिरनिर चर्को र जोसिलो स्वरमा हँसिला सैनिकहरूको एउटा समूहले रुसी स्किटल्स खेल खेलिरहेको थियो । तिनका टोपीहरूमा राता बिल्ला लागेका थिए । बडेमानको बुट लगाएको एउटा होचो व्यक्तिले भर्खरै आफ्नो बल फालेको थियो । उसको लामो रातो दाह्री हेर्दा परीकथाको कुनै बामपुड्केको झल्को आउँथ्यो । उसको निसाना चुकेको देखेर सबैजना गलल्ल हाँसे । उसले आफ्ना दाँत ङिच्यायो । सबैलाई थाहा थियो ऊ अलिकति पनि हच्केको थिएन बरु उसले उनीहरूले जत्तिकै खेलको मजा लिइरहेको थियो ।
“त्यही त हो लेभिनसन,” पिकाले भन्यो ।
“कहाँ, कुन चाहिँ ?”
“त्यो रातो कपालसितको ।”
मेतचिक अवाक भयो । उसलाई यही अवस्थामा छोडेर पिका अप्रत्याशित तीव्रताका साथ खुट्टा मच्चाउँदै त्यस होचो व्यक्तिनिर पुग्यो ।
“यता हेर साथी हो, पिका आयो !”
“हो, पिका बड्डो नै हुन् !”
“त्यसो भए हाम्रो पाइला सुँघ्दै आयौ । तालुखुइले भूत !”
आफ्नो खेल बिर्सेर मान्छेहरू पिकाको वरिपरि झुम्मिए । मेतचिक उनीहरूभन्दा अलि पर उभिरह्यो । उनीहरूसँग मिसिने वा नबोलाउँदासम्म जहाँको तहीँ उभिने, उसले निक्र्योल गर्न सकिरहेको थिएन ।
“तिमीसँग आएको त्यो साथी को हो ?” अन्तमा लेभिनसनले सोधिहाल्यो ।
“ए, ऊ अस्पतालबाट आएको हो । सोझो छ !”
“यो त मोरोजकाले बोकेर ल्याएको केटो हो,” कसैले मेतचिकलाई चिनेर भन्यो । आफ्नो चर्चा सुनेर ऊ उनीहरूको नजिक गयो ।
जानी–नजानी स्किटल्स खेल्ने होचो व्यक्तिका आँखा ठुला र तेज थिए । तिनले मेतचिकलाई अँठ्याए, ओल्टाईपल्टाई हेरे र ऊभित्र जे छ त्यसलाई केही क्षणसम्म जोखेझैँ लाग्यो ।
“म कम्पनीमा भर्ती हुन आएको हुँ,” मेतचिकले भन्न थाल्यो । उसको अनुहार लाजले रातो भयो किनभने उसले आफ्ना बाहुला तल झार्न बिर्सेको थियो र उसका खुला नरम पाखुरा देखिँदै थिए । “घाइते हुनुभन्दा पहिले म शाल्दिबाको डफ्फामा थिएँ,” उसले आफ्नो कुरामा जोड दिँदै भन्यो ।
“तिमी कति दिनसम्म शाल्दिबासँग थियौ ?”
“जूनदेखि, मोटामोटी… लगभग…”
लेभिनसनले पुनः उसलाई तीखा आँखाले हे¥यो ।
“बन्दुक चलाउन आउँछ ?”
“अँ…” मेतचिकले अल्मलिँदै भन्यो ।
“एफिमका, एउटा राइफल ल्याऊ त !”
उता एफिमका दगुरेर राइफल लिन गयो र यता दुई दर्जन जिज्ञासु आँखाले मेतचिकलाई एकटक हेरिरहेका थिए । उसलाई उनीहरूको मौन जिज्ञासाबाट वैरभाव चुहिरहेको छ भन्ने लाग्यो ।
“ल, राइफल आयो । अब बताऊ, केमा ताक्छौ ?” लेभिनसनले चारैतिर हेरेर सोध्यो ।
“यशुको क्रसमा ¤” कसैले ठट्टा गर्दै सल्लाह दियो ।
“हैन, त्यो ठीक नहोला । एफिमका, यो स्किटललाई त्यो खम्बामा राख ।”
मेतचिकले राइफल उठायो । अचानक भयले उसलाई अँचेट्यो र उसका आँखा बन्द भए । उसलाई बन्दुक चलाउन नआउने होइन, तर कुनै कारणले गर्दा सबैले उसको निसाना चुके हुन्थ्यो भन्ने सोचिरहेका छन् भन्ने उसलाई लाग्यो ।
“आफ्नो देब्रे हात नजिक ल्याऊ, गोली हान्न सजिलो हुन्छ,” कसैले सल्लाह दियो ।
सहानुभूतिका यी शब्द सुनेर मेतचिकको हौसला बढ्यो । उसले घोडा दबायो । धमाकाले ट्वाल्ल परेका उसका आँखा झिम्झिमाए । उसले स्किटल खाँबोबाट भुइँमा खसेको देख्यो ।
“बन्दुक त चलाउँछौ ।” लेभिनसनले हाँस्दै भन्यो, “कहिल्यै घोडा चढेका छौ ?”
“अहँ,” मेतचिकले स्वीका¥यो । आफ्नो सफलताले गर्दा मानौँ संसारभरिको बोझ ऊ आफ्नो टाउकोमा लिन तयार भयो ।
“यो त राम्रो भएन,” लेभिनसनले भन्यो । उसको भनाइबाट उसलाई मेतचिकको यो कमीले खासमा खिन्न बनाएको स्पष्ट हुन्थ्यो । “बाक्लानोभ, ज्युचिखा यसलाई देऊ ।” अनि आफ्ना आँखालाई चलाखीपूर्वक चिम्सा पार्दै उसले भन्यो, “यसको खुब हेरचाह गर्नु, बिचरी सोझी घोडी छ । तिम्रो पल्टन कमान्डरले कसरी रेखदेख कसरी गर्ने भनी बताउनेछन् । यसलाई कुन पल्टनमा लिने हँ ?”
“मेरो विचारमा कुब्राकको पल्टनमा दाखिल गर्नुपर्छ । उसलाई मान्छे चाहिएको छ,” बाक्लानोभले भन्यो, “यसलाई र पिका दुवैलाई ।”
“ल ल, भइहाल्छ नि ¤” लेभिनसन सहमत भयो, “ल जाऊ ।”
ज्युचिखालाई देख्नेबित्तिकै मेतचिक निरुत्साहित भयो र उसका केटाकेटीको जस्तो गर्विला आशाहरू धुलिसात भए । ज्युचिख निन्याउरा आँखासितकी उदास घोडी थिई । उसको रङ्ग मटमैलो, ढाड खस्केको र पेट फुलेको थियो । झट्ट हेर्दा वर्षौँसम्म हलो तानेपछि अहिले ढल्दो उमेरमा यहाँ ल्याएझैँ देखिन्थ्यो । यसबाहेक ज्युचिखा दोजिया पनि थिई । एउटी कोप्चे गाला भएकी बुढीलाई भगवानले दीर्घायु हुने आशीर्वाद दिएझैँ उसको विचित्र नाम थियो ।
“यो मेरो लागि हो ?” मेतचिकले दबेको स्वरमा भन्यो ।
“हेर्दा गतिली छैन,” कुब्राकले घोडीको साँप्रामा ठटाउँदै भन्यो, “यसको खुर कमजोर छ । किनभने यसले आरामको जिन्दगी बिताइरहेकी हुनसक्छ, अथवा बिरामी हुनाले पनि त्यसो हुनसक्छ । तैपनि, तिमी यसमा चढ्न सक्छौ ।” उसले आफ्नो रुखो, कैलो कपालसितको चारकुने मुन्टो घुमाउँदै दृढतापूर्वक दोहो¥यायो, “हो यसमा चढ्न सक्छौ ।”
“तिमीसित अरू घोडा छैनन् ?” मेतचिकले फ्याट्टै सोध्यो । ज्युचिखामा चढ्ने कुरा सोचेर उसको मनमा घोडाप्रति असह्य रिस भरियो ।
“टाढाको यात्रा गरेर फर्कनेबित्तिकै कहिल्यै उसको काठी नखोल्नु !” पल्टन कमान्डरले निर्देशन दियो । “अलिबेर यसलाई उभिन देऊ, शान्त हुन देऊ । काठी निकाल्नेबित्तिकै उसको डाढमा आफ्ना हातले वा घाँसले रगड्नू । काठी राख्नुअघि पनि रगड्नुपर्छ ।”
मेतचिकका ओठ फर्फरायो । उसका आँखा एकटक घोडाको टाउकोमा अडिएका थिए र उसले कुब्राकका कुरामा ध्यान दिइरहेको थिएन । उसले यो गत न पतकी घोडी आफूलाई दिनुको एउटै उद्देश्य सुरुदेखि नै आफूलाई तुच्छ देखाउनु हो भनी बुझ्यो । मेतचिकले आफ्नो जीवनलाई नयाँ जगमा उभ्याउने निधो गरेको थियो र केही दिनयता कुनै पाइला चाल्नुअघि उसले त्यसलाई यो नयाँ जीवनको दृष्टिकोणले तौलिन्थ्यो । यो घिनलाग्दो घोडासँग नयाँ जीवनमा प्रवेश गर्नु असम्भव छ भन्ने उसलाई लाग्दै थियो । यो घोडामा चढेको देखेर कसैले पनि ऊ फेरिएको छ, बलियो र स्वावलम्बी बनेको छ भनी बुझ्ने थिएन । सबैले ऊ उही पुरानो नमिल्दो मेतचिक हो र यसमाथि भर परेर कुनै राम्रो घोडा सुम्पिन सकिन्न भन्ठान्ने थिए ।
“यो घोडामा एकातिर यति धेरै कमी छन्, अर्कोतिर यसलाई लुतो लागेको छ,” पल्टन कमान्डरले भन्यो । उसलाई मेतचिकको हिचकिचाहटको पर्वाह थिएन, न उसले आफ्नो कुरामा कत्ति पनि ध्यान दिएको छैन भन्ने पिरलो थियो । “उपचारमा यसलाई सल्फेटको औषधि दिनुपर्छ । तर हामीसित सल्फेट छैन । त्यसैले हामीले कुखुराको सुलीले काम चलाउँछौँ । त्यसले मजाले काम गर्छ । अलिकति सुली कपडामा राखेर लगामसँगै बाँध । चमत्कारै गर्छ ।”
“के म केटाकेटी हुँ ?” पल्टन कमान्डरको कुरातिर ध्यान नदिई मेतचिकले सोच्यो, “अहँ, लेभिनसनकहाँ गएर यस्तो घोडामा चढ्न म फिटिक्कै तयार छैन भनी बताइदिन्छु । अरूका लागि मैले दुःखकष्ट झेल्ने, यो कस्तो निसाफ हो !” अरू कसैको लागि आफ्नो बलि दिइँदै छ भन्ने सोच्न सकेकोमा उसलाई आनन्द आयो । “हैन, मैले उसलाई सीधासीधा भन्छु । मसँग यस्तो व्यवहार गर्ने उसलाई कुनै अधिकार छैन !”
पल्टनको कमान्डरले आफ्नो कुरा सकाएर घोडा मेतचिकलाई सुम्पेपछि मात्र उसलाई कमान्डरका निर्देशनहरूमा ध्यान नदिएकोमा पछुतो लाग्यो । ज्युचिखाको शिर लत्रिएको थियो र उसको रक्तहीन ओठ फर्फराइरहेको थियो । घोडाको ज्यान अब आफ्नो हातमा छ भन्ने मेतचिकले बुझ्यो । तर, त्यो ज्यानलाई के गर्ने, उसलाई थाहा थिएन । उसलाई त्यो घोडालाई कसरी बाँध्ने पनि थाहा थिएन । उसले अरू घोडाका दानामा थुतुनो घुसाउँथी, तिनलाई र ड्यूटीमा खटिएका पहरेदारहरूलाई हैरान पार्दै तबेलामा यताउता भौँतारिन्थी ।
“त्यो नयाँ मान्छे कहाँ म¥यो ? औतारीले किन आफ्नो घोडालाई बाँध्दैन ?” टहरातिरबाट आवाज आयो र कोर्रा झट्कारेको आवाज आयो । “यहाँबाट भाग, कुकुर्नी ! ए सुन त, ड्यूटीमा को छ ? यसलाई यहाँबाट लैजाऊ, भन त भर्सेलो परोस्… !”
अँध्यारा र निद्रामा डुबेका बाटामा काँडादार झाडीहरूमा अल्झिँदै र मनमनै गाली ओकल्दै मेतचिक छाउनीको खोजमा निस्कियो । हडबडी र उत्तेजनाले ऊ असिनपसिन भएको थियो । एकचोटि ऊ युवायुवतीको एउटा टोलीसँग ठोकिँदाठोकिँदै बच्यो । अकार्डियनमा कसैले ‘सारातोभ स्वरलहरी’ को धुन बजाइरहेको थियो । अन्धकारमा चुरोटका मुख बलिरहेका थिए । कुर्कुच्चा र तरबार बजिरहेका थिए । युवतीहरू रमाएर हल्लीखल्ली गर्दै थिए । सबैजना उन्मत्त भएर छमछम नाचिरहेका थिए । मेतचिकलाई उनीहरूसँग बाटो सोध्ने आँट आएन । अगाडि एउटा मोडमा अकस्मात् एउटा आकृति नभेटिएको भए ऊ रातभरि यसरी नै बाटैबाटो भौँतारिने थियो ।
“कामरेड छाउनी जाने बाटो कुन हो ?” मेतचिकले ऊनिर गएर सोध्यो । ऊ मोरोजका थियो । “ए, तिमी पो ¤” हत्तपत्त मुखबाट निस्किहाल्यो ।
मोरोजका छक्क परेर उभियो । उसको मुखबाट अस्पष्ट ध्वनिहरू निस्किँदै थिए ।
“दाहिने हातमा दोस्रो घर,” अलिबेरपछि उसले उत्तर दियो । आश्चर्यले गर्दा उसको मुखबाट अरू कुरा निस्केनन् । उसका आँखामा एउटा नौलो चमक आयो र मेतचिकतिर नफर्किकन ऊ आफ्नो बाटो लाग्यो ।
“मोरोजका ¤ हो त, ऊ यहाँ हुने नै भयो,” मेतचिकले सोच्यो र पहिलेजस्तो एक्लोपनको भावनाले उसलाई च्याप्यो । आफू खतराले घेरिएको महसुस ग¥यो । मोरोजका, अँध्यारा अपरिचित बाटाघाटा, आफूले सम्हाल्न नसकेकी त्यो घोडा – सबैले कुनै न कुनै रूपमा उसलाई सताइरहेका थिए ।
छाउनी पुगेपछि उसको उद्देश्यले हावा खायो, यहाँ किन आएको थियो, के भन्नु र गर्नुपर्ने हो, उसले भेउ पाउन सकिरहेको थिएन ।
खेत एउटा विशाल आँगनजस्तै थियो र बीचमा आगो बलिरहेको थियो । त्यसको वरिपरि चारैतिर बीसौँ छापामारहरू विभिन्न मुद्रामा बसेका वा पल्टेका थिए । लेभिनसन धुवाँ पुत्ताइरहेका र ह्वार्रहुर्र गरिरहेका लप्काहरूले मन्त्रमुग्ध पारेझैँ गरी आगोनजिकै निश्चल मुद्रामा बसेको थियो । ऊ कोरियालीहरूजस्तै पलेटी मारेर बसेको थियो । यो देख्दा मेतचिकलाई ऊ झन्झन् परीकथाको वामपुड्के बन्दै गरेको लाग्यो । अघि बढेर मेतचिक छापामाहरूको ठ्याक्कै पछाडि उभियो । छापामारहरूले पालैपालो छाडा किस्सा सुनाइरहेका थिए । सबै किस्सा एउटा मन्द बुद्धिको पादरी, उसकी कामुक पत्नी र एक साहसी नौजवानको बारेमा थिए । नौजवान दुनियाँदारीमा निपुण थियो र चलाखीपूर्वक पादरीलाई रल्ल पारेर उसकी पत्नीसँग प्रेमको सुख लुट्थ्यो । मेतचिकले बुझ्यो, ती कथा खासमा रमाइला थिएनन्, अरू कथा थाहा नभएकोले मात्र उनीहरूले ती कथा सुनाइरहेका थिए । उसले सोच्यो, उनीहरू खालि कर्तव्यको भावनाले उल्किएर हाँसिरहेका थिए । तैपनि लेभिनसनले ध्यान दिएर ती किस्सा सुन्दै थियो र मन खोलेर हाँसिरहेको थियो । आफ्नो पालो आएपछि उसले पनि रसिला कथाहरू सुनायो । ऊ उनीहरूमध्ये सबैभन्दा पढेलेखेको थियो । त्यसैले उसका कथाहरू पनि सबैभन्दा बढी छिल्लिएका र मसालेदार हुन्थे । तर, लेभिनसनलाई यसमा चासो थिएन । उसले आरामले एकपछि अर्को गर्दै किस्सा सुनाउँदै गयो । छाडा शब्दहरू उसको मुखबाट यसरी बर्सिरहेका थिए । मानौँ, तिनले उसलाई छुँदै छुन्नन् । मानौँ, ती शब्दहरू उसका नभई अरू कसैका हुन् ।
उसलाई देखेर मेतचिकलाई पनि एउटा कथा सुनाउन मन लाग्यो । यस्ता कथा खराब लागे पनि र यस्ता कुराकानीबाट पर भागेझैँ गरे पनि वास्तवमा उसलाई यस्ता कथा सुनाउन मनपथ्र्यो । सबैजनाले उसलाई क्वारक्वार्ती हेर्ने त होइनन् भनेर उसलाई डर लाग्यो ।
त्यहाँबाट ऊ निस्कियो । आफैलाई देखेर उसलाई झिँजो लागिरहेको थियो । ती सबैलाई खासगरी लेभिनसनलाई देखेर उसलाई झोँक चलिरहेको थियो । “कस्तो मोरो हो,” मेतचिकले मुख बिगार्दै मनमनै भन्यो, “जे भए होस्, मैले घोडाको रेखदेख गर्दिनँ । मरे मरोस् ¤ अनि हेरौँला के भन्दोरहेछ, म ऊसित डराउँछु र ।”
त्यसपछिका दिनहरूमा उसले साँच्चिकै घोडालाई हेला गरिरह्यो । त्यसलाई उसले खालि घोडचढी सिक्न र कहिलेकसो पानी खुवाउन बाहिर लान्थ्यो । उसको कमान्डरले ध्यान दिएको भए मेतचिकले हप्कीदप्की खाने थियो । तर कुब्राकलाई आफनो पल्टनमा के भइरहेको छ भन्ने कुराको चिन्ता थिएन । पल्टनमा जे भए पनि उसलाई के ! ज्युचिखाको शरीर घाउनैघाउ थियो । ऊ सधैँ भोकै रहन्थी । कसैले दया गरेर केही खुवाए खान्थी । मेतचिकलाई सबैले ‘लफङ्गो र कामचोर’ भनेर घृणा गर्न थालेका थिए ।
पल्टनभरिमा दुईजना मान्छेसँग मात्र मेतचिकको उठबस जम्यो । त्यसमध्ये एउटा पिका थियो र अर्को सिस्किन थियो । उनीहरूलाई रूचाउने हुनाले उनीहरूसँग उसको मित्रता जमेको थिएन, बरु अरूसँग पटक्कै कुरा नमिल्ने हुनाले त्यसो भएको थियो । सिस्किन आफै उसलाई साथी बनाउन आएको थियो । एक दिन राइफल सफा गर्न नसकेर टोली नेताले मेतचिकलाई झपा¥यो । टोली नेतासँग झगडा गरेर फर्केपछि ऊ छतका डाँठहरू गन्दै पल्टिरहेको थियो । त्यसैबेला सिस्किन ऊतिर आयो ।
“रगत उम्लिन्छ ?” सिस्किनले सोध्यो, “सबथोक मनबाट झिकेर बाहिर फाल । त्यो त अनपढ किसान न हो । त्यसको किन पिर लिन्छौ ?”
“कुरा त्यसो हैन…” मेतचिकले हाइ काढ्दै भन्यो ।
“ए तिमी वाक्क भयौ । कुरा बुझियो ।”
सिस्किन एउटा ठेलामा बस्यो र बानी लागेकोले उसले आफ्नो टलकदार लाम्चो बुटलाई घुँडासम्म तान्यो । “खास भन्ने हो म पनि वाक्कदिक्क भइसकेको छु । यहाँ पढेलेखेका मान्छेहरू असाध्यै थोरै छन् । सके लेभिनसन अपवाद छ, तर ऊ पनि… ।” सिस्किनले आफ्नो कुम उठायो र गडेर आफ्ना बुट हेर्न थाल्यो ।
“ऊ पनि के ?” मेतचिकले कौतुक हुँदै सोध्यो ।
“कुरा के भने ऊ त्यति धेरै शिक्षित होइन, खालि चलाख हो । हाम्रो बलबुत्तामा टेकेर उसले धाक जमाउँछ । मेरो कुरामा पत्यार लागेन ?” सिस्किनको ओँठमा विषादपूर्ण मुस्कान फैलियो । “हो, यसमा शङ्का छैन । तिमी उसलाई खुब बहादुर, असली जेनरल भन्ठान्छौ ।” उसले ‘जेनरल’ शब्दलाई विशेष शैलीमा भन्यो, “बकबक हो बकबक ! साँच्चै भन्ने हो यो हाम्रो कपोलकल्पना हो । यही हामी पछि हट्ने कुरालाई नै लेऊ । शत्रुमाथि एउटा तीव्र र जोडदार प्रहार गर्नुपर्ने बेला हामी मुसाजस्तै यसरी फोहर दुलोभित्र भाग्दै छौँ। अझै अत्यन्त महत्वपूर्ण रणनीतिक कारणले नै यसो गरिएको भनेर हल्ला पिटिन्छ, बुझ्यौ ? उता हाम्रा साथीहरूले आफ्नो ज्यानको आहुति दिएका होलान्, तर हामी भने रणनीतिको कुरा समातेर बसिराखेका छौ !” सिस्किनले ठेलाको एउटा चक्काबाट अति यान्त्रिक पाराले त्यसको धुरी बाहिर निकाल्यो र मुर्मुरिँदै त्यसलाई भित्र घुसायो ।
प्रस्तुति : सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *