भर्खरै :

जलवायु परिवर्तनको मारमा नेपाल

आइतबारदेखि परेको लगातारको वर्षाको कारण देशभरको जनजीवन प्रभावित छ । सामान्यतः दसैँअघि नै वर्षाको क्रम रोकिने गरेकोमा यो वर्ष दसैँपछि भारी वर्षा हुँदा देशभर ठूलो जनधनको क्षति भएको छ । वर्षाको कारण काट्न ठिक्क भएको धान डुबानमा पर्दा किसानहरू मर्कामा परेका छन् । देशभरका नदीमा पानीको सतह बढ्दा तटीय क्षेत्रमा बस्दै आएका जनता डुबानमा परेका छन् । सुदूरपश्चिमको महाकाली नदीमा अहिलेसम्मकै सबभन्दा बढी ठूलो बाढी आएको बताइएको छ । जसले नदी छेउछाउ बसोबास गर्ने जनताको धनजनको क्षति हुनुका साथै सो क्षेत्रका अधिकांश बस्ती डुबानमा परेका छन् । कतिपय बस्ती बाढीले बगाएको छ । सडक बगाउँदा आवागमन प्रभावित भएको छ । दसैँको क्रममा विभिन्न क्षेत्रमा घुम्न गएका आन्तरिक पर्यटकहरूसमेत बाढी पहिरोबाट प्रभावित भएका छन् ।
संसारभर पछिल्ला दशकमा यसरी बेमौसमी वर्षा र त्यसकारण निम्तिएको बाढी पहिरो जस्ता समस्याले मानिसको दुःख बढेको छ । अघिल्लो महिना युरोपका विभिन्न देशमा असामान्यरूपमा आएको बाढीले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ । सामान्यतः दसैँसँगै जाडो महिना सुरु हुनुपर्नेमा अहिलेसम्म पनि जेठको जस्तो गर्मी देखेर अनुभवीहरू चकित परेका छन् । काठमाडौँ उपत्यकामा दसैँसँगै कुइरो देखिनुपर्नेमा अहिले पनि लामखुट्टेको गीत सुन्नुपर्दा सर्वसाधारण जनता मौसममा परिवर्तनको अनुभव गरिरहेका छन् ।
पृथ्वीको तापमान वृद्धि हुँदा संसारभर अहिले जलवायु परिवर्तन भइरहेको छ । चारैतिर बरफ हुने पृथ्वीका उत्तर र दक्षिण धु्रवमा अहिले हिउँ पग्लिन थालेको छ । त्यसैकारण समुद्रमा पानीको सतह बढेको छ । त्यसले तल्लो क्षेत्रका केही देशहरू आगामी दिनमा आफ्नो अस्तित्व नै रहने हो वा होइन भनी चिन्तित छन् । असामान्यरूपमा बढिरहेको समुद्री आँधीले समुद्र छेउछाउका जनताको निम्ति प्राकृतिक विपत्ति नियमितजस्तो बन्दै गएको छ । तर, नेपालजस्तै उचाइका देशहरू पनि जलवायु परिवर्तनबाट कम प्रभावित छैनन् । बाढीपहिरो, अतिवृष्टि, अनावृष्टिको कारण नेपालको जनजीवन पनि समस्यामा पिल्सिँदै छ ।
जलवायु परिवर्तनलाई विगतमा ‘अनावश्यक प्रचारबाजी’ को रूपमा लिइन्थ्यो । तर, आज त्यसको प्रभाव सबैले सबैतिर अनुभव गर्न थालेपछि यो समस्या गम्भीर बनिसकेको सर्वत्र अनुभव गरिंदै छ । संसारभर विभिन्न कारण बढेको प्रदूषणको कारण पृथ्वीको तापमान बढ्दा यस्ता समस्या आइरहेका छन् । त्यसकारण जलवायु विज्ञहरू वायुमण्डलको प्रदूषण कम गर्नमा जोड दिइरहेका छन् । विशेषतः विकसित औद्योगिक देशहरूले आर्थिक उत्पादनको नाममा प्रदुषण नियन्त्रणलाई ध्यान नदिँदा र अस्वस्थ इन्धन प्रयोग गर्दा जलवायु परिवर्तनको समस्या जटिल बन्दै गएको छ ।
वैज्ञानिकहरू आज संसारले भोगिरहेका प्राकृतिक विपत्ति खास सङ्कटको सुरुवातमात्र भएको बताउँछन् । यदि मानिस पर्यावरणीय संरक्षणमा सजग नबन्ने हो भने आगामी दिन अझ कठिन बन्दै जाने उनीहरूले चेतावनी दिइरहेका छन् । त्यसको निम्ति आगामी नोभेम्बर महिनामा विश्व जलवायु सम्मेलन हुँदै छ । त्यसमा फेरि पनि धनी देशहरूले आफ्ना कृत्य छोप्ने वा अनुमोदन गर्न खोज्नेछन् । त्यहाँ गरिब र विकासशील देशहरूले आफ्नो अस्तित्व रक्षाको निम्ति एकजुट भएर आवाज उठाउन जरुरी छ । तर, संसारका धनी होस् वा गरिब देश, एउटै डुङ्गामा छौँ । त्यसकारण जलवायु परिवर्तन, पर्यावरणीय सङ्कट र वातावरणीय असन्तुलन सबैको चिन्ता र चासोका विषय बन्नुपर्छ । नेपालले आज जे भोगिरहेको छ, त्यो संसारले भोगिरहेको जलवायु सङ्कटकै हिस्सा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *