भर्खरै :

कहाँ गयो हाम्रो आक्रोश ?– २

(विदेशी सहयोगले गिजोलेको नेपाल र नेपालीको दशा झन्झन् बिग्रँदो छ । शासक वर्ग धनी हुँदै जाँदा गरिब झन्झन् गरिब बन्न पुगेका छन् । विदेशी आर्थिक सहयोगमा आधारित नेपाली विकासले यसमा कस्तो भूमिका खेलेको छ ? नेपालमा वर्गसङ्घर्षको स्वरूपबारे नन्दराज श्रेष्ठको ‘इन द नेम अफ डिभेलपमेन्टः अ रिफ्लेक्सन अन नेपाल’ मा गहिरो वर्णन छ । एमसीसीको ‘अनुदान’ को करकापबीच विदेशी सहयोगबारे सग्लो दृष्टिकोण बनाउन पुस्तक सान्दर्भिक देखिन्छ । यहाँ सोही पुस्तकको एक अंशको भावानुवाद प्रस्तुत गरिन्छ । – अनुवादक)
देशैभरिका धनीमानीले छोराछोरीलाई काठमाडाँै पढ्न पठाए । ती गाउँ फर्किँदा तिनका छोराछोरी अङ्ग्रेजी बोल्थे र गाउँले केटाकेटीलाई पाखे भन्थे । गाउँले केटाकेटी आफूलाई होचो पाउँथे । धनीमानीले मात्र छोराछोरीलाई मानव पुँजी बनाउन सक्थे । उनीहरूले शिक्षालाई लगानी बनाउँथे । यसले उनीहरूको वर्गीय स्वार्थ पूरा हुन्थ्यो । सारमा नयाँ शिक्षाले सम्भ्रान्त शासकहरूको एउटा नयाँ पुस्ता तयार पार्दै थियो । त्यो पुस्ता नै कर्मचारीतन्त्रमा हाबी भयो । त्यही पुस्ताले विकासलाई आफ्नो मुठीमा राख्यो । त्यसबाट फाइदा लियो । यसरी सुरुदेखि नै शिक्षा र विकास नेपालको वर्ग विभाजन ज्यूँका त्यूँ राख्ने साधन बने ।
विकास भयो भएन, महत्वको कुरा थिएन । तर, एउटा सिद्धान्त वा दर्शनको रूपमा विकास नेपाली मनोविज्ञानमा बस्यो । पियनदेखि हाकिमसम्म, राजादेखि रंकसम्म सबैलाई विकासले लोभ्यायो । कर्मचारी जति माथि उक्लिँदै गयो, ऊ त्यति नै ठूलो विकासे कारिन्दा वा वकिल बन्यो । विकासलाई भौतिक स्वर्गको बाटो ठानियो । भोक र गरिबीजस्ता सामाजिक समस्याहरूबाट छुटकारा दिलाउने मुक्तिदाता र सुखको एकमात्र स्रोतको रूपमा विकासको मिथक प्रचार गरियो । विकासलाई आधुनिकतासँग जोडियो । हिन्दूको भक्ति, धर्म र मोक्षको ठाउँ भौतिकवादले लियो । यसको अर्थ हिन्दू धर्ममा भौतिकता छैन भन्ने होइन । लक्ष्मी धनकी देवी हुन् । तर, यहाँ त लक्ष्मी पनि विकासको आधुनिक देवातासामु झुकिन् ।
विकास मूल मुद्दा बन्यो । विकास परियोजनाहरू च्याउझैँ फैलिन थाले । उपनिवेशका जनताले संसारभर साम्राज्यवादको विरोध गरिरहेको बेला नेपालीहरूले तिनको औद्योगिक प्रगतिको महिमागान गरे । विकासमाथिको जोडबल वास्तवमा युरोपकेन्द्रित सोच थियो । यसमा उपनिवेश बनाउनेहरूलाई उच्च मानिन्थ्यो र रैथानेहरूलाई तुच्छ ठानिन्थ्यो । पश्चिमा विकासको मोडल स्वीकारेर नेपाली शासकहरूले साम्राज्यवादी अर्थ व्यवस्था र सांस्कृतिक मूल्यमान्यता शिरोपर गरे । तिनले नेपाललाई अल्पविकसित भने । शासकहरूले त्यसलाई चुपचाप सदर गरे ।
शासकहरूले नेपाली इतिहासलाई पश्चिमा सामाजिक र आर्थिक परियोजना बनाइदिए । आफ्नो भूगोल, प्राकृतिक स्रोतसाधन, रैथाने ज्ञानको पौल स्थानीय आवश्यकता र सांस्कृतिक जराहरूलाई एकातिर पन्छ्याएर त्यसको ठाउँमा युरोपको नक्कल गर्ने प्रयास गरे । अध्येता एभेस्ताको निष्कर्ष यस्तो छ – ‘उत्पादनको औद्योगिक शैली सामाजिक जीवनको एउटा रूप थियो । तर, त्यसलाई सामाजिक विकासक्रमको मूलधार मानियो । यसलाई मानिसको प्राकृतिक वा तर्कसङ्गत उद्विकास ठानियो । यसरी इतिहासलाई पश्चिमा ढाँचामा ढालियो ।’ विकासको बिम्बले पश्चिमा इतिहासको क्रमिकतालाई संसारभर हाबी तुल्याइदियो । आफ्नो सामाजिक जीवनशैली छनोट गर्ने विविध संस्कृतिका जनताको अवसर खोस्यो ।
हामीले आफ्नै रैथाने अर्थतन्त्र र विकासको पथलाई हेला ग¥यौँ । विकास र अल्पविकासको पश्चिमा विचारलाई मानक मान्यौँ । राष्ट्रवादको नारा लिएर अहिले उपनिवेशबाट भौतिकरूपमा मुक्त भए पनि उपनिवेशी सोच र उपनिवेशी अर्थतन्त्र जिउँदै छ । शासक मात्र फेरिएका छन् । अङ्ग्रेजहरूको ठाउँमा भारतमा रैथाने शासक आएका छन् । तर औपनिवेशिक सोच जस्ताको तस्तै छ । सोचको स्तरमा उपनिवेशवाद मुक्त हुनुपर्ने कुरामा गान्धी र माओ दुवैले जोड दिएका थिए । दुवैले राष्ट्रिय खाँचो र गच्छेलाई ध्यान दिनुपर्ने बताएका थिए । तैपनि साम्राज्यवादी संस्कृतिले हाम्रा प्रत्येक गतिविधिमा प्रभाव जमाएका छन् ।
विकास हाम्रो समयको नशा बनेको छ । विकासको नशा लागेपछि हाम्रो सामाजिक यथार्थबाट हामी टाढिँदै जान्छौँ । पश्चिमबाट आयात गरिएको कथित आधुनिकताले हामीलाई जालोमा पार्छ । नेपालमाथि बेलायतले झन्डै सय वर्षमा पारेको कालो छायाँ अझै हटेको छैन । उपनिवेशवादी शासकहरूले हाम्रा शासकहरूको बुद्धिमा उपनिवेश जमाएका छन् । हाम्रा शासकहरूको बुद्धि उपनिवेशतुल्य बनेको छ । उन्नति र आधुनिकता उक्लिने सिँढीको रूपमा विकासलाई स्वागत गरिँदै छ ।
पोखरामा सन् १९५१ तिर बेलायती इसाई मिसनरीहरू आए । त्योभन्दा अगाडि नै लाहुरे संस्कृतिका कारण पोखरेलीहरूले गोराहरूलाई नदेखेका होइनन् । अरू उपनिवेशका जनतालाई बेलायतले खेती मजदुर, कुल्ली र दास बनाएर कजायो । तर नेपाली युवाहरूलाई बेलायतले साम्राज्यवादी सेनाले मच्चाउने युद्धहरूमा अघिल्लो लहरमा राखिने तोपको आहार बनायो । युद्धतन्त्रको कच्चा पदार्थ बनायो । उपनिवेश बनाइएका अन्य देशका जनताले झैँ नेपाली युवाहरूले आफ्नो श्रममाथिको नियन्त्रण गुमाए । नेपालले तिनलाई जन्माउने र हुर्काउने गथ्र्यो । तर तिनको शरीर, श्रम वा रगत बेलायतको हुन्थ्यो । यस अर्थमा नेपालमा बेलायती साम्राज्यको ताण्डव चलिरहेको थियो ।
पोखरामा आधुनिक अस्पतालको बहानामा इसाईहरू पसे । शाइनिङ हस्पिटललाई पश्चिमा औषधिउपचारको चमत्कारको रूपमा प्रचार गरियो । यसले रैथाने उपचार पद्धति वा अभ्यासलाई होच्यायो । उपचार र औषधि निःशुल्क वा थोरै पैसामा वितरण गरिन्थ्यो । विश्वको एकमात्र ‘हिन्दू राज्य’ का अब्बल विद्यालय र अस्पताल इसाई मिसनरीले चलाउँथे ¤ इसाई मिसनरीहरूले आफूलाई मानव शरीर र आत्माको रक्षक भनी धाक लगाउँथे । तिनले स्थानीय उपचार पद्धतिलाई उठाउने मामिलामा ध्यान दिएनन् । आयुर्वेदलाई तिनले झारफुक भनेर होच्याए । पश्चिमा औषधिको बढ्दो प्रयोगसँगै जडिबुटीको प्रयोग घट्दै गयो । पोखराको अस्पतालले स्थानीयहरूको गोराहरूलाई हेर्ने दृष्टिकोण फेरिँदै गयो । अब गोराहरू गोरासाहब र मिमसाहब बने । बेलायती सेनामा काम गर्ने भाडाका लाहुरेहरूबाट यो शब्द जनस्तरमा फैलियो । साहब शब्दले आदर मात्र जनाउन्न, बरु यसले हुकुमी–आश्रित वा मालिक–दासको वर्ग विभाजन झल्काउँछ । गोराहरूको हैकम वा दबदबा स्वीकारियो । नेपाली दिमाग र माटोमा साहब संस्कृति मौलायो । यसको सिरानमा गोराहरू बस्छन् । नेपालीहरूले तिनलाई भक्तले आकाशतिर हेरेझैँ हेर्न थाले । यो सोच गोराहरूको पहिल्यैदेखिको मैमत्त स्वाभावसँग मिल्न गयो ।
उहिले नेपालमा गोराहरूलाई बाँदर भनिन्थ्यो । कट्टर हिन्दूले तिनलाई म्लेच्छ भन्थे, अछुत ठान्थे । गोराहरूलाई छुने नेपालीलाई सुनपानी छर्किन्थ्यो । १९४० को दशकसम्म बेलायती सेनामा जाने सबै नेपालीहरूको पतिया गरिन्थ्यो । अब तिनलाई बाँदर वा म्लेच्छ होइन, साहब भन्न थालियो । तिनीहरू माथिल्लो जात वा मालिक नश्लको रूपमा व्यवहार गरियो । उनीहरू बाहुनमाथिका बाहुन बने । हिन्दूहरूको सबभन्दा पवित्र सामाजिक मर्यादा पनि गोराहरूको सामु भुत्ते भयो । सारमा यो गोराहरूप्रतिको नेपाली राष्ट्रिय संस्कृति, रवैया र व्यवहारमा जमिन आकाशको हेरफेर थियो । जातप्रथा हिन्दूहरूको प्राचीन दमनकारी पद्धति थियो । डार्विनअगाडिको सामाजिक डार्विनवाद थियो । त्यसमा थोरै मात्र हेरफेर भयो । साहब संस्कृति र नौलो विकास परिपाटी अनुसार जातप्रथामा परिवर्तन आयो । जातप्रथा शक्तिसम्बन्धमा फेरियो । गोराहरूलाई शक्ति र सम्मानको माथिल्लो स्थानमा बसे । पश्चिमा बाटोमा हिँडाउन विकासको सिद्धान्तले मलिलो भूमि तयार ग¥यो । हामी हाँसीहाँसी त्यो बाटोमा हिँड्न लालायित भयौँ । आफूलाई तल्लो दर्जामा राख्न राजी भयौँ ।
शाइनिङ हस्पिटल पोखरामा विकासको पहिलो प्रतीक थियो । त्यो विकास गोरा दूतहरूले ल्याएका थिए । आर्थिक रूपमा तिनीहरू उच्च थिए । तिनीहरू विकासको भाषा बोल्थे, तिनलाई विकासको विज्ञान र प्रविधि थाहा थियो । तिनीहरू आफै विकास थिए । गोराहरूसँग जोडिएको सबथोक असल मानिन्थ्यो । तिनीहरूसँग कुराकानी गर्नु, तिनको भाषा सिक्नु, तिनको नक्कल गर्नु विकासको बहुमूल्य गुण मानिन्थ्यो । मिसनरीहरूसँगै पोखरामा पहिलो विमान आयो । त्यसले पोखरालाई तरङ्गित ग¥यो । ईश्वरले नै बनाएको हुनुपर्छ भनेर केटाकेटीहरूले विमान छुन उछिनपाछिन गरे । हिन्दूहरूले आफ्नो धर्मग्रन्थको गरुडसँग विमानलाई दाँजे । गरुड हिन्दू धर्मका मुक्तिदाता विष्णुको वाहन मानिन्छ । पोखरेलीहरूबीच विकासले मान्छेको उपचार मात्र गर्दैन, बरु त्यो गरुडझैँ उड्न सक्छ र विकासलाई दशैभरि लग्न सक्छ भन्ने सोच फैलियो । विकासको जरा हिन्दू धर्ममा पनि फेला परेपछि त्यसमा लाहा छाप लाग्यो ¤
गरुडमा चढेर पोखरामा पहिलो जीप आयो । जीपपछि साइकल आयो । यसरी झर्दो क्रममा नेपालका विभिन्न स्थानमा विकास पुग्यो । यो नेपालको जगमा तलबाट उम्रिँदै गएको प्रगति थिएन । आयातित विकास थियो । पश्चिमा विज्ञहरूको बोलीमा लोली मिलाउँदै नेपाली विकासी, एलिट वा सम्भ्रान्तहरूले औद्योगिक विकासको पैरवी गरे । कृषिमा सुधार नगरी, भौतिक पूर्वाधारहरू तयारै नगरी केही उद्योगहरू खोलियो । बजार र यातायात सुविधा नहुँदा पोखरामा खुलेको सलाई उद्योग टाट पल्टियो । तैपनि देशमा विकासको दौड रोकिएन । घाँटी हेरी हाड निल्ने उखान भुलियो । हामीले आफूले उत्पादन नगर्ने चीज उपभोग ग¥यौँ, आफूलाई नचाहिने चीज उत्पादन ग¥यौँ । त्यसैले देशको समग्र उत्पादनमा उद्योगहरू नहुँदाको बखतभन्दा ठूलो परिवर्तन आएको छैन । यसले घरेलु मागको पनि पूर्ति गर्न सक्दैन । अर्कोतिर हाम्रो उपभोगको ढाँचा पश्चिमाहरूतिर फड्किँदै छ । उपभोक्तावाद देशको कुनाकाप्चामा पुगिसकेको छ । नयाँ आवश्यकता थपिएका छन्, त्यसैले नचाहिँदो अभाव छ । यसले हाम्रो गरिबी बढाउनेबाहेक केही गर्ने छैन ।
पोखरामा पसेका दुईचार विकासी वस्तुले विकासले मोटाएकाहरूबीच मात्र होइन, जनसाधारणहरूबीच पनि विकासको आशा सञ्चार ग¥यो । नेपालको पहिलो पञ्चवर्षीय विकास योजना १९५६ मा अघि सारियो र त्यसको झन्डै पूरै खर्च विदेशी सहयोगले बेहोरेको थियो । १९६२ मा पोखरामा पीस कोर स्वयंसेवकहरू पुगे । नन्दराजको विकास यात्रा त्यहीबाट सुरु भयो । उनको विद्यालय अमेरिकाले लगानी र निर्देशन गर्ने बहुउद्देश्यीय विद्यालयको छनोटमा प¥यो । त्यसबेला उनी ६ कक्षामा थिए । धेरै स्वयंसेवकहरूले सीपमूलक तालिम दिन्थे । विद्यालयको नयाँ भवनमा चारथरी सीपमूलक तालिम दिइन्थ्यो । विकासको लागि मानव पुँजी बनाउनु नयाँ शिक्षाको लक्ष्य थियो । यसरी नयाँ पोखरेली पुस्तालाई विकासका एजेन्टको रूपमा तालिम दिइयो । खासमा ती तालिमेहरू अमेरिकी विश्वविजयका नयाँ एजेन्टहरू थिए । नन्दराज नेपाली विकासका पहिलो पुस्ताका सदस्य थिए ।
सीपमुलक तालिम दिन विदेशबाट नयाँ फर्निचरहरू झिकाइयो । सबै औजार र उपकरणहरू अमेरिकाबाट आएको थियो । हेडमास्टर र केही शिक्षकलाई तालिम लिन अमेरिका पठाइयो । नेपालभरि यसरी के हुँदै थियो भन्ने कुरा बताइएको थिएन । खासमा त्यो १९४० को अन्त्यतिर अल्पविकसित गरिब देशलाई सघाउन राष्ट्रपति ट्रयुमनले अघि सारेको योजना थियो । ट्रयुमन योजना नयाँ उपनिवेशवादी योजना थियो । पहिले सिधै उपनिवेश बनाइन्थ्यो । ट्रयुमन योजनामा शैली मात्र फेरिएको थियो । यसका तीन लक्ष्य थिए । एक, कम्युनिस्ट प्रभाव रोक्नु । दुई, पुराना उपनिवेशहरूबाट साम्राज्यवादी देशमा कच्चा पदार्थ, सस्तो श्रम ल्याइरहनु र तिनलाई एकलौटी बजार बनाइराख्नु । तीन, संसारभरि अमेरिकी वर्चस्व फैलाउनु । सहयोगको माध्यमबाट लक्षित देशमा पुँजीवादको प्रसार गरेर अमेरिकाले धेरै देशलाई आफ्नो पासोमा राख्यो । विदेशी सहयोगबारे ट्रयुमनका परराष्ट्रमन्त्रीले भनेका थिए, ‘विदेशी सहयोग हाम्रो सुरक्षा कवच हो, हाम्रो विदेश नीतिको अभिन्न हतियार हो । …यसले हामीलाई चाहिने कच्चा पदार्थ र मालसामानको ढोका खोल्छ र हाम्रा उत्पादनहरूको लागि नयाँ बजार बनाउँछ ।’ ट्रयुमनले ‘अल्पविकसित’ देशहरूको लागि ‘विकास’ को नारा दिएर नयाँ युग सुरु गरे । उपनिवेशवादबाट मुक्त भएका नयाँ देशमा विकासको मन्त्र खुब जपियो ।
ट्रयुमन योजनालाई पछि राष्ट्रपति केनेडीले पीस कोर योजना बनाई लागू गरे । पीस कोर योजना थोरै खर्चमा अमेरिकी प्रभाव विस्तार गर्ने र अल्पविकसित कम्युनिष्ट प्रभाव रोक्ने योजना थियो । धेरै पीस कोर स्वयंसेवकलाई यो ठूलो योजनाबारे थाहा थिएन । कोही स्वयंसेवक आदर्शवादी थिए, पुण्य कमाउन आएका थिए । कोही भियतनाम युद्धमा जान नपरोस् भनेर आएका थिए । कोही मोजमस्ती गर्न र नयाँ ठाउँ घुम्न आएका थिए । कोही अमेरिकी भौतिक जीवनले मिचिएर आत्मिक सुखको खोजीमा आएका थिए । यस्तै तिर्सनाले कोही हिप्पी आन्दोलन वा वैकल्पिक जीवनशैलीको अभियानमा लागे । स्वर्गीय आनन्दलोकको रूपमा नेपालको छवि प्रचार गरिएको थियो । अमेरिकी मूल्यमान्यता र भौतिक विकास फैलाउन पठाइएका स्वयंसेवकहरू आफै त्यो भौतिक जीवनबाट आजित थिए । पछौटे र दरिद्र भनी प्रचारित संस्कृतिमा सन्तुष्टि खोज्दै थिए ।
अमेरिकाको गोप्य योजना जे भए पनि नन्दराजको पुस्ताले त्यसमा चासो दिएन । प्रत्यक्ष उपनिवेशवादको युग सकिएको थियो । उपनिवेशी प्रभुत्व वा जातीय सर्वोच्चताको सट्टा विदेशी सहयोगमार्फत विकासको लागि अमेरिकी सहकार्यजस्ता चिप्ला शब्द प्रयोग हुनथाल्यो । वर्चस्व कायम राख्ने आधुनिक कूटनीतिको रूपमा विदेशी सहयोगले अंकुशको काम ग¥यो । हामीलाई पश्चिमाहरूले विकासले किने । नयाँ फर्निचर, नयाँ उपकरण र केही दर्जन अमेरिकी स्वयंसेवक आए । झुप्राहरूमा पढेका विद्यार्थीले नयाँ भवन पाए । सपनामा पनि नचिताएको भयो, नयाँ शिक्षा आयो । नन्दराजको विद्यालयमा जेनेरेटर थियो । पोखरामा धेरैपछि मात्र बिजुली आएको थियो । तर उनको पुस्तालाई विद्युतको ज्ञान पहिल्यै थियो । त्यसैले विकास रमाइलो थियो । अमेरिकाको सानो सहयोगले चमत्कार भएको थियो । रुखै नचढी टुप्पोमा पुगिएको थियो । सुविधा पाउन कठिन परिश्रम गर्नै परेन । विकासको पश्चिमी अवधारणा हावी हुँदै जाँदा विदेशी सहयोगको मात्रा बढ्दै गयो । यो भौतिक निर्वाण पाउने माध्यम बन्यो । विकास नेपालीहरू आफैले गरेका थिएनन् । त्यसैले त्यसमा जोडिएर आउने आत्मगौरव वा आत्मनिर्भरताको भावना पनि नेपालीले महसुस गरेनन् । आयातित विकासको ढाडमा चढ्ने काम मात्र भयो ।
विकासको राष्ट्रिय संस्कृति र यसको झिलीमिली नेपालको दुःख थियो । पहिलो कुरा, विदेशी पैसाले विद्यालय त झिलीमिली भयो, तर घरहरू उस्तै थिए । विकासले भोक मेटेन । विद्यालय र घरबीच धर्ती र आकाशको अन्तर थियो । विद्यालयले भौतिक सुखको भोक बढाइदिएको थियो । इच्छा र चाहनाहरू बढ्दै थिए, घर रित्ता थिए । घरमा भरपेट खानलाई गा¥हो थियो । गरिबी यति डरलाग्दो र आत्मघाती कहिल्यै देखिएको थिएन । दोस्रो कुरा, भौतिक लाभ हुने र धेरै मिहिनेत गर्नु नपर्ने विकासको छवि थियो । त्यसैले धेरै शिक्षितहरूले शारीरिक श्रमलाई हियाउँदै सरकारी नोकरी खान थाले । त्यहाँ तिनले तल्ला कर्मचारीहरूलाई नत्थी लगाउन सक्थे । नेपालमा चाकडी मानसिकताको लामो इतिहास छ । चाकरी संस्कृतिमा व्यक्तिले आफूभन्दा माथिकासामु ज्यूहजुरी गर्छन् भने आफू मुनिकालाई तल्लो दर्जाको मान्छेजस्तो व्यवहार गर्छन् । विकासले यो दुईधारे सोच वा छेपारे चालालाई झन् बलियो बनाइदियो ।
यो श्रमविरोधी, कर्मकाण्डी प्रवृत्ति महामारी बनेको छ । यसबाट नेपालमा विकास परामर्शको उद्योग फस्टाएको छ । यहाँ थोरै काम गरेर धेरै कमाउने परामर्शदाता वनमाराझैँ मौलाएका छन् । सरकारी ज्याला खाने अधिकतर उच्च अधिकारी र प्राध्यापकहरूले एकैचोटि धेरै परियोजनाहरूमा हात हालेका हुन्छन् । जताततैबाट पैसा साहोरिरहेका हुन्छन् । खासगरी अमेरिका पढेर फर्किनेहरूको बजार भाउ बढी छ । अमेरिकामा पीएचडी गर्ने बेला नै परामर्शको काम थालिसकेका हुन्छन् । एकैचोटि भसक्कै कमाइने हुनाले धेरै विज्ञलाई परामर्शको कामले लोभ्याउने गर्छ । परामर्शदाताको काम शिक्षित नेपालीको अफिम बनिसकेको छ ।
बाँकी भोलिको अङ्कमा
प्रस्तुतिः रमेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *