भर्खरै :

दसैँँको मुखमा विदेशको उडान

नेपालमा ‘सबभन्दा ठूलो’ मानिएको चाड दसैँँको मुखैमा आँसु झार्दैै विदेश जान लामबद्ध युवाहरूका अश्रुपूर्ण अभिव्यक्ति केही सञ्चारमाध्यमले बिहीबार प्राथमिकताका साथ प्रसारण गरे । सामान्यतः दसैँंलाई परिवारका सदस्य, छरछिमेकी र आफन्तबीच भेटघाट र पुनर्मिलनको चाडको रूपमा मनाइन्छ । वर्षौं वर्ष घर–परिवारबाट टाढा रहेका नेपालीहरू दसैँंको मेसोमा घर फर्किने चलन छ । विगतमा लाहुर गएका सिपाहीं र मुगलान गएका मजदुर पनि यही समयमा घर फर्कने गर्थे । त्यसकारण, दसैँंको सामाजिक आयाम र महत्व पनि बृहत् छ ।
तर, हिजोआज भने दसैँंको लागि घर फर्किने नेपाली युवाहरू दसैँंको मुखमा विदेश उडिरहेका छन् । दसैँंमा परिवार र आफन्तसँग रमाउनुपर्ने नेपाली यही बेला परदेश गइरहेका छन् । विशेषतः सुगौली सन्धिपछि नेपाल विदेशीको आँखामा भाडामा लड्ने मानिसहरूको देशको रूपमा चिनियो । भारतमा उपनिवेश चलाइरहेका बेलायतीहरू नेपाली युवाहरूको छात्ती नाप्दै आफ्नो उपनिवेशवादी सेनामा भर्ती गर्थे । बाहिरी संसारबाट बन्द नेपालका युवाहरूलाई युरोपका झिलिमिली आकर्षक लाग्नु स्वाभाविक थियो । त्यसकारण, ब्रिटिस सेना बन्नु ठूलो आकर्षणको विषय बन्यो । नेपालीहरूले बेलायती भूमिको निम्ति धेरै रगत बगाए । कतिको अङ्गभङ्ग भयो । अनि, त्यसबापत बेलायती महारानीले दिएको पदक पाएकोमा खुसी भयौँ ।
बेलायती उपनिवेशवादबाट मुक्त भएपछि भारतले पनि नेपाललाई हेर्ने दृष्टिकोण बेलायती उपनिवेशवादी चिन्तनको निरन्तरता बन्यो । भारतले पनि नेपाली युवाहरूलाई सेनामा भर्ती गरेर आफ्नो स्वार्थअनुकूल लड्न पठायो ।
नेपाली युवाहरू मुगलान जाने भन्दै भारतीय बजारमा सस्तो ज्यामीको रूपमा काम गर्ने परम्परा निकै पुरानो हो । सन् १९९० को दशकमा नेपाल अन्तर्राष्ट्रिय पुँजीवादी बजारको निम्ति खुला भयो । नाफाको निम्ति संसारको जुनसुकै कुनाको स्रोत पनि आफ्नो स्वार्थअनुकूल प्रयोग गर्न पोख्त अन्तर्राष्ट्रिय पुँजीले नेपालमा बलिया तर सस्तो पाखुरा देख्यो । हिजो राजदरबार र राणालाई रिझाएजस्तै अन्तर्राष्ट्रिय पुँजीले नेपालका आजका शासकहरूलाई कमिसन देखाएर रिझायो । अनि त्यसैको भरमा नेपाली युवाहरू निर्यात हुन थाले । नेपाली युवा पाखुरा विदेशमा निर्यात गरेबापत शासक दललाई पनि कमिसन आउने र त्यसैको भरमा आफ्नो चुसाहा राजनीतिक पनि चल्ने भएपछि शासक दलहरूले वैदेशिक रोजगारीलाई अझ शृङ्गारपटार गरेर आकर्षक बनाए । नेपालमा रोजगारीका अवसरको ढोका बन्द गरेर शासकहरूले वैदेशिक रोजगारीमा जाने ढोका अझ फराकिलो बनाइदिए ।
उत्पादनमूलक अर्थतन्त्रले मात्र कुनै पनि देशको दिगो विकास हुने गर्छ । वैदेशिक रोजगारीबाट प्राप्त हुने पैसाले देशमा मुद्रास्फीति बढाउँछ । केही क्षणको निम्ति हामी खुसी हुन्छाँै । घरमा टीभी, रेफ्रिजिरेटर, नयाँ लुगा, खात, मोबाइल आदि भित्रिन्छ । जग्गाको खास मूल्त्र्न्दा धेरै गुणा मूल्य बढ्छ । बजार भाउ बढ्छ । देशको अर्थतन्त्रलाई परनिर्भर बनाउँछ । आफ्नै माटोमा फल्ने र देशकै उद्योगमा विकास भएका सामानको तुलनामा विदेशी सामान बढी भित्र्याएपछि हामी गरिब हुन्छौँ । देश गरिब हुन्छ । तर, कमिसनको चक्करमा परेका शासकहरू देशको दिगो आर्थिक विकासलाई भन्दा विदेशी सामान नेपालमा बेच्दा विदेशी पुँजीपतिले दिने कमिसनमा खुशी हुन्छन् । आफ्नै देशमा ती सामानको उत्पादनभन्दा विदेशबाट सामान झिकाउँदा फाइदा भएको ठान्छन् । तर, खासमा विदेश सामानको आयातले देशलाई गरिब बनाएको हुन्छ । सारमा नेपालका युवाहरू विदेशमा जानुले देशको दिगोका आर्थिक विकासमा योगदान गर्दैन । बरु त्यसले देशलाई भ्रामक समृद्धिमात्र दिन्छ । खास देशलाई कङ्गाल बनाएको हुन्छ । दसैँको मुखमा आँसु झार्दै नेपाली विदेश जानुपर्ने बाध्यताको अन्त्य कहिले होला खोइ ? शासकहरूले यसको जिम्मेवारी लिनुपर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *