भर्खरै :

इन्डोनेसियाका जोकोवी

नराम्रो समाचार फैलिन बेर लाग्दैन । तर, असल समाचार त्यसरी चाँडै फैलिने गर्दैन । अफगानिस्तानमा हालै सत्ता ढल्दा सिङ्गो संसारले अभिरुचिपूर्वक त्यहाँको अवस्थालाई नियाल्यो । तर, जब संसारको सबभन्दा बढी मुसलमान बाहुल्य देश इन्डोनेसियामा संसारकै सबभन्दा प्रभावकारी प्रजातान्त्रिक तरिकाबाट एक जना नेता जन्मिँदै थियो, त्यो कुरा इन्डोनेसियाभन्दा बाहिर कमैलाई मात्र जानकारी भयो । उनी हुन् – जोको विडोडो (जो जोकोवीको नामले पनि चर्चित छन्) । संसारमै शासन गर्न सबभन्दा कठिन देश इन्डोनेसियामा जोकोवीको उदय चर्चायोग्य खबर हो । पूर्वदेखि पश्चिम ५ हजार १२५ किलोमिटर (३ हजार १८५ माइल) फैलिएको इन्डोनेसिया भौगोलिक रूपमा सिङ्गो संरा अमेरिकाभन्दा ठुलो छ । इन्डोनेसियाअन्तर्गत १७ हजार ५०८ वटा टापुहरू छन् । त्यसका साथै इन्डोनेसियामा जस्तो जातीय विविधता त संसारका कमै देशमा मात्र हुनुपर्छ । एसियाली वित्तीय सङ्कटको परिणामस्वरुप सन् १९९८ मा इन्डोनेसियाको अर्थतन्त्र १३.१ प्रतिशतले खुम्चियो । त्यत्तिबेला धेरै विद्वान्हरूले त्यो देश पनि युगोस्लाभियाजस्तै विघटन हुने अनुमान गरेका थिए ।
यस्ता परिस्थितिमा जोकोवीले सक्षमतापूर्वक सरकार मात्र चलाएनन् । बरु त्योभन्दा बढी नै काम गरेका छन् । उनले सरकार सञ्चालनलाई नयाँ स्तरमा उकासेका छन् । उनका काम देख्दा अरू ठुला प्रजातान्त्रिक देशहरू समेत चकित पर्नेछन् ।
जोकोवीको बारेमा पहिलोपटक सुनेका पाठकलाई उनीबारे भन्नुपर्दा उनले राजनीतिकरूपमा विभाजित इन्डोनेसियालाई जोड्ने काम गरे । सन् २०२० मा संरा अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडेन निर्वाचित भएको झण्डै एक वर्ष भयो । आज आएर पनि ७८ प्रतिशत रिपलब्लिकन दलका समर्थकहरू अझै पनि उनी वैधानिक रूपमा निर्वाचित भएकोमा विश्वास गर्दैनन् । संरा अमेरिकी सिनेटरको रूपमा बाइडेनले ३६ वर्ष काम गरे । तर, उनले अमेरिकामा रहेको पार्टीगत पूर्वाग्रह र विभाजनको रोग निको पार्न सकेनन् । त्यसको ठीक उल्टो इन्डोनेसियामा सन् २०१९ को निर्वाचनमा पुनः राष्ट्रपति पदमा निर्वाचित भएका जोकोवीले आफ्ना प्रतिस्पर्धी र उपराष्ट्रपतिका उम्मेदवार क्रमशः प्रबोवो सुबैन्तो र सानदैगा उनोलाई अहिले आफ्नो मन्त्रीमण्डलमा समावेश गरेका छन् । उनीहरू क्रमशः रक्षामन्त्री र पर्यटनमन्त्री छन् ।
अर्को उल्लेखनीय पक्ष के हो भने जोकोवीले इन्डोनेसियामा ‘इस्लामिक पार्टी’ को सङ्ख्या बढ्ने क्रमलाई उल्टाइदिए । उनको समावेशी नीति त्यसो हुनुको कारण हो । तर, ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोले इन्डोनेसियाकै जस्तो जनसङ्ख्याको ढाँचा भएको आफ्नो देशमा जनताबीच विभाजनलाई थप गहिरो बनाए । जोकोवीले भने राजनीतिकरूपमा इन्डोनेसियालाई एकताबद्ध बनाए । हालैको एउटा अन्तर्वार्तामा जोकोवीले उनले मलाई भनेका थिए, “इन्डोनेसियाली विचारधारा ‘पान्कासिला’ को तेस्रो बुँदाले विविधताबीच एकतालाई जोड दिएको छ ।” सहकार्यको यस्तै दक्षताको परिणामस्वरुप गत वर्ष एउटा सर्वव्यापी कानुन पारित भएको थियो । लगानी प्रबद्र्धन र नयाँ रोजगारी सिर्जनाको मूल लक्ष्यसहित त्यो कानुन पारित गरिएको थियो ।
गरिबीबारे जोकोवीको व्यक्तिगत अनुभव नै उनका उपलब्धि पछाडिको मुल कारण हो । राष्ट्रपति बन्नुअघि उनी राजधानी जकार्ताका गभर्नर थिए । राजनीतिकरूपमा स्थापित भएपछि उनले अर्बपतिहरूको सङ्गत गर्दा पनि हुने थियो । धेरै राजनीतिक नेताहरू त्यस्तै गर्छन् । तर, इन्डोनेसियाका गरिब जनता नै उनका प्राथमिकताको अग्रस्थानमा थिए । गरिब जनतालाई मद्दत गर्न उनको सरकारले धेरैथरी कार्यक्रम अघि सा¥यो ।
उदाहरणको लागि सन् २०१६ मा जोकोवीको सरकारले गरिब जनतालाई जमिन पुनःवितरण ग¥यो । त्यसमार्फत गरिब जनताको नाममा भूमिको स्वामित्व हस्तान्तरण गरे । उनको सरकारले इन्डोनेसियाली स्वास्थ्य कार्ड (जसलाई कर्तु इन्डोनेसिया सेहत भनियो) को कार्यक्रम अघि ल्याए । त्यस्तै नयाँ राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम पनि व्यवहारमा ल्याइयो । सबैलाई सर्वसुलभ स्वास्थ्योपचार उपलब्ध गराउनु नै ती कार्यक्रमका मूल लक्ष्य थिए । जोकोवी सरकारले विद्यालय जाने विद्यार्थीको सङ्ख्या बढाउन र अनिवार्य शिक्षाको लक्ष्य हासिल गर्न स्मार्ट इन्डोनेसिया कार्ड लागु ग¥यो । अनि गरिबको लागि पैसा दिने कार्यक्रम पनि लागु गरियो ।
सन् २०१४ मा जोकोवी सरकारको नेतृत्वमा आएयता इन्डोनेसियाको सम्पत्तिमा असमानताको मापन गर्ने गिनी कोफिसेन्ट क्रमशः घट्दै गएको छ । इन्डोनेसियाको सन् २००० को गिनी कोफिसेन्ट २८.६ थियो भने सन् २०१३ मा त्यो बढेर ४० पुगेको थियो । त्यसको अर्को वर्ष अर्थात् सन् २०१४ मा गिनी कोफिसेन्ट पन्ध्र वर्षमा पहिलो पटक उल्लेखनीयरूपमा ३८.२ मा झ¥यो । गरिबलाई मद्दत गर्न बृहत् सरकारी कार्यक्रमको वकालत गर्ने धेरै नेताहरूभन्दा फरक जोकोवीले आर्थिकरूपमा निकै विवेकपूर्ण कदम चाले । इन्डोनेसियाको सार्वजनिक ऋण अन्तर्राष्ट्रिय मापदण्डअनुसार न्यून छ । उसको कुल गार्हस्थ उत्पादनभन्दा त्यो ४० प्रतिशतले कम छ ।
जोकोवी आफै भने उद्यमी थिए । उनी पहिला फर्निचरका निर्यातकर्ता थिए । उनलाई साना व्यापारीहरूले सामना गर्नुपर्ने चुनौती कस्ता हुन्छन् भन्ने कुरा थाहा थियो । त्यही भएर उनले आफ्नो लोकप्रियताको बलमा निकै जोखिमपूर्ण कदम जस्तै प्रतिकूल समयमा कम्पनीहरूलाई बलियो बनाउन श्रम कानुनमा सुधार र इन्धनमा दिइएको अनुदान कटौती गरे ।
जोकोवी पूर्वाधार विकासमा पनि प्रतिबद्ध थिए । राष्ट्रपतिकालमा उनको सरकारले इन्डोनेसियादेखि पश्चिममा आचे हुँदै पूर्वमा पपुआसम्म राजमार्ग बनाउने ठुलो योजना सार्वजनिक गरे । सुमात्रा टापुमा उत्तरको बन्दा आचे हुँदै दक्षिणमा लमपुङसम्म २ हजार किलोमिटरसम्मको रेलमार्ग बनाउने योजना पनि बनाए । त्यस्तै सुलावेसीमा १ हजार किलोमिटर लामो रेलमार्ग र कालीमानतनमा लामो दूरीको रेलमार्ग विकास गर्ने परियोजना पनि प्रस्ताव गरे ।
यसैबीच जकार्तामा तीब्र गतिमा मेट्रो रेल सञ्जाल विकास गरे । संसारकै सबभन्दा खराब यातायात व्यवस्थालाई केही सहज बनाउन त्यसले ठुलो टेवा पु¥यायो । जाभामा सन् २०१५ देखि २०१८ को बीचमा ७ सय किलोमिटरभन्दा लामो शुल्क तिरेर यात्रा गर्ने सडक (टोल रोड) स्थापना गरे । जसअन्तर्गत अन्तर जाभा टोल रोड पनि पर्छ । कुनै बेला यो परियोजना बनाउन असम्भव मानिन्थ्यो । त्यही भएर अघिल्लो दशकमा जाभामा २२० किलोमिटर मात्र सडक बनाइएको थियो ।
जोकोवीका यस्ता सुधारले विश्व बैङ्कमा इन्डोनेसियाको छविमा सुधार ग¥यो । सन् २०१४ मा विश्व बैङ्कको व्यापार सूचाङ्कमा १२० औँ स्थानमा रहेको इन्डोनेसिया सन् २०२० मा ७३ औँ स्थानमा उक्लियो । कोभिड–१९ ले नथचारेको भए अहिलेसम्ममा इन्डोनेसियामा आर्थिक वृद्धिले उचाई लिइसक्थ्यो । यद्यपि, जोकोवीले समयमै र सक्रियतापूर्वक काम गर्दा २७ करोड जनताको लागि १७ करोड ५० लाख मात्रा खोप सुरक्षित गर्न सफल भए । धेरै खोप चीनबाट आएका छन् । जोकोवीले चीनका खोपप्रति विश्वास व्यक्त गर्दै आफैले साइनोभाकको खोप लगाए र त्यसो गरेर उनले अर्थपूर्ण राजनीतिक सङ्केत पनि गरे ।
तर, जोकोवी भूराजनीतिकरूपमा निकै विवेकवान् छन् । उनले चीन र संरा अमेरिका दुवैसँग बुद्धिमत्तापूर्वक असल सम्बन्ध बनाएका छन् । चीन र संरा अमेरिकाबीच दुश्मनी बढिरहेको बेलामा पनि उनले सन्तुलित व्यवहार कायम राखेका छन् । उनले मलाई आफूले संरा अमेरिकालाई इन्डोनेसियामा लगानी बढाउन अनुरोध गरेको बताएका थिए । किनभने हालैका वर्षैमा चीनको लगानी इन्डोनेसियामा अझ बढ्दै गएको छ । चीनको बेल्ट एन्ड रोड परियोजनासँग जोडिएका धेरै परियोजनाहरूमा इन्डोनेसिया जोडिएको छ । जस्तै जकार्ता–वाङ्डुङ रेलमार्ग, जाभामा विशेष पर्यटकीय क्षेत्र, उत्तरी कालीमानतनमा कायन जलविद्युत्त् परियोजना, सुमात्रामा क्वाला तानजुङ बन्दरगाह र सुलावेसीमा लेमबेह अन्तर्राष्ट्रिय विमानस्थलको विकास आदि ।
हामी विरोधाभासले भरिएको समयमा बाँचिरहेका छौँ । आधुनिक समाज विज्ञानले हामीलाई असल शासन गर्न आवश्यक ज्ञानबाट सुसज्जित बनाएको छ । तथापि, केही धनी प्रजातान्त्रिक देशहरू भने बाइडेनका पूर्ववर्ती डोनाल्ड ट्रम्पजस्ता मूर्ख मान्छेहरूलाई निर्वाचित गरिरहेका छन् । ट्रम्पसँग तुलना गर्न सकिन्छ बेलायतका प्रधानमन्त्री बोरिस जनसनलाई पनि । त्यही भएर पनि जोकोवीका सफलताको व्यापक कदर गर्न आवश्यक छ । उनको असल शासन प्रणालीबाट संसारले सिक्न सक्ने कुरा धेरै छन् ।
(लेखक सिङ्गापुरको राष्ट्रिय विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद ः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *