भर्खरै :

ज्येष्ठ नागरिक दिवस शुभकामनामा सीमित

  • आश्विन १६, २०७८
  • दानबहादुर कपाली
  • विचार

असोज १५ गते अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो । ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयाोगमा समानता’ नारा तयार गरिएको नेपालको ज्येष्ठ नागरिक दिवस शुभकामना मन्तव्यमा सीमित रह्यो । ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको सरकारले फुक्यो, सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने कुरा उठायो, ज्येष्ठ नागरिकका अनुभव, सीप र ज्ञानलाई राष्ट्रको सामाजिक तथा आर्थिक रूपान्तरण एवं विकासका लागि परिचालन गर्ने बतायो । शुभकामना सन्देशमा उल्लेख भएका यी वाचाहरू पूरा हुने कहिले ? ज्येष्ठ नागरिकहरूको जीवन सुनिश्चित गर्ने, सुरक्षित र सहज जीवनका साथ बाँच्ने वातावरण मिलाउने काम राज्यको हो ।
ज्येष्ठ नागरिकहरूको जीवन सुनिश्चित गर्ने एउटा उपाय आदर निकेतन हो । विभिन्न सङ्घ संस्था तथा व्यक्तिले आदर निकेतन खोले पनि राज्यले अहिलेसम्म खोलेको देखिँदैन । उनीहरूको खानपिन, लवाइखवाइ, औषधि उपचार, मनोरञ्जन आदिको व्यवस्था गर्न, परिवारबाट हुने अपमान, दुव्र्यवहार, बेवास्ता आदि समस्याको हल गर्न सरकारले आदर निकेतन खोल्नुपर्छ । आदर निकेतन खोल्नेलाई सरकारको तर्फबाट सहयोग हुनुपर्छ । कुनै पनि ज्येष्ठ नागरिक शारीरिक दुर्वलता र अशक्तको कारण अपमानपूर्वक जीवन बिताउन नपरोस् । यस कार्यमा घरपरिवार, समाज र सरकार सबैको जिम्मेवारी हुनुपर्छ ।
ज्येष्ठ नागरिकहरूको निम्ति अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा, यातायात सेवामा ज्येष्ठ नागरिकको लागि सीटको व्यवस्था र भाडा छुट पनि पूर्णतः व्यवहारमा लागू भइरहेको छैन । जीवनभर समाज सेवामा जुटेका, आफ्ना अनुभव र ज्ञान बाँडेका ज्येष्ठ नागरिकहरूको योगदानको आधारमा सम्मान भइरहेको देखिँदैन । कति ज्येष्ठ नागरिकहरू विभिन्न विधामा विज्ञ छन् । मूर्ति कुँद्ने, माटाका भाँडाकुँडा बनाउने, नाचगान र वाद्यवादनमा निपुण छन् । तर, तिनीहरूको सम्मान त के खोजीनीति पनि भइरहेको छैन । यस्तो कुनै बन्दोबस्त हुँदैन भने ज्येष्ठ नागरिकहरूको जीवन कसरी सुनिश्चित हुन्छ ? उनीहरूको जीवन कसरी निर्धक्कसँग बितेको हुन्छ ? यसतर्फ सरकारको ध्यान जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *