भर्खरै :

नेपालको बिजुली नेपालमै खपत गर्न जरूरी

उत्तरी सिमानामा हिमालको शीर भएको र ठूला ठूला पहाडबीचबाट साना ठूला सयौँ नदी बगेको नेपालको भूगोलका कारण देशमा जलविद्युत् ठूलो सम्भाव्यता छ । जलस्रोत नै नेपालको सेतो सुन भएको विभिन्न विद्वान र विश्लेषकहरूले भन्दै आएका छन् । तर, अहिलेसम्म हामीले त्यसको सदुपयोग गरेर देशको आर्थिक र सामाजिक विकास भने गर्न सकेका छैनौँ । केही वर्षअगाडि हाम्रो देशमा दैनिक १८ घन्टासम्म लोडसेडिङ हुन्थ्यो, गरिब नेपाली जनता अन्धकार र चिसोमा रात कटाउन बाध्य थिए । त्यसको कारण बिजुली व्यवस्थापनको कमजोरी मात्र होइन जेनेरेटर र इन्भर्टर बिकाउने कमिसनखोरहरूको बेइमानी रहेको समयले पुष्टि गरेको छ । अहिले नेपालमा उत्पादिन जलविद्युत् खेर गइरहेको गुनासो नेपाल विद्युत् प्राधिकरणले गरिरहेको छ । तर, नेपालमा यथार्थमा कति मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ ? कति मेगावाट भारतबाट महँगो मूल्यमा किनिरहेको छ ? र खेर गइरहेको विद्युत् कति हो प्राधिकरणले स्पष्ट पार्न जरूरी छ । भारतबाट आयात भइरहेको छ भने तुरून्तै त्यसलाई रोक्नुपर्छ ।
विद्युत् वितरण तथा प्रसारण प्रणालीको सुधार र विकास गर्न सकिए हजारौँ मेगावाट थप विद्युत् नेपालमै खपत हुनसक्छ । अहिले नेपालको सहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा समेत खाना पकाउनको लागि आयातीत एलपी ग्यास प्रयोग भइरहेको छ । त्यसको मूल्य लगातार वृद्धि भइरहेको छ । एलपी ग्यासको प्रयोगले नेपालको वार्षिक अर्बौं रूपैयाँ भारतमा गइरहेको छ । यदि नेपालमै उत्पादित विद्युत्को भरपर्दो वितरण भएमा एलपी ग्यासको खपतमा उल्लेख्य कमी आई त्यो रकम नेपालमै रहने सुनिश्चित गर्न सकिन्छ । त्यसको लागि सरकारले नेपाली जनताका लागि बिजुली सस्तो बनाउनुका साथै केही वर्ष इनडक्सन चुल्होमा अनुदानको व्यवस्था गरी सर्वसाधारणको पहुँचमा पु¥याइनुपर्छ ।
सहरी क्षेत्रमा विद्युतीय सवारी बढाउनका लागि चार्जिङ स्टेसनलगायत पूर्वाधारहरूको व्यवस्था गरिनुपर्छ । विद्युतीय सवारीको प्रयोगको वृद्धिले एकातिर वार्षिक खरबौँ रूपैयाँ पेट्रोल र डिजेल आयातमा विदेशिने रकम नेपालमै राख्न सकिने हुन्छ भने धुवाँले गर्दा भइरहेको वायु प्रदूषण अत्यन्त कम भएर स्वास्थ्यमैत्री वातावरण सिर्जना हुनेछ । त्यसले दम, खोकी, निमोनिया, मुटुरोगलगायत वायु प्रदूषणले निम्तिने धेरै रोग कम हुनेछ र नेपाली जनता तुलनात्मक रूपमा स्वस्थ हुनेछन् । प्राधिकरणले प्रभावकारीरूपमा बजारीकरण एवं अनुदानलगायतका कार्यक्रम ल्याउने हो भने विद्युतीय चुलोको प्रयोग व्यापकरूपमा बढ्न जान्छ । सहरी तथा सहरोन्मुख क्षेत्रलाई मात्रै पहिलो प्राथमिकतामा राखेर ट्रान्सफर्मरको क्षमता वृद्धि तथा अन्य प्राविधिक क्षमताको विस्तार गरिए तीन वर्षभित्र तीन हजार मेगावाट बिजुली खपत हुनसक्ने विज्ञहरूले ठोकुवासाथ भनेका छन् । त्यस्तै, पर्याप्त मात्रामा चार्जिङ स्टेसनको निर्माण, सरकारी तहबाटै भए पनि पेट्रोल तथा डिजेल गाडीको आयातमा प्रतिबन्ध लगाउने हो भने विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि हुन जाने र त्यसबाट आगामी तीन वर्षमा थप एक हजार मेगावाट बिजुली खपत हुने बताइएको छ ।
बिजुली नेपालको कच्चा पदार्थ र उत्पादन हो र त्यसको उपयोग नेपालमै गर्नुपर्छ भन्ने सोच देशका शासक वर्गमा नहुनु नै मुख्य समस्या रहेको छ । नेपालका आजसम्मका सरकारहरूले नेपालको बिजुली नेपाली जनताका लागि भन्दा नेपालको बिजुली विदेशी कम्पनीहरूद्वारा उत्पादन गराई भारतलगायत विदेशमा निर्यात गर्ने सोच सार्वजनिक गरेका छन् । त्यसमा शासकहरूको ती कारोबार सम्झौतामार्फत कमिसन कुम्ल्याउन पाइने लोभ राखेका छन् । नेपालको बिजुली नेपालमै खपत गर्न जरूरी छ । देशमै प्रदूषणरहित उद्योगहरू र पर्यटन उद्योगको विकासको अथाह सम्भावना छ । जलविद्युतजस्तो नवीकरणीय ऊर्जाको प्रयोग गरी देशको औद्योगिक र पर्यटकीय विकास गर्ने सोच राखिएमा मात्र त्यो सम्भावना यथार्थमा परिणत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *