भर्खरै :

कानुनी हक हुँदैमा नामसारीको सिफारिस कहाँ दिन मिल्छ ?

वडा कार्यालयमा सेवाग्राहीहरूसँग कुराकानी गरिरहेको थिएँ । कार्यालयमा सेवाग्राही मानिसहरूको सङ्ख्या अलि बढी थियो । हिजो सरकारी बिदा परेकोले सम्भवतः आज अलि सेवाग्राही बढेको थियो । म एक जना सेवाग्राहीको कुरा सुन्दै थिएँ । त्यही समयमा एक जना दुब्लो ज्येष्ठ महिला रुँदै कार्यालयमा आइन् । रुँदै आएकीले सबैको ध्यान उनै ज्येष्ठ महिलाको अनुहारमा गयो । अनुहार हेर्दा अलि बिरामी र उमेर करिब ८० भन्दा माथिको देखिन्थ्यो । सेवाग्राहीमध्येकै एकजनाले उनलाई आफू उठेर सोफामा बसाए । मैले त्यस बुढी आमालाई ‘नमस्कार’ गरेँ र नरुन अनुरोध गरेँ । तर, बुढी आमाले मलाई नमस्कार फर्काइनन् । सायद, बुढी आमा रुनुभएकोले होला, मैले नमस्कार भनेकोे सुन्नुभएन । कुनै ठूलै समस्यामा प¥यो होला भनी मैले बुढी आमासँग कुराकानी थालेँ । मैले बुढी आमालाई आफ्नो समस्या राख्न अनुरोध गरेँ । बुढी आमाले भन्न थालिन्, “बाबु, मेरो घर त्यही कृष्ण मन्दिर अगाडिको हो । त्यही घरको दक्षिणमा अलिकति जग्गा छ । मेरो श्रीमान् मरेको पनि धेरै वर्ष भयो । मेरो पनि मर्ने उमेर भइसक्यो । म बिरामी पनि छु । मेरो छोरा छैन । छोरी एउटैमात्र छिन् । अहिले त्यही घरमा छोरी र म बसिरहेका छौँ । २०७२ सालको भूकम्पले घर भत्काएर बनाउनुपर्ने भएको छ । पैसा नभएर अहिले जसोतसो बस्दै आएका छौँ । त्यही जग्गा बेचेर यो घर पुनःनिर्माण गर्नुप¥यो । त्यसैले मेरो श्रीमान्को नामबाट मेरो नाममा नामसारी गर्नुप¥यो । यहाँ तपाईँहरूले नामसारी गर्न पनि रोकी राख्नुभएको छ । मजस्ती बुढी मान्छेको नामसारी रोकेर बाबुलाई पाप लाग्छ । छोरीको कमाइ छैन । श्रीमान्को पेन्सन आउँदैन । अनि जग्गा नबेची कसरी घर बनाउने हो ? त्यही भएर नामसारीको सिफारिस दिनुप¥यो ।” बुढी आमाले कृष्ण मन्दिर भनेबित्तिकै उहाँको घर कहाँ रहेछ भन्ने मलाई अन्दाज भयो र पहिला सिफारिस रोकी राखेको कारण पनि थाहा भयो । बुढी आमालाई जनप्रतिनिधिको शुक्रबारको नियमित बैठकमा तपाईँको जग्गाको नामसारी विषयमा छलफल गर्ने आश्वासन दिएँ र घर जान अनुरोध गरेँ । त्यसपछि उनी बाहिर गइन् ।
शुक्रबारको दिन थियो । वडामा जनप्रतिनिधिको नियमित बैठक थियो । बैठकको सुरुमै मैले बुढी आमाको घर र जग्गा नामसारीको विषय राखेँँ । विषयवस्तुको बिफ्रिङ नसकिँदै एक जना जनप्रतिनिधिले अलि दरिलो स्वरमा भन्नुभयो, “आजभन्दा २० वर्षअगाडि म यस वडाको वडाध्यक्ष हुँदा मैले उनै बुढी आमाको सिफारिस रोकेकोे थिएँ । अहिले पनि बुढी आमाको सिफारिस रोक्नुपर्छ । जनप्रतिनिधि नहुँदा पनि सचिवले सिफारिस रोक्नुभएको थियो । सचिवलाई सिफारिस दिन धेरै दबाब दिएको थियो तर उहाँले पनि दिनुभएन । यो जग्गा बुढी आमाको श्रीमान्को कुनै पनि हालतमा होइन । पुर्जा बुढी आमाको श्रीमान्को नाममा छ । तर, उनीहरूको घरमात्र हो, जग्गा होइन । कृृष्ण मन्दिरसँगै भजनियाँहरू छन् । भजनियाँहरू त्यस जग्गाबाट आएको बालीबाट भजन चलाउँदै आएको भन्छन् । म वडाध्यक्ष भएको समयमा भजनियाँहरूले भक्तपुर नगरपालिकाको नाममा नामसारी गरी लिन अनुरोध गर्दै निवेदन दिनुभएको थियो । त्यो निवेदन परेपछि मेरो घरमा आई त्यसबेला नै रु. ५०,००० लिनुस् र सिफारिस दिनुस् भनी घुस खुवाउने आईमाई उनै बुढी आमा हुन् । तपाईँ नयाँ वडाध्यक्ष भएकोले अहिले झुक्याएर सिफारिस लिन आएछ । छोरी हुँदाहुँदै किन बुढी मान्छे सिफारिस लिन पठाएछ ? उसकी छोरी पनि मेरो घरमा आएर रु. ५०,००० लिनुस् र सिफारिस दिनुस् भन्न आएकी थिइन् । त्यसैले बुढी रुन आउँदैमा माया लाग्यो भनेर तपाईँ कुनै पनि हालतमा सिफारिस नदिनु होला । कानुनीरूपमा उनीहरूको हुँदैमा कहाँ नामसारीको सिफारिस दिन मिल्छ र ? उनीहरूले भक्तपुर काण्डको समयमा नेमकिपाका नेता कार्यकर्ताहरू जेलमा परेको समयमा मालपोतका कर्मचारीहरूलाई घुस खुवाएर पुर्जा बनाएका थिए । नभए तपाईँहरू पुर्जा बनाएको मिति हेर्नुस् । त्यही भएर कुनै पनि हालतमा सिफारिस दिन मिल्दैन । त्यो जग्गा नगरपालिकालाई छोडी दिएमा मात्र सिफारिस दिने हो । टोलवासी र भजनियाँहरूको बैठक बोलाउनुस् । अनिमात्र सिफारिसको कुरा बताउनु । यही कुरा तपाईँले बुढीआमालाई भन्नु उपयुक्त होला ।” अरू जनप्रतिनिधिहरूले पनि त्यस्तै गर्न मलाई सल्लाह दिनुभयो । बाँकी विषयमा सामान्य छलफलपछि बैठक टुङ्गियो ।
आइतबारको दिन भएकोले म समयमै वडा कार्यालयमा पुगँे । बुढी आमा म पुग्नुभन्दा अगाडि नै वडा कार्यालय बाहिर मलाई कुरिरहेकी थिइन् । मैले नमस्कार गरेँ । बुढी आमाले पनि मलाई नमस्कार गरिन् । मैले माथि आउन अनुरोध गरेँ । माथि हामी दुवै जना सोफामै बस्यौँ । बुढी आमाले निवेदन पनि ल्याएकी थिइन् । मैले निवेदन पढेँ र आमालाई निर्वाचित समितिमा भएको कुरा सङ्क्षिप्तमा भनेँ । मेरो कुरा सुनेबित्तिकै उहाँ रुन थाल्नुभयो । बुढी आमा रोएपछि मेरो स्वर सानो भयो । मैले छोरी खोइ भनी सोधेँ । उहाँले भन्नुभयो, “बाबुले सिफारिस दिँदैन भनेर नै नआएको हो । बाबुको अनुहार नै नहेर्ने भनेको छ छोरीले ।”
बुढी आमाको कुरा सुनेपछि मलाई पनि निकै नरमाइलो भयो । मैले बुढी आमालाई भनेँ, “तपाईँको निवेदन सम्बन्धमा टोलवासी र भजनियाँको बैठक बस्नुपर्छ र उहाँहरूको राय बुझेरमात्र सिफारिस दिन मिल्छ ।” मेरो कुरा सुनेपछि बुढी आमा ठुलो स्वरले रुन थालिन् र रुँदै भन्न थालिन्, “यही टोलवासी र भजनियाँ त हो नि नगरपालिकालाई जग्गा दिनुप¥यो भन्नेहरू । मेरो श्रीमान्को नाममा पुर्जा छ । फिल्डबुक पनि श्रीमान्को नाममा छ । ०४१ सालको नापीमा नि श्रीमान्कै नाम छ । बर्सेनि नगरपालिकालाई सफाइ कर र घर मूल्याङ्कन कर तिरेकै छौँ । अनि भजनियाँहरूले बाली खाएकाले नगरपालिकालाई दिनुपर्छ भनी निवेदन दिनु उचित छ त ?”
मैले जवाफ फर्काएँ,“जनप्रतिनिधिको समितिले टोलवासी र भजनियाँहरूको भेला गरेर राय लिने भनेको छ । म केही दिनमा भेलाको पत्र पठाउँछु । अनि तपाईँ आउनुहोला र आफ्नो कुरा राख्नुहोला ।” कार्यालयमा धेरै मानिस भएकोले मैले अरूसँग कुरा गर्न थालेँ । त्यसपछि एकछिन बसेर बुढी आमा बाहिर निस्किन् ।
शनिबारको दिन थियो । वडा कार्यालयमा बिहान ७ बजे बुढी आमाको नामसारीको सिफारिस दिने–नदिने भन्ने सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको थियो । हलमा खचाखच मानिस थिए । बुढापाका भजनियाँ तथा टोलवासी पनि थिए भने युवा उमेरका भजनियाहरू पनि थिए । बैठकमा मैले सबैलाई नमस्कार गर्र्दै छलफलको एजेन्डा प्रस्तुत गरी केही बिफ्रिङ्ग गरेँ । त्यसपछि मेरो अगाडि बस्ने भजनका ज्येष्ठ नाइकेलाई बोल्न अनुमति दिएँ ।
भजनका नाइकेले भन्नुभयो, “वि.सं. १९९० सालको भूकम्प आउँदा म ११ वर्षको थिएँ । त्यसबेला मेरो बुबा र आमा यही खेतमा काम गर्नुहुन्थ्यो र बाली भजनलाई तिर्नुहुन्थ्यो । म ठूलो भएपछि मेरा परिवारले यो खेत गर्दै आएको थियो । मेरो घर अगाडिको खेत भएकोले बालक छँदा हामी बच्चाहरू त्यही ठाउँमा खेल्न जान्थ्यौँ । उनीहरू धेरै पछाडिमात्र खेत गर्न गएका हुन् । २०४१ सालको नापी आउँदा उनीहरूले भजनियाँलाई थाहा नै नदिई आफ्नो नाममा राखे । अनि २०४५ सालमा भक्तपुर काण्ड हुँदा पुर्जा बनाइएको हो । त्यही भएर यो जग्गा उनीहरूको होइन । त्यही भएर नगरपालिकाले लिनुहोला भनी हामी भजनियाँहरूले संयुक्त निवेदन पेश गरेका हौँ ।”
छलफलमा अर्को एक भजनियाँले भन्नुभयो, “बुढी आमा मेरो पनि ठुलीआमा पर्नुहुन्छ । ठुलीआमा र हाम्रो सम्पत्ति भागबन्डा २०२५ सालमा भएको थियो । यदि यो जग्गा हाम्रो पुख्र्यौली भएको भए २०२५ सालमा गरेको अंशबन्डा पत्रमा पनि उल्लेख हुनुपथ्र्यो । तर, बन्डापत्रमा उल्लेख छैन । वडाध्यक्षज्यू, तपाईँ बन्डापत्र हेर्नुस्’ भन्दै मेरो टेबुलमा बन्डापत्र राख्नुभयो । मैले सरसरती बन्डापत्र हेरेँ । त्यो कित्ता वन्डापत्रमा थिएन । त्यसपछि अरू भजनियाँ र टोलवासीलाई बोल्न मौका दिएँ, सबैले त्यही राय व्यक्त गरे । अन्तमा, बुढी आमा र उहाँकी छोरीलाई बोल्न मौका दिएँ ।
छोरीले अलि रिसाएर भनिन्, “यो जग्गा नगरपालिकाले लिने भए लिनुस् । टोलभरिको मानिस अनि भजनियाँहरू सबै मेरो परिवारविरुद्ध लागेपछि मेरो के लाग्छ । मेरो घरमात्र नामसारी गरिदिनुस् वडाध्यक्षज्यू ।”
छोरीको कुरा सुनेपछि हलमा सबैको आवाज गुन्जियो, “यसरी जथाभावी नबोल्नु है, टोलवासी र भजनियाँलाई दोष नदिनु । भजनलाई बाली दिने जग्गा पनि निजी जग्गा हुन्छ ? बरु नगरपालिकाको हुन्छ ।” मैले सबैलाई शान्त हुन अनुरोध गरेँ र बुढी आमालाई बोल्न अनुरोध गरेँ, “टोलवासी र भजनियाँहरूले बोलेपछि मलाई त्यो जग्गा चाहिँदैन । मलाई त्यो जग्गा र मेरो घरको कित्ता काट गरेर घरमात्र नामसारी गरिदिनुस् बाबु ।”
आमा र छोरीको स्वीकृति आएपछि त्यो जग्गा नगरपालिकाको नाममा ल्याउन वडा कार्यालयले नपामा पत्राचार गर्ने र त्यहाँबाट निर्णय भई आएपछि घरको मात्र नामसारी गरिदिन सिफारिस दिने निर्णय सुनाएँ । मेरो निर्णय सुनेपछि तालीको ठुलो आवाज सुनियो । केही महिनापछि उक्त जग्गा मालपोतले मालपोत ऐनअनुसार भनपाको नाममा गर्न नमिल्ने भएकोले नेपाल सरकारको नाममा पुर्जा बनाइदिएको जानकारी वडामा आयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *