जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
यो वर्ष हेगेलले संसार टेकेको २५१ वर्ष पुगेको छ । उनको पूरा नाम जर्ज विल्हेल्म फ्रेडरिख हेगेल थियो । उनी १७७० अगस्टमा दक्षिण जर्मनीस्थित स्टुटगार्टमा जन्मेका थिए । दर्शनको इतिहासमा हेगेल एक महान् हस्ती हुन् । आउनुहोस् हेगेलको चमत्कारबारे चर्चा गरौँ ।
तपाईँ बीसौँ शताब्दीको विज्ञानबारे अलिअलि जानकार हुनुहुन्छ भने आइन्स्टाइनको अन्तिम इच्छाबारे अवगत हुनुहुन्छ होला । हो, आइन्स्टाइन ब्रह्माण्डका सारा भौतिक नियमहरूलाई एकै सूत्रमा उन्न चाहन्थे । उनी एउटा युनिफाइड वा एकीकृत सिद्धान्तको खोजीमा थिए । तर उनको इच्छा अधुरै रह्यो र अद्यापि अपुरै छ । आइन्स्टाइनकै देशमा झन्डै सय वर्षअघि जन्मेका हेगेल उनीभन्दा गहिरो सोचका थिए । हेगेल विश्व ब्रह्माण्ड, मानव समाजको इतिहास र मानव चेतनालाई एकै सूत्रमा उन्न चाहन्थे । एउटा यस्तो सूत्र जसमा समस्त जगत, इतिहास र सोच अटाओस् !
हेगेल त्यो सूत्रलाई ‘डायलेक्टिक्स’ (dialectics) भन्थे । पण्डितहरूले ‘डायलेक्टिक्स’ लाई नेपालीमा ‘द्वन्द्ववाद’ भनी उल्थ्याएका छन् । गाह्रो नाम छ हगि ? बुझे सजिलो छ । ग्रीक भाषामा ‘डायलेक्टिक’ भनेको ‘गफिनु’ हो । ‘डाय’ को अर्थ दुई र ‘लेक्टिक’ को अर्थ विचार वा तर्क । ‘डायलेक्टिक्स’ अथवा ‘द्वन्द्ववाद’ को अर्थ हुन्छ – दुईविपरीत वा अन्तरविरोधी वस्तु, विचार वा पक्षबीचको तानातान, घम्साघम्सी वा द्वन्द्व । पहिले ‘डायलेक्टिक्स’ भनेको तर्क गर्ने तरीका थियो । हेगेलले त्यसलाई नयाँ अर्थ दिए । उनले समस्त जगत, इतिहास र सोच ‘डायलेक्टिक’ वा ‘द्वन्द्वात्मक’ पारामा विकसित हुन्छ भने । अर्को शब्दमा ‘डायलेक्टिक्स’ गतिको नियम थियो । उनी सोचविचार वा चिन्तनका विभिन्न पाटापक्षहरू बुझ्न ‘डायलेक्टिक्स’ को प्रयोग गर्थे ।
गजबका चीजबीजले तिमीलाई पर्खिबसेका छन्
दुई खुट्टाका ठाउँमा तिनका तीन खुट्टा छन् !!
– हेगेलबारे (कविता, कार्ल माक्र्स, १८३७)
विषयलाई विविध खुट्किलामा टुक्राउने हेगेलको तरीका काइदाको थियो । उनी विचार प्रक्रियालाई तीन चरणमा टुक्राउँछन् – हुनु, नहुनु र बन्नु । अङ्ग्रेजीमा in itself (being), out of itself (nothingness) / in and out of itself (becoming) । हेगेलको भाकामा भन्नुपर्दा ‘हुनु’ थिसिस (thesis) भयो, ‘नहुनु’ एन्टिथिसिस (anti-thesis) भयो र ‘बन्नु’ सिन्थिसिस (synthesis) भयो । हेगेलले समस्त मानव ज्ञानलाई यिनै तीन शब्दमा समेटेका छन् । उनी विश्व जुन आधारभूत नियममा टिकेको छ, त्यसलाई ‘तर्क’ (logic) भन्छन् । त्यसबाहिरको वा उल्टो चीजलाई उनी ‘प्रकृति’ (nature) भन्छन् । ‘तर्क’ र ‘प्रकृति’ कसरी विपरीतार्थी भए ? ‘तर्क’ दिमागी हुन्छ, त्यसको कुनै आकारप्रकार वा भौतिक गुण हुन्न । तर ‘प्रकृति’ को दिमागबाहिर भौतिक अस्तित्व हुन्छ । त्यसको ठोस गुण र विशेषता हुन्छ । प्रकृति वैज्ञानिकहरूले यिनै विशेषताको अध्ययन गर्छन् । उनीहरू ‘तर्क’ र ‘प्रकृति’ को ‘द्वन्द्वात्मक’ योग वा सिन्थिसिसलाई हेगेल ‘दर्शन’ (philosophy) भन्छन् । अर्थात्, ‘तर्क’ थिसिस हो, ‘प्रकृति’ एन्टिथिसिस हो र ‘दर्शन’ ती दुईको सिन्थिसिस हो ।
हेगेल धर्म, दर्शन, विज्ञान, राजनीति, इतिहास, कानुन, कला, साहित्य… आदि पढ्थे । उनी मातृभाषाबाहेक ल्याटिन, ग्रीक, अङ्ग्रेजी र फ्रान्सेली भाषा खरखरी पढ्न सक्थे । उनले आजन्म अङ्ग्रेजी, फ्रान्सेली र जर्मन अखबारहरू पढिरहे र लेखहरू लेखिरहे । ज्ञानको मामिलामा उनी आफ्नो युगका साँचो सन्तान थिए, एक विश्वकोश थिए । उनी यसलाई अन्यथा मान्थेनन् । उनी भन्थे, आफ्नो युगलाई नाघ्न नसक्नु हरेक हस्तीको सीमा हो, किनभने ऊ आफ्नै इतिहासको वारिस हुन्छ । उनी व्यक्तिलाई ऐतिहासिक मान्थे । त्यसैले हेगेललाई बुझ्न उनको बौद्धिक विरासत के थियो भनी बुझ्नुपर्छ । यही मेसोमा हामी ‘तर्क’, ‘प्रकृति’ र ‘दर्शन’ बारे छलफल गर्नेछौँ ।
‘तर्क’
धेरैजसो प्राचीन दार्शनिकहरू द्वन्द्ववादी थिए । हाम्रो भेगका गौतम बुद्ध, चार्वाकजस्ता चिन्तकको सोच्ने काइदा द्वन्द्वात्मक थियो । उता ग्रीसका सुकरात, उनका चेला प्लेटो र दरचेला अरस्तु पनि द्वन्द्ववादी पारामा सोच्थे । एजियन समुद्रवारि आयोनियाका दार्शनिकहरू त झन् भौतिकवादी र द्वन्द्ववादी थिए । सुकरातको बहस गर्ने शैली द्वन्द्ववादी थियो । उनको तर्कशैलीबाट प्लेटोले केही नियम वा ‘तर्क’ झिके । प्लेटोले भने, कुनै परिवर्तनशील वस्तु वा पदार्थको ‘सार’, गुदी, गुण, विशेषता वा परिभाषा (essence) अपरिवर्तनीय हुन्छ । ज्ञान तिनै ‘सार’ को अध्ययन हो । ‘डायलेक्टिक’ तिनै ‘सार’ पर्गेल्ने वा बुझ्ने तरीका हो । उदाहरण हेरौँ, ० र १०० डिग्री सेल्सियस तापक्रमबीच H2O पानी बन्छ । त्यसभन्दा मुनि त्यो जमेर बरफ बन्छ, माथि तातिएर बाफ बन्छ । पानीका आफ्नै सार वा भौतिक विशेषता छन् । त्यसको लागि दुइटा हाइड्रोजन र एउटा अक्सिजन चाहिन्छ । अरू परमाणुले पानी बनाउँला भनी कल्पना गर्नु व्यर्थ छ । ती परमाणु वा विशेषता भएपछि मात्र त्यसलाई पानी भन्न सकिन्छ । निश्चित वस्तु बन्न निश्चित ‘सार’ वा ‘गुण’ चाहिन्छ भन्ने विचारलाई ‘सारवाद’ वा ‘गुणवाद’ (essentialism) भनौँ । १०० डिग्री सेल्सियसभन्दा बढी तताएपछि पानी बाफमा फेरिन्छ । यसरी फेरिने वस्तु पानीको ‘सार’ भने नफेरिने हुन्छ । यसबीच केस्राकेस्रा केलाउँदै जाँदा हामीलाई पानीबारे ज्ञान हुन्छ ।
प्लेटोले कुनै पनि वस्तुको ‘सार’ मान्छेको दिमागमा हुन्छ भन्थे । जस्तो हिउँदमा सबै पात झरेको रुखलाई पनि हामी रुखै भन्छौँ । रुख भन्न जरा, खाँबो, हाँगाबिँगा, पात सबै हुनुपर्छ । तर हाम्रो दिमागभित्र रहेको ‘सार’ ले गर्दा हामी हिउँदको नाङ्गा हाँगाबिँगालाई पनि रुखै भन्छौँ । कुनै वस्तुको ‘सारहरू’ पर्गेल्नु वा अलग्याउनु नै ज्ञान हो भन्नेमा अरस्तुको विमति थिएन । तर, उनले ती ‘सारहरू’ दिमागमा नभई वास्तविक संसारमै पाइन्छ भने । अघिको उदाहरणबारे अरस्तुले यस्तो भन्ने थिए – रुखमा जरा, धुरी, हाँगाबिँगा, पात हुन्छन्, तर हिउँदमा पात झरेर रुख नाङ्गो हुन्छ, यो हिउँदे रुखको ‘सार’ वा विशेषता हो । यसबाहेक अरस्तुले ‘तर्क’ का तीन नियम पत्ता लगाए । पहिलो नियमलाई टौटोलजी भनिन्छ । त्यो भनेको बाँच्नु बाँच्नु हो, मर्नु मर्नु हो, बाँच्नुको अर्थ मर्नु हुनसक्दैन । यसबाट दोस्रो नियम जन्मिन्छ । एकै क्षणमा बाँच्ने पनि र मर्ने पनि हुनसक्दैन । यसैबाट तेस्रो नियम बन्छ । बाँच्न नमरेको हुनैपर्छ र मर्न नबाँचेको हुनैपर्छ ।
हेगेलले प्लेटो र अरस्तुको खण्डन गरे । उनले प्लेटोको टौटोलजीलाई छिन्नभिन्न पारे । हेगेलले भने, ‘तर्क’ भनेको कुनै पदार्थ, त्यसको ‘सार’ वा भौतिक गुणको अध्ययन होइन । बरु कुनै चीजबाट त्यसको सम्पूर्ण गुदी निकालेपछि जे रहन्छ, अर्थात् त्यसको अस्तित्व मात्रको अध्ययन ‘तर्क’ हो । दर्शनको भाषामा यसलाई ‘हुनु’ (being) भनिन्छ । अरस्तुको भाषामा ‘हुनु’ को अर्थ ‘हुनु’ हो । हेगेलले ‘हुनु’ को अवधारणा एक्लो रहन सक्दैन भने । यो अवधारणाविपरीत अवधारणासँगै अस्तित्वमान् हुन्छ । त्यो भनेको ‘नहुनु’ (nothingness) हो । जसरी मृत्युको विचारबिना जीवनको अर्थ हुन्न, रातको अवधारणाबिना दिनको अर्थ हुन्न, उच्चताबिना नीचताको अर्थ हुन्न, त्यसरी नै ‘नहुनु’ ले ‘हुनु’ लाई अर्थ दिन्छ । ‘हुनु’ को परिभाषा ‘नहुनु’ विना दिनै सकिन्न । ‘हुनु’ को एन्टिथिसिस वा द्वन्द्वात्मक पुरक हो ‘नहुनु’ । हरेक शब्द वा विचार आफ्नो उल्टो अवधारणाबिना अस्तित्वमा रहनै सक्दैन । ‘हुनु’ र ‘नहुनु’ को तानातान वा द्वन्द्व ‘बन्नु’ (becoming) ले मात्र हल गर्न सक्छ । ‘हुनु’ र ‘नहुनु’ भन्दा नितान्त भिन्न नतिजा निस्किन्छ । यसकै नाम हो परिवर्तन, विकास वा गति । संसारमा कहीँ कतै नभएको ‘चिन्मय’ एकाएक हुन्छ वा जन्मिन्छ र कुनै समय विशेषपछि ऊ मर्छ र शून्यमा हराउँछ । गजब छैन त !
जीवनको हकमा हेगेलको विचारले अर्कै रूप लिन्छ । उनी ‘हुनु’ (being) र ‘नहुनु’ (life) को गाँठो ‘बुद्धि’ (mind) मा फुक्छ भन्छन् ।
हेगेलले सारवादको खण्डन गरे । कुनै वस्तुको सार, गुदी वा गुण त्यसको भौतिक बनोटले निर्धारित गर्छ । तर, त्यहाँ द्वन्द्व सिर्जना हुन्छ । वस्तुको भौतिक गुण निश्चित भए पनि त्यसलाई हेर्ने व्यक्तिको बुझाइ अपुरो हुनसक्छ । यस अर्थमा ‘वस्तुगत तर्क’ र ‘मनोगत तर्क’ को तानातान सुरु हुन्छ । वस्तुगत र मनोगतबीचको यो द्वन्द्व हल गर्ने काम चेतनाको उच्चतम रूप ‘दर्शन’ को हो । यही द्वन्द्वबाट दर्शनको जन्म हुन्छ । प्लेटो र अरस्तुले वस्तुको सार तत्व अपरिवर्तनीय भनेका थिए । हेगेलले ती सारहरू परिवर्तन हुने बताए । जस्तो समयसँगै न्याय–अन्याय, गुणदोषको परिभाषा वा ‘सार’ फेरिँदै जान्छ । कुनै बेला स्वाभाविक मानिने सती, छुवाछुत वा दास प्रथा आज अस्वाभाविक र अन्यायपूर्ण देखिँदै छ । पुराना सोच हराउँदै छन्, नयाँ सोच पलाउँदै छन् । अर्थात् चेतना पनि फेरिँदै जान्छ ।
‘प्रकृति’
दिमागी, अमूर्त वा अभौतिक ‘तर्क’ को उल्टो मूर्त र भौतिक ‘प्रकृति’ हुन्छ । ‘प्रकृति’ ‘तर्क’ को द्वन्द्वात्मक पुरक हो । ‘तर्क’ विचार हो, ‘प्रकृति’ पदार्थ हो । हेगेल भन्छन् – जुन मूल ‘तर्क’ का आधारमा यो सारा जगत बनेको थियो, त्यो प्रकृतिका अनगिन्ती प्रणालीहरूमा बाँडिएको छ । प्रकृतिमा अनेक प्रणालीहरू छन् । जीवजन्तुको अलग्गै दुनियाँ छ । ग्रह–नक्षत्रहरूको अर्कै संसार छ । रसायनहरूको बेग्लै माहोल छ । तर, तिनीहरूको मूल नियम वा ‘तर्क’ एउटै हुन्छ । प्रकृतिका हरेक प्रणालीमा एउटै ‘तर्क’ लुकेको हुन्छ । एउटा ताराको ‘तर्क’ जे हो, त्यो एउटा अणुको ‘तर्क’ पनि हो । एउटा रुख जसरी हुर्किन्छ त्यही नियमले मान्छेको बच्चा पनि हुर्किन्छ । ‘प्रकृति’ र ‘तर्क’ बीचको अन्तरविरोध बुझ्ने वा केलाउने दही मथनीबाट जे निस्किन्छ, त्यो ‘बुद्धि’ (Mind) हो । अर्थात्, प्रकृतिको अङ्गअङ्गमा ‘डायलेक्टिक्स’ लुकेको हुन्छ ।
दार्शनिक क्रान्ति
हेगेल हुर्केको युरोपमा आर्थिक, राजनीतिक र सामाजिक उथलपुथल भइरहेको थियो । फ्रान्सेली राज्य क्रान्तिले धेरैलाई प्रभावित ग¥यो । आफ्ना दार्शनिक साथीहरूसँगै हेगेल पनि त्यो क्रान्तिको विजयमा रमाए । सन् १८०७ मा लेखिएको पुस्तक ‘फेनोमेनोलजी अफ माइन्ड’ मा उनले क्रान्तिबारे लेखे – “पुरानो व्यवस्थासँग मान्छेको मन भाँचिएको छ । फ्रान्सेली क्रान्तिले स्वर्गलाई पृथ्वीमा झारेको छ ।” त्यतिबेला जर्मन समाज बेलायत र फ्रान्सभन्दा पिछडिएको मानिन्थ्यो । त्यहाँ कुनै राजनीतिक र आर्थिक उत्साह थिएन । त्यसैले, माक्र्सले आफ्नो पुस्तक ‘क्रिटिक अफ हेगेल्स फिलोसफी अफ राइट’ मा जर्मन अगुवाहरूलाई लाछी र कुपमन्डुक भनी आलोचना गरेका थिए । माक्र्सले त्यसो लेख्नु स्वाभाविक थियो । किनभने, फ्रान्सेली क्रान्तिले उचालिएका जर्मन बुद्धिजीवीहरूले राजनीतिक वा सामाजिक क्रान्ति आँट्न सकेनन् । कालान्तरमा हेगेल पनि रुढीवादी सावित भए । तर, दर्शनको क्षेत्रमा जर्मनीले ठूलो विद्रोह ग¥यो । यो १७८० को दशकदेखि १८४० को दशकसम्म चल्यो । यो विद्रोहका अगुवाहरू इमानुयल कान्ट, फिख्ते, शेलिङ र हेगेल थिए । यो दार्शनिक लहरलाई जर्मन आदर्शवाद भनिन्थ्यो । यसको मूल मर्म थियो – जीवन र जगतका सम्पूर्ण नियमहरूको एउटै आधारभूत नियम पत्ता लगाउनुपर्छ । त्यो मूल मर्मलाई उनीहरू ‘निरपेक्ष सत्य’ (absolute) वा ‘मूल नियम’ (first principle) भन्थे ।
हेगेलअघि युरोपेली दर्शन इन्द्रियप्रधान र बुद्धिप्रधान गरी दुई भागमा विभाजित थियो । ती दुईबीच दार्शनिक बहस जारी थियो । इन्द्रियप्रधान दार्शनिकमा बेकन, लक, बर्केले, ह्युम पर्थे । उनीहरू सम्पूर्ण ज्ञानको स्रोत मानिसका ६ इन्द्रिय हुन् भन्थे । उनीहरू मान्छेको जन्मजात गुण हुन्छ भन्ने कुरा मान्दैनथे । बरु अनुभवबाट मान्छेले ज्ञान पाउँछ भन्थे । ज्ञान पाउन उनीहरू नौला नौला प्रयोगहरू गर्नुपर्छ भन्थे । यसलाई आगमन विधि भनिन्छ । बुद्धिप्रधान दार्शनिकहरूमा देकार्त, स्पिनोजा, लेब्नीज पर्थे । उनीहरू तर्कको कसीमा खरो उत्रने ज्ञान नै सत्य हो भन्थे । सत्य थाहा पाउन चाहिने सम्पूर्ण गुणहरू मानिसमा जन्मजात हुन्छन् । र, आफ्ना इन्द्रिय र अनुभवबाट पाएका सूचनाहरूबारे तर्कवितर्क वा चिन्तन गरेको खण्डमा उसले सही ज्ञान पाउन सक्छ भन्ने उनीहरूको मत थियो । यसलाई निगमन विधि भनिन्छ । यसको लागि उनीहरू वास्तविक संसार वा पदार्थको अस्तित्व छ भन्ने स्वीकार गर्थे । उनीहरू मान्छेलाई इन्द्रियले धोका दिनसक्छ त्यसैले पूर्णतः इन्द्रिय वा अनुभवमा भर पर्न सकिन्न भन्थे । जस्तो, मरुभूमिमा पानी देख्ने मानिसको इन्द्रियले उसलाई धोका दिन्छ । तर्कबाट उसले मृगतृष्णा देखेको थाहा पाउँछ । इन्द्रियप्रधान दर्शनले कुनै ठोस निष्कर्ष वा नियम दिन सक्दैन, सम्भावनाको कुरामात्र गर्न सक्छ भन्ने बुद्धिप्रधानहरूको अर्को गुनासो थियो । इन्द्रियप्रधानहरूको उत्तर हुन्थ्यो – हामी कहिल्यै आफ्नो कुरालाई सोह्रै आना सही हो भनी दाबी गर्दैनौँ, यो हाम्रो चिनारी हो ।
जर्मन आदर्शवादका मुखिया कान्ट इन्द्रियप्रधान र बुद्धिप्रधान दर्शनलाई, विज्ञान र धर्मलाई जोड्न चाहन्थे । केही हदसम्म उनले ती दुईलाई जोडे पनि । उनले मान्छेको आफ्नो इन्द्रिय र दिमागले मिलेर बनाइदिने छविबाट ज्ञान पाउँछ भने । उनले समग्र ज्ञानलाई तीन कोटीमा बाँडे । एउटामा उनले तर्क वा बुद्धिको मद्दतले प्राप्त ज्ञानलाई राखे । दोस्रोमा केवल इन्द्रियको मद्दतले प्राप्त ज्ञानलाई राखे । र, तेस्रोमा बुद्धि र इन्द्रिय दुवैको मद्दतले प्राप्त ज्ञानलाई राखे । उदाहरणको लागि गणितको ज्ञानको लागि तर्क वा बुद्धिको मद्दत चाहिन्छ । तर, हिमालको रङ थाहा पाउन आँखाले नहेरी सुखै छैन । त्यस्तै ग्रहहरूको परिक्रमाबारे बुझ्न तर्क र अवलोकन दुवै आवश्यक हुन्छ । अवलोकन वा इन्द्रियबाट प्राप्त सूचनालाई तर्क वा बुद्धिले केलाउनुपर्छ । कसरी ? यसको लागि मान्छेमा जन्मजात चारथरी गुण हुन्छन् भनी कान्टले भने । यसरी कान्टले मानिसले आगमन र निगमन दुवै विधिको प्रयोग गरेर ज्ञान हासिल गर्छ भने । तैपनि, मान्छेले पाउने ज्ञान यथार्थको छविमात्र भएकोले त्यो पूर्ण नहुने उनको निचोड थियो ।
‘इतिहासको दर्शन’
हेगेल कान्टभन्दा अगाडि बढे । कान्टको विचार एक्लो दर्शकमा आधारित थियो । तर, समाजमा थरीथरी दर्शक हुनाले उनीहरू एउटै विषयलाई धेरै कोणबाट हेर्छन् र एकआपसमा छलफल, वादविवाद र बहस गर्छन् । यसरी हाम्रो समस्त ज्ञान, बुझाइ, विचार र चेतनाको सामाजिक पाटो हुन्छ । ती खासमा समाजका उपज हुन् । अझै अगाडि बढेर हेगेलले मानव चेतनालाई तीन चरणमा बाँडे – गोचर निश्चय (sense certainty), धारणा (perception) र बुझाइ (understanding) । मान्छेले सुरुमा आफ्ना इन्द्रियहरूबाट कुनै कुराबारे निश्चित विचार बनाउँछ । त्यसपछि त्यही कुरा नियालिरहेको व्यक्तिसँग फरक विचार वा धारणाहरू आदानप्रदान गर्छ, विचारविमर्श गर्छ । गोचर निश्चय र धारणाबीच उत्पन्न हुने अन्तरविरोध हल गरेपछि मानिसहरू निश्चित बुझाइ वा सत्यनजिक पुग्छन् । सही विचार कसरी बन्छ भन्ने यो नियम मानव इतिहासमा पनि लागू हुन्छ भन्ने हेगेलको ठहर थियो ।
मानव इतिहासमा ‘डायलेक्टिक्स’ को प्रयोगबारे हेगेलले एउटा रोचक दृष्टिकोण दिएका छन् । यसलाई उनी ‘मालिक–दास द्वन्द्व’ (master-slave dialectics) भन्छन् । यहाँ ‘मालिक–दास सम्बन्ध’ खालि एउटा उपमा वा प्रतीक हो । यो अवधारणालाई पनि हेरौँ । हामीले आफूबाहिरको कुनै चीज अवलोकन गर्दा हाम्रै अस्तित्व पनि परिभाषित हुन्छ । जस्तो जलिरहेको लास देख्दा मान्छेले आफ्नो अस्तित्व र चेतना छोइने गरी महसुस गर्छ । यसलाई हेगेल ‘विपरीतको एकता’ भनिन्छ । यसको अर्थ हरेक चीज आफ्नो विपरीतबाट परिभाषित हुन्छ । हेगेल हामीबाहिरको अचेत चीजलाई वस्तु (object) भन्छन् र सचेत चीजलाई द्रष्टा (subject) भन्छन् । द्रष्टाले आफ्नो चेतना अनुभूत गर्छ । द्रष्टाले वस्तुलाई आफूले जे चाह्यो, त्यही गराउन सक्छ । भाँच्न सक्छ, बङ्ग्याउन सक्छ, खेलाउन र नष्ट गर्नसक्छ । द्रष्टाले पहिलोचोटि अर्को द्रष्टा भेट्दा रल्ल पर्छ किनभने उसले देखेको वस्तु वास्तवमा ऊजस्तै चेतनशील हुन्छ । आफू विशेष द्रष्टा नभएकोले उसले आफूलाई गुमाएजस्तो मान्छ र एकप्रकारले दुःखी हुन्छ । तर, आफूजस्तै द्रष्टा पाएकोमा खुसी पनि हुन्छ । त्यसपछि उसमा अर्को द्रष्टाले म समस्त जड वस्तुहरूभन्दा फरक, एक द्रष्टा हुँ भनी स्वीकारोस् भन्ने चाहना पलाउँछ । द्रष्टाले आफूलाई जस्तो ठान्छ, अरूले पनि त्यस्तै देखून् भन्ने चाहन्छ । अरूले आफूलाई गलत बुझ्दा जोकोहीको चित्त दुख्छ । यो उसको प्राकृतिक स्वभाव हो । क्रूर वास्तविकता अलि भिन्न हुन्छ । पहिलोचोटि अर्को द्रष्टालाई देख्दा द्रष्टाले ऐना हेरेजस्तो महसुस गर्छ । यसको अर्थ द्रष्टाले आफूले जसो गर्छ ऐनाको छविले पनि त्यसै गरोस् भन्ने चाहन्छ । आफूले जस्तो सोच्छ वा महसुस गर्छ छविले पनि त्यसै गरोस् भन्ने चाहन्छ । यसको अर्थ दुवै द्रष्टाले एकअर्कालाई वस्तु मान्छन् । अरूमाथि आफ्नो वर्चस्व बढाउन चाहन्छन् । यो द्वन्द्व बढ्दै गएर जुँगा (अहम्) को लडाइँ बन्न पुग्छ । यसलाई हेगेल जीवन–मृत्युको सङ्घर्ष भन्छन् । पशु जगतमा यो द्वन्द्व भौतिक लडाइँमा फेरिन्छ भने मानिसमा यो द्वन्द्व ठूल्याइँ वा बडप्पनको रूपमा देखापर्छ । किनभने जीवित रहनु महत्वपूर्ण हुन्छ । अन्तमा एउटा पक्षले हात माथि उठाउँछ (आत्म समर्पन गर्छ र अर्कोलाई अब्बल मान्न पुग्छ । जस्तो, साथीभाइ वा घरपरिवारबीच पनि कोही हावी हुन्छन्, कोही दब्छन् । एउटा द्रष्टा माथि आउँछ, मालिक बन्छ र अर्को तल दब्छ, दास बन्छ । यहाँ मालिक द्रष्टा बन्छ, दास वस्तु बन्छ । मालिकले दासको स्वत्वलाई कदर गर्दैन । दासले आफैलाई मान्यता वा भाउ दिन सक्छ, तर मालिकबाट केही आस गर्नसक्दैन ।
हेगेलले मालिक–दास सम्बन्धको रोचक पक्ष उजागर गरेका छन् । सुरुमा त मालिकले आफूलाई अब्बल ठानेर आफ्नो जुँगामा ताउ (घमण्ड गर्छ) लगाउँछ । कालान्तरमा उसले आफ्नो अब्बलता कुनै द्रष्टाले स्वीकारेको होइन, बरु एउटा वस्तुले स्वीकारेको हो भन्ने बुझ्छ । मालिकले अरूलाई वस्तु बनाएर आफ्नो वर्चस्व वा सत्ता लादेको हुन्छ । खासमा उसले एक द्रष्टाले आफ्नो अब्बलता स्वीकारोस् भन्ने चाहेको हुन्छ । तर, वस्तुका अगाडि आफूलाई अग्लिएको पाउँदा उसलाई नमीठो लाग्छ । आफ्नो अब्बलता वा मालिकत्व फोस्रो भएको बुझ्छ ।
दासले मालिकको लागि काम गर्छ । उसले सिंहदरबार बनाउँछ, पाँचतले मन्दिर बनाउँछ, सडक, पुल र भवन बनाउँछ, भारी बोक्छ, खेत खोस्रिन्छ, मालिकको महिमा लेख्छ, कलाकृति बनाउँछ । अर्थात्, शारीरिक र मानसिक श्रम गर्छ । कुनै पनि श्रमिकले पहिले आफ्नो सिर्जनाको खाका दिमागमा कोर्छ र श्रमबाट त्यसलाई भौतिक वा पदार्थ जगतमा उतार्छ । यसलाई हेगेल आफ्नो विचारलाई बाहिर ल्याउनु, साकार पार्नु वा वस्तुकरण गर्नु भन्छन् । अर्को भाषामा उनी यसलाई आफूबाट अलग पार्नु वा अलगाव (alienation) भन्छन् । संसार कुनै एकजना व्यक्तिको रचना होइन । यस अर्थमा संसारका सबै कला, साहित्य, संस्कृति, परम्परा, सङ्गीत, दृष्टिकोण, राजनीतिक सिद्धान्त, धर्म, दर्शन, ज्ञान, विज्ञान मान्छेको सोच वा कल्पनाको अलगाव वा रचना हुन् । जस्तो, कुनै पौभा वा थाङ्का हेर्ने व्यक्तिले त्यसमा चित्रकारको सोच वा कल्पना ठम्याउने कोसिस गर्छ । यस हिसाबले सभ्यता मान्छेहरूको सामूहिक सोचको वस्तुकरण हो । ती मान्छे को हुन् ? हेगेल भन्छन् – ती मान्छे मालिक होइनन्, बरु दास हुन् । मालिकहरू कुनै प्रकारको श्रम गर्दैनन्, बरु मोज गर्छन् । त्यसैले समस्त सभ्यता दासहरूको सोचको वस्तुकरण वा प्रतिमूर्ति हो । कसैले भन्ला रानीमहल त प्रताप मल्लले बनाएका हुन् । तर, प्रताप मल्ल आफै काम गर्दैनन् । उनले कसैलाई काम गराउँछन् । ती ठेकेदार, वास्तुकार, उस्ताद वा मिस्त्रीले दासहरूलाई काम गराउँछन् । वास्तुकार राजाको आँखामा दास हो, तर दासको आँखामा मालिक हो । यसको अर्थ वास्तुकार मालिक बनेर काम गर्दैन, दासको भूमिकामा मात्र उसले काम गर्छ ।
कुनै चीजको रचना गर्दा दासले खुसी महसुस गर्छ । किन ? किनभने, त्यसो गर्दा उसले आफू पनि केही न केही हुँ, द्रष्टा हुँ भन्ने अनुभूति गर्छ । धरहरा बनाउने मजदुरले आफ्ना छोराछोरीलाई ‘हेर यो हामीले बनाएका हौँ’ भन्दा आनन्द मान्छ । ब्यानर लेख्ने मान्छेलाई पुछारमा कतै आफ्नो नाम लेख्न पाउँदा खुसी लाग्छ । किनभने त्यो ऊ द्रष्टा हुनुको एउटा सबुत हो । दासलाई अरूको मान्यता वा नमस्कार चाहिँदैन । मानव सभ्यता जन्माएर उसले आफू पनि द्रष्टा हुँ भनी इतिहासमा दर्ज गराउँछ । उसले आफ्नो कामबाट प्राप्त फलमा द्रष्टा हुनुको मान्यता पाउँछ । तर, मालिकको द्रष्टा हुनुको मान्यता झूटो र खोक्रो हुन्छ । यसरी इतिहास उल्टिन्छ, क्रान्ति हुन्छ । यो क्रान्तिपछि मालिक–दास सम्बन्धमा आधारित इतिहासको गाडी रोकिन्छ ।
हेगेलको बुझाइमा इतिहासका तीन चरण छन् । एक, प्राकृतिक अवस्था (state of nature) हो । त्यहाँ मान्छेलाई अरू कोही छ वा छैनसँग कुनै सरोकार थिएन । मान्छे स्वतन्त्र थियो । पहिचान, चिनारी वा मान्यता पाउनुपर्ने खाँचो थिएन । दोस्रो, आवश्यकताको जुवा (yoke of necessity) हो । त्यसमा द्रष्टाले अर्को द्रष्टा भेट्छ, उसले अरूको अस्तित्व स्वीकार्नुपर्ने हुन्छ । सबै सँगै बस्न नैतिकता वा कानुन बनाइनछ । समाज वा राज्यले कोरेको दायराभित्र बस्नुपर्दा स्वतन्त्रतामा ह्रास आउँछ । तेस्रो, सामाजिक नैतिकता (social morality) हो । परिवारहरू मिलेर नागरिक समाज वा समाज बन्छ । राज्यले निजी स्वार्थ र सामाजिक स्वार्थ जोड्ने काम गर्छ । राज्य परम चेतना वा ईश्वरको रूप हुन्छ । यी तीन चरणलाई हेगेलले कला, धर्म र दर्शनसँग जोड्छन् । पहिलो चरण कलाजस्तै हुन्छ । त्यहाँ मान्छेले आफ्नो सहजचेतनालाई अभिव्यक्त गर्छ । दोस्रो चरण धर्मजस्तै हुन्छ । त्यहाँ मान्छे केकस्तो दायरा वा आचारभित्र रहनुपर्छ भनी सिकाइन्छ । धर्मको इतिहासमा अघिअघि एउटा व्यक्ति वा राजा स्वतन्त्र हुन्थ्यो, रोमसम्म आइपुग्दा एउटा वर्ग स्वतन्त्र हुनपुग्यो र इसाई धर्मको आगमनपछि सबै मान्छेलाई मान्छेको रूपमा समान व्यवहार गर्ने विचार आयो । यसरी मानव जाति तेस्रो चरणमा प्रवेश ग¥यो । त्यो चरण हो दर्शन । एक हिसाबले मान्छेको इतिहासको अन्त्य भयो । निरपेक्ष सत्य भेटियो । धर्मको पर्खाल भत्काउँदै तर्कको जगमा निरपेक्ष सत्य स्थापित भयो । विज्ञान र दर्शनको सुरुआत भयो । इतिहासका सम्पूर्ण कला र धर्ममा आधारित सत्यहरूले उन्नत रूप लिए । यसप्रकार पाइलापाइला गर्दै ती सत्यहरू आपसमा जोडिए । त्यो मिलनबिन्दु दर्शन थियो । त्यसैले दर्शनबारे हेगेल भन्छन् – दर्शन वस्तुगत र मनोगत बुद्धिको उन्नत, स्वच्छन्द र विवेकशील मिलनको चरण हो, सम्पूर्ण विकासहरूको उच्चतम लक्ष्य हो ।
हेगेलले प्रकृति, मानिस र ईश्वर एउटै तर्कमा उनिएर चल्ने देखे । यसलाई उनी ‘सर्वव्यापी तर्क’ भन्छन् । यशु क्राइस्टलाई उनी बुद्धिप्रधान दार्शनिक भन्छन् । उनको विचारमा चमत्कारी कथाहरू सुनाएर इसाई धर्मले हामीलाई प्रकृति, मानिस र ईश्वरको सम्बन्धबारे बताउँछ । उनी धर्मलाई मानिसको दुःखी मानसिकताको उपज भन्छन् । मान्छेले अरू द्रष्टाको मान्यता खोज्छ वा आफूलाई वस्तु बनाइएकोमा दुःखी हुन्छ । स्वत्वसहितको एउटा ईश्वर छ भन्दा मान्छे मख्ख पर्छ, खुसी हुन्छ । ईश्वरको शरणमा उसले आफूलाई भुल्छ, पहिचान वा मान्यता खोज्नुपर्ने झन्झटबाट पार पाउँछ । इसाई धर्मबाहेक अन्य पुराना धर्मलाई हेगेलले यही आँखाले हेरेका छन् । उनी ती धर्मलाई मानव सोच वा चेतनाको विकासक्रमको कडी मान्छन् । धर्म आफैमा चेतनाको उच्चतम् रूप होइन, बरु मानवीय चेतनाको चित्रात्मक, काव्यिक वा गीति रूप हो । हरेक नयाँ धर्ममा पुराना धर्महरूको सार मिसिएको हुन्छ । यस अर्थमा सारा संसारको तर्क उन्नत हुँदै जान्छ । त्यसैले तर्क प्लेटो वा अरस्तुले भनेजस्तो संसार बुझ्ने साधन होइन । बरु अरू द्रष्टाबाट मान्यता हासिल गर्ने लालसा पनि हो । यस हिसाबले तर्क वा चेतना सतत परिष्कृत भइरहन्छ । यो परिष्कार कसरी हुन्छ ? हाम्रो बुद्धिमा हुने वस्तुगत चेतना कानुन, नैतिकता र राज्यको रूपमा वस्तुकरण हुन्छन् । हेगेल भन्छन् – सबैभन्दा ठोस तर्क नै ईश्वर हो । धार्मिकहरू जगतमा कणकणमा ईश्वरको लीला छ, त्यसैले सबथोक भ्रम हो, ईश्वरमात्र सच्चा हुन् भन्छन् । हेगेल पदार्थ जगतलाई मिथ्या भन्दैनन्, तर कणकणमा त्यो परम चेतना, बुद्धि वा तर्क छ भनी मान्छन् । यसको अर्थ हेगेल पूर्णतः आदर्शवादी वा अध्यात्मवादी होइनन् । उनी पदार्थको अस्तित्वमा विश्वास गर्छन् । उनी भन्छन् – यथार्थ बुद्धिसङ्गत हुन्छ, बुद्धिसङ्गत यथार्थ हुन्छ । पदार्थ जगतमा सबथोक बुद्धिसङ्गत वा तार्किक हुन्छ । जे विषय पढे पनि, जेलाई हेरे पनि त्यहाँ एउटै बुद्धि, तर्क वा सोच भेटिन्छ । कुनै पदार्थको बारेमा घोत्लिनु र ईश्वरको बारेमा घोत्लिनु एउटै कुरा हो ।
‘इतिहासको अन्त्य’
हेगेलले इतिहास र धर्मबारे यिनै विचारका आधारमा उदारवादी र फ्रान्सेली प्रबोधन युगका दार्शनिकहरूको खण्डन गरे । उनको आलोचना यस्तो थियो– दार्शनिकहरूले संसारको आदर्शवादी व्याख्या गरे । संसारलाई जस्तो छ, त्यस्तै हेरेनन् । मान्छेलाई तिनका सामाजिक, सांस्कृतिक पृष्ठभूमिमा नदेख्नु उनीहरूको कमजोरी हो । बरु, यसको बदलामा उनीहरूले एउटा आदर्श मान्छे खडा गरे र त्यस मान्छेलाई उसका भौतिक पृष्ठभूमि, गुण वा विशेषताबाट अलग पारे । एकप्रकारले एउटा अमूर्त व्यक्ति खडा गरे । एक अमूर्त व्यक्ति हुनाले त्यस व्यक्तिको न्यायको माग पनि अमूर्त हुन्छ । त्यसैले त्यसलाई लागू गर्न सकिन्न । उदारवादी दार्शनिकहरूभन्दा विपरीत गएर हेगेलले समाजलाई बुझ्ने कुँजी दिए । समाजलाई बुझ्न त्यसको आचारसंहिता बुझ्नुपर्छ । त्यसमा समाजको एकमुष्ट भावना, चेतना र आकाङ्क्षा निहित हुन्छ । यसको आधारमा परिवार, नागरिक समाज (समाज) र राज्य गरी समाज तीन संस्थामा विभाजित हुन्छ । परिवार निःस्वार्थपना वा मायाको क्षेत्र हो । आपसमा मायाप्रेम नभएपछि परिवार परिवार रहन्न । नागरिक समाजभित्र सम्पत्ति नै मान्छेको चिनारी हुन्छ । त्यो स्वार्थ र असमानताको क्षेत्र हो । परिवार कम्युनिस्ट समाजजस्तो हुन्छ । नागरिक समाज शोषणकारी समाजजस्तो हुन्छ । स्वार्थ र निःस्वार्थका यी दुई क्षेत्रको द्वन्द्वलाई राज्य नामको तेस्रो संस्थाले मिलान गर्छ । राज्य पानीजस्तो हुन्छ । त्यहाँ समाजका सम्पूर्ण अन्तरविरोधहरू उत्रिन्छन् वा उजागर हुन्छन् र राज्यले नै तिनको व्यवस्थापन गर्छ । त्यसो गर्न नसके राज्य भाँडिन्छ, विद्रोह हुन्छ र नयाँ राजनीति सुरु हुन्छ । यसरी भित्री द्वन्द्वले गर्दा राज्यमा परिवर्तन आउँछ र इतिहासको पाङ्ग्रा अगाडि बढ्छ ।
उदारवादी आलोचकहरूले हेगेलले राज्यलाई धर्मसँग तुलना गरेर निरङ्कुश व्यवस्थाको पक्षपोषण गरेको आरोप लगाए । खासमा हेगेलले राज्यलाई सर्वोच्च र निरपेक्ष विवेक मानेका थिए । यसरी उनले तत्कालीन प्रसियाली राजतन्त्रको पैरवी गरेको देखियो । उनले भने – राजतन्त्रबिना राज्य राज्य रहन्न । उनले चाहेको राजतन्त्र संवैधानिक राजतन्त्र थियो । उनी त्यसलाई आधुनिक युगको देन ठान्थे । खासमा उनी वास्तविक सत्ता सरकार चलाउने विज्ञहरूको हातमा रहोस् भन्ने चाहन्थे । उनी महिला, सर्वसाधारण र राजालाई वास्तविक सत्ता दिने पक्षमा थिएनन् । गरिबीलाई उनी समाजको दुर्घटना, दुर्भाग्य वा मानवीय कमजोरी मान्थे । समाजसेवाले गरिबी उन्मूलन गर्न सकिन्न र नागरिक समाजले पनि त्यसलाई हल गर्न सक्दैन भन्ने उनको ठहर थियो । गरिबीको निम्ति उनी धनीगरिब कसैलाई दोष दिन तयार थिएनन् । बरु गरिबीले समाजमा नैतिक स्खलन ल्याउने र मानिसलाई भिडभाडमा फेर्ने उनको बुझाइ थियो । हेगेलले व्यक्तिको निजत्वलाई बेवास्ता गरेको उदारवादीहरूको अर्को गुनासो थियो । उदारवादीहरू राज्यले बजारमा हस्तक्षेप गरेको हेर्न चाहन्नथे र निजी वा व्यक्तिगत स्वतन्त्रताको ताबेदारी गर्थे । खासमा हेगेलले निजी स्वार्थलाई बेवास्ता गरेका थिएनन् । यो आलोचकहरूको गलत बुझाइ थियो । सामाजिक जीवनमा कुनै छलकपट, भ्रम वा सङ्कीर्णताभित्र नबसेर चाहेको गर्नुलाई नै उनी निजी स्वतन्त्रता ठान्थे । निजी स्वतन्त्रताबारे हेगेलको बुझाइ गहिरो थियो । उनले भने , “स्वार्थ छिचोलेर निःस्वार्थी वा वस्तुनिष्ठ भई व्यवहार गर्नसक्नु नै स्वतन्त्र हुनु हो । साथै व्यक्तिका निजी आवश्यकतालाई नदबाउने समाज नै बुद्धिसङ्गत समाज हो ।”
हेगेल जेना विश्वविद्यालयमा प्राध्यापन गर्थे । शेलिङ उनका गुरु, साथी र सहयोगी थिए । पछि दुई दार्शनिकबीच मनमुटाव भयो । हेगेल ‘फेनोमेनोलजी अफ माइन्ड’ लेख्न बसे । प्रसियासँगको युद्धमा १८०६ मा नेपोलियन बोनापार्ट जेना पुगे । हेगेलले बोनापार्टलाई ‘घोडा चढेको परम चेतना’ मान्थे । बोनापार्ट जेना पुगेको बिहान हेगेलले ‘फेनोमेनोलजी अफ माइन्ड’ लेखेर सिध्याए । अनि उनले भने, “यो संयोग होइन, अब मैले दर्शनको क्षेत्रमा त्यो काम गरिदिएँ, जुन फ्रान्सेली क्रान्तिले राजनीति र इतिहासको क्षेत्रमा गरेको थियो । इतिहासको अन्त्य भयो ¤”
इतिहासको अन्त्य भन्नुको हेगेलको तात्पर्य के थियो ? मालिक र दास समान भएको स्थिति नै इतिहासको अन्त्य हो । इतिहासमा निश्चित मालिकले अरू द्रष्टाहरूलाई दास बनाएका थिए । दासहरूले आफ्नो द्रष्टाभाव वा सोचलाई अभिव्यक्त गर्न समस्त सभ्यताको सिर्जना गरे । अब उनीहरूलाई कसैले द्रष्टा भनेर नमस्ते गर्नुपरेन । आफ्नो सिर्जनामै उनीहरू सन्तुष्ट र खुसी भए । उनीहरूको रचना नै उनीहरू वस्तु होइनन् भन्ने प्रमाण बन्यो । अर्थात्, इतिहास अघि बढ्दै जाँदा मालिक र दासको सम्बन्ध फेरिन्छ । मालिक कमजोर बन्छ र दास सबल हुन्छ । उनीहरूको सम्बन्ध उल्टिन्छ । तर, दासहरूले मालिकउपर मनोमानी गर्दैनन् । बरु सबै मान्छेले मान्छेलाई वस्तु नभई द्रष्टा नै मान्न पुग्छन् । यहीनिर इतिहासको अन्त्य हुन्छ ।
हेगेलको भनाइको अर्को पाटो छ । कुनै बेला मान्छे सामाजिक प्राणी थियो । त्यहाँ स्वतन्त्रता थियो, मान्छे सामूहिकरूपमा सोच्थ्यो । बिस्तारै मान्छे आत्मकेन्द्रित भयो । उसले धनसम्पत्ति थुपार्ने, नाफा कुम्ल्याउने सोच्न थाल्यो । मान्छेमा व्यक्तिवादी भावना बढ्यो । यी दुई परिस्थितिलाई मिलान गर्न मान्छेले अब इतिहासको तेस्रो चरणमा पाइला टेक्नेछ । त्यहाँ मान्छेको निजी हितलाई स्थान हुन्छ र सामूहिक हितभित्रै निजी हित समाहित हुन्छ, निजी उल्झन हल हुन्छ । हरेकले समाज राम्रो होस् भन्ने चाहन्छ र समाजले हरेकको जीवन राम्रो बनाउँछ । (यो कम्युनिस्ट आदर्शजस्तो सुनिन्छ । अर्थात् प्रत्येक एकका लागि र एक प्रत्येकका लागि ।) यो कुरा बुझ्दा इतिहास आफ्नो गन्तव्यमा पुग्नेछ ।
हेगेलेको भनाइको तेस्रो पाटो पनि छ । द्रष्टा, सोच, चेतना, बुद्धि, तर्क वा ईश्वरले यो भौतिक संसार बनाएको हो । भौतिक संसारको कुनै पनि वस्तु त्यही द्रष्टाको प्रतिमूर्ति हो । त्यसैले प्रकृतिका अङ्गअङ्गमा हामीले त्यही चेतना वा बुद्धि भेट्न सक्छौँ । सारा संसारको वास्तविक तर्क नै ईश्वरको बुद्धि हो, ईश्वर हो । अर्थात्, हामीले द्रष्टा र वस्तु फरक चीज होइनन्, बरु एउटै चीज हुन् भनी बुझ्नुपर्छ । पदार्थ वा वस्तुको अस्तित्व छ र त्यसको तर्क वा सोच पनि अस्तित्वमा छ । द्रष्टा र वस्तु एकै हुन् भनी बुझेको दिन इतिहासको अन्त्य हुन्छ । अर्थात्, दर्शनको जग बसेको दिन, निरपेक्ष सत्य स्थापित भएको दिन इतिहासको अन्त्य हुन्छ ।
हेगेलको भनाइको चौथो पाटो ईश्वरसँग जोडिएको छ । उनी ईश्वरलाई असीमित भन्छन् र सारा प्रकृति, पदार्थ वा प्राणी जगतलाई सीमित भन्छन् । उनी भन्छन्, ईश्वरले संसार वा प्रकृति बनाए र यहाँ जताततै हामी ईश्वर पाउन सक्छौँ । यसको अर्थ यथार्थ बुद्धिसङ्गत हुन्छ र बुद्धिसङ्गत यथार्थ हुन्छ । त्यसैले प्रकृति र ईश्वरलाई बुझ्न खोज्नु आफैलाई बुझ्न खोज्नु हो । जुन दिन ईश्वर र मानिसबीचको खाडल पुरिन्छ, त्यही दिन इतिहासको अन्त्य हुनेछ ।
फ्रान्सेली क्रान्तिको नारा ‘स्वतन्त्रता, भ्रातृत्व र समानता’ सँगै दर्शनको क्षेत्रमा आफ्नो योगदानबाट माथिका चार सर्त वा पृष्ठभूमि पूरा भएको हेगेलको बुझाइ थियो । त्यसैले उनले ‘इतिहासको अन्त्य भयो’ भनी घोषणा गरे । आलोचकहरूले उनको निष्कर्ष उनको विचार पद्धतिभन्दा उल्टो भएकोमा विरोध जनाए । किनभने, हेगेलको ‘डायलेक्टिक्स’ को सार थियो, ‘संसार गतिशील छ भन्ने नियमबाहेक सबथोक परिवर्तनशील छ ।’ यसको अर्थ ‘इतिहासको अन्त्य’ एक बौद्धिक हर्षोल्लाससिवाय केही थिएन । एक हदसम्म त्यो सामन्ती युग अन्त्य भएको घोषणा थियो । र, नयाँ जन्मेको राज्यलाई उनले ‘सदाचारी राज्य’ (ethical state) को नाम दिए, नयाँ समाजलाई नागरिक समाज भने । राज्यलाई उनी ‘बुद्धि’ वा ‘निरपेक्ष सत्ता’ पनि भन्छन् । नयाँ युगलाई हेगेलले ‘अनन्त’ मानेका थिए । बिस्मार्क र हिटलरले युद्ध गर्ने अधिकारलाई राज्यको निरपेक्ष सत्ता ठानेझैँ आज पुँजीवादीहरू पुँजीवादलाई अनन्त भन्दै छन् । खासमा राज्यरूपी ‘बुद्धि’, समाजरूपी ‘नागरिक समाज’ अथवा एडम स्मीथको भाषामा ‘अदृश्य हात’ आज नाफा कुम्ल्याउने अराजकतामात्र सावित भएको छ ।
हेगेलको महानता
१८३१ मा जर्मनीमा हैजा फैलियो । हैजा लागेर बर्लिन विश्वविद्यालयका प्राध्यापक हेगेलको निधन भयो । उनको निधनपछि ट्रिर नगरका एक वकिलका छोरा कार्ल माक्र्स बर्लिन विश्वविद्यालयमा भर्ना भए । हेगेलको ‘डायलेक्टिक्स’ र निष्कर्षहरू अक्षरशः मान्नेहरूलाई दक्षिणपन्थी हेगेलवादी भनिन्थ्यो । ‘डायलेक्टिक्स’ मान्ने तर उनका निष्कर्षहरूको आलोचना गर्नेहरूलाई वामपन्थी हेगेलवादी भनिन्थ्यो । सुरुमा माक्र्स आदर्शवादी थिए । बिस्तारै उनी वामपन्थी जमातको सदस्य बने । १८४० पछिका पाँच वर्षहरूमा माक्र्सले हेगेलको समग्र दर्शनको आलोचना गरेर ‘क्रिटिक अफ हेगेल्स फिलोसफी अफ राइट’ र ‘इकोनोमिक एन्ड फिलोसफिक मेनुस्क्रिप्ट अफ १८४४’ जस्ता रचना लेखे । इतिहासको अन्त्य भएको थिएन । हेगेलको निष्कर्षलाई थेसिस मानेर माक्र्स अघि बढे । अघिल्लो पुस्तकमा माक्र्सले हेगेलको पुस्तक ‘एलिमेन्ट्स अफ द फिलोसफी अफ राइट’ को आलोचना गरेका छन् । यसमा माक्र्सले जर्मनीको दार्शनिक क्रान्तिलाई दार्शनिकको टाउकोमै सीमित राख्नु राजनीतिक लाछीपन हो भने । त्यो गाँठो व्यवहारले मात्र फुकाउने बताउँदै लेखे– ‘दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेट्छ र सर्वहाराले दर्शनमा आफ्नो आत्मिक हतियार भेट्छ । जनताको मलिलो माटोमा विचारको चट्याङ बज्रेपछि जनता मान्छे हुनुको अर्थमा मुक्त हुनेछन् । …बन्धनका सम्पूर्ण स्वरूपहरू नचुँडाली एउटा पनि बन्धन चुँडाल्न सकिन्न ।’ दोस्रो पुस्तकमा हेगेलको समग्र दर्शनको आलोचना गरिएको छ र अलगावको अवधारणालाई अर्थराजनीतिको प्रकाशमा समृद्ध पारिएको छ । यसै पुस्तकको वैचारिक जगमा माक्र्सको समग्र चिन्तन र सिद्धान्त फस्टाएको देखिन्छ । माक्र्सको समस्त सिद्धान्तको मूल मर्म वा मुटु नै मानिसको अलगाव अन्त्य गर्नु हो । हेगेलले राज्य वा परम चेतना मानव चेतनाको विकासक्रमका ठोस रूप हुन् र तिनकै आधारमा क्रमशः समाज वा संसार चल्छ भनेका थिए । त्यसलाई उल्ट्याएर माक्र्सले राज्य वा चेतना आफै मानवीय समाजको जगमा उभिएको हुन्छ भने । यसैलाई भनिन्छ – माक्र्सले टाउकोमा टेकेको हेगेलको दर्शनलाई खुट्टामा टेकाए । हरेक तुलना लङ्गडो हुन्छ भनेझैँ हेगेलबारे यो भनाइ अपुरो छ । माक्र्समा हेगेलको ठूलो प्रभाव पाइन्छ । आखिर माक्र्सले ‘डायलेक्टिक्स’ लाई खारेज गरेका थिएनन्, खालि त्यसबाट आदर्शवादी बोक्रा थुतेर फालेका थिए । पछि एङ्गेल्ससँग मिलेर माक्र्सले आजसम्मकै अत्याधुनिक दर्शन ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको जग हाले ।
हेगेलको दर्शनमा कमीकमजोरी थियो भन्दैमा उनको कद कुँजिन्न । उनी आफ्नो युगका सन्तान थिए । युगको घेरा कसैले नाघ्न सक्दैन । ईश्वरकै कुरा गर्ने हो भने पनि ब्लेड वा छुराको आविष्कार हुनुअघिका मानिसले बनाएको तस्बिरमा सफाचट ईश्वर कहीँकतै भेटिन्नन् । अर्थात्, मान्छेले सर्वशक्तिमान बनाएको ईश्वरले पनि युगीन सीमा नाघ्न सक्दैनन् । संसारको समस्त ज्ञान, विज्ञान, कलासाहित्य, धर्मसंस्कृति, दर्शन, चिन्तन वा सभ्यतालाई दुईचार सूत्रमा उन्न खोज्नु नै हेगेलको महानता थियो । यस्तो महत्वाकाङ्क्षालाई विश्वविजयमा लम्किने सिकन्दरको यात्रासँग दाँज्न सकिन्छ । आइन्स्टाइन र हकिङजस्ता वैज्ञानिकको एकीकृत सिद्धान्तको आजीवन खोजसँग दाँज्न सकिन्छ । हेगेलले ईश्वरको बुद्धि पढ्न खोजे । वास्तवमा उनले त्यो बुद्धि आफै रचे । यसलाई उनी ‘परम चेतना’ (world spirit, mind or geist) भन्थे । उनी ईश्वर चाहने दार्शनिक विरासतबाट आएका थिए । निजी जीवनले आफ्नो दर्शनमा रत्तिभर प्रभाव नपारोस् भन्नेमा हेगेल अति चनाखो हुन्थे । तैपनि, ईश्वरको धङधङीबाट उनी जोगिन सकेनन् । ईश्वरको खाँचो नपर्ने संसार सभ्यताको गर्भमा हुर्किरहेको कुरा उनले बुझ्न सकेनन् । उनले बाबेफलगायतका समानतावादी स्वरहरू सुन्न सकेनन् । श्रमजीवी वर्गको पक्ष लिन त परै जाओस्, उनी वर्ग–फराक पनि हुन सकेनन् । अर्थात्, आफ्नो वर्गबाट निर्लिप्त हुनसकेनन् । तैपनि, ईश्वर रच्ने र आधुनिक उदारवादी जीवन वा चरम निजी स्वतन्त्रताको आलोचना गर्ने महान् दार्शनिकको रूपमा हेगेल सदा सम्झिइनेछन् । त्योभन्दा महत्वको कुरा, मानवमुक्तिबारे विहङ्गम चिन्तन गर्ने छिन्द्रान्वेषी र ‘डायलेक्टिक्स’ लाई परिष्कार गर्ने शिल्पीको रूपमा उनले मानव समाजलाई सदा बाटो देखाइरहनेछन् ।
– समाप्त
Leave a Reply