भर्खरै :

हाइटी हरण

हाइटीको राजधानी पोर्ट–अ–प्रिन्स नजिकै आफ्नो निवासमा राष्ट्रपति जोभिनल मोसेको जुलाई ७ को बिहान निर्मम हत्या भएको देखेर संसार चकित प¥यो । त्योभन्दा चकित पार्ने दृश्य गत महिना सार्वजनिक भयो । संरा अमेरिकामा शरण लिन मेक्सिकोको एउटा सीमावर्ती नदी तर्न प्रयास गरिरहेका हाइटीका शरणार्थीहरूलाई अमेरिकी सीमा सुरक्षा बलले कोर्राको प्रयोग गरी धपाइरहेका थिए । यी आपसमा जोडिएका घटनाले ‘सभ्य विश्व’ को अवधारणामाथि नै प्रश्न उठायो ।
१ करोड १० लाख जनसङ्ख्या भएको हाइटीमा आज पश्चिम गोलाद्र्धकै सबभन्दा धेरै शिशु तथा पाँच वर्षभन्दा मुनिका बालबालिकाको मृत्युदर छ । त्यहाँको मृत्युदरले धेरै अफ्रिकी देशहरूलाई समेत उछिनेको छ । हाइटीको औसत आयु ६३.५ वर्ष छ । हाइटीका छिमेकी देशहरू क्युवा, जमैका र डोमिनिकन गणराज्त्न्दा त्यो कम हो । त्यहाँका १४.५ प्रतिशत जनता बेरोजगार छन् । ५९ प्रतिशत जनता राष्ट्रिय गरिबीको रेखाभन्दा मुनि बाँच्छन् । त्यसको अर्थ त्यहाँका ५९ प्रतिशत जनता दैनिक २.४१ अमेरिकी डलरभन्दा कम कमाउँछन् ।
अन्तर्राष्ट्रिय समुदायले हाइटीको पूर्वाधार विकासमा बेवास्ता गरेको हुनाले त्यहाँ लागु औषध माफियाहरूको चलखेल बढेको छ । कोलोम्बिया र इबेरो–अमेरिका (स्पेनिस र पोर्चुगाली भाषा बोलिने अमेरिकी महादेशभित्रका देशहरू) का अन्य भागबाट लागुऔषध अन्यत्र लान हाइटी मुख्य ट्रान्सिट देश बनेको छ ।
सन् २०१० मा हाइटीमा ठूलो भुकम्प गयो । इल निनो प्रक्रिया (पृथ्वीको पूर्वी तटीय प्रशान्त महासागरमा सतहको पानीको तापक्रम अस्वाभाविकरूपमा बढ्दा जलवायुमा परेको प्रभाव) को कारण सन् २०१४ यता त्यहाँ हरेक वर्ष खडेरी हुँदै आएको छ । संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय रेडक्रससँग मिलेर संरा अमेरिकाले त्यहाँ राहत दिँदै आएको छ । सन् २०१४ मा हाइटीका स्थानीय जनताको पुनर्वास र ग्रामीण सडकको सुधारमा मद्दत गर्न संरा अमेरिकाले आफ्नो सेनाका इन्जिनियरहरूको टोली त्यहाँ पठाएको थियो । तर, हाइटीले सामना गरिरहेको आधारभूत समस्यामध्ये कुनै पनि समस्यालाई गम्भीरतापूर्वक समाधानको पहल भएको छैन । कमैमात्र त्यस्ता समस्या समाधान भएका छन् ।
अमेरिकी महादेशको हिस्सा हाइटी क्यारिबियाली देश हो । अमेरिकी क्रान्तिदेखि नै हाइटीको संरा अमेरिकासँग सम्बन्ध थियो । अमेरिकी क्रान्तिबाट प्रेरित भएर हाइटीका पूर्वदास तोसेन्ट एलओभेन्टुरको नेतृत्वमा हाइटीका दासहरूले फ्रान्स नामका उपनिवेशवादी मालिकविरुद्ध पहिलो सफल विद्रोह गरेका थिए । उनले अमेरिकी संविधानलाई नै आधार बनाएर हाइटीको पनि संविधान बनाएका थिए । तोसेन्टको अमेरिकी संस्थापक नेताहरूमध्येका अलेक्सान्द्र हेमिल्टनसँग सम्पर्क थियो । हेमिल्टन आफै क्यारिबियाको नेभिसका आदिवासी थिए ।
त्यही भएर अहिले शक्तिशाली देशको रूपमा विकास भएको संरा अमेरिकाबाट हाइटीले एक मित्र र संरक्षकको रूपमा मान्नुका मनग्य आधार छन् । लामो समयदेखि त्यस्तै नै हुँदै आएको थियो । हाइटीलाई मान्यता दिने पहिलो संरा अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कन थिए । उनको सरकारले सन् १८६२ मा हाइटीसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो ।
तर, अहिले हाइटी भद्रगोल अवस्थामा पुगेको छ । टेक्सासका सीमा सुरक्षा बलले हाइटीका शरणार्थीहरूलाई संरा अमेरिकी भूमिमा पस्न नदिन कोर्राको प्रयोग गरिरहेका छन् । यस्ता आतङ्कपूर्ण अवस्था सिर्जना गर्न यो पृथ्वीमा यस्तो के भइरहेको हो ?
सन् १९७१ मा ब्रेटन उड्स सम्मेलनको अवसानसँगै विकास भएको विश्व प्रणालीको आधारभूत समस्याले हाइटीलाई असफल बनाएको छ । हाइटीमात्र होइन, सिङ्गो विकासशील देशहरूलाई नै असफल बनाएको छ । निक्सनले जब सुनको मापदण्डबाट डलरलाई अलग बनाए, संरा अमेरिकाबाट युरोपतिर डलरको प्रवाह भयो । युरोपको निम्ति त्यो नै वित्तीय स्रोत बन्यो । व्यापार प्रवाहसँग त्यसको कुनै प्रत्यक्ष सम्बन्ध थिएन । त्यसले गर्दा वित्तीय फोका (फिनानसियल बबल्स) बन्दै गयो । तर, त्यस्ता फोका फुट्न नदिन के कस्ता सुरक्षा नीति अवलम्बन गर्ने भन्ने विषयमा केही तयारी भएन । निक्सनको त्यो निर्णयताका पाँच दशकमा भौतिक उत्पादनको तुलनामा वित्तीय सम्पत्ति धेरै गुणाले बढिसकेको छ ।
यस्ता विकासक्रमले अन्तर्राष्ट्रिय वित्तको शक्तिले सरकारहरूको शक्तिलाई सीमित बनाउन थाल्यो । वास्तवमा, अहिले वित्तीय स्वार्थले सरकारको नीति निर्देशित गरिरहेको छ । तर, त्यसरी बनेका नीति अर्थतन्त्र र ती देशका जनताको निम्ति हानिकारक हुने गरेका छन् ।
सन् १९७० र ८० दशकमा इबेरो अमेरिकाका देशहरूले आर्थिक वृद्धि दर बढेको अनुभव गरे । उनीहरू आफ्नो ऋण बढेको र उत्पादन घटेको अनुभव गरे । यसको मूल कारण व्यापारको बदलिएको रूप थियो । उनीहरूको व्यापार मूलतः उही वित्तीय लगानीकर्ताहरूको हातमा थियो । यो नीतिलाई बदनाम नवउदारवादी कार्यक्रम वाशिङ्टन कन्सेससलाई अझ टेवा पु¥यायो । त्यो सिद्धान्तले ऋण हुनुलाई अपरिहार्य वा पवित्र ठान्छ र त्यसले जनताका आवश्यकता पूरा गर्ने मत राख्छ ।
संयुक्त राष्ट्र सङ्घका लागि चीनका सहायक प्रतिनिधि केङ शुआनले अन्तर्राष्ट्रिय समुदायलाई हाइटीको अवस्थाबारे ठोस कदम चाल्न र सहयोग गर्न आग्रह गरेका छन् । निःसन्देह अहिलेको यो अवस्थाले हाइटीका नेताहरूलाई ताइवानबारे आफ्नो अहिलेको मान्यतामा पुनःविचार गर्न कर लाग्नेछ । उनीहरूले अब संसारको विकासमा नयाँ नयाँ आयाम उजागर भइरहेको अनुभव गर्न थाल्नेछन् ।
(लेखक संरा अमेरिकी प्रकाशन एक्जुकेटिभ इन्टिलिजेन्स रिभ्युका वाशिङ्टन संवाददाता हुन् ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः मनिषा

Leave a Reply

Your email address will not be published. Required fields are marked *