भर्खरै :

रोग लाग्नै नदिन चाल्नुपर्ने कदमबारे चासो नदिने ?

सहरी क्षेत्रका प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकामा अधिक वजन र मोटोपनाका कारकसम्बन्धी गरिएको एक अध्ययनले ५७५ विद्यार्थीमध्ये १०७ मा बढी तौल र ४१ जनामा मोटोपनाको समस्या भएको देखाएको छ ।
सरकारले उपचार खर्चको अभावमा नागरिकले मृत्युवरण गर्नु नपरोस् भनेर मुटुरोग, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमरजस्ता गम्भीर प्रकृतिका रोगहरूको निःशुल्क उपचार गर्नसक्ने, कतिपय प्रदेश सरकारले क्यान्सर रोग लागेका विपन्न बिरामीलाई उपचारमा सहुलियत दिने लोकप्रिय नीति बनाउने गरेका छन् । तर, रोग लागेकालाई उपचारको व्यवस्था गर्ने सरकारले रोग लाग्नै नदिन चाल्नुपर्ने कदमबारे भने चासो दिएको पाइँदैन ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार, सन् २००८ देखि एक दशकमा नेपालमा रु. एक खर्ब २९ अर्बको ठोस पत्रुु खाना आयात भएछ । अहिले आएको एक खर्बको पत्रु खानाले स्वास्थ्यमा हुने क्षतिको कारण भविष्यमा रु. दस खर्बको नोक्सानी पुु¥याउनेछ ।
पत्रु खानाको वर्चस्व कस्तो छ भने, यसलाई विशिष्ट र आकर्षक परिकार मान्दै महत्वपूर्ण जमघटहरूमा छुटाइँदैन । अरूको के कुरा, विभिन्न मन्त्रालयका बैठकहरूमा खाजा राख्दा केक, कुकिज, सेतो पाउरोटी, बट्टाको जुस राख्छन् । त्यस्ता बैठकमा सहभागी हुँदा म त्यस्तो खाजा बहिष्कार गर्छु । तर, सरकारी कर्मचारी, मन्त्रीगण, नेता स्वादको भुलभुलैयामा लागेर आफू र अरूलाई रोगी बनाउन उद्यत छन् ।
समाजका यी ‘ठूलाबडा’ र अभिभावकको खानपान अभ्यास, विज्ञापन बजार आदिकै प्रभावले होला, हाम्रा बालबालिका त्यही सिकेर ‘पत्रु खाना’ को कुलतमा परेका छन् । यसले बालबालिकालाई सानैदेखि दीर्घ रोग हुने जोखिम बढेको छ । बालबालिका दीर्घ रोगले घेरिए परिवार र समाजमा मात्र होइन, देश विकासमै समस्या पर्छ । त्यसैले स्वास्थ्य क्षेत्रमा छुट्याउने बजेट ‘रोग नलागोस्’ भनेर रोकथामको कार्यक्रममा पनि खर्च गरिनुपर्छ ।
पत्रु खानाको नियन्त्रणले बालबालिका जन्मदेखि नै समस्या लिएर जन्मिने सम्भावना कम हुन्छ । किनभने, मोटोपन भएकी कुनै युवती विवाह गरेपछि पनि पत्रु खानाको लतमा परेर जब मधुमेहको शिकार बन्छिन्, उनी गर्भवती छँदा भ्रुणलाई समस्या परेर जन्मजात नै मधुमेह भएको बच्चा जन्मिनसक्छ ।
रोग न्यूनीकरण गर्न पत्रु खाना नियन्त्रण गर्ने गरी घरेलु पौष्टिक खानेकुराको प्रवद्र्धन गर्ने, पत्रु खानाको विज्ञापन सकेसम्म घटाउने, गलत विज्ञापन गर्न रोक लगाउने जस्ता कार्यक्रम कहिले सुरू गर्ने ?
(लेखकको फेसबुक पेजबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *