भर्खरै :

“जनताको पैसा सहकारी र बैङ्क हुँदै बहुराष्ट्रिय कम्पनीमा पुग्नु दुर्भाग्य”

भक्तपुर, २४ कार्तिक । “सदस्यहरूको आर्थिक स्तर बढाउने काममा सहकारी संस्था लाग्नुपर्छ । कृषिको विकासले मात्र देशको परनिर्भरता घट्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. को बुधबार भएको १७ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “जनताको रकम सहकारी बैङ्क हुँदै बहुराष्ट्रिय कम्पनीसम्म पुग्नु दुर्भाग्य हो । ओरेन्टल सहकारीका सञ्चालकहरूलाई सरकारले कारबाही गर्न नसक्दा अहिले सिभिल र लालिगुराँसजस्ता सहकारी संस्थाले जनताको रकम हिनामिना गरे । सरकारकै संरक्षणमा भइरहेको यस्ता विकृतिविरुद्ध सहकारी संस्थाले अभियान चलाउनु पर्छ ।”
नैतिकताको आधारमा प्रधानन्यायाधीशले राजीनामा दिनेबित्तिकै उनले गरेको संसद् पुनःस्थापना र प्रधानमन्त्री घोषणासम्बन्धी फैसला पनि गलत हुने भएकोले गठबन्धनको देउवा सरकार चुप लागेको अध्यक्ष बिजुक्छेँको भनाइ थियो ।
अध्यक्ष बिजुक्छेँले संस्कृति र साहित्यको विकासमा सरकारले ध्यान नदिनु खेदजनक छ भन्नुभयो ।
सहकारी संस्थाको प्रगति आर्थिक अङ्क वृद्धिभन्दा उत्पादनमूलक कार्यमा लगानी गरी स्थानीय रोजगारी सृजनामा लाग्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सहकारीले विभिन्न भाषा र सिपका तालिमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “कर नतिर्नेलाई कारबाही गर्नुको सट्टा सरकारमा गएका पार्टीहरूले निर्मलीकरणका नाममा कर छुट दिने देशघात हो । त्यस्ता नेता र अधिकारीलाई कानुनको कठघरामा उभ्याउनुपर्छ ।”
राष्ट्रिय सहकारी महासङ्घका डीबी बस्नेतले सङ्घ, प्रदेश, स्थानीय तहको सहकारी ऐन नियमावलीको अन्योलका कारण सहकारी सङ्घ सञ्चालनमा समस्या आइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारकै संरक्षणमा सिभिल सहकारी चलाएको हुँदा ती संरक्षणकर्ताहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ ।”
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजूको सभापतित्वमा भएको उक्त सभामा नेपाल बचत तथा ऋण सहकारी सङ्घका दीपक पनेरु, नेपाल बचत तथा ऋण सहकारी सङ्घका पूर्वअध्यक्ष कैलासभक्त प्रधानाङ्ग, बाग्मती प्रदेश बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी सङ्घ भक्तपुरका अध्यक्ष केदार खड्का, सङ्घका पूर्वअध्यक्ष राजेन्द्र दुमरु, उपाध्यक्ष हरि बल्ल, सदस्य कृष्णश्वरी प्रजापतिले सङ्घले गरेका गतिविधिबारे बोल्नुभएको थियो ।
उद्घाटनपछिको बन्दसत्रले सचिव जगन्नाथ प्रजापतिले पेश गर्नुभएको प्रतिवेदन, कोषाध्यक्ष कान्छाभक्त घजूले पेश गर्नुभएको आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले पेश गर्नुभएको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
बुधबारै सम्पन्न निर्वाचनबाट कृष्णगोविन्द लाखाजूको अध्यक्षतामा आगामी चार वर्षको लागि सञ्चालक समिति निर्वाचित ग¥यो ।
नवनिर्वाचित उपाध्यक्षमा हरि बल्ल, सचिव जगन्नाथ प्रजापति, कोषाध्यक्ष कान्छाभक्त घजू, सञ्चालक सदस्य पञ्चकृष्ण श्रेष्ठ, काजीबहादुर पञ्च, इन्द्रप्रसाद ब्यान्जू निर्विरोध निर्वाचित हुनुभयो । त्यस्तै महिला सदस्यतर्फ कृष्णश्वरी प्रजापति र सन्तोषी खतिवडा निर्विरोध निर्वाचित हुनुभयो । लेखा सुपरिवेक्षण समितिको संयोजकमा बालमुकुन्द उपाध्याय, सदस्यमा श्रीप्रसाद त्यातल र सुशिला पराजुली (बराल) निर्विरोध निर्वाचित हुनुभयोे ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *