भर्खरै :

धेरैपछि पुस्तक पसलमा

‘लकडाउन’ को कारण काठमाडौँका पुस्तक पसल चहार्न नपाएको लामै समय भइसकेको थियो । पसलको ढोकाछेउ घुम्ने सोकेसमा राखिएका ‘न्यु अरात्ल’ बाट सुरु गर्दै पसलको सबभन्दा कुनामा चाङ लगाएर राखिएका पुस्तकको सबभन्दा तलका ठेली नियाल्न थालेँ । त्यसो त पुस्तकसँग मौन संवाद गर्दैगर्दा पुस्तक पसलमा आउने विभिन्न थरी मान्छेका कुरा पनि सुन्दै गर्नुको मज्जा बेग्लै हुन्छ । कतिबेला विद्वान्हरूबीच थरीथरीका पुस्तक र लेखकबारे कुराकानी जमिरहेको हुन्छ । गम्भीर विषयका लेखकहरू समेत त्यहाँ भेला भएर आफ्ना मित्रजनसँग केटाकेटी जस्तै जिस्किरहेका हुन्छन् । उनीहरूका रसिला कुराकानी सुनेर पुस्तकको चाङले छेलिएर कतिबेला त खितखिताइरहेको पनि हुन्छु । कतिबेला उनीहरूले पनि सुन्ने गरी अट्टहास निस्कन्छ ।
‘पसले’ को लागि सबै ग्राहक ‘भगवान’ हुन् । पुस्तक पसलका साहुलाई पनि कुन ‘भगवान’ लाई कसरी पुजा गर्नुपर्छ, राम्ररी थाहा हुन्छ । पसलमा यसरी सिद्धहस्त लेखकहरूले घण्टौँ हँसीमजाक गर्दै बस्दा ‘लक्ष्मी’ को तस्बिरसामु धुप बालेजस्तै हुन्छ भन्ने कुरामा उनी अनुभवी छन् । त्यसैले सकेसम्म कुराकानी लम्बियोस् भनी उनी कफी, चिनी भएको–चिनी नभएको दुधको चिया, चिनी भएको–चिनी नभएको कालो चिया अर्डर गर्छन् । व्यस्तता र उमेरको भारीले यसरी बाहिर गफिन नपाएका लेखकहरूलाई त्यत्ति भएपछि के चाहियो र ? उनीहरूका कुराकानी सुनेर पसलमा लकडाउनको कारण कुँजिएर बसेका प्रत्येक पुस्तक पनि जीवन्त भएजस्तो महसुस गर्छन् पसलमा काम गर्ने कर्मचारीहरू ।
“तपार्इँले अमिश मुल्मीको ‘अल रोड्स’ पढ्नुभयो ?”
“चर्चा निकै सुनेँ । पढ्ने विचारमा छु । आज लानुपर्ला एउटा ।”
“केटोले गज्जब मिहिनेत गरेर लेखेको छ । यसअघि टुक्राटुक्रामा पढेका कुरालाई एउटै थालीमा पस्केजस्तो अनुभव भयो ।”
“ ‘हेनरी किसिङ्जर एन्ड द राइज अफ चाइना’ पनि पढ्नुपर्ने नयाँ पुस्तक हो ।”
“कस्को ?”
“लेखहरूको सङ्कलन हो । सञ्जय बारु र राहुल शर्माको सम्पादन । सञ्जय बारु, उही क्या ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ लेख्ने ।”
“ओके”
“सर ! ‘इन्डिया एन्ड एसियन जिओपोलिटिक्स’ मा पनि धेरैले चासो देखाएका छन्”, साहुजी मसला थप्दै भन्छन् ।
पसलमा कतिबेला भर्खर पुस्तक पढ्ने बानी बस्दै गरेका किशोरकिशोरी पनि आउँछन् । उनीहरूको पाइला सिधैै फिक्सन वार्डतिर लम्कन्छ । “मुराकामीका बुक्स कहाँ छन् दाइ ?”, उनीहरू यस्तै आख्यानकारका नाम जप्दै आइपुग्छन् । उनीहरू घुम्न त पसलका सबै कुना घुम्छन् । तर, गोजी हलुका भएकोले हुनुपर्छ आखिरमा एकाध ठेली झोलामा राखेर निस्कन्छन् । कतिले त काउन्टरमा पाँच–छ वटै ठेली लिएर आउँछन् । तर, क्यासिएरले ‘टोटल’ देखाएपछि “दाइ, यो दुई वटा पछि लागौँला है”, भनेर फिर्ता गर्छन् । पुस्तकका नयाँ ग्राहकले मात्र होइन, म जस्तो चिया खानमात्र पुग्ने आम्दानी भएको ग्राहकले पनि महँगो पुस्तकमा आँखा लगाउनु नै ‘पाप’ हो जस्तो लाग्ने !
‘यति पुस्तक त अहिले नपढे पनि पछि पढ्नलाई सङ्ग्रह गर्नुपर्छ’ भन्ने मनमा हुन्छ । तर, प्राइस ट्यागमा टङ्कन गरिएको मूल्य देखेपछि भविष्यमा कुनै जागीर भएपछि किन्नुपर्ला भनी मन मार्छु । एक बोरा चामल आउने मूल्यमा पनि कसैले पुस्तक किन्छ होला र ? मलाई त्यस्तो लागे पनि खासमा पुस्तक पसलमा बस्दै गर्दा लाग्छ, किताब किन्न पानी बगाएजस्तै पैसा बगाउने पनि धेरै हुन्छन् ।
“दिदी ¤ यहाँ चिल्ड्रेन लिटरेचर पाइन्छ ?”, आफ्नो बाल्यकालमा धेरै पढ्न नपाउँदा जीवनभर अत्यास अनुभव गरेका नयाँ आमाहरू कतिबेला फूलजस्ता नानीहरूलाई पसलको खुड्किलो नघाउँदै भित्र पस्छन् । आफूले पूरा गर्न नपाएका सबै रहर आफ्ना छोराछोरीमार्फत पूरा गर्ने गहिरो सपना बोकेका आमा–बाहरू यसरी पुस्तक पसलमा आउने गर्छन् । यद्यपि, यस्ता आमाबुबाको सङ्ख्या भने थोरै देख्छु । तर, जति आउँछन्, उनीहरूका कुरा सुनेर मनखुश हुन्छ ।
एक साल भृकुटीमण्डपको पुस्तक मेलामा पुतलीजस्ता दुई छोरीको औँला समाएर डुल्दै गरेका आमा–बुबालाई भेटेको थिएँ ।
“नानू, हेर ! तिमीलाई कुन बुक मन पर्छ ?”
“बाबा ¥याबिट भएको”, सानीले भन्दै थिइन् ।
“मलाई सिन्ड्रेला स्टोरी”, ठूलीले पनि उही ऊर्जाका साथ भनेकी थिइन् ।
सँगै आमाले अरू पनि नेपाली र अङ्ग्रेजी भाषाका चम्किला बालपुस्तक किन्न काखी च्याप्दै थिइन् । मेरो मनमा कुरा खेलिरहेको थियो– विद्यालय पठाएर आफ्नो जिम्मेवारी सकिएको ठान्ने आमाबुबा अझै कति होलान् देशमा ! अझ विद्यालय नै किन पठाउनुप¥यो र ? किन पढाउनु प¥यो र ? पाँच कक्षा पास गरे भइहाल्यो त नि ! स्कुलमा पढाउने बाहेक अरू –किताब किन पढ्नुप¥यो र ! यस्ता तर्क पेल्ने अभिभावक कति होलान् । अनि, आफ्ना छोराछोरीलाई विद्यालयको अनुहारै देखाउन नसक्ने अभिभावक पनि धेरै होलान् !
पुस्तक पसलहरूमा हिजोआज त्यस्ता चिल्ड्रेन कर्नर पनि बन्न थालेका छन् । त्यहाँ पुस्तकबाहेक बालबालिका रमाउने अन्य विभिन्न खेल सामग्री र रमाइला चित्र पनि राखिएका हुन्छन् । यद्यपि, यस्ता कर्नर भने शून्यशून्य देख्छु प्रायशः ।
चिया पसलको साहुलाई चियाको, कपडा पसलको पसलेलाई कपडाको, जुत्ता पसलको पसलेलाई जुत्ताको विषयमा थाहा भएजस्तै पुस्तक पसलको साहुलाई पुस्तकको विषयमा भरमार जानकारी हुन्छ नै । कतिपय पुस्तक पसलका साहुहरू त आफै बौद्धिक जस्तो लाग्छ । कतिपय पुस्तक पसलका साहुहरू गम्भीर अध्ययनशील स्वभावको पाउँछु । म जस्ता काँचो अध्ययन भएका ग्राहकलाई त्यस्ता पसलेका पुस्तकका नामको सिफारिसले नै पुरिदिएको अनुभूत हुन्छ ।
“भाइ, कुन विषयमा रुची राख्छौ ?”
“……….”
“लौ त्यसो भए बारबरा टुचम्यानको ‘नोट्स फ्रम चाइना’ पढ्नू त !”
“हेनरी किसिन्जरको ‘अन चाइना’ मात्र पढेर चाइना कहाँ बुझिन्छ र भाइ !”
“एड्गर स्नो र अन्ना लुइ स्ट्रङ पढ्नुपर्छ ।”
“कल्चरल रुभोल्युसन बुझ्न एलन गिन्सवर्गको ‘माइ फस्र्ट सिक्स्टी एयर्स इन चाइना’ र ‘अ म्यान इन माओज राइट’ पढ । अहिलेको चीन बुझ्ने धेरै पुस्तक त यहीँ पनि छन् ।”
उनका सिफारिसको लामो पङ्क्ति लम्बिने थियो, यदि पसलमा नयाँ ग्राहक नपसेका भए ।
सङ्गत गुणाको फल ! पुस्तकका अक्षर पिउने प्यासीहरूको सङ्गतले पुस्तक पसलेलाई पनि अक्षरको साधक बनाइसकेको अनुभव हुन्छ ।
पुस्तक पसलको ‘नेपाल सेक्सन’ मा नियाल्दै गर्दा एक दिन आइपुगिन् एक जना स्वीडिस् । भीमबहादुर पाँडेको ‘त्यसबखतको नेपाल’ पढेपछि नेपाली समाजलाई अझ नजिकबाट बुझ्ने रुची पलाएको थियो । नेपालको वास्तविकता नबुझी विदेशी साहित्य र समाजमात्र पढ्न खोज्दा हामीले धेरै अपेक्षा पाल्दा रहेछौँ । अनि, ती अपेक्षा कतिबेला नेपालको माटो नसुहाउँदा फसल नलाग्ने रहेछ । वस्तुगत अवस्थाभन्दा ठूलो अपेक्षा पाल्दा मानिसलाई कुनै पनि क्षण निराशाले झ्याप्प समात्ने रहेछ ¤ त्यसकारण, नेपाल चिन्नुपर्छ भन्ने विद्वानहरूको भनाइ लामो अनुभवको सार हो । नेपाल चिन्न या त पढ्नुप¥यो या घुम्नुप¥यो । घुम्न नसक्दा कम्तीमा पढ्नु त प¥यो । नेपाल सेक्सनमा मसँगै पुस्तकका लहर नियाल्न थालेकी स्वीडिस् मलाई गज्जब लागिन् । उनले पुस्तक पसलबाट झन्डै पन्ध्र ठेली पुस्तक किनिन् । उनको नेपाल बसाइ झन्डै दुई महिना । उनले छानेका पुस्तकमा मैले लोभी आँखा लगाएँ – सबै नेपाली समाजको समाजशास्त्र, इतिहास र राजनीतिबारे पुस्तक थिए । उनी एकातिर नेपाल घुम्दै जानेछिन्, अर्कोतिर पुस्तकमार्फत आफ्नो अनुभवलाई आधिकारिकता दिँदै जानेछिन् । क्या मज्जाको मान्छे ! उनी पक्कै लेखक वा पत्रकार हुनुपर्छ । विडम्बना मैले उनलाई सोधिनँ ।
फ्रान्सेली लेखक र नेपालका एक पुराना मित्र यतिबेला नेपाल आउन आतुर छन् । तर, कोभिडको कारण उनी आउन सकिरहेका छैनन् । उनलाई नेपाल आउनै नपाइ मरिने पो हो कि भन्ने पीर परेको छ । नभए उनी हरेक वर्ष नेपाल आएर केही महिना बसेर जान्थे । उनले नेपालको संस्कृति, राजनीति र समाजशास्त्रबारे केही पुस्तक र धेरै सङ्ख्यामा लेख लेखेका छन् । उनका लेखहरू प्रज्ञा प्रतिष्ठानको अङ्ग्रेजी बुलेटिनमा प्रकाशित भइरहेको हुन्छ । पनौती सहरबारे उनले गहिरो अध्ययन गरेका छन् । नेपाली समाजबारे उनका कुरा सुनेर हामी हाम्रो देशको कुरा एक जना विदेशीको मुखारबिन्दबाट सुन्दै छौँ भन्ने यर्थाथबोधले सा¥है असजिलो अनुभव हुन्छ । नेपाल र नेपाली समाजबारे हामीलाई कति कममात्र ज्ञान रहेछ ! हामी दैनिक हिँड्ने बाटो र छिचोल्ने ठाउँबारे हामीलाई कति कममात्र थाहा रहेछ !
लकडाउनमा पुस्तक पसल चहार्न नपाए पनि अनलाइन अर्डरबाट झिकाएका केही पुस्तकका चहकिला गाता र पुस्तकका पानाबाट हरर्र आएको सुवासले नै मन बुझाएको थियो । लकडाउनले धेरैको बानी बिगारेको छ – घरबाट बाहिर निस्कनै मन नपर्ने । उस्तै काम नपरे त घरमा महिनौँ थुनिएर बस्न मन लाग्ने । त्यसैले पुस्तक पसल धाउन पनि अल्छी लागेको छ । जे होस्, मन न हो ! ढिलै भए पनि पुस्तक पसल नियाल्दा मन ‘गार्डन गार्डन’ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *