भर्खरै :

शासक दलको पूर्वाग्रहको कारण बनेन ख्वप विश्वविद्यालय

भक्तपुर, २५ असोज । भक्तपुर नगरपालिकाको आयोजनामा विजया दसमी २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्ददै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सरसफाइकर्मीहरू चाडबाडको समयमा नगरको सरसफाईमा विशेष ध्यान दिएर लाग्नुपर्ने बताउँदै जुनसुकै समयमा जनताको सेवाको लागि जनप्रतिनिधि र कर्मचारीहरू तत्पर रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नजिकिँदै गरेको दसैँ र तिहारमा कोभिड सङ्क्रमणको खतरा बढ्ने हुँदा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कर्मचारीतन्त्र स्थायी सरकारको रूपमा प्रतिकात्मक मात्र भएकोले उनीहरूलाई कुनै पनि अनियमितता गर्न छुट नहुने धारणा राख्दै अध्यक्ष बिजुक्छेँले कर्मचारीहरूले व्यक्तिगत विषयमा भन्दा सामाजिक विषयलाई महत्व दिएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “विकास निर्माण र नक्सापास कार्यमा अनियमितता रोक्न प्राविधिकहरूको विशेष भूमिका हुने भएकोले यसप्रति प्राविधिकहरूलाई सचेत हुनुपर्छ । कर्मचारीहरू शिष्ट, नम्र, विनयशील र नैतिकवान हुनुपर्छ ।”
नयाँ पुस्तालाई पठनीय अध्ययन सामाग्री जुटाउनतिर बुद्धिजीवी वर्ग अग्रसर हुनुपर्ने औँल्याउँँदै उहाँले देशकै नमुना नगरपालिकाको रूपमा ख्याति कमाएको भक्तपुर नगरपालिकाले आगामी दिनहरूमा त्यसको गरिमा कायम गर्नेतिर विशेष जोड दिनुपर्ने बताउनुभयो ।
सङ्ख्यात्मक हिसाबले ठूलो पार्टी हुँदैमा उनीहरूको विचार र सिद्धान्तसँग सहमत हुन नसकिने विचार राख्दै अध्यक्ष बिजुक्छेँले शासक दलको पूर्वाग्राही व्यवहारका कारण ख्वप विश्वविद्यालयले सञ्चालन स्वीकृति नपाएको हो भन्नुभयो ।
“भक्तपुर नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरी नगरलाई थप सुरक्षित र व्यवस्थित बनाउनुपर्छ । आवास क्षेत्रमा भारी सवारी साधन प्रवेश निषेधमा रोक लगाउने बन्दोवस्त गर्नुपर्छ र जनतालाई नक्साबमोजिम घर निर्माण गर्ने विषयमा उत्साहित गर्नुपर्छ”, उहाँले भन्नुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरू सामान्य नागरिकभन्दा जिम्मेवार हुने हुँदा चाडपर्वको समयमा सिर्जनशील र रचनात्मक गतिविधिमा आबद्ध हुन आह्वान गर्नुभयो । उहाँले संस्कृतिसँगै भित्रिने विकृति र विसङ्गति बढ्नेबारे जनतालाई सचेत पार्न सबैले भूमिका खेल्नुपर्छ भन्नुभयो ।
छिमेकी देश भारतले नेपाललाई आर्थिकरूपले माथि उठ्न नदिन अनेक षड्यन्त्रका गतिविधिहरूलाई बढावा दिइरहेको चर्चा गर्दै उहाँले परमादेशबाट बनेको सरकारले देश र जनताको हितमा जनअपेक्षाअनुसार काम गर्ने कुरामा विश्वास गर्न विश्वास गर्न नसकिने बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाका जनप्रतिनिधिहरूले जनताको निःस्वार्थ सेवा गरिरहेको दावी गर्दै शिक्षा, स्वास्थ्य, सरसफाई र सम्पदा संरक्षण कार्यमा अनुकरणीय काम भइरहेको प्रस्ट पार्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले न्यायिक समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी प्रकाश पार्दैै महिला हिंसा, जग्गा विवाद, पारिवारिक झैझगडाजस्ता न्यायिक समितिमा दर्ता भएका मुद्दाहरूको न्यायोचित ढङ्गले सम्बोधन गर्दै आएको बताउनुभयो ।
कला, संस्कृति र भाषाविनाको पहिचान अधुरो हुने बताउँदै उपप्रमुख जोशीले स्थानीय पाठ्यक्रम लागू गरी भक्तपुरका विद्यार्थीहरूलाई सभ्य र सुसंस्कृत बनाउने प्रयास गरिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले दसैँ बिदामा नगरपालिकाले दैनिक र नियमित गर्नुपर्ने सरसफाइ, पर्यटन, अनियमित निर्माण नियन्त्रणलगायतका विभिन्न क्षेत्रको कामहरू सम्बन्धित कर्मचारीहरूले जिम्मेवारीपूर्वक गर्न निर्देशन दिँदै कर्मचारीहरूको निःस्वार्थ कर्तव्यपालनले नगरपालिकाको छवि उजिलिने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *