भर्खरै :

दैलेखमा अक्टोबर क्रान्ति दिवस एमसीसीको विरोधमा जुलुस

दैलेख, २४ कार्तिक । नेपाल मजदुर किसान पार्टी, दैलेख जिल्ला समितिको आयोजनामा अक्टोबर समाजवादी क्रान्ति दिवसका अवसरमा राकममा बुधबार जुलुस र जनसभा सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले साम्राज्यवादीहरूले अक्टोबर समाजवादी क्रान्तिको उपलब्धिलाई कोक्रोमै सिध्याउने दुष्प्रयास गरेको चर्चा गर्दै उक्त क्रान्तिको महत्व नबुझ्नेहरू कम्युनिस्ट नहुने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “साम्राज्यवादीहरूको आर्थिक सहयोगबाट सञ्चालित एनजीओ आईएनजीओले सोभियत सङ्घको समाजवादलाई विघटनमा पु¥यायो, युगोस्लाभियालाई टुक्रा गरायो, ल्याटिन अमेरिकी देशहरूलाई उपनिवेश बनायो, अन्य स्वाधीन देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप ग¥यो, मुद्रास्फीति र मूल्य वृद्धि गरायो । यसकारण त्यस्ता एनजीओ र आईएनजीओहरूको विरोध नगर्नेहरू कम्युनिस्ट होइनन् ।”
पुँजीवादी सरकारको भागबन्डा खानेहरू एमाले, माओवादी र एकीकृत समाजवादी पार्टीहरू कम्युनिस्ट नभएको उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “एमसीसी सम्झौताको विरोध नगर्नेहरू पनि कम्युनिस्ट होइनन् । एसियामा युद्ध गराउने र हतियार बेच्ने अमेरिकी साम्राज्यवादी रणनीतिअन्तर्गतको एमसीसी सम्झौता खारेज गर्नु जरुरी छ ।”
महाकाली सन्धि, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् सन्धिलाई समर्थन गर्नेहरू पनि कम्युनिस्ट नहुने धारणा उहाँले राख्नुभयो ।
सचिव सुवालले स्पष्ट पार्दै भन्नुभयो, “माओवादी प्रम बाबुराम भट्टराईले एमसीसी सम्झौताको आधार तयार गरे । त्यसबेलाको अमेरिकाको निम्ति नेपालका राजदूत शङ्कर शर्मा पनि एमसीसी सम्झौतामा लागेका थिए । यो सम्झौताको समर्थन गरेका उद्योगी–व्यापारीहरूको तीन वटा सङ्गठनका अध्यक्षहरूको विरोध तिनका जिल्ला–जिल्लाका सङ्गठन र पालिका सङ्गठनहरूले गर्नु आवश्यक छ ।”
“हुम्लाको नाम्खामा चीनले नेपालको सीमा अतिक्रमण गरेको भन्ने कर्णाली प्रदेशका मुख्यमन्त्री नेकाका जीवनबहादुर शाहीको कुरा झूटो हो । यो नेपालको सीमा भारतले अतिक्रमण गर्ने कार्यको ढाकछोप गर्ने चाल हो । नेकाका बीपी कोइरालाको सरकारकै पालामा नेपाल–चीन सीमा विवाद सल्टिएको थियो । नेकाले सोही विवादलाई पुनः उठाएको बीपी कोइरालाकै विरोध हो”, उहाँले भन्नुभयो ।
सचिव सुवालले नेकाका देउवालाई प्रम नियुक्त गर्न परमादेश जारी गरेका प्रधानन्यायाधीशले मन्त्री मागेको र गठबन्धन दलले दिएको हुँदा दिने र लिने दुवै दोषी भएको बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले रुसमा फेब्रुअरी क्रान्तिपछि कम्युनिस्ट पार्टी सरकारमा नगई अक्टोबर समाजवादी क्रान्तिको तयारीमा लागेको कारण क्रान्ति सफल भएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “२०४६ को आन्दोलनपछि सरकारमा गएका एमालेलगायत अन्य पार्टीहरू पुँजीवादी पार्टीमा पतन भए ।”
कम्युनिस्टहरूले देशको लागि काम गर्छ । आफ्नो टाउको दुख्दा उपचारको नाममा विदेश जाने शासक दलका नेताहरूले जनताको लागि एउटा राम्रो अस्पतालसमेत बनाएनन्, उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य शाहीले स्पष्ट पार्नुभयो, “देशको दुर्गति र अस्तव्यस्तताको कारक शासक दलका नेताहरू हुन् । देउवा सरकार पनि कमिसनखोर र दलालहरूको सरकार हो ।”
पार्टीका अर्का केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले अक्टोबर समाजवादी क्रान्तिमा स्तालिनको भूमिकाबारे चर्चा गर्नुभयो ।
रुसमा अक्टोबर क्रान्तिको तयारीमा लागेको बेला बोल्सेविक पार्टीले चुनावी सङ्घर्षलाई सशस्त्र सङ्घर्षको तयारीको लागि उपयोग गरेझैँ नेमकिपाले प्रतिक्रियावादी सङ्घ–संस्थामा गई क्रान्तिको तयारी गर्ने लेनिनवादी नीतिअनुसार निर्वाचनको उपयोग गरिरहेको उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य थापामगरले भन्नुभयो, “स्तालिनले साम्राज्यवादलाई परास्त गरी समाजवादी व्यवस्थालाई जोगाएको हुनाले साम्राज्यवादी र प्रतिक्रियावादीहरूले स्तालिनबारे झूटो प्रचार गरिरहेका छन् । स्तालिनका अङ्गरक्षकहरूमध्ये एक एटी रेविनको संस्मरण ‘स्तालिनसँग’ पुस्तकले स्तालिनबारे फैलाइएका भ्रम र झूटलाई चिर्न सहयोग गरेको छ । उक्त पुस्तकबारे अध्ययन गरी अन्तरक्रिया गर्नु आवश्यक छ ।”
कार्यक्रमका सभापति जयबहादुर बडुवालले आठबीस नगरपालिकामा प्रतिनिधित्व गर्ने शासक दलका जनप्रतिनिधिहरूले बजेट रकम हिनामिना गरी भ्रष्टाचार गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सडकको नाममा विकास नभई विनास निम्त्याएको छ । नगरका अस्पतालमा औषधि, विद्यालयमा शिक्षकको दरबन्दी सृजना गर्नेतर्फ जनप्रतिनिधिको ध्यान गएन ।”
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङ, नेक्रामहिला सङ्घका सुलोचना छ्वाजू, आयोजक समितिका मानबहादुर सिजापति, पुष्कर बडुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रेमा सिजापतिले लोकभाकामा प्रगतिशील गीत प्रस्तुत गर्नुभएको थियो ।
सुर्खेत
नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले देश सङ्घीय व्यवस्थामा गए पनि गाउँ–गाउँमा अझै पनि राज्यको अधिकार पुग्न नसकेको र शासक दलहरूले सबै अधिकार केन्द्र र प्रदेशमा सीमित राख्न खोजेको बताउनुभएको छ ।
मङ्गलबार सुर्खेतस्थित रेडियो नेपालमा सञ्चारकर्मी करिश्मा चौधरीसँगको कुराकानीमा उहाँले नेपालका शासक दलहरू अझै पनि राणा र पञ्चायतकालका शासकहरूको मानसिकताबाट मुक्त हुन नसकेको बताउनुभयो ।
शासक दलहरूको भ्रष्टाचारी प्रवृत्तिले देशमा सरकारी सम्पत्तिको माया गर्ने मान्छे भेटाउन गाह«ो भएको भन्दै उहाँले भ्रष्टाचारी, कालाबजारी, ठग ठेकेदारहरूलाई कारबाही गर्न नेमकिपाले सदन र सडकमा सङ्घर्ष गरिरहेको प्रस्ट पार्नुभयो ।
उहाँले संरा अमेरिकी साम्राज्यवादले एसियामा युद्ध थोप्ने कुत्सित उद्देश्यका साथ एमसीसीलाई अगाडि बढाएको चर्चा गर्दै अमेरिकी हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको एमसीसी सम्झौताको विरोधमा जनतालाई सचेत बनाउन नेमकिपाले ७० भन्दा बढी स्थानमा विरोधका गतिविधि गरेको बताउनुभयो ।
सांसद सुवालले नेपालमा बाल्न बिजुली नपुगेको अवस्थामा भारत हुँदै अन्य देशमा बिजुली बेचेर देश धनी हुने तर्क गलत भएको प्रस्ट पार्नुभयो ।
उहाँले नेमकिपाले संसद्मा प्रखर प्रतिपक्षको भूमिका खेलेर शासकहरूलाई देश र जनताविरुद्ध काम नगर्न सजग बनाउने जिम्मेवारी पूरा गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्मा जानु र सरकारमा जानुबीच भिन्नता छ ।”
नेमकिपाले लेनिनवादी नीतिअनुसार प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर पनि देश र जनताको सेवा गर्ने जिम्मेवारी पूरा गरिरहेको प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *