भर्खरै :

घरदैलो नर्सिङ सेवा नमुना योजनाको रूपमा विकास गर्ने भक्तपुर नपाको प्रतिबद्धता

भक्तपुर, ५ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको आयोजना र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा प्रजनन स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन र सर्ने तथा नसर्ने रोगको रोकथाम र नियन्त्रणको लागि समुदायस्तरमा सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा कार्यक्रमको लागि सफ्टवेयर र कार्यक्रमसँग सम्बन्धित विषयवस्तुमा अभिमुखीकरण कार्यक्रमको आइतबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सांसद सुवालले घरदैलो नर्सिङ सेवाबाट व्यापक जनता लाभान्वित हुने आशा व्यक्त गर्दै घरदैलो नर्सहरूले घरघरमा गई विज्ञानसम्मत ढङ्गले आवश्यक स्वास्थ्य परामर्श दिनुपर्ने बताउनुभयो ।
विदेशमा काम गरेर ल्याएको पैसाबाट नेपालको विकास सम्भव नहुने बताउँदै उहाँले आफ्नै देशमा काम गर्न युवाहरूलाई उत्साहित गर्नुपर्छ भन्नुुभयो ।
उहाँले विज्ञान र प्रविधिको उपयोग सबै देशले समान ढङ्गले गर्न पाउनुपर्ने सिद्धान्त नै भूमण्डलीकरणको सिद्धान्त हो भन्नुभयो ।
मित्र राष्ट्र देश चीनले कोभिडविरुद्ध लड्न विश्वका १५० भन्दा बढी देशलाई स्वास्थ्य सामग्री सहयोग गरेको प्रसङ्ग जोड्दै उहाँले कोभिड रोग अमेरिकी सेनाहरू खेलकुद प्रतियोगितामा भाग लिन चीनको उहान सहरमा आएका खेलाडीहरूले सारेर विश्वमा फैलिएको पुष्टि भइसकेको तथ्य हो भन्नुभयो ।
स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएका अधिकांश दीर्घरोगीहरू भएका कारण यस्ता रोगीहरूको उपचारको लागि आवश्यक केही थप औषधिहरू स्वास्थ्य बीमामा समावेश गर्नुपर्ने औल्याउँदै सांसद सुवालले स्वास्थ्य बीमाको औषधि बिक्री वितरणमा मनोमानी बढेको सर्वसाधारण जनताको गुनासो रहेको हुँदा सोको विषयमा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमै पहिलोपटक भक्तपुर नगरपालिकाबाट घरदैलो नर्सिङ सेवा सुरु गरिरहेकोमा स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाको प्राविधिक सहयोग प्राप्त गरी अझ प्रभावकारीरूपमा कार्यान्वयन गर्दै यो योजना देशकै निम्ति नमुना योजनाको विकास गरिँदै लाने बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालमा नर्स तथा आवश्यक चिकित्सक व्यवस्था गरी जनतालाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यअनुरूप आधुनिक र सुविधायुक्त ख्वप अस्पताल सञ्चालनमा ल्याएको उल्लेख गर्दै उहाँले समाजवादी देशहरूको स्वास्थ्य प्रणालीबाट भक्तपुर नपाले सिक्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले २०७४ भदौ ९ गतेबाट सुरु गरेको घरदैलो नर्सिङ सेवा कार्यक्रमबाट सफलता हासिल भएको बताउँदै कोभिड महामारीबीच नगरवासीहरूको साथ र सहयोगका कारण छोटो समयावधिमा ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् स्वास्थ्य विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक प्रा. गोमादेवी निरौलाले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नेपालका विभिन्न स्थानीय तहहरूसँग समन्वय गरी समुदाय स्तरमा स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा सञ्चालन कार्यक्रमअन्तर्गत नेपालमा पहिलोपटक भक्तपुरमा यस कार्यक्रमको सुरुवात गरेको देख्दा गौरवान्वित महसुस भएको बताउनुभयो ।
कार्यक्रममा महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक बाला राईले नेपाल सरकारको घरदैलो नर्सिङ कार्यक्रमको परिचय र उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *