भर्खरै :

सोनप्रियासँग नगरकोटमा

अल्छीलाग्दो बिहान । हिजोआज प्रायशः बिहान अल्छी मानेरै बित्छ । लकडाउनले मर्निङ वाक जाने बानी पनि चटक्क बन्द भयो । बिहानभर मोबाइलमा भएका सामाजिक सञ्जालका सबै साइट ओल्टाइपल्टाइ हेर्दै बित्छ । हेर्दा हेर्दा थाकेपछि मोबाइल ओछ्यानको एउटा कुनामा फालेर आफैलाई धिक्कार्दै उठ्छु–‘कस्तो खराब लत लागेछ !’
मोबाइलमा मेसेजको सङ्केत बज्यो । सोनप्रियाको सन्देश । त्यत्तिबेला म सोनप्रियाकै राज्यकी अरुणिता कान्जिलालको गीत सुन्दै थिएँ । अरुणिता पश्चिम बङ्गालकी हुन् भन्ने थाहा भएपछि मलाई उनको स्वर अझ सुमधुर लाग्न थालेको थियो । गीत, सङ्गीत र साहित्यको भूमिमा रवीन्द्रनाथ टैगोरको विरासत सम्हाल्ने धेरै मुनाहरू हुर्किरहेको देख्छु ।
“हेलो ! मैले धेरै डिस्टर्ब गरेँ है । माफ गर । मित्रताको यो बोझको निम्ति म क्षमा माग्छु । पुनःनिर्माण प्राधिकरणको काम अधकल्चो बन्यो । महिना दिनपछि फेरि नेपाल आउनुपर्ने भयो । केही दिनमा फर्किने सोचेकी छु । फर्किंदा रुपेडिया नाका हुँदै गाडीमा जाने विचार गरेकी छु । लखनउ पसेरमात्र दिल्ली फर्कने योजना छ । लखनउमा एक जना पत्रकार साथीलाई भेट्नु छ । उसले जसरी पनि लखनउ आउन कर गरिरहेको छ ।
सम्भव भए आज भेटौँ न ।”
सलल बगेको अङ्ग्रेजीमा उनको सन्देश पढेपछि म खातबाट जुरुक्क उठेँ । भित्तेपात्रोमा बार हेरेँ । आज बिहीबार । अफिसमा काम अलि होलो होला । उस्तै परे बिदा लिँदा पनि काममा कममात्र असर गर्ला । कोठाको झ्याल खोलेँ । मोबाइलमा अरुणिताले पवनदीपसँग नयाँ गीत मस्कीमस्की गाउँदै थिइन् ।
“ओके !” मैले दुई अक्षरको जवाफ फर्काएलगत्तै सोनप्रियाले अर्को सन्देश पठाइन् ।
“तिमीलाई केही अप्ठ्यारो छैन भने आज हामी कतै घुम्न जाने कि ! काठमाडौँ बित्तिकै दिमागमा पहाडी शीतलता अनुभव हुन्छ । नेपालबारे लेखिएका केही साहित्यको प्रभाव भन्नुपर्ला । त्यसैले मिल्छ भने काठमाडौँ उपत्यका वरपरको कुनै पहाडी थुम्कोमा जाऔँ न !”
मैले सोनप्रियालाई भेट्ने मनस्थिति त बनाइसकेको थिएँ । तर, उनीबाट यस्तो प्रस्ताव आउला भन्ने कल्पना गरेको थिइनँ । मलाई पनि सोनप्रियाबारे थप जान्ने चाहना थियो । (सोनप्रियाबारे यसअघिका दुई भागमा लेखिएको लेखनले पाठकलाई जस्तै मलाई पनि सोनप्रियाका जीवनका केही पाटा उधिन्ने जाँगर चलेको छ ।)
झ्यालबाट नगरकोटको डाँडो हुस्सुले छपक्कै छोपिएको देखियो । वर्षायाममा पानी परेपछि पत्रपत्रमा लहरिँदै उड्दै गरेको हुस्सुको शीतलता अनुभव गर्न नगरकोट जानुको बेग्लै मज्जा हुन्छ । अग्लो थुम्कोमा बसेर कतिबेला हुस्सुले छोपिने त कतिबेला छ्याङै उदाङ्गिने बेँसी हेर्दै बस्दा धेरैलाई मलाई जस्तै काव्यात्मक अनुभूति हुनसक्छ ।
“???”, सोनप्रिया मेरो जवाफ कुर्दै थिइन् ।
मैले उनलाई नगरकोट जाने प्रस्ताव गरेँ ।
“तिम्रो देश हो । तिमीले जहाँ लगे पनि जान तयार छु । पहाड होस्, खोला होस् अनि सीमाहीन सुन्दर वन होस् वश”, उनले भनिन् ।
… ….
रेस्टुराँ लगभग सुनसान थियो । आँगनमा दुई जना युवक बसेका थिए । चिया पिउँदै उनीहरू मोबाइलले वरपरका सुन्दर दृश्य कैद गर्दै थिए । रेस्टुराँमा काम गर्ने केटाहरू जाडोले काठको मुढाजस्तै कक्रक्क परेर भान्छामा बसेका थिए । छानाबाट झर्दै गरेको बलेँसी अझै ओभाएको थिएन । रेस्टुराँको पछाडि बनाइएको खोरबाट बेला बेला कुखुरा कराएको सुनिन्थ्यो । नगरकोट नपुग्दै परेको पानीले हामी थोरै रुझेका थियौँ । बाहिरको वातावरण मनमोहक भए पनि चिसो शरीरलाई न्यानो बनाउन हामी रेस्टुराँभित्रै पस्यौँ ।
एक क्षण त हामी बाहिर हुस्सुको भागदौड नियाल्दै बस्यौँ । वेटरले तातो पानी लिएर आयो । कति मनको कुरा बुझेको ! सिसाले छोपिएको टेबुलमाथि पारदर्शी गिलासबाट तातो पानीको वाफ उड्दै थियो ।
“तिमीलाई मुरी मुरी धन्यवाद है । वास्तवमा मैले यही हेर्न चाहेको थिएँ । तिम्रो देश त साँच्चै स्वर्ग हो । यो ठाउँमा त म जति बसे पनि अघाउन्नँ”, सोनप्रियाको उज्यालो अनुहारले उनी भित्रैदेखि खुसी भएको बुझ्न मलाई धेरै मिहिनेत परेन ।
“तिमी त यहाँ दिनदिनै आए पनि भ्याउँछ है !”, उनको कुरा सुनेर म मुसुक्क हाँसेँ ।
“अनि मेरो अरू केही काम छैन, सधैँ यहीँ आउन । यहीँ बस्ने भए त मैले पनि यहाँको कुनै होटलमा काम गर्नुपर्छ ।”
“नट ब्याड आइडिया”, उनले जिस्किँदै त्यहीँ काम गर्ने मेरो प्रस्ताव नराम्रो नभएको बताइन् ।
रेस्टुराँको भाइ आयो र टेबुलमा दुई कप कालो कफी छोडेर गयो । सोनप्रिया सोफामा राखिएको दुई वटा कपासका चारकुने चकटी आफ्नो पछाडि राखेर बाहिर एकोहोरिन् ।
“साँच्चै तिमी कहिले जाने रे !” हुस्सुको पत्रपत्रमै हराएकी सोनप्रियालाई सायद यो प्रश्न गरेर मैले बिथोलेको मन परेन । तथापि, शिष्टतापूर्वक उनले भनिन्,“भ्याएसम्म भोलि नाइट गाडीमा नेपालगञ्ज जान्छु । त्यसो गर्दा म पर्सि साँझसम्म मज्जाले लखनउ पुगिहाल्छु । लखनउमा दुई दिन जति बस्छु अनि दिल्ली जान्छु । दिल्लीमा पनि हतारको काम छ ।”
“लखनउमा पनि कोही कमरेडलाई भेट्न न जान लागेको होला !”, सोनप्रियाबारे थप कुरा सुन्न इच्छुक मैले सोधेँ । यो प्रश्न कति शिष्ट थियो, त्यो उनै जानून् ।
“हा ! हा !”, मेरो प्रश्नको शैली सुनेर उनले हाँस्दै कफीको चुस्की लिइन् । उनी बाहिरतिरै हेर्न थालिन् । उनले कुरा भन्न नचाहेको ठानेर म चुपचाप कफी पिउन थालेँ ।
“जीवनको बान्की पनि अनेक हुन्छ है !”, बेप्रसङ्गको सोनप्रियाको कुरा सुनेर मैले एकक्षण गम खाएँ । जीवनको प्रसङ्ग कहाँबाट आयो खुट्याउन म केहीबेर घोत्लिएँ । बाहिर फेरि पानी प¥यो । रेस्टुराँको कर्कट पाटाको छाना अझ बेस्सरी करायो । चिसो ठाउँमा कफी चाँडै चिसिन्छ । कफी र कुरा चिसो भएको मलाई मन पर्दैन । त्यसैले मैले कप रित्याएँ । सोनप्रियाको कप भने अझै आधाभन्दा बढी भरिएकै थियो ।
“नेपालमा आएर तिमीजस्तो साथी पाउँदा खुसी लाग्यो । अब नेपाल पनि पक्कै आफ्नै जस्तो अनुभव हुने भयो ।
मलाई जसरी हुन्छ, उनको कुनै पनि वाक्यमा उनीबारे थप कुरा सुन्ने सूत्र भेटाउनु थियो ।
“नेपाल पनि भन्नाले ?”
“ओहो ! नेपालीहरू क्या बाठा !”
म फिस्स हाँसेँ । पानी पर्न कम भयो । कर्कट पाटाको हल्ला पनि सुस्त बन्यो ।
“खासमा मलाई पहाडी भूगोल निकै मनपर्छ । मान्छेको मन पनि अचम्मको भन्या । आफूसँग जे छैन, त्यही बढी मनपर्ने । कोलकोत्ता छेउछाउ पहाड छैन । मलाई त्यही पहाड मन पर्ने ।”
“पहाड मात्र मनपरेको कि पहाडका मान्छेहरू पनि !” म पनि अलि जिस्किएँ ।
सोनप्रिया पुरै अनुहार बिगारेर हाँसिन् । केही बेर हाँसो थाम्न सकिनन् ।
कफीको अन्तिम घुटको पिउँदै कप टेबुलमा राखिन् ।
“खासमा लखनउमा मलाई कुरिरहेको मान्छे पनि पहाडकै हो ।”
“ए ! ए !”, मैले धेरै उत्सुकता र चासो नदेखाउन त्यत्तिमै कुरा टुङ्ग्याएँ । तर, मेरो मनमा भने लखनउ–वालाबारे कुरा सुन्न हतार भइसकेको थियो ।
मैले बाहिर कुनै उत्सुकता नदेखाएपछि उनी आफै लखनउ–वालाको विषयमा भन्न थालिन् । (मान्छेको मनोविज्ञान, अचम्म !)
“खासमा ऊ मेरो प्रेमी थियो । ऊ कालिङपोङको नेपाली हो । तर, उसलाई नेपाली बोल्न आउँदैन । हिजोआज लखनउको अङ्ग्रेजी दैनिकमा उपसम्पादक भएर काम गरिरहेको छ ।”, सोनप्रियाले आफ्नो जीवनको एउटा अर्को पोका खोलिन् ।
म उत्सुकतावश उनको आँखामा नियाल्न थालेँ । ती आँखाहरूमा इमानदारी देखिन्थ्यो । नभए कतिपय केटीहरू केटाहरूको मन बुझ्न पनि अनेक कथा बुन्न सिपालु हुन्छन् ।
“उमेरले ऊ मभन्दा अलि धेरै वर्ष जेठो । हामीसँगै हिँड्दा उसका साथीहरूले उसलाई ‘छोरी हो ?’ भनी सोध्थे । हा ! हा !”, सोनप्रिया बोल्दै गइन् । नगरकोटको मौसम नै त्यस्तो, हुस्सुका पत्र पत्रजस्तै मनका पनि पत्र पत्र खुल्दै जाने ।
“अनि कालिङपोङको मान्छेसँग कहाँ भेट भयो त ? कि पहाड घुम्न जाँदा बसेको माया हो ?”
“हा ! हा ! होइन । ऊ मेरो विश्वविद्यालयको प्राध्यापक थियो । समाजशास्त्र पढाउँथ्यो ।”
यो सुनेपछि मलाई कथाले अर्को मोड लिएको अनुभव भयो । मेरो आँखा आश्चर्यले विस्फारित भए । सोनप्रियाको जीवनका कुरा मलाई एउटा अँध्यारो गुफामा पस्दै गएजस्तो लाग्दै थियो । उसको यो प्रेम कथाको मैले छेउ टुप्पो पत्ता लगाउन सकेको थिइनँ । प्राध्यापक, प्रेम, उपसम्पादक, लखनउ, दिल्ली … कस्तो जटिल प्रवाह !
“अनि ?”, सम्बन्धको यो जटिलता फुकाउन मैले यति भन्नै पर्ने भयो ।
“ऊ कुनै राजनीतिक समूहमा त आबद्ध थिएन । तर, वामपन्थी विचारप्रति सद्भाव राख्थ्यो । मसँग नजिक भएपछि उसले हुनसक्छ मसँग अझ नजिक बन्न वामपन्थी साहित्य पनि पढ्यो । मलाई उपहार पनि प्रायशः वामपन्थी साहित्य नै दिन्थ्यो । जुलुस र सभाहरूमा त उसले कहिल्यै भाग लिएन । तर, सम्मेलनहरूको लागि चन्दा दिन्थ्यो । प्राध्यापकहरूको चुनावमा पनि वामपन्थीहरूको पक्षमा मत दियो । सङ्गठित बन्न अनुरोध गर्दा कुनै सङ्गठनमा औपचारिकरूपमा आबद्ध हुँदा आफ्नो वैचारिक स्वतन्त्रता गुम्ने भन्थ्यो । तर, विषयगतरूपमा समर्थन वा आलोचना गथ्र्यो । उसका यस्ता कुरा सुन्दा र व्यवहार हेर्दा परिपक्व मान्छेजस्तै लाग्थ्यो । उसको बौद्धिक व्यक्तित्व मेरो लागि मात्र होइन, मेरा अरू साथीहरू पनि आकर्षक मान्थे । विश्वविद्यालयमा पढ्ने उमेरका छात्राहरूले मन पराउने खालकै थियो उसको व्यक्तित्व ।”
हुस्सु छ्याङ खुलेपछि घामले टल्किएका तल बेँसीका केही घरका कर्कटका छाना प्रस्टै देखियो । धान झुलिसकेको थिएन । तर, फाँट गाढा हरियो थियो । पहाड फोडेर बनाइएका गाउँले सडकमा पहिरो खसेको उचाइबाट अझ भयावह देखिएको थियो ।
आफ्नो कुरा भन्न न सोनप्रिया रोक्न चाहन्थिन् न मेरो उत्सुकता नै मत्थर भएको थियो ।
“अर्को एक चरण कफी खाऔँ”, सोनप्रियाको सङ्गतले कफीको लती होला भन्ने पिर पर्न थालिसक्यो । तर, त्यसमा मलाई कुनै आपत्ति थिएन । छेउको खाँबोमा टाँसिएको स्वीच दबाएर घण्टी बजाएँ । अल्छी पाराले पसलमा काम गर्ने भाइ आयो । सायद ऊ सुत्दै थियो ।
“कफी बनाऊ न है भाइ । अनि दुई वटा भेज थुक्पा पनि”, मैले भनेँ । भोक थाम्न कफीले मात्र पुग्ने अवस्था थिएन ।
“उसले एक दिन मलाई प्रेम पत्र पठायो । उसले त्यसको निम्ति मलाई नै किन रोज्यो, मलाई अझै पनि थाहा छैन । तर, सम्भवतः मेरो सक्रियता नै उसलाई म मनपर्नुको कारण हुनुपर्छ । पुरुषहरूलाई सक्रिय महिलाहरू मनपर्छ रे नि त है ! हा ! हा ! प्रेम पत्रमा खास धेरै कुरा थिएन । उही हामी जीवनभर आपसमा साथ रहे प्राज्ञिक र समाजमा धेरै कुरा दिन सकिन्छ भन्ने आशयको कुरा थियो । त्यत्तिबेला मेरो जीवनका धेरै कुरा अनिर्णित थियो । अरू विषयमा तर्क गर्न खुब जान्ने भए पनि प्रेम र विवाह, त्यो पनि आफ्नै विषयमा निर्णय गर्न मैले जानिसकेको थिइनँ । केही समय म मौन बसेँ । हामी भेट्थ्यौँ । पुस्तक, राजनीतिक, विश्वविद्यालय, अन्तर्राष्ट्रिय परिघटना, भारतीय समाज आदि धेरै विषयमा कुरा हुन्थ्यो । खासमा उसले मलाई धेरै कुरा सिकायो पनि । पुस्तक पढ्ने लत उसैको सङ्गतपछि लाग्यो । पुस्तकालयमा बसेर हामीले धेरै विषयमा कुराकानी ग¥यौँ । केही महिनापछि म अघोषितरूपमै उसको प्रेमिका बनिसकेको थिएँ । मैले उसको प्रेम पत्रको कुनै औपचारिक जवाफ दिइनँ । तर, मेरो व्यवहारबाट उसले उत्तर पाइसकेको थियो । मैले पनि उसको बुझाइमा आपत्ति जनाइनँ ।”
कफी आयो, कुरा पनि अघि बढ्दै गयो ।
“अनि कसरी त्यो प्रेमी ‘थियो’ मा बदलियो त ?”, म कथामा नयाँ मोडको अपेक्षा गर्दै थिएँ ।
“सन् २०१४ ले सब बिगा¥यो”, हाँस्दै उनले भनिन् ।
“२०१४ ?”
“अँ मोदीको सत्तारोहणपछि ।”, उनले हाँस्दै भनिन् ।
मोदीको सत्तारोहणबाट कसैको प्रेम कसरी विथोलिसक्छ ? म अलमलिएँ ।
“मोदी सरकार बनेपछि हाम्रो विश्वविद्यालयको तापक्रम दिनानुदिन बढ्दै गयो । वामपन्थीको पकड भएको विश्वविद्यालय हुनाले मोदी सरकार हाम्रो विश्वविद्यालयको विषयमा अझ बढी सजग थियो । कुनै पनि बहानामा मोदी सरकारले प्रशासनलाई अघि सार्दै प्राध्यापक र विद्यार्थीलाई दमनको गतिविधि गरिरहन्थ्यो । वामपन्थी र प्रजातान्त्रिक विचारधाराका प्राध्यापकहरूलाई आफ्नो साख जोगाउन हम्मेहम्मे पर्दैै थियो । वैचारिकरूपमा दरिलो खालका प्राध्यापकलाई पेल्ने अनि अलि मध्यम वा कमजोर मान्छेहरूलाई मोदीको भक्त बनाउन धेरै खालका गतिविधि भए ।
मेरो मान्छे पनि सुुरु सुरुमा त दरिलो रूपमै प्रस्तुत भयो । मोदी सरकारका अतिवादी गतिविधिको विरोधमा एकाध लेख पनि लेख्यो । तर, पछि ऊ लोभमा फस्यो । पदोन्नति हुने लोभमा फसेर ऊ हाम्रै समूहको गुप्तचरी गर्नथाल्यो । हामीले झन्डै ६ महिनापछि मात्र त्यो कुरा थाहा पायौँ । हाम्रा धेरै साथीहरू उसकै कारण पक्राउ परे । सङ्गठनलाई उसको र मेरो सम्बन्ध थाहा थियो । मैले त्यही कारण मेरो जिम्मेवारीबाट राजीनामा दिनुप¥यो । मैले उसलाई केही भनिनँ । वश मैले उसलाई भेट्न छोडिदिएँ । सायद उसलाई नैतिकरूपमा निकै असजिलो अनुभव भयो । त्यसैकारण प्राध्यापक पदबाट राजीनामा दिएर ऊ लखनउमा उपसम्पादक बन्न गयो । ऊ काम गर्ने पत्रिका उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ सरकारले चलाएको पत्रिका हो”, सोनप्रियाका यति धेरै कुरा सुनेर म अवाक् भएँ । हरेक मानिस आफैमा कथाहरूको सङ्कलन हो ।
थुक्पाको बटुकोबाट धिमा गतिमा वाफ उठिरहेको थियो । मैले उनलाई थुक्पा खान सङ्केत गरेँ र एउटा बटुको मैले तानेँ । उनको कथा सुनेर मैले केही बोल्न सकिरहेको थिइनँ । एक क्षण सन्नाटा छायो । सोनाप्रिया पनि थुक्पा खान थालिन् । सुरुप्प सुरुप्पको एकनासको आवाजमात्र सुनियो ।
“अनि तिमी किन उसलाई भेट्न जान लागेको त अहिले ?”, सायद यो प्रश्न अलि अस्वाभाविक थियो उनको लागि ।
“लखनउ गएर उसले भाजपाकै युवा सङ्गठनकी एक जना कार्यकर्तासँग विवाह ग¥यो । तर, त्यो विवाह लामो समय टिकेन । लोभको कारण आफूलाई बेचे पनि भित्र मनमा ग्लानीले उसलाई सताइरहेको हुनुपर्छ । पहिलो विवाह असफल भएपछि उसले अर्को एक जना एकल महिलासँग विवाह ग¥यो । उसले मलाई बारम्बार फोन गरेर आफ्नो गल्तीको लागि माफी माग्ने गर्छ । उसले प्रत्यक्ष भेटेर नै माफी माग्न चाहेको र आफ्नो परिवारलाई एकपल्ट भेट्न बारम्बार आग्रह गरेपछि अहिले म त्यहाँ जान लागेको हुँ । लखनउ गएर उसलाई भेट्छु । आफ्नै घरमा बस्ने व्यवस्था गरेको छु भन्थ्यो । तर, म उसको घरमा कदापि बस्दिनँ । त्यहाँ होटलमा बस्नेछु । मैले कोठाको अनलाइन बुकिङ गरिसकेँ”, सोनप्रियाले उज्यालो अनुहार बनाएर भनिन् ।
पानी पर्न रोकिए पनि आकाश अझै बादलले छपक्कै छोपिएको थियो । कुनै पनि बेला पानी पर्नसक्ने सम्भावनालाई विचार गरेर हामीले फर्किने विचार ग¥यौँ ।
“तिमीलाई मेरो कुरा सुनेर दिक्क लाग्यो होला है माफ गर । समय पनि देऊ, कुरा पनि सुनिदेऊ । तिमीलाई त यो भारतीय मित्र झेल्न साह«ै सकस भएको हुनुपर्छ है । राजनीतिक र वैचारिक विषयमा स्पष्ट भए पनि जीवनका धेरै व्यवहारिक पाटोबारे हामीले गम्भीररूपमा सोच्दा रहेनछौँ । त्यसले हामीले गल्ती गरिरहेका हुन्छौँ”, सोनप्रियाको यो कुराको गहिराई मैले बुझिनँ । तर, सायद उनले जीवनको आफ्नो भोगाइको सार बोलेकी हुुनुपर्छ ।
नगरकोट चोकमा भर्खर तलल्तिरबाट गाडी आइपुगेको थियो । त्यसैले व्यस्त देखिन्थ्यो चोक । नगरकोटको मूल सडकमा गाडी चल्ने भइसके पनि सडक खासमा अझै राम्रो भइसकेको थिएन । पानी पर्दा त्यो बाटो हिँड्न अझै गाह«ो भएकोले हामी वैकल्पिक बाटो हुँदै झ¥यौँ । पारि साँखु बजारलाई डुब्न लागेको घामले चहकिलो बनाएको थियो । मनोहरा खोलामा चाँदी बगेजस्तो देखिन्थ्यो । गैरीगाउँमा मानिसहरू पानीले बिगारेको खेतको ड्याङ मिलाउँदै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *