भर्खरै :

‘विकासको नाममा’ / एक विकास सम्भ्रान्तको आत्मसमीक्षा

नन्दराज श्रेष्ठ उर्फ नन्द आर. श्रेष्ठ नेपाली मूलका अमेरिकी अर्थशास्त्री हुन् । लामो समय देश र दुनियाँ भोगेका उनले आत्मसमीक्षा लेखेका छन् । पुस्तकको नाम हो ‘इन द नेम अफ डिभेलपमेन्ट : अ रिफ्लेक्सन अन नेपाल’ अर्थात् ‘विकासको नाममा : नेपालसम्बन्धी घोत्ल्याइँ’ । पोखरेली किसानका छोरा नन्दले कालान्तरमा अमेरिकाबाट उच्च शिक्षा हासिल गरे । उनी उतैका नागरिक बने । नेपाल भित्रिएको अमेरिकी विकासको अवधारणा लागू गर्ने क्रममा विभिन्न विकास परियोजनामा उनले काम गरे । नेपाली समाजबारे उनले अनेक प्रसिद्ध कृति लेखेका छन् । प्रसिद्ध वामपन्थी विद्धान पाउल एम. स्विजीसँग उनको मित्रता घनिष्ठ रह्यो । विविध आरोह अवरोहबीच उनले जीवनबोध गरे । नत्र धेरै विकास सम्भ्रान्तहरू विदेशी सहयोग ९ायचभष्नल बष्म० को सेवामा गुमनाम किर्नाजस्तै मर्ने गर्छन् ।
पुस्तक केवल सात अध्यायमा विभाजित छ । विषयवस्तुका हिसाबले भने पुस्तकको क्यानभास फराकिलो छ । नेपाल, भारत, प्रशान्त महासागरसँग जोडिएका एसियाली देशहरू र अमेरिकी विकास परियोजनाहरू पुगेका पूर्व उपनिवेशहरूको ‘नियति’ बारे पुस्तकमा प्रशस्त चर्चा गरिएको छ । यस ‘नियति’ का पछाडिको ‘नियत’ उधिन्नु र पीडितहरूलाई यो ‘नियति’ उल्टाउन घच्घच्याउनु नै पुस्तकको मूल ध्येय हो । लुकेकै रूपमा भए पनि पुस्तकमा एउटा सशक्त क्रान्तिको आह्वान छ । मजदुर दैनिकका पछिल्ला केही अङ्कमा पुस्तकका केही अंशहरूको अनुवाद, भावानुवाद र संक्षिप्त चर्चाहरू प्रकाशित भएका छन् । तिनै आलेखहरूका आधारमा यहाँ पुस्तकलाई केलाउने प्रयास गरिएको छ ।
पृथ्वीनारायण शाहले मितव्ययिताबारे दिव्य उपदेशमा धेरैथोक सिकाएर गएका छन् । शासकहरूलाई विलासी नबन्न र विदेशी रमझमको पछाडि नदगुर्न भनेका छन् । शाहकालमा मात्र होइन, अहिलेसम्म पनि उनको दिव्य उपदेश उनलाई ‘राष्ट्रिय एकताका प्रतीक’ बनाउने धारणामा मात्र प्रयोग हुने गरेको छ । लेखक नन्दराज श्रेष्ठले यो कुरा आफ्नै जीवनमा पनि भोगे । कुनै बेला पश्चिमाहरूलाई फिरङ्गी वा खैरे भन्ने गरेका नन्दराज आफै उनीहरूको पछि लागेर ‘सुनैसुन र सुखको देश’ अमेरिका पुग्छन् । त्यहाँ जानुअघि नै उनको बुद्धि पश्चिमाहरूको अनुचर बनिसकेको हुन्छ । उनले आफ्ना आमाबुबा र स्वदेशी दाजुभाइलाई हियाउन थालिसकेका हुन्छन् । इन्टरनेटको झिलिमिलीमा फँसिरहेका अहिलेको नयाँ नेपाली पिँढीमा यस्तै सोच र व्यवहार वनमाराझैँ फैलिसकेको छ । नयाँ पुस्ता इजी मनी वा सजिलै कमाइने पैसा र क्षणिक नाम कमाउन लालायित देखिन्छ । केटाकेटीहरू देशको रैथाने ज्ञानमा भन्दा विदेशी ब्रान्डमा भुलिरहेको आजभोलि जहीँतहीँ भेटिन्छ । यी सबै जञ्जाल पार गरेर अन्तमा आफूलाई नै नङ्ग्याउनुलाई हामी नन्दराजको स–सानो महानता भन्न सक्छौँ । यो एउटा गजबको पथप्रदर्शन पनि हो । उनलाई विदेशी डलरले पोलेको स्पष्ट देखिन्छ । त्यसैले उनी अमेरिकी विकास, समृद्धि र विकासको भव्यताभित्र लुकेको खोक्रोपना उधिन्छन् । नेपालका प्रायः बौद्धिक एलिटहरूमा यति आँट पलाएको सितिमिति भेटिन्न । ‘विकासको नाममा’ यस अर्थमा एउटा महत्वपूर्ण नेपाली पुस्तक हो ।
पुस्तकमा नन्दराजले पुँजीवादको माथिल्लो चरण अर्थात् साम्राज्यवादको चिरफार पस्केका छन् । साम्राज्यवादले कसरी चिल्ला शब्द ओढेर संसारको दोहन गरिरहेको छ भनी नन्दराज सविस्तार चर्चा गर्छन् । उनले साम्राज्यवादी संस्कृतिका पाखण्ड र दोहोरो चरित्र उदाङ्गो पारेका छन् । नाफाको भोक र हन्तकाली उपभोगलाई उनी पुँजीवादले गर्भैबाट लिएर आएको संस्कृतिको रूपमा चर्चा गर्छन् । यहीनिर उनले पुँजीवादी विचारकहरूका पितामह माल्थसको सिद्धान्तको दोहोलो काढ्छन् । माल्थस भन्छन् – ‘संसारमा प्राकृतिक स्रोतसाधन सीमित छ, मानिसका आवश्यकताहरू असीमित छन्, त्यसैले ठूलो परिवार वा जनसंख्या वृद्धि गरिबीको कारण हो ।’ माल्थसको सिद्धान्तको आलोचना गर्ने अग्रणी फ्रेडरिख एंगेल्स हुनुहुन्थ्यो । यसरी एङ्गेल्सकै बाटो पछ्याउँदै उनी माल्थसलाई नाङ्गेझार पार्छन् । खासमा उत्पीडनको लागि उत्पीडितहरूलाई नै जिम्मेवार ठह¥याउनु माल्थसको सिद्धान्तको मूल मर्म हो । माल्थसको सिद्धान्त अनुसार नेपालको पछौटेपन वा गरिबीको कारण नेपाल नै हो । यसलाई उल्ट्याउँदै नन्दराज भन्छन् – गरिब देशहरूको गरिबीको कारण साम्राज्यवाद हो, पुँजीवादजन्य नाफाको लोभ र हन्तकाली उपभोग हो । साम्राज्यवाद संसारभरि दिगो विकासको नारा भट्याइरहन्छ । तर, पुँजीपतिहरूको नाफाको भोक मेट्न उपभोक्ताले धेरैभन्दा धेरै उपभोग गर्नुपर्ने हुन्छ । धनीहरूको सिको गर्दै गरिबहरू पनि उपभोक्तावादी संस्कृतिमा ढलेको पाइन्छ । जस्तो, धनीहरूले डिब्बामा पाइने साबुन, ह्यान्डवाश, स्यानिटाइजर, स्याम्पू, क्रिम प्रयोग गरिरहँदा गरिबहरूले स्यासेमै किनेर भए पनि तिनको उपभोग गर्छन् । यसरी नेपालका शासक, धनीमानी वा मध्यम वर्ग पश्चिमा उपभोक्तावादी संस्कृति प्रचार गर्ने अवैतनिक ज्यामी हो भने नेपाली श्रमजीवी वर्ग ज्यामीको पनि ज्यामी बन्दै त छैन ? यो हामीसामु नन्दराजले तेस्र्याएको गहकिलो प्रश्न हो । यही प्रश्नको उत्तरमा हामीले भावी सन्तानलाई कस्तो देश छोडेर जाने हो भन्ने उत्तर पनि आउँछ ।
विकासको नाममा नेपालमा आउने अनुदान वा ऋणको झन्डै ८० प्रतिशत अंश विदेशीहरूकै पेट भर्न फर्केर जान्छ । बाँकी अंशमा नेपाली शासक दल, तिनका सरकारी, गैरसरकारी संस्थाका कारिन्दा र आउरेबाउरेहरूले पचाउँछन् । जुन जनताको गरिबी वा दरिद्रता देखाएर विदेशी आर्थिक सहयोगको भिख थापिन्छ, ती जनतासम्म विकासको नाममा आउने पैसा पुग्दैन । खासमा तिनीहरूलाई सघाउनु विदेशी सहायताको उद्देश्य होइन । नेपालका शासकहरूलाई देशभित्र चलिरहेको उच्चवर्गीय वा कानुनी डकैती बचाइराख्न नै यस्तो सहयोग दिने गरिन्छ । यसरी विकासको नाममा गरिबहरूलाई माथि उठ्न नदिने, बरु तिनलाई विदेश पठाएर रेमिट्यान्स भित्राइरहने खेल चल्छ । साथै भित्रिएको रेमिट्यान्स विदेशी उपभोग्य सामानहरूको खरिदमा पुनः विदेशतिर बगाइन्छ । यता यो चक्र चलिरहन्छ, उता नेपाली शासक र शासितहरूबीचको शक्तिसन्तुलन कायम रहन्छ । पुँजीवादी शैलीको ‘मानवअधिकार’, ‘प्रजातन्त्र’ र ‘खुलापन’ जोगिन्छ । नेपालमा आफूले भनेजस्तो भएसम्म विदेशी दाताहरूको राजनीतिक वा कूटनीतिक स्वार्थ पनि जोगिरहन्छ । अर्थात् नेपाली प्रकृति, जनशक्ति र बजार उनीहरूको दोहनको लागि उपलब्ध हुन्छ, नेपाली अर्थतन्त्र परनिर्भर हुन्छ । विकासको नाममा चलिरहने यो कुकर्मको जाँतोमा परेर गरिबगुरुवाहरू झन्झन् पातालमा भासिन्छन् । उनीहरूको आर्थिक, सांस्कृतिक र सामाजिक परिवेश बिथोलिन्छ । उनीहरूको मानवीय स्वाभाव खस्किँदै जान्छ । अन्तमा उनीहरू प्राचीन दासमा परिणत हुन्छन् । यो नन्दराजको भनाइ होइन । केही वर्षअघि साम्राज्यवादी मिडियाहरूले नै कतारमा स्टेडियम बनाउने नेपालीहरू दाससरी बाँचिरहेको भनी च्वच्व गरेका थिए । तिनले लुकाएको रहस्य नन्दराजले आफ्नो पुस्तकमा दुईतीन दसकअघि नै भनिदिएका थिए ।
पुस्तकमा नन्दराजले माक्र्सवादी विकासको अवधारणामा प्रश्न उठाएका छन् । निश्चय नै प्रकृतिको चरम दोहन गर्नु कार्ल माक्र्सको उद्देश्य थिएन । बरु पुँजीवादले प्रकृतिमा पार्ने प्रभावबारे उहाँ सचेत हुनुहुन्थ्यो । दोस्रो विश्व युद्धपछि नै प्रकृतिमा मानव क्रियाकलापहरूको प्रभाव टडकारो देखिन थालेको हो । वातावरण अध्ययनबारे माक्र्सवादी दृष्टिकोणको विकास २० औँ शताब्दीको उत्तरार्धमा भएको हो । प्रकृतिमा फर्किन सम्भव छैन । तर प्रत्येक मानवीय क्रियाकलापलाई प्रकृतिमैत्री बनाउने सम्भावना बाँकी छ । यतातिर छलफल र सङ्घर्षको ढोका खुला छ । आफूमार्फत् नेपाली शासक र बौद्धिकहरूको कुरूप पक्ष उदाङ्गो पारेर र साम्राज्यवादको संसार र समाजविरोधी अनुहार उदाङ्गो पारेर नन्दराजले नेपाली समाजलाई ठूलो गुन लगाएका छन् । यस पुस्तकबारे नेपालका प्रत्येक गाउँ र शहरमा, चोक अनि गल्लीमा सकेसम्म चाँडो चर्चा परिचर्चा हुनुपर्छ । यथार्थ बुझेपछि मात्र नेपाली उत्पीडितजनले जात, धर्म, लिङ्ग, क्षेत्रका साँघुरा पर्खाल नाघेर देशको प्रकृति र जनजीवन उन्नत बनाउन पाइला चाल्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *