भर्खरै :

अफ्रिकामा कोभिडको खोप

गएको महिना (सेप्टेम्बर) मा भएको संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभाका प्रमुख विषयमध्ये एउटा विषय कोभिड–१९ खोपको विश्वभर समतामूलक वितरण थियो । आजसम्ममा न्यून आयका देशहरूका १ प्रतिशतभन्दा कम मानिसले मात्र पूर्ण खोप पाएका छन् । मध्यम आय भएका देशमा १० प्रतिशत र उच्च आय भएका देशका ५० प्रतिशत मानिसले पूर्ण खोप पाएका छन् ।
रुवान्डा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र जाम्बियालगायत विभिन्न अफ्रिकी देशका नेताहरूले महासभामा कोभिड–१९ का खोपमा समतामूलक पहुँचको निम्ति आह्वान गरेका थिए । रुवान्डाका राष्ट्रपति पल कगामीले भने,“अफ्रिकामा खोप वितरणलाई गतिवान बनाउन हामीले धेरै गर्नसक्छौँ र गर्नुपर्छ । त्यसो गर्दा संसारकै हित हुनेछ ।”
अफ्रिकी महादेशभित्र पनि उत्तर अफ्रिका र सहारा मरुभूमि वरपरका अफ्रिकी देशमा खोप वितरणमा ठूलो दुरी छ । सहारा मरुभूमि वरपरका अफ्रिकी देशहरू खोप वितरणमा मूलतः कोभिड–१९ खोप विश्वव्यापी पहुँच (कोभ्याक्स) परियोजनामा निर्भर छन् । कोभ्याक्सको लक्ष्य संसारभर खोपको समतामूलक वितरण हो । तथापि, खोपको उपलब्धता कम हुनु, निर्यातमा रोक र केही धनी देशहरूले आवश्यकताभन्दा बढी मात्रामा खोप सञ्चय गर्दा कोभ्याक्सले लक्षित मात्रामा खोप वितरण गर्न सकेको छैन । त्यसकारण अफ्रिकी देशहरूमा खोप लगाउने कार्यक्रमले गति लिन सकेको छैन ।
एक वर्षभन्दा बढी समयदेखि अफ्रिकी देशहरूलाई खोप उपलब्ध गराउने विषयमा चीनले राजनीतिक इच्छा व्यक्त गर्दै आएको छ । गत वर्ष सन् २०२० को सेप्टेम्बर ३१ मा चीनका राष्ट्रपति सी चिनफिङले चीनले कोभिडको खोप विकास गरेर प्रयोगमा ल्याउने बित्तिकै विश्वव्यापी सार्वजनिक वस्तुको रूपमा विकासशील देशहरू विशेषतः अफ्रिकालाई प्राथमिकतामा राखेर वितरण गर्ने वाचा गरेका थिए । सोही प्रतिबद्धताअन्तर्गत गत सेप्टेम्बर १३ सम्ममा चीनले अफ्रिकामा ६ करोड १० लाख मात्रा खोप उपलब्ध गराइसकेको छ । त्यस्तै अगस्ट ५ मा राष्ट्रपति सीले गरेको घोषणाअन्तर्गत चीनले कोभ्याक्समा १० करोड अमेरिकी डलर सहयोग गरेको छ ।
यद्यपि, अफ्रिकालाई धेरै परिणाममा खोप उपलब्ध गराउँदैमा कोभिडको खोपलाई विश्वव्यापी सार्वजनिक वस्तु बनाउने राष्ट्रपति सीको वाचा पुरा हुन सक्दैन । न त त्यसबाट खोपमा समताको लक्ष्य नै प्राप्त हुनसक्छ । कुनै पनि देशको बन्दरगाहसम्म खोप पठाउँदैमा त्यहाँका जनताले खोप पाउने सुनिश्चित गर्न सकिन्न । सेप्टेम्बर महिनाको सुरुमा अफ्रिकास्थित विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय कार्यालयले कोभ्याक्स र अफ्रिकी सङ्घजस्ता माध्यमबाट खोप आपूर्ति बढाए दस प्रतिशत जनतालाई खोप लगाउने लक्ष्यमा पुग्न आधार तयार हुने बताएको छ । तथापि, आजको मितिसम्ममा अफ्रिकी महादेशका २६ देशले प्राप्त खोपको आधाभन्दा कम खोपमात्र मानिसलाई लगाइएको छ ।
अफ्रिकामा खोप लगाउने मानिसको दर न्यून हुनुका धेरै कारणमध्ये असमान खोप वितरण एउटामात्र कारण हो । अफ्रिकाका बालबालिकालाई खोप लगाउन संयुक्त राष्ट्र सङ्घीय बालबालिका कोष र गाभी एलाइन्सजस्ता अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनहरूले बितेका दुई दशकमा गरेका कामबीच अझै पनि अधिकांश अफ्रिकी देशहरूमा सार्वजनिक स्वास्थ्य पूर्वाधारमा गम्भीर अभाव छ । यो अभावअन्तर्गत खोपको वितरण गर्ने आधारभूत यातायात पूर्वाधार र बन्दोबस्त प्रणालीमात्र होइन, योग्य स्वास्थ्यकर्मी र खोपलाई एक स्थानबाट अर्को ठाउँमा सुरक्षितरूपमा पु¥याउन र भण्डारण गर्न आवश्यक चिस्यान प्रणालीको पनि अभाव छ । यी र यस्ता विषयले नै मुख्यतः प्रभावकारी ढङ्गले खोप अभियान चलाउन अवरोध सिर्जना भएको छ । उनीहरूले कति मात्रा खोप प्राप्त गरे भन्ने कुरा गौण बनेको छ ।
अफ्रिकामा खोपको भण्डारण गर्ने बन्दोबस्त मुख्यतः बालबालिकाको खोप कार्यक्रमको लागि विकास गरिएको छ । त्यो बन्दोबस्त अहिले कोभिड–१९ खोप कार्यक्रमको लागि पुग्ने अवस्था छैन । खासमा निकै चिसोमा भण्डारन गर्न सकिने खोप उत्तरी र दक्षिणी अफ्रिकी देशहरूमा मात्र आपूर्ति गरिएको छ किनभने ती क्षेत्रमा तुलनात्मकरूपमा जनस्वास्थ्य पूर्वाधार राम्रा छन् ।
कोभिड महामारीले एमआरएनए खोपजस्ता नयाँ प्रविधिको तीव्र विकास र प्रयोगलाई सतहमा ल्यायो । तर, सँगै निकै चिन्ताजनक वास्तविकता पनि सतहमा ल्याएको छ । कुनै देश वा क्षेत्रको जनस्वास्थ्य पूर्वाधार कमजोर भए रोगको प्रभावकारी पहिचान, रोकथाम र उपचारको तरिका भएर पनि त्यसबाट सबैले लाभ उठाउन सक्ने सुनिश्चित गर्न सकिन्न । बरु त्यसले स्वास्थ्य स्रोतको असमान वितरणलाई अझ फराकिलो बनाउन सक्ने देखियो ।
धेरै अफ्रिकी देशहरूले यो कुरा धेरै अघि नै अनुभव गर्दै आएका हुन् । त्यसकारण, उनीहरूले खोपको भण्डारन र खोपको ओसारप्रसारको लागि उपयुक्त चिकित्सकीय बन्दोबस्त र चिस्यान प्रणालीको लागि सौर्य ऊर्जामा चल्ने फ्रिज, ड्रोन र हेलिकप्टरबाट ओसारप्रसार गर्ने प्रविधिको प्रयोग गर्दै आएका छन् । नयाँ जनस्वास्थ्य नीतिलाई निर्देशित गर्न उनीहरूले तथ्याङ्क सङ्कलन र विश्लेषणलाई तीव्ररूपमा विस्तार गरेका छन् । केहीले इबोला, जङ्गली पोलियो र कमलपित्त रोगसँग लड्न बनाइएका स्वास्थ्य पूर्वाधार र अनुभवलाई कोभिड–१९ विरुद्ध लड्न पनि प्रयोग गरिरहेका छन् । भविष्यमा फैलिन सक्ने कुनै पनि अन्य सङ्क्रमणविरुद्ध उनीहरूले यो अनुभव र पूर्वाधार प्रयोग गर्नसक्छन् । सन् २०२० को अगस्टमा गठन भएको अफ्रिकी खोप खरिद कोषले पनि खोप खरिद र अफ्रिकामा वितरणको निम्ति अफ्रिकीहरूको बढ्दो सक्रियता र चासो प्रदर्शन भएको छ ।
अफ्रिकाको जनस्वास्थ्य पूर्वाधारमा सुधार गर्न र खोप लगाउनेको दर बढाउन चीनले नै ठूलो भूमिका खेलिरहेको छ । स्वास्थ्य र चिकित्सा क्षेत्रमा अफ्रिकासँग सहकार्य गर्न चीनले लामो समयदेखि विशेष प्राथमिकता दिँदै आएको छ । आधारभूत पूर्वाधारमा लगानी, अस्पताल र स्वास्थ्य चौकी निर्माण, स्वास्थ्यकर्मीहरूको तालिम, सङ्क्रामक रोग नियन्त्रणमा विज्ञ र विज्ञताको आदानप्रदान गरेर चीनले अफ्रिकी देशहरूलाई त्यहाँको प्राथमिक स्वास्थ्य सेवा बलियो बनाउन र समग्रतामा स्वास्थ्य अवस्थामा सुधार्न गर्न मद्दत गर्दै आएको छ । महामारीको बेला चीनले अफ्रिकी देशहरूलाई कोभिड–१९ न्युक्लि एसिड परीक्षण किट्स, व्यक्तिगत सुरक्षा सामग्री र स्वास्थ्य सामग्रीजस्ता ठूलो परिणाममा भौतिक सामग्रीका साथै विज्ञहरूको टोली पनि पठाएको थियो ।
चिस्यान भण्डारन प्रणालीको विकासमा टेवा पु¥याउन र अफ्रिकी महादेशभरि खोप पु¥याउन चीनका कम्पनीहरूले सुरुमा अफ्रिकी विमानसेवाहरूसँग सहकार्य ग¥यो । ती विमानमा चिस्यानमा भण्डारनको व्यवस्था थियो । गत नोभेम्बर महिनामा चीनको अलिबाबा समूहको बन्दोबस्ती शाखा साएनिओसँगको सहकार्यमा इथियोपियाको मालबाहक विमानले चीनको सनचेनबाट दुबई हुँदै अडिस अबाबासम्मको लामो यात्रा तय गरेको थियो । चीन–अफ्रिकाबीच चिकित्सकीय सामग्रीको चिस्यानयुक्त विमान सेवाको त्यो सुरुवात थियो ।
यो वर्ष सन् २०२१ को अन्त्यमा दकारमा चीन–अफ्रिका सहकार्य सम्मेलन हुने अपेक्षा गरिएको छ । सो सम्मेलनमा कोभिड–१९ को खोपमा समता बनाउने विषय एउटा प्रमुख विषय बन्नेमा कुनै विवाद छैन । जनस्वास्थ्य पूर्वाधारमा सहकार्य गहिरो कसरी बनाउने भन्ने विषयमा चिनियाँ र अफ्रिकी नेताहरूबीच छलफल गर्ने त्यो उत्कृष्ट दबु बन्नेछ ।
आशा गरौँ, त्यो सम्मेलनमा अफ्रिकामा चिनियाँ चिकित्सकीय र जनस्वास्थ्यका विज्ञहरू पठाउने, व्यवहारिक नीति सल्लाह र प्राविधिक सहायता आदानप्रदान, अफ्रिकी देशहरूमा बन्दोबस्ती, चिस्यान प्रणाली, तथ्याङ्क सङ्कलन र विश्लेषण आदि क्षेत्रमा चिनियाँ कम्पनीहरूलाई मद्दत गर्नेछ । यसले अफ्रिकी देशहरूमा खोप लगाउनेको सङ्ख्या बढाउनेमात्र होइन, मुख्यतः भविष्यमा फैलिन सक्ने सङ्क्रामक रोगको प्रतिरोध गर्नसक्ने क्षमता विस्तार गर्नेछ ।
यो महामारीबाट संसारले यदि यो पाठ नसिके र फेरि पनि कमजोर जनस्वास्थ्य पूर्वाधार भएका देश र क्षेत्रहरूलाई समर्थन गर्न अनकनाए अर्को महामारीले मानिसले गरेका सबै प्रगति उल्टाउन सक्छ ।
(लेखक पेचिङ्ग विश्वविद्यालयको राष्ट्रिय विकास विभागका विश्व स्वास्थ्य सल्लाहकार हुनुहुन्छ । शेन ब्रिज कान्सल्टिङका प्रमुख कार्यकारी अधिकारी र संस्थापन हुनुहुन्छ ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः मनिषा

Leave a Reply

Your email address will not be published. Required fields are marked *