भर्खरै :

सक्वको म राजदास–१०८ / माटो, ढुङ्गा, बालुवा आदिको अध्ययन र अनुसन्धान

सन् १९७६ मा सोभियत सङ्घबाट रुसी श्रीमती भालेन्टिना र दुई साना छोराहरू लिएर म नेपाल फर्केँ । एक वर्ष जति विभिन्न ठाउँमा काम खोज्दै म आफ्नो जन्मस्थल शंखरापुर, सक्वमा आफ्नो परिवारसँग बसेँ । कामको खोजीको सिलसिलामा धेरै ठाउँ दौडिएँ र अन्तमा काठमाडौँ लैनचौरस्थित खानी तथा भूगर्भ विभागमा एक अनुसन्धान अधिकृतको रूपमा काम पाएँ । त्यस समयमा प्रतिमहिना ७५० (सात सय पचास) रूपैयाँ तलब पाउँथेँ ।
मेरो विषय सिमेन्ट उत्पादन गर्ने प्रविधि भएको हुनाले मैले चुन र सिमेन्ट या सम्बन्धित विषयमै काम पाएँ । नेपालको विभिन्न ठाउँमा चुन र सिमेन्ट उत्पादन गर्न आवश्यक मुख्य कच्चापदार्थ चुनढुङ्गा खोजीमा लागेँ । नेपालको पूर्वी जिल्ला उदयपुरमा उच्चकोटीको चुनढुङ्गा खानी भएको कुरा थाहा भयो । त्यहाँबाट ल्याइएका चुन ढुङ्गामा अध्ययन अनुसन्धान गर्न थालेँ । उक्त ढुङ्गा खानी राम्रो गुणस्तरको र ठूलो भएको कारण त्यस चुनढुङ्गाबाट विभिन्न प्रकारको निर्माण सामग्री तथा औषधि उत्पादनमा प्रयोग गर्न सकिने प्रेसिपिटेटेड क्याल्सियम कार्बोनेट (पीसीसी) समेत उत्पादन गर्न सकिने देखियो । विगत ३३ वर्षदेखि (२०४५ सालदेखि) उदयपुरको जल्जलेमा जापान सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा उक्त चुनढुङ्गाबाट एक उच्च गुणस्तरको सिमेन्ट उत्पादन हुँदै छ । दैनिक ८०० टन (१६ हजार बोरा) सिमेन्ट उत्पादन गर्ने क्षमता भएको उक्त उदयपुर सिमेन्ट कारखाना नेपालमा मात्र होइन एसियाकै आधुनिक ठूलो सिमेन्ट कारखाना मानिन्छ ।
सिमेन्टबाहेक उदयपुरको उक्त चुनढुङ्गाबाट सिलिका लाइम ब्रिक्स भन्ने चुन र बालुवाको इँटा बनाउन पनि सकिन्छ । साथै औषधि उत्पादन गर्ने उद्योगमा विभिन्न प्रकारका ट्याब्लेटहरू, झोल औषधि बनाउन मिल्ने खानयोग्य चुनका साथै छाला उद्योग र चिनी उद्योगलाई नभई नहुने ज्युँदो चुन (एक्टीभ लाइम) उत्पादन गर्न सकिने कुरा पनि आफ्नो ५–६ महिनाको अनुसन्धान कार्यबाट थाहा भयो ।
आफ्नो वैज्ञानिक अनुसन्धान कार्यबाट म धेरै खुसी भएँ । खानी विभागका तत्कालीन कार्यकारी निर्देशक एवं महेन्द्र नरसिंह राणा पनि मेरो कामबाट प्रसन्न भए । तर, उक्त जागीरबाट पाइने ७५० रूपैयाँको तलबले ४ जनाको मेरो परिवार धान्न धेरै मुस्किल प¥यो । काठमाडौँमा मेरो घर थिएन, बहालमा बस्नु पथ्र्यो । एउटा दुईकोठा भएको घर डेराको ४०० रूपैयाँ बहाल तिर्नुपथ्र्यो र सय–दुई सय रूपैयाँ बिजुली पानीको तिर्नुपथ्र्यो ।
आफ्नो परिवार धान्न र केटाहरूलाई स्कूल पठाउन मैले आफ्नो घरायसी सामानहरू जस्तै रेफ्रीजेरेटर, वासिङ्ग मेसिन, इलेक्ट्रीक जूस मेकर, भ्याकुम क्लिनर आदि एक एक गरी बेच्दै काम चलाएँ ।
एक दिन मैले आफ्नो आर्थिक अवस्थाबारे आफ्नो अफिसका महानिर्देशकलाई मेरी श्रीमती भालेन्टिनालाई पनि काम दिन अनुरोध गरेँ । भालेन्टिना पनि म जस्तै केमिकल इन्जिनियर हुन् र उनको विषय ग्लास टेक्नोलोजी (सिसा उत्पादन गर्ने) थियो ।
त्यसबेला खानी विभागले नेपालमा सेरामिक्स उद्योगको सम्भाव्यताबारे पनि अध्ययन अनुसन्धान गर्ने चासो देखाइरहेको थियो । सेरामिक्स भनेको विभिन्न प्रकारको माटो विशेष गरेर सेतो कमेरो माटो पोलेर भाँडाकुँडा र निर्माण सामग्री बाथरुम र घरका कोठा, किचेनमा लगाउने रङ्गी–विरङ्गी टाइलहरू हुन् । नेपालमा त्यसबेला आधुनिक सेरामिक्स उद्योगहरू थिएनन् । परम्परागतरूपमा चल्दै आएको प्रविधि अपनाएर उपत्यकामा विशेष गरेर ठिमी र भक्तपुरका ठाउँठाउँमा स्थानीय प्रजापति जातका मानिसहरूले स्थानीय कच्चापदार्थ (एक प्रकारको विशेष लस्सा भएको माटो) प्रयोग गरेर विभिन्न प्रकारका माटाका भाँडाकुँडाहरू उत्पादन गर्थे ।
यसप्रकारको स्थानीय सेरामिक्स सामानहरू उत्पादन गर्नेमा भक्तपुर ठिमीको निकोसेरा भन्ने गाउँ धेरै प्रसिद्ध थियो । निकोसेरामा एकप्रकारको विशेष गुण भएको (भाँडाकँुडा बनाउन उपयुक्त) माटोको खानी थियो । त्यस माटोमा ढुङ्गा बालुवा कम मिसिएको हुन्छ । धेरै मसिनो भौतिक संरचना (फिजिकल प्रोपर्टी) भएको हुनाले पानीमा मुछिएपछि धेरै लस्सा (प्लास्टिसिटी) आउँथ्यो । यही लस्साले गर्दा उक्त माटोबाट विभिन्न प्रकारका घरायसी भाँडाकुँडाहरू निर्माण गर्न सकिन्थ्यो । हालसम्म भक्तपुर र ठिमीमा यस प्रकारका घरेलु उद्योगहरू प्रशस्त छन् । यद्यपि, आजकल प्लास्टिकको भाँडाकुँडाले बजार लिँदै गरेकोले माटाका भाँडाकुँडाहरूको बजार घट्दै गएको अवस्था छ ।
सेरामिक्स, ग्लास, चुन, सिमेन्ट आदि सबै रसायनशास्त्रको सिलिकेट टेक्नोलोजीअन्तर्गत नै पर्दछ । यी सबै चिजहरू बालुवा, माटो र ढुङ्गाबाट बन्ने हुन् । चुनढुङ्गा र माटोबाट सिमेन्ट र चुन बन्छ भने बालुवाबाट ग्लास (सिसा) बन्छ अनि विभिन्न प्रकारको माटोबाट सेरामिक्स बन्छ । त्यसकारण, यी सबै वस्तुहरू बनाउने कच्चापदार्थहरू एकआपसमा सम्बन्धित छन् । यी कच्चापदार्थहरू ज्यानरहित अथवा निर्जीव भएको हुनाले यिनीहरूलाई अङ्ग्रेजीमा इन अर्गानिक भनिन्छ । यी पदार्थहरूबाट निर्माण सामग्री र घरायसी सामान बनाउने रासायनिक प्रविधिलाई इन अर्गानिक केमिकल टेक्नोलोजी भनिन्छ ।
प्लास्टिकजन्य निर्माण सामग्री तथा कागजजन्य पदार्थ बनाउने रासायनिक प्रविधिलाई अर्गानिक (प्राङ्गारिक) केमिकल टेक्नोलोजी भनिन्छ ।
कागजजन्य पदार्थहरू सबै घाँस, दाउरा, काठ र काठको धुलोबाट बनिन्छ । काठ, पराल, छ्वाली आदि सबै चीज जीवित पदार्थ भएको हुनाले उनीहरूकोे प्रयोगबाट रासायनिक प्रक्रिया अपनाएर नयाँ सामग्री बनाउने प्रविधिलाई अर्गानिक केमिकल टेक्नोलोजी भनिएको हो ।
प्लास्टिकजन्य भाँडाकुँडा र निर्माण सामग्रीहरू सबै पेट्रोलियम पदार्थबाट निस्कने हुन् । प्राकृतिकरूपमा पाइने कच्चा तेल अथवा इन्धन जसलाई अङ्ग्रेजीमा क्रुड आइल भनिन्छ । त्यसबाट डिजेल, पेट्रोल, मट्टीतेल आदि निकालिसकेपछि बाँकी रहेको अलकत्राजस्तो कालो ठोस पदार्थबाट रासायनिक प्रविधि र प्रक्रिया अपनाएर विभिन्न प्रकारको प्लास्टिकजन्य वस्तुहरू उत्पादन गरिन्छ । कच्चा इन्धन अथवा तेल भनेको सबै जैविक वस्तु रुख बिरुवाबाट बनेका हुन् । कोइलाजस्तै कच्चा तेल पनि लाखौँ करोडौँ वर्ष जमीनमुनि थिचिएर रुख बिरुवाहरू कुहिसकेपछि बनेका पदार्थ हुन् । त्यसकारण, यी पदार्थहरू सबै जैविक जगतमा पर्दछन् र अङ्ग्रेजीमा यसलाई अर्गानिक सब्स्टानसेर भनिन्छ ।
मेरी श्रीमती मजस्तै इन अर्गानिक केमिकल इन्जिनियर थिइन् । ग्लास टेक्नोलोजिस्ट भएको नाताले सेरामिक्ससम्बन्धी काम पनि गर्नसक्थिन् । तर, विदेशी नागरिक भएको हुनाले नेपालको सरकारी कार्यालयमा काममा लिन नसकिने कुरो महानिर्देशकबाट बुझियो । यसैकारणले गर्दा मैले खानी विभागमा आफ्नो श्रीमतीलाई काममा लगाउन सकिनँ । पछि केही भालेन्टिनाको लागि काम खोज्दै गर्दा काठमाडौँ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गत ‘व्यावहारिक विज्ञान तथा अनुसन्धान केन्द्र’ मा हामी दुवै जनाले केमिकल इन्जिनियर अनुसन्धान अधिकृतको रूपमा काम गर्ने अवसर पायौँ ।
भालेन्टिनाले नेपालमा सिसा (ग्लास) उत्पादनको सम्भाव्यताबारे काम गरिन् भने मैले नेपालको विभिन्न स्थानमा पाइने चुनढुङ्गाबाट चुन उद्योग स्थापना गर्न र सिमेन्टको विकल्प पदार्थ निकाल्ने उद्देश्य लिई काम गरेँ । आफ्नो कामको सिलसिलामा हामी दुवै जना देशका विभिन्न जिल्ला, गाउँ पाखामा चुनढुङ्गा, माटो, बालुवा आदि कच्चा पदार्थहरूको खोजीमा लाग्यौँ । एक वर्षको खोजी कार्यबाट सङ्कलित विभिन्न प्रकारको माटो, ढुङ्गा, बालुवा, कमेरो, माटो आदिको वैज्ञानिक अध्ययन र अनुसन्धान गर्न थाल्यौँ ।
भालेन्टिनाले हेटौँडाको कर्रा खोलाबाट ल्याएको बालुवाबाट प्रयोगशालामा ग्लास (सिसा) निकालिन् र भक्तपुर ठिमीको कमेरो माटो र दामन क्षेत्रमा पाइने एक प्रकारको सेतो क्वार्च–चाइना क्लेजस्तो डोलोमाइट ढुङ्गाबाट सेरामिक्सका केही नमुनाहरू निकालिन् । मैले धादिङ्ग जिल्ला जोगीमाराबाट ल्याएको चुनढुङ्गा र भूसको खरानीबाट एक प्रकारको पुज्जोलाना सिमेन्ट भन्ने पोर्टल्यान्ड सिमेन्टको विकल्प निकाल्न सफल भएँ । हाम्रो अनुसन्धान र अध्ययनबारे विभिन्न स्थानीय पत्रपत्रिका र रेडियोमा खबरहरू प्रचार भए । व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका तत्कालीन निर्देशक डा. अमीरबहादुर श्रेष्ठले हामीलाई अनुसन्धान कार्यको लागि आवश्यक वैज्ञानिक उपकरणहरू देश विदेशबाट किनेर ल्याउन धेरै सहयोग र प्रोत्साहन गरे ।
हामी काम गर्दै गर्दा त्यसबेला राजा वीरेन्द्रको देशभित्र औद्योगिक विकास भ्रमण भइरहेको थियो । एकदिन मध्यमाञ्चल विकास क्षेत्रको भ्रमणको सिलसिलामा राजा वीरेन्द्रको सवारी हाम्रै अनुसन्धान केन्द्रमा हुने कुरा सुनियो र निर्दिष्ट कार्यक्रमअनुसार राजा वीरेन्द्र र रानी ऐश्वर्याको साथमा हाम्रो अनुसन्धान केन्द्रको भ्रमण भयो । प्रयोगशालाभित्र राजारानी दुवैको सवारी भयो । सवारी दलमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट, शिक्षामन्त्री पशुपति शमशेर, दरबारका सचिव नारायणप्रसाद समेतको १०–१५ जनाको टोली थियो । झन्डै आधा घण्टा जति राजा–रानीलाई हामीले आफ्नो अनुसन्धान कार्यबारे विस्तृत विवरण सुनायौँ । नेपालमा सिमेन्ट र चुन उद्योगको ठूलो सम्भावना भएको कुरा मैले जाहेर गरेँ । हाम्रो कुरा सुनेर राजारानी धेरै प्रभावित भए । सवारीको भोलिपल्ट अनुसन्धान केन्द्रका निर्देशकले मलाई आफ्नो कक्षमा बोलाएर भने, “राजदास तिम्रो काम कुरोले राजा धेरै प्रशन्न भए र तिमीलाई यस वर्षको राष्ट्रिय शिक्षा पुरस्कार हुकुम भएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *