भर्खरै :

संरा अमेरिकी हस्तक्षेपको सङ्क्षिप्त इतिहास (सन् १९४५ देखि हालसम्म)

अमेरिकी विदेश नीतिको इञ्जिन कुनै पनि नैतिकताप्रति समर्पणभावबाट चल्दैन । बरु उसको आफ्नो स्वार्थ पूरा गर्ने आवश्यकताबाट त्यो इञ्जिन चलेको हुन्छ । उसको स्वार्थलाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छ :
– अमेरिकी व्यापारको निम्ति संसारलाई सुरक्षित बनाउने,
– सांसद सदस्यहरूलाई चुनाव जित्न मद्दत गरेका अमेरिकी रक्षा ठेकेदारहरूलाई हित हुने आर्थिक कार्यक्रमलाई बढावा दिने,
– पुँजीवादी ढाँचाको विकल्पमा सफल उदाहरण बन्न सक्ने कुनै पनि ढाँचाको समाजलाई उठ्न नदिने,
– ‘महाशक्ति’ भनाउन सुहाउने गरी सकेसम्म बृहत् राजनीतिक र आर्थिक प्रभुत्व फैलाउने,
अमेरिकी शासक वर्गले ‘खराब’ अन्तर्राष्ट्रिय कम्युनिस्ट षड्यन्त्रको विरोधमा मूल्यमान्यताको निम्ति आफूले लडाइँ लडिरहेको भनी आफैले चित्त बुझाइरहेको छ र अमेरिकी जनतालाई भ्रममा राखेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट षड्यन्त्र कति खराब वा असल भन्ने कुरा छोडौँ, खासमा त्यस्तो कुनै कुरा नै अस्तित्वमा छैन ।
यो अवधि (सन् १९४५ देखि हालसम्म) संरा अमेरिकाले ७० भन्दा बढी देशहरूमा गम्भीर हस्तक्षेप गरेको छ ।
चीन, सन् १९४५–४९
विश्व युद्धमा संरा अमेरिकासँग चीनका कम्युनिस्टहरू नजिकको साझेदार भएर पनि च्याङ काई शेकको पक्ष लिएर कम्युनिस्टहरूविरुद्ध चीनको गृहयुद्धमा हस्तक्षेप भयो । संरा अमेरिकाले पराजित जापानी सेनालाई प्रयोग गरी आफ्नो पक्षलाई बलियो बनाउन खोज्यो । अन्ततः सन् १९४९ मा कम्युनिस्टहरूले च्याङलाई ताइवान भाग्न बाध्य बनाए ।
इटाली, सन् १९४७–४८
भएभरका जालझेल र षड्यन्त्र गरेर इटालीमा कम्युनिस्ट पार्टी वैधानिक र स्वच्छरूपमा सत्तामा आउन रोक्न संरा अमेरिकाले चुनावमा हस्तक्षेप ग¥यो । इटालीमा ‘प्रजातन्त्रको रक्षा गर्ने’ नाममा प्रजातन्त्रको उपहास गरियो । कम्युनिस्टहरू पराजित भए । त्यसपछिका केही दशकसम्म लगातार अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी सीआईए र अमेरिकी व्यापारीहरूले इटालीको चुनावमा हस्तक्षेप गरे । उनीहरूले करोडौँ करोड डलर खन्याए । युरोपभरि फैलिएको कम्युनिस्टको प्रभाव रोक्न उनीहरूले मनोवैज्ञानिक युद्ध नै छेडे ।
ग्रीस, सन् १९४७–४९
नाजीहरूसँग साहसका साथ लडिरहेका ग्रीसका वामपन्थीहरूविरुद्ध नवफासीवादी राजनीतिक शक्तिको पक्ष लिएर त्यहाँको गृहयुद्धमा संरा अमेरिकाले हस्तक्षेप ग¥यो । फलतः नवफासीवादीहरूको जीत भयो । उनीहरूले निर्मम शासनलाई संस्थागत गरे । त्यति गर्न सीआइएले नयाँ आन्तरिक सुरक्षा एजेन्सी केवाइपी गठन गरेको थियो । केवाइपीले जताततै गोप्य प्रहरी परिचालन गरेर कानुनको आवरणमा जनतालाई यातना दियो ।
फिलिपिन्स, १९४५–५३
फिलिपिन्सका वामपन्थी शक्तिहरू (हुकहरू) ले जापानी हमलाकारीहरूविरुद्ध लड्दै गर्दा संरा अमेरिकी सेनाले उनीहरूमाथि आक्रमण गरेका थिए । युद्धपछि पनि संरा अमेरिकाले हुकहरूविरुद्ध हमला जारी राखी अन्ततः पराजित ग¥यो । त्यसपछि फिलिपिन्समा संरा अमेरिकाले धेरै जना आफ्ना कठपुतलीहरूलाई राष्ट्रपति बनायो । त्यही शिलशिलामा फर्डिनान्द मार्कोसको तानाशाही शासनको उदय भयो ।
दक्षिण कोरिया, १९४५–५३
दोस्रो विश्वयुद्धपछि जापानसँग मिलेको अनुदारपन्थीहरूको पक्षमा संरा अमेरिकाले प्रगतिशील शक्तिमाथि दमन ग¥यो । त्यसैकारण दक्षिण कोरियामा भ्रष्टाचार, प्रतिक्रियावादी र निर्मम सरकारको विरोधमा लामो युद्ध भयो ।
अल्बानिया, १९४९–५३
संरा अमेरिका र बेलायत मिलेर अल्बानियामा कम्युनिस्ट सरकार फाल्न असफल प्रयास गरे । त्यसको सट्टा उनीहरूले पश्चिम पक्षधर नयाँ सरकार बनाउन खोजे । नयाँ सरकारमा उनीहरूले मुख्यतः राजावादी र इटालीका फासीवादी तथा नाजीवादीहरूका सहयोगी राख्न चाहेका थिए ।
जर्मनी, सन् १९५० दशक
सीआइएले पूर्वी जर्मनीविरुद्ध नाकाबन्दी, आतङ्कवाद, फोहरी जालसाजी र मनोवैज्ञानिक युद्धको बृहत् अभियान नै चलायो । सन् १९६१ मा बर्लिनको पर्खाल बनाउनुपर्नाको एउटा कारण त्यो पनि बनेको थियो ।
इरान, सन् १९५३
संरा अमेरिका र बेलायतको संयुक्त प्रयासमा इरानका प्रधानमन्त्री मोस्सादेग सत्ताच्युत भए । संसदको अत्याधिक बहुमतको समर्थनमा मोस्सादेग प्रधानमन्त्री बनेका थिए । तर, बेलायती स्वामित्वमा रहेको तेल कम्पनी राष्ट्रकरण गर्ने आन्दोलनको नेतृत्व गर्ने गल्ती उनले गरे । त्यो कम्पनी इरानमा सञ्चालित एक मात्र तेल कम्पनी थियो । मोस्सादेगलाई सत्ताच्युत गरेर इरानमा राजा (शाह)को सत्ता पुनःस्थापना गरियो । राजा पूर्ण शक्तिसम्पन्न थिए । उनले २५ वर्ष दमन र यातनाको शासन चलाए । तेल उद्योग सबै विदेशीको हातमा सुम्पियो । बेलायत र संरा अमेरिकाको हातमा इरानको ४०–४० प्रतिशत र अन्य देशको हातमा २० प्रतिशत तेलखानी थिए ।
ग्वाटेमाला, सन् १९५३–१९९० दसक
ग्वाटेमालामा जाकोबो अर्बेन्ज नेतृत्वको प्रजातान्त्रिकरूपमा निर्वाचित प्रगतिशील सरकारलाई सीआईएले बुनेको षड्यन्त्रले अपदस्थ ग¥यो । त्यसपछि चालीस वर्षसम्म त्यहाँ हत्यारा दलको शासन चल्यो । यातना, बेपत्ता, आमसंहार र अकल्पनीय क्रूरताको शासनले १ लाखभन्दा बढी मानिसको हत्या भयो । बीसौँ शताब्दीमा त्यो निर्विवादरूपमा सबभन्दा कुख्यात अध्याय थियो । अर्बेन्जले संरा अमेरिकी कम्पनी युनाइटेड फ्रुट कम्पनी राष्ट्रियकरण गरेका थिए । त्यो कम्पनी तत्कालीन संरा अमेरिकी शासक वर्गसँग नजिकको कम्पनी थियो । सत्ताकब्जालाई जायज ठह¥याउन वाशिङ्टनको सरकारले ग्वाटेमालालाई सोभियत सङ्घले कब्जा गर्न खोजेको बतायो । जब कि रुसीहरूको त्यो देशसँग यति थोरै चासो थियो कि उनीहरूले ग्वाटेमालासँग कूटनीतिक सम्बन्धसमेत गाँसेका थिएनन् । खास समस्या संरा अमेरिका, अझ विशेषतः युनाइटेड फ्रुटको आँखामा ग्वाटेमालामा उतिबेला ल्याटिन अमेरिकाका अन्य देशमा फैलिरहेको सामाजिक प्रजातन्त्र स्थापना हुने खतरा थियो ।
मध्यपूर्व, सन् १९५६–५८
संरा अमेरिकी पूर्वराष्ट्रपति आइजनहावरको सिद्धान्तअनुसार ‘अन्तर्राष्ट्रिय साम्यवादबाट नियन्त्रित कुनै पनि देशको सशस्त्र हमलाविरुद्ध सहयोग मागिएको अवस्थामा’ संरा अमेरिका कुनै पनि मध्यपूर्वका देशमा ‘सशस्त्र सेना प्रयोग गर्न तयार’ छ । यो भनाइको खास अर्थ संरा अमेरिकाबाहेक कसैलाई पनि मध्यपूर्व र त्यहाँका तेलखानीमा कसैको पनि प्रभुत्व वा कुनै पनि खालको प्रभाव बनाउन नदिने भन्नु हो । जसले पनि त्यहाँ प्रभाव फैलाउने प्रयास गर्छ, उसमाथि ‘कम्युनिस्ट’ को बिल्ला लगाइनेछ । यही नीतिकै आधारमा संरा अमेरिकाले सिरिया सरकारलाई अपदस्थ गर्ने प्रयास ग¥यो । जोर्डन र लेवनानमा संरा अमेरिकी सहयोग प्राप्त सरकारको विरोधमा उठेका आन्दोलनमाथि दमन गर्न भूमध्य क्षेत्रमा विभिन्न शक्ति प्रदर्शनका गतिविधि ग¥यो । लेवनानमा १४ हजार सेना तैनाथ ग¥यो । इजिप्टका नास्सेरलाई सत्ताच्युत गर्न वा हत्या गर्न अनि उनले अघि सारेको खतरनाक मध्यपूर्वको राष्ट्रवादविरुद्ध षड्यन्त्र भयो ।
इन्डोनेसिया, १९५७–५८
नास्सेरजस्तै सुकार्नो पनि संरा अमेरिकाले स्वीकार्न नसकेको तेस्रो विश्वका नेता थिए । शीतयुद्धमा उनले निष्पक्षतालाई गम्भीरतापूर्वक कार्यान्वयन गरे । उनले अमेरिकासँगै सोभियत सङ्घ र चीनको पनि भ्रमण गरे । उनले डच उपनिवेशवादी शक्तिको नियन्त्रणमा रहेका धेरै निजी सम्पत्ति राष्ट्रिकरण गरे । वैधानिक ढङ्गले शान्तिपूर्ण मार्गमा अघि बढेको र चुनावमा प्रभावशाली परिणाम ल्याउन सफल इन्डोनेसियाली कम्युनिस्ट पार्टीमाथि दमन गर्न उनी तयार भएनन् । सुकार्नोका त्यस्ता नीतिले तेस्रो विश्वका अन्य नेताहरूलाई सजिलै ‘गलत प्रभाव’ पार्न सक्थ्यो । सीआईएले त्यहाँको चुनावमा पैसा खन्याउन थाल्यो । सुकार्नोको हत्याको जाल बुन्न थाल्यो । नक्कली यौन चलचित्र बनाएर सुकार्नोलाई फसाउन खोजियो । सरकारविरुद्ध पूर्ण आकारको लडाइँ उछाल्न विपक्षी खेमाका सैनिक अधिकारीहरूलाई साथ दियो । यी सबै षड्यन्त्र र जालसाजीबीच सुकार्नोले आफ्नो सत्ता जोगाइरहे ।
बेलायती गुयना/गुयना, १९५३–६४
संसारकै सबभन्दा पुरानो प्रजातान्त्रिक व्यवस्था भएका दुई देशहरू बेलायत र संरा अमेरिकाले एघार वर्षसम्म प्रजातान्त्रिकरूपमा निर्वाचित बनेका एक जना नेतालाई उनको कार्यालयमा जान रोक लगाउने हदसम्म तल गिरेर काम गरे । चेड्डी जगान निष्पक्ष र स्वाधीन बस्ने प्रयास गरेका तेस्रो विश्वका अर्को नेता थिए । उनी तीन पटक निर्वाचित भए । सुकार्नो वा अर्बेन्जभन्दा उनका नीति तुलनात्मकरूपमा वामपन्थी भए पनि उनी क्रान्तिकारी थिएनन् । तर, उनी वाशिङ्टनको आँखाका कसिङ्गर बनेका थिए । संरा अमेरिकाले उनलाई आफ्नो निम्ति खतरा ठानेको थियो । किनभने, उनी पुँजीवादी व्यवस्थाको विकल्पमा सफल उदाहरण बन्न सक्ने समाज बनाउनेतिर लागिरहेका थिए । आमहड्तालदेखि आतङ्कवाद र बेलायती वैधानिकताबारे गलत सूचना फलाक्ने जस्ता अनेक थरी जालझेल गरेर संरा अमेरिका र बेलायतले अन्ततः जगानलाई सन् १९६४ मा सत्ता छोड्न बाध्य बनाए । उनलाई सत्ताच्युत गर्न आइजरहावरको सिको गर्दै जोन अफ केनेडीले सीधा आदेश जारी गरेका थिए ।
जगानको शासनकालमा सो क्षेत्रकै अब्बल बनेको गुयना सन् १९८० दशकसम्ममा सबभन्दा गरिब देश बन्यो । उसले सबभन्दा धेरै निर्यात गर्ने कुरा मानिस हुनथाल्यो ।
भियतनाम, १९५०–७३
दोस्रो विश्वयुद्धमा एलाइड फोर्ससँग नजिकबाट काम गरेको र अमेरिकीहरूका हरेक कुराको कदर गर्ने हो चि मिन्ह र उनका समर्थकहरूविरुद्ध संरा अमेरिकाले पहिला भियतनाममाथि उपनिवेश जमाएको फ्रान्स र जापानका सहयोगीहरूसँग कुम जोडेर चिप्लो बाटोमा यात्रा थालनी गरे । जे होस्, हो चि मिन्ह एक प्रकारले कम्युनिस्ट थिए । फ्रान्सेली उपनिवेशवादबाट भियतनामलाई मुक्त गर्न र आफ्नो देशको समस्याको शान्तिपूर्ण समाधानको लागि सहयोग गर्न आग्रह गर्दै उनले अमेरिकी राष्ट्रपति ट्रुम्यान र अमेरिकी विदेशी विभागलाई बारम्बार पत्राचार गरेका थिए । उनका ती सबै प्रस्ताव अस्वीकार गरियो । हो चि मिन्हले आफ्नो नयाँ भियतनामी स्वाधीनताको घोषणापत्रको पहिलो वाक्य नै अमेरिकी भावनाअनुसार थियो– “सबै मानिस समानरूपमा जन्मेका हुन् । उनीहरू आफ्ना स्रष्टाप्रति ऋणी छन् ।” तर, वाशिङ्टनको लागि त्यसको कुनै माने रहेन । किनभने, हो चि मिन्ह पनि आखिरमा कम्युनिस्ट नै थिए ।

२३ वर्षमा दसौँ लाख मानिस मारिए । पछि संरा अमेरिकाले भियतनामबाट आफ्नो सेना फिर्ता ग¥यो । धेरै मानिस त्यो युद्धमा भियतनाम पराजित भएको भन्छन् । तर, भियतनाम रसातलसम्म ध्वस्त बनाउने, त्यहाँको माटो विषाक्त बनाउने र पुस्तौँ पुस्तासम्मको जीवाणु खराब बनाएर भियतनामले आफ्नो लक्ष्य हासिल ग¥यो । एसियाको निम्ति एउटा उत्तम विकासको विकल्प हुनसक्ने व्यवस्थाको उदयलाई मुनामै निमोठ्न ऊ सफल भयो । आखिर हो चि मिन्ह कम्युनिस्ट थिए ।
कम्बोडिया, १९५५–७३
राजकुमार सिंहानुक अमेरिकाको चाकडी गर्नमा खुसी नहुने अर्का नेता थिए । उनको शासनविरुद्ध वर्षौं वर्षको दमनपछि अन्ततः सन् १९७० मा भएको सत्ताकब्जामा सिंहानुकलाई वाशिङ्टनले सत्ताच्युत ग¥यो । सिंहानुकको सत्ता पल्टाउन अमेरिकाले हत्या योजना, सन् १९६९–७० मा भएको कुख्यात निक्सन/किसिङ्गर गोप्य ‘कार्पेट वमबारी’जस्ता घटना भएका थिए । पोल पोत र उनको खमेर रुग शक्तिलाई त्यही समयको प्रतिक्षा थियो । पाँच वर्षपछि पोलपोतले सत्ता कब्जा गरे । तर, पाँच वर्षमा अमेरिकी वमबारीले कम्बोडियाको परम्परागत अर्थतन्त्र सब क्षतिविक्षत भयो । पुरानो कम्बोडिया पूर्णतः ध्वस्त भयो ।
अचम्मको कुरा त के हो भने त्यो दुःखी भूमिमा खमेर रुग अझ बढी दुःखको कारण बनिदियो । भियतनाममा अमेरिकाको पराजयपछि पोलपोतलाई सैनिक र कूटनीतिक दुवै हिसाबले समर्थन गर्नु भने विरोधाभास थियो ।
कङ्गो / जायर, १९६०–६५
बेल्जियमबाट स्वाधीन भएपछि पेट्रिस लुम्बुबा सन् १९६० को जूनमा कङ्गोका प्रथम प्रधानमन्त्री बने । तर, कङ्गोको कातान्गा प्रान्तको विशाल खानीमा बेल्जियमकै स्वामित्व थियो । संरा अमेरिकाको आइजनहावर सरकारका अधिकारीहरूको सो खानीमा हिस्सेदार थियो । लुम्बुबाले स्वाधीनता दिवसको अवसरमा आयोजित समारोहमा विदेशी पाहुनासामु कङ्गोको राजनीतिका साथै आर्थिक स्वतन्त्रताको पनि माग गरे । त्यस्तै कङ्गोमा गोरा मालिकहरूले त्यहाँका आदिवासी जनतामाथिको अन्यायको लामो वृत्तान्त नै प्रस्तुत गरे । उनी पक्कै पनि ‘कम्युनिस्ट’ थिए । विचरा, उनलाई पनि शिकार बनाइहाले ।
कङ्गोबाट सेप्टेम्बरमा कातान्गा प्रान्त टुक्राएको एघार दिनपछि लुम्बुबालाई संरा अमेरिकी योजनाअनुसार राष्ट्रपति पदबाट अपदस्थ गरियो । अनि सन् १९६१ को जनवरीमा ड्वीट आइजनहावरको आग्रहमा लुम्बुबाको हत्या भयो । त्यसपछिका धेरै वर्ष आन्तरिक द्वन्द्व र अराजकतामा त्यो देश फस्यो । त्यसपछि मोबुतु सेसे सेको सत्तामा आए । उनी सीआईएसँग अपरिचित मान्छे थिएनन् । मोबुतुले कङ्गोमा तीस वर्षभन्दा लामो समय शासन चलाए । त्यत्तिबेला त्यहाँको भ्रष्टाचार र क्रुरताको अवस्था देखेर सीआईएका अधिकारीहरूसमेत चकित परे । मनग्य प्राकृतिक धन भएर पनि जायरेली जनता चरम गरिबीमा बाँच्न बाध्य भए । तर, मोबुतु भने अर्बपति बने ।
राष्ट्रपति जोआओ गोउलर्टले स्वतन्त्र वैदेशिक नीति अँगालेका छन् । उनले समाजवादी देशहरूसँग मित्रताको हात बढाएका थिए, क्युवाविरुद्धको नाकाबन्दीको विरोध गरेका थिए । बहुराष्ट्रिय कम्पनीहरूले ब्राजिलबाहिर लान पाउने नाफामा सीमा तोक्ने कानुन उनको सरकारले पारित ग¥यो । अमेरिकी कम्पनी आइटीटीलाई दिइएको अनुदानलाई उनले राष्ट्रियकरण गरे, अनि आर्थिक र सामाजिक सुधारका कार्यक्रम अघि बढाए । यो नै राष्ट्रपति गोउलर्टका ‘दोष’ थिए । उनको सरकारका निकायको नेतृत्वदायी पदमा ‘कम्युनिस्ट’ हरूलाई राखेको संरा अमेरिकी महान्यायाधिवक्ता रोबर्ट केन्नेडीलाई स्वीकार्न गाह«ो भइरहेको थियो । तर, गोउलर्ट क्रान्तिकारी थिएनन् । उनी अर्बपति जमिनदार थिए । उनी सधैँ आफ्नो घाँटीमा माला लगाएर हिंड्न क्याथोलिक धर्मानुयायी थिए । विडम्बना, यस्तो अवतारले पनि उनलाई जोगाउन सकेन । सन् १९६४ मा भएको सैनिक सत्ता कब्जाबाट उनलाई सत्ताबाट बाहिर फालियो । त्यो सैनिक विद्रोह संरा अमेरिकाको गहिरो तर भित्री संलग्नतामा भएको थियो । वाशिङ्टनको आधिकारिक भनाइ थियो, “…हो, ब्राजिलमा प्रजातन्त्र फालिनु दुर्भाग्यपूर्ण छ । … तर, त्यति भएर त्यो देश कम्युनिस्टको हातमा जानबाट जोगियो ।”
त्यसपछिका पन्ध्र वर्ष ल्याटिन अमेरिकाले जाने बुझेका सबै थरी सैनिक तानाशाही शासनको अभ्यास ब्राजिलमा भयो । संसद् बन्द भयो । राजनीतिक विपक्षीलाई लगभग उन्मूलन गरियो । ‘राजनीतिक अपराध’ गरेबापत गिरफ्तार गरिएका राजनीतिक कार्यकर्ताको बन्दी प्रत्यक्षकरणको अधिकार खारेज गरियो । कानुन बनाएर नै राष्ट्रपतिको आलोचनामा रोक लगाइयो । मजदुर सङ्गठनहरूलाई सरकारकै हातमा लिइयो । बढ्दो विरोध प्रदर्शनमाथि चर्को दमन भयो । सर्वसाधारणको हुलमा सेनाले जथाभावी गोली हानियो । किसानहरूका घरमा आगजनी गरियो । पादरीहरूमाथि निर्मम व्यवहार गरियो । …सर्वसाधारणलाई बेपत्ता बनाइयो । हत्यारा दल बनाएर निर्दोष जनताको हत्या गरियो । सीमाहीन यातना दिइयो । सरकारले यी सबै गतिविधिलाई ‘ब्राजिलको नैतिक पुनःजागरण’ को नामकरण ग¥यो ।
सेनाले गरेको दमन देखेर संरा अमेरिकी सरकार मख्ख प¥यो । ब्राजिलले क्युवासँगको सम्बन्ध तोड्यो र ल्याटिन अमेरिकामा संरा अमेरिकाको एउटा भरपर्दो मित्र सहयोगी बन्यो ।
दोमिनिकन गणराज्य, सन् १९६३–६६
सन् १९६३ को फेब्रुअरीमा जुआन बोस्च दोमिनिक गणराज्यका प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित राष्ट्रपति बने । सन् १९२४ यता यसरी प्रजातान्त्रिक तरिकाबाट निर्वाचित हुने उनी प्रथम राष्ट्रपति थिए । संरा अमेरिकाले सैनिक तानाशाहीलाई मात्र समर्थन गर्छ भन्ने आरोपको खण्डन गर्न जोन एफ केन्नेडी सरकारले त्यहाँ एक जना उदारपन्थी कम्युनिस्टविरोधी नेतृत्व अघि सारेको थियो । बोस्च सरकारलाई लामो समयसम्म ‘लोकतन्त्रको प्रदर्शन कक्ष’ बनाउन खोजियो । त्यसो गरेर संरा अमेरिका फिडेल क्यास्ट्रोको खेदो खन्न चाहन्थ्यो । जुआन बोस्च सरकारको नेतृत्वमा आउन केही समयअघि वाशिङ्टनले उनलाई भव्य स्वागत गरेको थियो ।
बोस्च आफ्नो विश्वासप्रति इमानदार थिए । उनले भूमिसुधार, न्यून भाडाका भवन, व्यापार व्यवसायको मध्यम खालको राष्ट्रियकरण र वैदेशिक लगानीलाई शोषणमूलक नबनाउन विभिन्न कदम चाले । सामाजिक परिवर्तनमा गम्भीर अरू उदार तेस्रो देशका नेताहरूका कार्यक्रमसँग मिल्दाजुल्दा अन्य नीतिहरू पनि उनले लागु गरे । उनी नागरिकको अधिकारप्रति गम्भीर थिए । कानुनको उल्लङ्घन नगरेसम्म कम्युनिस्ट वा अरू कसैमाथि पनि कारबाही गर्ने पक्षमा उनी थिएनन् । बोस्चका योजना र संरा अमेरिकाबाट स्वतन्त्र उनका निर्णय संरा अमेरिकाका केही अधिकारी र सांसदहरूलाई चित्त बुझेको थिएन । उनीहरूको लागि भूमिसुधार र राष्ट्रियकरण सधैँ चित्त नबुझ्ने विषय थिए । यी कार्यक्रममा उनीहरू समाजवादको गन्ध अनुभव गर्थे । संरा अमेरिकाका धेरै सञ्चारमाध्यमले बस्चलाई ‘लाल बल्छी’ भनी व्याख्या गर्थे ।
सेप्टेम्बरमा दोमिनिकन गणराज्यमा सैनिकको परेड सुरु भयो । बोस्च सत्ताच्युत भए । ल्याटिन अमेरिकामा सैनिक विद्रोहलाई निरुत्साहित गर्ने संरा अमेरिकाले त्यो अवस्थामा केही पनि गरेन ।
उन्नाइस महिनापछि एउटा विद्रोह भयो । त्यो विद्रोहले निर्वासित बोस्चलाई पुनः सत्तामा ल्याउने वाचा गरेको थियो । त्यो विद्रोह दबाउन संरा अमेरिकाले आफ्ना २३ हजार सेना दोमिनिकन गणराज्यमा पठायो ।
क्युवा, सन् १९५९ देखि आजसम्म
सन् १९५९ को सुरुमा फिडेल क्यास्ट्रो सत्तामा आए । सन् १९६९ को मार्च १० मा बसेको संरा अमेरिकाको सुरक्षा परिषद्को बैठकमा ‘क्युवामा अर्को सरकार ल्याउने सम्भावना’ बारे छलफल भयो । त्यसपछिका चालीस वर्ष क्युवाले ‘अक्षम्य क्रान्ति’ गरेबापत आतङ्कवादी हमला, बमबारी, सैनिक हमला, नाकाबन्दी, आर्थिक निषेध, एक्ल्याउने प्रयास, हत्या आदि सबै काम भए । क्युवाको क्रान्तिले ल्याटिन अमेरिकामा ‘असल उदाहरण’ बन्न सक्ने गम्भीर खतराको कारण संरा अमेरिकाले क्युवाविरुद्ध त्यस्ता कदम चालेको थियो ।
दुःखको कुरा के हो भने क्युवालाई स्वतन्त्ररूपमा काम गर्न दिइएको भए क्युवाली समाज कस्तो बन्थ्यो भन्ने कुरा संसारले कहिल्यै हेर्न पाएन । विडम्बना, क्युवा सधैँभरि बन्दुकको धम्की र हस्तक्षेपको खतरामा बस्नुप¥यो । क्युवासँग आदर्श, दृष्टिकोण र प्रतिभा सबै थिए । यदि उसलाई आरामसँग काम गर्न दिन्थ्यो भने त्यहाँको अवस्था कस्तो हुने थियो, हामीले थाहा नै पाएनौँ । पक्कै पनि क्युवा एउटा विचार थियो ।
इन्डोनेसिया, १९६५
इन्डोनेसियामा सैनिक जनरल सुहार्तोले नेतृत्व गरेको सैनिक सत्ता कब्जामार्फत सुकार्नोलाई सत्ताच्युत गर्न भएका सत्ता कब्जाको प्रयास, त्यसको प्रतिरोधमा भएको अर्को सत्ता कब्जा अनि त्यसको पनि प्रतिरोधमा भएको सत्ता कब्जाको जटिल सिलसिलाका विभिन्न बिन्दुमा संरा अमेरिकी हस्तक्षेपको पदचाप देखिएको थियो । सुहार्तोले सत्ता कब्जापछि तत्कालै कम्युनिस्ट, कम्युनिस्ट समर्थक, कम्युनिस्ट आशङ्का गरिएका व्यक्ति र कम्युनिस्टप्रति सद्भाव राख्ने आशङ्का गरिएका मान्छेहरूको व्यापक नरसंहार मच्चाए । तर, ती कुनै पनि कामलाई ‘द न्यु योर्क टाइम्स’ ले ‘आधुनिक राजनीतिक इतिहासको सबभन्दा जङ्गली आमनरसंहार’ को संज्ञा दिएन । नरसंहारका सुरुका वर्षमा मारिने मानिसको सङ्ख्या ५ लाख थियो भने मारिएका मानिसको सङ्ख्या दस लाखभन्दा बढी थियो ।
पछि खुलासा भयो, संरा अमेरिकी दूतावासले ‘कम्युनिस्ट’ सङ्गठनका माथिल्लो तहदेखि तलका प्रारम्भिक समिति र गाउँका कार्यकर्ताहरूसमेत गरी ५ हजार मानिसको नामावली नै तयार गरिएको थियो । त्यो नामावली उनीहरूले सुहार्तोको सेनालाई बुझाएका थिए । सेनाले ती मानिसको खोजी गरी एक एक जनाको हत्या गरेको थियो । सेनाले मारेका वा गिरफ्तार गरेका मान्छे र आफूले दिएको नामावली अमेरिकीहरूले भिडाएर हेरेका थिए । “त्यसरी दिइएको नामावली सेनाको निम्ति ठूलो मद्दत बन्यो । नत्र त सेनाले धेरै अरू मान्छे पनि मार्ने थिए । सम्भवतः त्यसकारण मेरो हातमा पनि धेरै रगतका दाग पर्ने थियो”, एक जना अमेरिकी कूटनीतिज्ञले भने,“तर, जे भयो, त्यो नराम्रो भएन । त्यो समय एउटा निर्णायक समयमा हामीले कडा कदम चाल्नुपरेको थियो ।”
चिली, सन् १९६४–७३
संरा अमेरिकी साम्राज्यवादको लागि साल्भाडोर एयेन्डे सम्भवतः सबभन्दा खराब राजनीतिक व्यक्ति थिए । एक जना माक्र्सवादी सत्ता आउनुभन्दा वाशिङ्टनको निम्ति संविधान मानेर एक जना माक्र्सवादी सत्तामा आउनु र लोकप्रिय बन्दै जानु अझ बढी टाउको दुःखाइको विषय थियो । त्यसले कम्युनिस्टविरोधी धरहराको जग नै हल्लाइदिएको थियो । ‘कम्युनिस्टहरू’ ले शक्ति प्रयोग र झुक्याएरमात्र सत्ता कब्जा गर्नसक्ने भनी दशकौँ लगाएर स्थापित गरेको मान्यतालाई चिलीले भत्काएको थियो । ‘कम्युनिस्ट’हरूले जनतालाई डरत्रास देखाएर र दिमाग परिवर्तन गरेरमात्र सत्ता टिकाउन सक्ने मान्यतालाई त्यसले चुनौती दिएको थियो ।
सन् १९६४ मा एयेन्डेलाई चुनावबाट विजयी बनाउन रोके पनि सीआइए र अमेरिकी नीतिमा काम गर्ने सिङ्गो संरचना लागेर पनि सन् १९७० को चुनावमा एयेन्डेलाई चुनावमा विजयी बनाउन कसैले रोक्न सकेन । एयेन्डेको सरकार स्थापना भएपछिका तीन वर्ष उनीहरूले अस्थिरता निम्त्याउन गर्नुपर्ने कुनै पनि काम बाँकी राखेनन् । सैनिक निर्ममता फैलाउनमा उनीहरूले ठूलो जोडबल लगाए । अन्ततः सन् १९७३ को सेप्टेम्बरमा सेनाले एयेन्डे सरकारलाई सत्ताच्युत बनायो । सोक्रममा एयेन्डेका हत्या भयो । सेनाले एक सातासम्म चिलीलाई बाँकी संसारबाट अलग राख्यो । त्यत्तिबेला सेनाका ट्याङ्क सडकमा दौडे । सिपाहीले जनताका घर घरमा ढोका फोड्दै दुःख दिए । रङशालामा लगातार हत्याका आवाज गुञ्जायमान भइरह्यो । सडकमा लासको खात लाग्यो । नदीमा लास बगेको देखियो । व्यापारिक संस्थाहरू यातना केन्द्रमा परिणत गरियो । सत्तालाई खतरा लागेका पुस्तकहरू आगोमा झोसियो । ‘चिलीमा महिलाले यस्तो लुगा लगाउन पाइन्न’ भन्दै सेनाले महिलाले लगाएका पाइट च्यातिदिए । गरिबहरू थप गरिबीको मारमा परे । वाशिङ्टन र अन्तर्राष्ट्रिय वित्तीय केन्द्रका मान्छेहरूले आफ्ना खाता खोल्न थालेका थिए । सेनाले ३ हजारभन्दा बढी मानिसको हत्या ग¥यो । हजारौँलाई निर्मम यातना दिइयो । कति बेपत्ता भए ।
……
ग्रीस, सन् १९६४–७४
चुनाव हुन दुई दिनअघि ग्रीसमा सन् १९६७ को अप्रिलमा सैनिक सत्ताकब्जा भयो । चुनावमा पाका उदारवादी नेता जर्ज पापानड्रोउ प्रधानमन्त्री पदमा निर्वाचित हुने सम्भावना प्रबल थियो । सन् १९६४ को फेब्रुअरीमा भएको चुनावमा पापानड्रोउले प्रस्ट बहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका थिए । आधुनिक ग्रीसमा भएका निर्वाचनमा प्रस्ट बहुमत हासिल गरेको त्यो नै एकमात्र सरकार थियो । उनलाई सत्ताच्युत गर्ने जालझेल भने उनी निर्वाचित भएलगत्तै सुरू भइसकेको थियो । राजदरबार, ग्रीसेली सेना, अमेरिकी सेना र ग्रीसमा रहेका सीआईएका अधिकारीहरूको साझा योजनामा उनलाई सत्ताबाट निकाल्ने खेल सुरू भयो । सन् १९६७ को सत्ताकब्जा लगत्तै पुरानो फौजदारी कानुन, सेन्सरका नियम, गिरफ्तारी, कुटपिट, यातना र हत्याको सिलसिला सुरू भयो । सत्ताकब्जापछिको पहिलो महिनामा नै झन्डै ८ हजार मानिस यसको शिकार भए । ‘कम्युनिस्ट सत्ताकब्जा’ बाट देशलाई जोगाउन यस्ता कदम चालिएको भन्दै उही पुरानो घोषणा पनि गरियो । ग्रीसेली जनजीवनलाई विकृत बनाउने र विपक्षको प्रभाव बलियो बनाउने सबै कुरालाई हटाइयो । मिनिस्कर्ट लगाउन दिइएन । लामो कपाल पाल्न दिइएन । अनि विदेशी पत्रपत्रिका भित्रिन रोक लगाइयो । युवाहरूलाई चर्चमा जान अनिवार्य गरियो ।
ती कुराभन्दा बढी सेनाले सर्वसाधारणलाई दिने यातनाको कारण सात वर्षको अवधि ग्रीसेली जनताको निम्ति नराम्रो सपनाजस्तै बन्यो । एमनेस्टी इन्टरनेसनलले ग्रीसमा सन् १९६९ को डिसेम्बरमा पठाएको अमेरिकी वकिल जेम्स बेकेटले संरा अमेरिकाबाट झिकाइएका सामानबाट ज्यादै निर्मम तरिकाबाट यातना दिइएका मानिसहरूको सङ्ख्या अनुदारहरूकै अनुमानअनुसार नै दुई हजारभन्दा कम थिएन ।
बेकेटले भनेका थिए, “सयौँको सङ्ख्यामा रहेका बन्दीहरूले इन्स्पेक्टर बासिल लामब्रोले दिएको सङ्क्षिप्त मन्तव्य सुने । उनी अमेरिकी सहायता झल्काउने रातो, सेतो र निलो रङ पोतिएको जोडिएका हात भएको कुर्सीमा उनी बसेका हुन्थे । उनी बन्दीहरूले प्रतिरोधको कुनै सम्भावना नभएको देखाइरहेका थिए । “तिमीहरू आफूले केही गर्न सकिन्छ भनी सोच्छौ भने त्यो निकै हास्यास्पद हुनेछ । संसार दुई भागमा विभक्त छ । एकातिर कम्युनिस्टहरू छन् भने अर्कोतिर स्वतन्त्र संसार छ । रूसी र अमेरिका, अरू कोही पनि छैनन् । हामी को हौँ ? हामी अमेरिकी हाँै । मेरो पछाडि सरकार छ, सरकारको पछाडि नाटो छ, नाटोको पछाडि संरा अमेरिका छ । तिमीहरू हामीसँग लड्न सक्दैनौ । हामी अमेरिकी हौँ ।”
जर्ज पापानड्रोउ कोही क्रान्तिकारी होइनन् । उनी उदार कम्युनिस्टविरोधी थिए । तर, उनका उत्तराधिकारी, उनका छोरा एन्ड्रेस आफ्नो पिताभन्दा थोरै वामपन्थी झुकाव राख्थे । उनी ग्रीसलाई शीतयुद्धबाट ग्रीसलाई निकाल्ने पक्षमा थिए । उनले सधैँ नाटोमाथि प्रश्न उठाइरहे । कम्तीमा उनी संरा अमेरिकाको सहायक बन्ने पक्षमा थिएनन् ।
पूर्वी टिमोर, सन् १९७५ देखि आजसम्म
सन् १९७५ को डिसेम्बरमा इन्डोनेसियाले पूर्वी टिमोरमाथि कब्जा जमायो । इन्डोनेसियाली टापु समुहको पूर्वी कुनामा पूर्वी टिमोर पर्छ । पोर्चुगलले पूर्वी टिमोरमाथिको उपनिवेश अन्त्य गरेलगत्तै इन्डोनेसियाले कब्जा जमाएको थियो । संरा अमेरिकी राष्ट्रपति गेराल्र्ड फोर्ड र विदेश सचिव हेनरी किसिङ्गर इन्डोनेसिया भ्रमण सकेर फर्केको एक दिनपछि इन्डोनेसियाले अमेरिकी हतियार प्रयोग गरी पूर्वी टिमोरमाथि कब्जा जमाएको थियो । संरा अमेरिकी कानुनअनुसार अमेरिकी हातहतियार अर्को देशमाथि हमलाको निम्ति प्रयोग गर्नु गैरकानुनी हो । तर फोर्ड, र किसिङ्गरको अनुमतिमा पूर्वी टिमोरमाथि कब्जा गर्न ती हतियार प्रयोग गरियो । दक्षिणपूर्वी एसियामा इन्डोनेसिया वाशिङ्टनको सबभन्दा अमूल्य हतियार थियो ।
एमनेस्टी इन्टरनेसनलले सन् १९८९ सम्ममा इन्डोनेसियाली सेनाले पूर्वी टिमोरलाई जबरजस्ती कब्जा गर्ने लक्ष्यसहित २ लाख मानिस मारेको थियो । जबकि त्यहाँको कुल जनसङ्ख्या ६ लाखदेखि ७ लाखसम्म थियो । संरा अमेरिकाले पछि पूर्वी टिमोरमाथि इन्डोनेसियाको दाबीलाई समर्थन ग¥यो । संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घमा त्यो दाबीको विरोध गरेको थियो । पूर्वी टिमोरमा भएको नरसंहारको अमेरिकाले देखेनदेखेजस्तै ग¥यो । अर्कोतिर इन्डोनेसियालाई यसरी नरसंहार मच्चाउन आवश्यक सैनिक सामग्री र हातहतियार अमेरिकाले नै उपलब्ध गराइरह्यो ।
निकारागुआ, सन् १९७८–८९
सन् १९७८ मा सोमोजाको तानाशाही शासनलाई सान्डिनिस्टाहरूले सत्ताच्युत गरे । त्यत्तिबेला नै वाशिङ्टनलाई सान्डिनिस्टाहरू ‘क्युवाजस्तै’ अर्को डरलाग्दो शक्ति हुनसक्ने सम्भावना देखिसकेको थियो । राष्ट्रपति कार्टरअन्तर्गत क्रान्तिलाई रोक्ने प्रयासले कूटनीतिक र आर्थिक रूप लिएको थियो । रेगन सरकारअन्तर्गत हिंसालाई नै छनोटको तरिका बनाइयो । अरू त्रासद आठ वर्षमा निकारागुआका जनताले वाशिङ्टनका कठपुतली सेना ‘कोन्ट्रा’को हमलाले निकै दुःख पाए । सोमोजा समर्थक राष्ट्रिय गार्ड र उनका समर्थकहरू मिलेर कोन्ट्रा सेना बनाइएको थियो । सरकारका सबै प्रगतिशील सामाजिक र आर्थिक कार्यक्रम असफल बनाउने लक्ष्यसहित थालिएको त्यो एउटा युद्ध थियो । कोन्ट्रा सेनाले विद्यालय र स्वास्थ्यचौकीहरूमा आगजनी गरे । उनीहरूले बलात्कार, यातना, खानीमा लुटपाट, बमबारी र हवाई हमला गरे । उनीहरू रोनाल्ड रेगनका स्वतन्त्रता सङ्ग्रामीहरू थिए । उनीहरूको उद्देश्य निकारागुआमा क्रान्ति रोक्नु थियो ।
ग्रिनाडा, सन् १९७९–८४
१ लाख १० हजारमात्र जनसङ्ख्या भएको एउटा देशलाई हमला गर्न संसारको एउटा शक्तिशाली देशलाई के कुराले उत्साहित बनाउँछ ? ग्रेनाडामा सन् १९७९ मा मोरिस विसप र उनका समर्थकहरूले सत्ताकब्जा गरे । उनीहरूको नीति क्यास्ट्रोको जस्तो क्रान्तिकारी नभए पनि वाशिङ्टन त्यो देश पनि अर्को क्युवा होला भने निकै डराएको थियो । विशेषतः सो क्षेत्रका अन्य देशहरूमा ग्रिनाडाका नेताहरू जाँदा देखिएको ठूलो उत्साहको कारण वाािशङ्टनको मनमा चिसो पसेको थियो ।
सत्ताकब्जालगत्तै विसफको सरकारविरूद्ध संरा अमेरिकी अस्थिरता रणनीतिको थालनी भइसकेको थियो । त्यो क्रम सन् १९८३ सम्म चालु रह्यो । त्यसक्रममा धेरै भ्रम फैलाउन र फोहरी खेलहरू भए । सन् १९८३ को अक्टोबरमा अमेरिकी हस्तक्षेपको निकै कमजोर प्रतिरोध भयो । यद्यपि, त्यसक्रममा १३५ जना अमेरिकी मारिनुका साथै घाइते भएका थिए । झन्डै ४ सय जना ग्रिनेडाका मानिसहरू पनि घाइते भएका थिए । ८४ जना क्युवा (जसमध्ये अधिकांश निर्माण मजदुरहरू) ले पनि ज्यान गुमाएका थिए ।
सन् १९८४ को अन्त्यमा विवादास्पद चुनावमा रेगन सरकारको समर्थन प्राप्त व्यक्ति निर्वाचित भए । एक वर्षपछि मानवअधिकार सङ्गठन ‘काउन्सिल अन हेमिस्फेरिक अफेर्स’ ले ग्रेनाडाका संरा अमेरिकामा तालिम प्राप्त नयाँ प्रहरी बल र प्रतिक्रियावादी शक्तिले निर्ममता, जथाभावी गिरफ्तारी र अख्तियारको दुरूपयोग जस्ता कारणले कुख्याती कमाएको प्रतिवेदन दिए । जसकारण त्यहाँ नागरिक अधिकारमा क्षयीकरण भइरहेको थियो ।
सन् १९८९ को अप्रिलमा सरकारले आयात गर्न पूर्णतः निषेध गर्ने ८० भन्दा बढी पुस्तकको नाम सार्वजनिक ग¥यो । चार महिनापछि प्रधानमन्त्रीले आफ्नो पक्षमा विश्वासको मत नपाउने अवस्था बनेपछि संसद् नै भङ्ग गरिदिए । त्यसपछि उनका आलोचकहरूको भनाइअनुसार ‘थप अधिनायकवादी शैली’ मा शासन चलाइयो ।
लिविया, सन् १९८१–८९
लिविया संरा अमेरिकाको मध्यपूर्वी कठपुतली देश बन्न तयार भएन । त्यहाँका नेता मुअम्मर गद्दाफी त्यसको निम्ति कदापि तयार भएनन् । त्यही भएर उनलाई दण्डित गर्नु थियो । लिवियाको आफ्नो हवाई क्षेत्रमा उडिरहेका दुई वटा विमानमाथि संरा अमेरिकी विमानले हमला गरे । संरा अमेरिकाले लिवियामाथि बमबारी पनि ग¥यो । बमबारीमा गद्दाफीकी छोरी सहित कम्तीमा चालीस जना मानिसको हत्या भयो । गद्दाफीको हत्या गर्ने पनि अनेकन प्रयास भए । उनलाई सत्ताच्युत गर्न विभिन्न कारबाही भए । भ्रमको खेती भयो । आर्थिक नाकाबन्दी थोपरियो । कुनै पनि भरपर्दो प्रमाणबिना पान एम १०३ वमबारीको दोष लिवियामाथि नै थोपरियो ।
पानामा, सन् १९८९
वाशिङ्टनका बमवर्षकहरूले पानामामा फेरि हमला गरे । सन् १९८९ को डिसेम्बरमा पानामा सहरको एउटा ठुलो झोपडपट्टीलाई ध्वस्त बनाइयो । १५ हजार मानिस घरबारविहीन बने । पानामाली सेनाविरुद्ध कयौँ दिन चलेको स्थल लडाइँमा संरा अमेरिकाले झन्डै ५ सय मानिस मारिएको आधिकारिक तथ्याङ्क सार्वजनिक ग¥यो । संरा अमेरिकाले नै बनाएको पानामाको नयाँ सरकारले पनि यही तथ्याङ्क सदर ग¥यो । तर, अन्य स्रोतले त्यत्तिबेला हजारौँ मानिस मारिएको र झन्डै ३ हजार मानिस घाइते भएको तथ्याङ्क प्रस्तुत ग¥यो । उनीहरूले प्रस्तुत गरेको आधार पनि कमजोर भने थिएन । जम्माजम्मी २३ जना अमेरिकी मारिए र ३२४ जना घाइते भए ।
पत्रकारले सोधे, “के नोरेगा (पानामाका सैनिक शासक) लाई सत्तासीन बनाउन आफ्ना जनतालाई मार्न त्यहाँ अमेरिकाले (पानामा) पठाउनु ठीक थियो ?”
जर्ज वुशः “हरेक मानिसको जीवन अमूल्य हुन्छ । यद्यपि, तपाईँको प्रश्नको उत्तरमा मैले भन्नैपर्छ, हो त्यसो गर्नुको पनि अर्थ छ ।”
माजुएल नोरेगाले आफ्नो उपयोगिता पुष्टि गर्न सक्दासम्म वर्षौंसम्म अमेरिकाका प्रिय र भरपर्दो सूचनाका स्रोता थिए । तर, पानामामा हमला गर्नुको मूल लक्ष्य भने उनलाई सत्तामा ल्याउनु मात्र थिएन । दुई महिनापछि चुनाव हुन तय भएको निकारागुआका जनतालाई वुश प्रष्ट सन्देश पठाउन चाहन्थे– हेर ! तिमीहरूले सान्डिनिस्टालाई फेरि पनि चुनावबाट निर्वाचित गरे तिमीहरूको नियति पनि यस्तै हुनेछ । हालसालै ‘सोभियत खतरा’ समाप्त भए पनि उनी आफ्नै देशको संसदलाई तत्कालै एउटा ठुलो सैनिक शक्ति बनाउनुपर्ने आवश्यकताबोध गराउन चाहन्थे । नोरेगालाई सत्ताच्युत गर्नुको मुख्यकारण लागूऔषध ओसारप्रसार भएको औपचारिक रूपमा बताइयो । तर, उनी यस्ता कारोबारमा संलग्न रहेको कुरा अमेरिकालाई धेरै अघिबाट नै थाहा थियो । तर, समय नआउञ्जेल त्यसबारे केही कदम चाल्न वाशिङ्टनले आवश्यक ठानेन ।
इराक, सन् १९९० दसक
मध्यपूर्वकै सबभन्दा विकसित देशविरुद्ध लगातार चालिस दिनभन्दा बढी दिन–रात बमबारी गर्दा इराकको प्राचीन र आधुनिक राजधानी सहर धुलोपिठो भयो । इराकका जनतामाथि ११ करोड ७० लाख टन बम खसालियो । संसारको इतिहासमा त्यत्ति ठुलो परिणाममा लक्षित हवाई हमला त्यसअघि कहिल्यै भएको थिएन । युरेनियम हतियारको प्रहारबाट मानिसहरूलाई दीर्घरोगी बनायो । उनीहरू क्यान्सरका रोगी बने । रासायनिक र जैविक हतियारका भण्डार र तेलखानीमा विस्फोटन गरियो । फलतः वातावरणमा त्यसअघि कहिल्यै नभएको अनुपातमा हानी नोक्सानी पु¥यायो । सिपाहीहरूलाई जिउँदै गाडियो । पूर्वाधारहरू ध्वंस बनाइयो । त्यसले स्वास्थ्य क्षेत्रमा ठुलो प्रभाव पा¥यो । आज पनि इराकमाथिको नाकाबन्दी चालु छ । जसले त्यहाँको स्वास्थ्य समस्यालाई अझ बढाएको छ । त्यही कारण लाखौँ बालबालिकाले अनाहकमा ज्यान गुमाउनुप¥यो । वयस्कहरूले पनि अकाल मृत्युवरण गर्नुप¥यो ।
अरब देशहरूमध्ये इराक सबभन्दा शक्तिशाली सैनिक शक्ति थियो । सायद त्यही नै उनीहरूको अपराध बन्यो । नोम चोम्स्कीले लेखेका छन्, “खाडी क्षेत्रका विशाल र अतुलनीय ऊर्जा स्रोतमाथि संरा अमेरिका र उसका सहयोगी देशको नियन्त्रणमा ल्याउनु सन् १९४० को दसकदेखि नै संरा अमेरिकी विदेश नीतिको महत्वपूर्ण पक्ष थियो । त्यस्तै तेल उत्पादन र तेलको मूल्यमा कुनै पनि स्वाधीन र स्थानीय शक्तिलाई दिगो प्रभाव पार्न नदिनु पनि उनीहरूको लागि महत्वपूर्ण थियो ।”
अफगानिस्तान, सन् १९७२–९२
तालिवान आउनुअघि नै इस्लामिक कट्टरपन्थीहरूले अफगानिस्तानमा महिलाहरूमाथि गर्ने पत्याउनै गा¥हो दमनबारे सबैलाई थाहा छ । तर, धेरैलाई सन् १९७० दसकको उत्तर्राद्र्ध र सन् १९८० दसकमा अफगानिस्तानमा बीसौं शताब्दीमा निकै पछाडि परेको देशलाई अघि बढाउन प्रतिबद्ध सरकार थियो भन्ने कुरा थाहा नहुन सक्छ । त्यो सरकार अन्य धेरै प्रगतिशील मुद्दाका साथै महिलालाई समान अधिकार दिने विषयमा पनि प्रतिबद्ध थियो । तर, त्यो सरकारले सोभियत सङ्घलाई समर्थन गर्ने गरेको साधारण कारणले त्यसलाई ढाल्न संरा अमेरिकाले लडाइँँ उछाल्न अरबौँ डलर खन्यायो । त्यसअघि नै सीआईएले जानाजान अफगानिस्तानमा सोभियत हमलाको सम्भावनाबारे हल्ला फैलायो । आखिरमा सोभियत हमला भयो पनि । अन्ततः अफगानिस्तानमा संरा अमेरिका जित्यो, अफगानी महिला र अन्य अफगानी जनता पराजित भए । दसौं लाख मानिस मारिए, तीस लाख मानिस अपाङ्ग भए, पचास लाख मानिस शरणार्थी बन्न बाध्य भए । कुल जनसङ्ख्याको आधा हिस्सा शरणार्थी बन्नुप¥यो ।
एल साल्भाडोर, १९८०–९३
एल साल्भाडोरमा विपक्षीहरूले त्यहाँको व्यवस्थाभित्रै रहेर काम गर्न खोजिरहेका थिए । तर, संरा अमेरिकाको समर्थनमा सरकार त्यस्तो हुन दिएन । सरकारले बारम्बार चुनाबमा धाँधली ग¥यो । सयौं प्रदर्शनकारी र हडतालमा भाग लिने जनताको हत्या भयो । अति भएपछि सन् १९८० मा विपक्षीहरूले सशस्त्र लडाइँँ थाले र गृहयुद्ध चर्कियो ।
औपचारिकरूपमा त एल साल्भाडोरमा संरा अमेरिकी उपस्थिति सल्लाहकारको भूमिकामा मात्र सीमित थियो । तर, व्यवहारमा भने सेना र सीआईएका अधिकारीहरूले लगातार निकै सक्रियतापूर्वक एल साल्भाडोरको मामिलामा भूमिका खेलिरहेका थिए । विद्रोहीहरूको नियन्त्रणमा रहेको क्षेत्रमा गुप्तचरी र अन्य गतिविधिको लागि लडेका हेलिकप्टर र बिमान ध्वस्त हुँदा झन्डै २० जना अमेरिकीहरू मारिए वा घाइते भए । सन् १९९२ मा लडाइँँ औपचारिक हिसाबले समाप्त भयो । ७५ हजार मानिस मारिए । संरा अमेरिकाको मात्र अर्थ मन्त्रालयबाट ६ अर्ब अमेरिकी डलर खर्च भइसकेको थियो । कुनै पनि अर्थपूर्ण सामाजिक परिवर्तनको ढोका बन्द थियो । मुट्ठीभर धनीमानीको हातमा देश पुग्यो । गरिब र राजनीतिक विपक्षीहरू भने अझै पनि दक्षिणपन्थी हत्यारा दलको हातबाट शिकार हुने त्रासमा बाँच्न बाध्य छन् ।
हाइटी, सन् १९८७–९४
संरा अमेरिकाले तीस वर्षसम्म डुभालियर परिवारको तानाशाही शासनलाई समर्थन ग¥यो । सुधारवादी पादरी जिन बेट्रान्ड अरिस्टाइड त्यसको विरोधमा उभिए र चुनाव पनि जिते । त्यही बेला सीआईएले हत्यारा दल, गुण्डा दल र लागु औषधि व्यापारीसँग नजिकबाट काम गरिरहेका थिए । यस्तो परिस्थितिमा तत्कालीन क्लिन्टन सरकारलाई असहज अनुभव भयो । आफ्नो ‘प्रजातन्त्र’ को आवरणको कारण वाशिङ्टनले अरिस्टाइटको पुनः सत्तागमनप्रति समर्थन जनायो । उनलाई सन् १९९१ मा भएको सैनिक सत्ताकब्जाबाट सत्ताच्युत गरिएको थियो । सत्ताकब्जा भएको साढे दुई वर्षको विलम्बपछि वाशिङ्टनले आफ्नो सेनालाई अरिस्टाइडलाई सत्तामा ल्याउन आदेश जारी ग¥यो । तर, त्यसको निम्ति अरिस्टाइडसामु अमेरिकाले धनीलाई हानी पुग्ने गरी गरिबको हित नगर्ने र स्वतन्त्र बजार अर्थतन्त्रलाई नै अघि बढाउने शर्त राखेको थियो । त्यसको अर्थ हाइटीमा पश्चिमा नीतिलाई नै निरन्तरता दिनु हो । जसले त्यहाँका श्रमिकलाई खान पनि नपुग्ने ज्याला दिने व्यवस्थालाई स्थापित ग¥यो ।
युगोस्लाभिया, सन् १९९९
संरा अमेरिकाले युगोस्लाभियामाथि हमला गरेर त्यसलाई प्राग्–औद्योगिक युगमा फर्कायो । ‘मानवीय’ भावनाकै कारण संरा अमेरिकाले युगोस्लाभियामाथि हमला गरेको भनी विश्वलाई विश्वास गरोस् भन्ने चाह्यो । तर, संरा अमेरिकी हमला र हस्तक्षेपको यो इतिहासले जो कोहीलाई पनि उसको यो दाबीलाई कति विश्वास गर्ने वा नगर्ने भन्ने कुरा प्रष्ट बनाएको छ ।
(यो इतिहासको सङ्कलन विलियम ब्लमले गरेका हुन् । उनी ‘दोस्रो विश्वयुद्ध यता संरा अमेरिकी सैनिक र सीआईए हस्तक्षेप–आशाको हत्या’ पुस्तकका लेखक हुन् ।)
स्रोत : द नर्थ स्टार कम्पास
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *