भर्खरै :

तीन घटना र एक सुखद खबर

तीन वटा घटना झन्डै एकै समयमा हुनुको संयोगले यतिबेला विद्युत्तीय ऊर्जाको प्रयोगबारे चर्चा व्यापक छ । पहिलो, स्कटल्यान्डमा हालै सम्पन्न ग्लास्गो जलवायु सम्मेलनले कार्बन उत्सर्जन घटाउन विश्वव्यापीरूपमै प्रभावशाली सन्देश प्रवाह गरेको छ । यही गतिमा पृथ्वीको तापमान वृद्धि हुँदै जाने हो भने अब मानिसले डाइनासोरसको नियति भोग्ने दिन धेरै टाढा नभएको अभियन्ता र विज्ञहरूले चेतावनी दिइरहेका छन् । झन्डै यही समयको सेरोफेरोमा नेपालमै असामान्य खालका जलवायु परिवर्तनका प्रभाव देखिँदा नेपाली जनतालाई पनि सचेत बनाएको छ । त्यसो त विश्वको कार्बन उत्सर्जनमा नेपालको हिस्सेदारी निकै कम छ । तर, संसारमा जलवायु परिवर्तनको घातक प्रभाव पर्ने देशहरूमा नेपाल पनि अगाडि नै पर्छ । त्यसकारण, सबैले आ–आफ्नो ठाउँबाट केही गर्ने भावनाअन्तर्गत अब नेपालले पनि पेट्रोलियम पदार्थको प्रयोग कम गरी कार्बन उत्सर्जन घटाउनुपर्छ ।
दोस्रो घटना, यही बेला पेट्रोलियम पदार्थको मूल्य एकाध महिनामा नै अचाक्ली बढेको छ । जनताले भात पकाउन प्रयोग गर्ने ग्यासदेखि सवारी साधनमा प्रयोग हुने इन्धनमा भएको मूल्यवृद्धिले सबै क्षेत्रको मूल्य आकासिएको छ । त्यसकारण मानिसहरू आजभोलि पेट्रोलियम पदार्थको विकल्प खोज्न थालेका छन् । एकातिर अस्थिर मूल्य र अर्कोतिर हाम्रो साझा वासस्थान पृथ्वीको स्वास्थ्य बिगार्ने पेट्रोलियम पदार्थको विकल्प खोज्नु आजको आवश्यकता हो । पेट्रोलियम पदार्थको सबभन्दा भरपर्दो विकल्प नेपालको सन्दर्भमा जलविद्युत् नै हो ।
तेस्रो घटना, सरकारले यही समयमा नेपालको आन्तरिक खपतको लागि विद्युत् बढी भएको भन्दै केही मेगावाट विद्युत् भारतलाई निर्यात गरेको छ । यद्यपि, सरकारको यो दाबी निर्विवाद छैन । केही विज्ञहरू नेपालको लागि आवश्यक विद्युत् अझै पनि पर्याप्त भइनसकेको र सस्तो लोकप्रियताको लोभमा सरकारले यस्तो काम गरेको बताइरहेका छन् । तथापि, अठार घण्टा लोडसेडिङको मार खेपेका नेपाली जनता यतिबेला झन्डै लोडसेडिङबाट मुक्त हुनु भने सकारात्मक पक्ष हो । सरकार र नेपाल विद्युत् प्राधिकरण आफैले पनि सर्वसाधारणलाई विद्युतीय उपकरण प्रयोग गरी बढी बिजुली खपत गर्न आग्रह गरिरहेको छ । यस्तो अवस्थामा अब बिजुली बत्तीको अत्यधिक प्रयोग गरी पेट्रोलियम पदार्थ गर्न जनतालाई उत्साहित गर्नु देश र सिङ्गो पृथ्वीकै लागि हितकारी छ ।
तर, जलविद्युत् प्रयोग गर्ने कुरा आजको अवस्थामा नेपालको सन्दर्भमा भन्दा जति मीठो सुनिन्छ, व्यवहारमा अझै पनि चुनौतीपूर्ण छ । बिजुली भए पनि अझै त्यो बिजुली प्रयोग गर्ने उपकरण निकै कम छ । घर वा पसल, होटल र सवारीसाधनमा अझै पनि पेट्रोलियम पदार्थकै अत्याधिक प्रयोग भइरहेको छ । इन्डक्सन चुल्हो र बिजुली हिटर प्रयोग गर्ने परिवार निकै कम छ । सडकमा सौर्य ऊर्जा वा जलविद्युत्बाट चल्ने सवारीसाधन नगण्य नै छ । विद्युतीय सवारी साधन प्रयोगको कुरा सुन्दा जति आकर्षक छ, त्यसको लागि आवश्यक अतिरिक्त पूर्वाधारको अझै अभाव छ । तसर्थ, सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणले बोलेरमात्र हुँदैन, त्यहीअनुसारको उपकरणको उपलब्धता र पूर्वाधार निर्माण गरेर बोलीलाई व्यवहारमा कार्यान्वयनको अवस्था बनाउन जरुरी छ ।
यही बेला चीनको क्वाङ्सी प्रान्तको सरकारले नेपालमा विद्युतीय सवारीको उत्पादन गर्न चासो देखाउनु निकै उत्साहप्रद समाचार हो । तत्काललाई नेपालमा त्यस्ता सवारी निर्यात गर्ने र पछि नेपालमै विद्युत्तीय सवारी साधन उत्पादन गर्ने योजना कदाचित कार्यान्वयनमा आए नेपाली जनताको जीवनस्तरले एउटा उल्लेखनीय फड्को मार्नेछ र जलवायु परिवर्तनको निम्ति नेपालले संसारमै उदाहरणीय योगदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *