भर्खरै :

सक्वको म रमजदास–१०४ / चुन के हो र कसरी बन्छ ?

सहर बजारमा निर्माण सामग्री र सिमेन्ट पसलहरूमा साना–साना बोरामा राखेर बेच्न राखिएको सेतो पिठोजस्तो धुलोलाई हामी चुन भन्छौँ । चुन धेरै उपयोगी र मूल्यवान चिज हो । तर, हामी त्यसलाई त्यति धेरै वास्ता गर्दैनौँ । यद्यपि, हजारौँ वर्षदेखि चुनलाई हामीले प्रयोग गर्दै आएका छौँ र आज पनि हामीले पुराना भत्केका मठ–मन्दिर र पाटी–पौवाहरू मर्मत गर्ने कामदेखि भोज खाइसकेपछि खाने मीठो पानमा समेत चुन राखेर खाने गर्छौँ ।
कसरी बन्छ चुन ?
अन्य देश विदेशमा जस्तै हाम्रो देशमा पनि हजारौँ वर्षदेखि चुन प्रयोग हुँदै आएको छ । नेपालको इतिहासको मध्यकाल र राणा शासनमा धेरै चुन प्रयोग भए । ४ सय ५ सय वर्ष अगाडि मल्ल र लिच्छवि कालमा काठमाडौँ उपत्यकामा धेरै मठ–मन्दिर, पाटी पौवा र दरबारहरू बने । त्यसबेला आजको जस्तो सिमेन्ट थिएन । आजकल हामीले निर्माण कार्यमा लगाउने सिमेन्ट आएको डेढ सय वर्ष जति भयो । त्यसकारण, नेपालमा मात्र होइन युरोप अमेरिकाजस्ता देशहरूमा पनि साना ठूला निर्माण कार्यहरूमा चुन र सुर्की नै प्रयोग हुन्थे ।
आजकल निर्माण कार्यमा मुख्यरूपमा प्रयोग हुने भए पनि चुन धेरै ठाउँमा प्रयोग हुन्छ । बहु–उद्योगीय पदार्थ हो चुन । उखु पेलेर निस्कने पहेँलो–कालो रङ्गको सक्खरलाई प्रशोधन गरेर सेतो चिनी बनाउने काम पनि चुनले गर्छ । खानेपानी प्रशोधन गर्ने ठूला–ठूला पानी पोखरीमा पनि चुनकै प्रयोग भएको हुन्छ । खानेपानीका इनारहरू सफा गर्दा र दुर्गन्धित बाटो सडक सफा गर्न पनि चुनकै प्रयोग गरिन्छ ।

सन् १९८० तिर त्रिवि, कीर्तिपुरबाट (व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र) जुम्ला गएर स्थानीय कच्चा पदार्थ चुन ढुङ्गाबाट निकालिएको चुन प्रशोधन गर्दै ।


काठमाडौँ उपत्यकाका नेवार बस्तीहरूमा वर्षको एक दिन सिठी नखः पर्वमा खानेपानीको मुख्य श्रोत इनारहरू सफा गर्ने चलन अद्यापि छ । इनारभित्रका झार कसिङ्गरहरू उखेलेर पानीभित्रको हिलो मैलो सबै निकाली सफा गरेपछि चुन छर्केर ४ दिनसम्म इनार छोपिराख्छ । चुनले फोहरी कीरा र किटाणु नष्ट गर्छ । चुनमा रासायनिक तत्व क्याल्सियम अक्साइड र क्याल्सियम हाइड्रोक्साइडले किटाणु नाश गर्ने एन्टीसेप्टिक गुण हुन्छ । विषालु किटाणु नाश गर्ने शक्ति हुनु नै चुनको मुख्य गुण हो । यसलाई खानेपानी प्रशोधन कार्यमा प्रयोग गरिन्छ ।
ठूल–ठूला पानी पोखरीमा पानी प्रशोधनको लागि अथवा खानेपानी सफा गर्नको लागि प्रत्यक्ष चुन (क्याल्सियम हाइड्रोक्साइड) भन्दा पनि ब्रिचिङ्ग एजेन्ट अथवा ब्लिचिङ्ग पाउडर भन्ने क्याल्सियम क्लोराइड प्रयोग हुन्छ । ब्लिचिङ्ग पाउडर चुनमा क्लोरिन भन्ने रासायनिक पदार्थ मिसाएर बनाइन्छ ।
ब्लिचिङ्ग पाउडरले रातो, निलो, हरियो रङ्गका कपडाहरू रङ्ग उडाएर सेतो पारिदिन्छ । सेतो कपडामा आफूलाई मनपर्ने रङ्ग अथवा बुट्टा भर्ने काम गर्न सकिन्छ । ब्लिचिङ्ग अङ्ग्रेजी शब्दको अर्थ नै रङ्गीन कपडा अथवा कागजलाई सेतो पार्नु हो ।
ठूलठूला तारे होटलहरूमा बनाइराखेका पौडी पोखरीहरू र सहरमा बनाइराखेका सार्वजनिक स्वीमिङ्ग पुलहरूमा पनि ब्लिचिङ्ग पाउडर वा झोल राखेर पानी प्रशोधन गरिएका हुन्छन् किटनाशकको रूपमा । त्यसकारण त्यस्ता पौडी पोखरीमा पस्दा पानीबाट एक प्रकारको ढुस्स गन्हाउने बास आएको हुन्छ । त्यस पानीभित्र आँखा केहीबेर खोलिराख्यो भने त्यो क्याल्सियम क्लोराइड भन्ने ब्लिचिङ्ग एजेन्टले गर्दा आँखा रातो हुन्छ ।
यसरी चुनको धेरै ठाउँमा प्रयोग भइरहेको हुन्छ । केही औद्योगिक उत्पादनमा पनि चुनको प्रयोग अत्यधिक मात्रामा भइरहेको हुन्छ । जस्तो कि छाला कारखाना र चिनी कारखाना ।
छाला कारखानामा चुन किन प्रयोग हुन्छ ?
जनावरहरूको छालाका विभिन्न सामान बजारमा पाइन्छन्–साधारण जुत्तादेखि महँगा लेडिज ब्याग, ज्याकेट अनि टोपीहरू । यी चीजहरू विभिन्न जनावरहरूको छालाबाट बनेका हुन्छन् । विभिन्न उपभोग्य सामानहरू बनाउन सर्पको छालादेखि बाघ भालुको छालासमेत प्रयोग हुन्छ । कुनै पनि छालाको वस्तु बनाउन धेरै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । सबभन्दा पहिले जनावरको काँचो छालाबाट भुत्ला निकाल्नुपर्ने हुन्छ । यो गाई, बाख्रा, भेडा, राँगाजस्ता जनावरको छालाबाट बाक्लो रौँ निकाल्न त्यत्ति सजिलो काम होइन । तर, साधारण चुनको सहायताले यो काम धेरै सजिलोसँग गरिन्छ ।
सोभियत सङ्घमा अध्ययन गरिरहँदा एकचोटि म यस्तै काँचो छाला प्रशोधन गर्ने कारखानामा काम गर्न गएको थिएँ । काम ग¥हुँगोभन्दा पनि धेरै दुर्गन्धित थियो । तर, अध्ययन सकाएर नेपाल फर्कन आफू र आफ्नो परिवारको लागि टिकट किन्न र आफूलाई आवश्यक घरायसी सामान किन्न पैसाको अति जरुरत परेको हुनाले मैले समय–समयमा सोभियत कल–कारखानाहरूमा काम गर्न जानुपरेको थियो ।
तत्कालीन सोभियत सङ्घमा समाजवादी व्यवस्था थियो । जहाँ परिश्रमअनुसार पारिश्रमिक दिइन्थ्यो । जति कठिन परिश्रम गर्नुपर्ने काम हुन्छ उति नै धेरै तलब अथवा पारिश्रमिक दिइन्थ्यो । उदाहरणको लागि एक मेडीकल डाक्टर अथवा एक जना विद्वान प्रोफेसरको भन्दा एउटा कारखानामा काम गर्ने इलेक्ट्रिक वेल्डरले बढी मासिक तलब पाउँछन् । उसले छिटो निवृत्ति (पेन्सन) पनि पाउँछ ।

अफ्रिकी राष्ट्र बोत्सवानामा मेसिनले पेलेर प्रशोधन गरिएको चुन पेपर ब्यागमा भर्दै र जोख्दै


त्यसकारण म पनि अलि बढी पैसा कमाउने हिसाबले बढी कठिन काम हुने कलकारखानाहरू छानेर काम गर्न जान्थेँ । कहिले ट्रकहरूको इन्जीन बनाउने ठाउँमा काम खोज्न जान्थेँ भने कहिले निर्माण स्थलहरूमा सिमेन्ट बालुवा घोल्ने र इँटा बोक्ने काम गर्न जान्थेँ । छाला कारखानामा काम गर्दा सिङ्गो गाईगोरुका छाला उचालेर तातो हावा आउने टनेलहरूमा सुकाउनुपथ्र्यो ।
गाईवस्तुको रौँसहितको काँचो छाला वधशालाहरूबाट उक्त कारखानामा ल्याइन्थ्यो । उक्त काँचो छालालाई काठको ठूल–ठूलो घुम्ने ड्रमहरूमा राखिन्थ्यो । ड्रमहरूमा चुन र पानी राखेर एक डेढ घण्टा इलेक्ट्रिक मेसिनले घुमाउँथ्यो । पछि ड्रमको ढकनी खोलेर छाला निकाल्दा सबै छालाबाट रौँ निस्केर सफा छाला छुट्याइन्थ्यो । उक्त छालामा एउटा पनि रौँ बाँकी हुँदैन । ती गाईवस्तुको छाला चिल्लो टल्केको हुन्थ्यो । यसरी चुनले छालाबाट सजिलै सबै भुत्ला निकालिन्छ । चुनको यो अद्भूत गुणले छाला प्रशोधन उद्योगमा धेरै गुण लगाएको हुन्छ ।
पोलिएको चुनढुङ्गालाई एक्टीभ लाइम अथवा ज्युँदो चुन भनिन्छ । साधारण चुनढुङ्गालाई ३÷४ इन्चको टुक्रा टुक्रा पारेर चुना भट्टाहरूमा ९०० देखि १००० डिग्री सेन्टिग्रेडसम्मको तापक्रममा पोलिन्छ । यसरी पोल्दा चुनढुङ्गामा रासायनिक तरिकाले मिसिएको कार्बोनडाइ अक्साइड भन्ने तत्व निस्किन्छ र क्याल्सियम अक्साइड भन्ने हलुको ढुङ्गा चुन भट्टाभित्र बाँकी रहन्छ । पूरा पोल्ने काम सकिएपछि खरानीसँग मिसिएको उक्त हलुका चुनढुङ्गा भट्टाबाट तानेर सावेलजस्ता औजारको सहायताले निकालिन्छ ।
चुनढुङ्गा पोल्न ठूलठूला दाउराको मुढा अथवा पत्थर कोइला प्रयोग गरिन्छ । त्यही कोइला अथवा दाउराको खरानीसँग मिसिएको पोलिएको ढुङ्गा भट्टी बाहिर तानेर साधारण फलामको जालीमा चालेर खरानी छुट्याइन्छ । पोलिएको चुन ढुङ्गालाई सकेसम्म हावा नछिरिने गरी बोरामा प्याक गर्दीराखिन्छ । यही एक्टीभ लाइम अथवा ज्युँदो चुनको प्रयोग छाला कारखानामा काँचो भुत्ला भएको छालाबाट रौँ निकालिन्छ ।
एक्टीभ लाइम भन्ने ज्युँदो चुनको क्याल्सियम अक्साइड रासायनिक नाम हो । एक भाग क्याल्सियम भन्ने तत्व मिलेर बनेको हुन्छ । उक्त ज्युँदो चुन क्याल्सियम अक्साइड पानीको सम्पर्कमा आएपछि केमिकल रियाक्सन हुन्छ । उक्त रासायनिक संयोग कार्यमा क्याल्सियम अक्साइड भन्ने ज्युँदो चुन पानीसँग मिलेर क्याल्सियम हाइड्रोक्साइड भन्ने साधारण चुन बन्छ र ज्युँदो चुनका डल्लाहरू धुलो सेतो पिठोजस्तो बन्छ ।
एक्टीभ लाइम पानीसँग मिलेर रासायनिक प्रक्रिया हुँदा धेरै ताप निकाल्छ । यस रासायनिक प्रक्रियालाई एक्जोथर्मिक रियाक्सन भनिन्छ । कुनै दुई वस्तुहरूको रासायनिक प्रक्रिया भएर तेस्रो नयाँ वस्तु निस्कने प्रक्रियामा तापक्रम निस्कियो भने त्यस रासायनिक प्रक्रियालाई ताप निकाल्ने प्रक्रिया अङ्ग्रेजीमा एक्जोथर्मिक रियाक्सन भनिन्छ ।
कुनै कुनै रासायनिक प्रक्रियामा दुइटा वस्तुहरू मिलेर तेस्रो भिन्नै खालको, भिन्नै स्वभावको, भिन्नै गुण भएको पदार्थ निस्कँदा तापक्रम सोसेर चिसो बन्छ । यसप्रकारको रासायनिक प्रक्रियालाई इन्डोथर्मिक रियाक्सन भनिन्छ ।
ज्युँदो चुन पानीमा मिलेर हुने रासायनिक प्रक्रिया एक्जोथर्मिक रियाक्सन हुनुको कारण सधैँ तातो हुन्छ र यही तातोपन अथवा हिटले गाईवस्तुजस्ता जनावरहरूको छाला र रौँ छुट्याइन्छ जसरी हामी घरमा खसी बोका काट्दा तातो उमालिएको पानी खन्याएर भुत्ला निकाल्छौँ काटिएको खसी बोकाको जिउबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *