भर्खरै :

भेनेजुयलाको चुनावमा माथ खाएका विपक्षीहरू

भेनेजुयलामा हालै ‘महानिर्वाचन’ भयो । चार वर्षपछि भेनेजुयलाका सबै प्रमुख विपक्षी दलहरूले पनि चुनावमा भाग लिएका थिए । चुनावमा सत्तारुढ भेनेजुयला एकीकृत समाजवादी पार्टी (पीएसयूसभी) ले अत्याधिक मतसहित विजय हासिल गरेको छ ।
सत्तारुढ पार्टीप्रति भेनेजुयाली जनताको अपार राजनीतिक समर्थनले पछिल्ला वर्षहरूका चुनावमा धाँधली भयो भन्ने दाबी झुटा सावित भएको छ । विशेषतः विदेशी शक्तिको आशिर्वाद प्राप्त विपक्षी दलहरू छिन्नभिन्न अवस्थामा पुगेका छन् ।
भेनेजुयलाको चुनावी प्रणालीबारे लगाइएका निराधार आरोप त्यहाँको सरकारलाई दबाब दिन संरा अमेरिकाले समन्वयन गरेको प्रष्ट भएको छ ।
भेनेजुयलाको चुनाव प्रणाली लामो समयदेखि संसारकै सबभन्दा उत्कृष्टमध्ये नभए सबभन्दा राम्रोमा पर्दछ । संरा अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले सन् २०१२ मा दिएको अभिव्यक्तिअनुसार ‘हामीले ९२ वटा देशका चुनावको सुपरीवेक्षण गरेकोमध्ये भेनेजुयलाको चुनाव प्रणाली संसारकै उत्कृष्ट लाग्यो ।’ उनको गैरनाफामूलक सङ्गठन द कार्टर सेन्टरले चुनावमा सुपरीवेक्षण गर्दै आएको छ ।
कार्टर सेन्टरले विशेषतः भेनेजुयलाले सन् २००४ देखि चुनावमा प्रयोग गर्दै आएको स्मार्टम्याटिक प्रविधिबारे चर्चा गरेको छ । स्मार्टम्याटिक मतदान मेसिनको स्क्रिनमा थिचेर सुरक्षित रूपमा विद्युत्तीय मत व्यक्त गर्ने औजार हो । मतदानपछि मतदाताले मत व्यक्तको पुर्जी पनि प्राप्त गर्छ । त्यसले बितेका केही दशकमा भेनेजुयलाले चुनावी प्रणालीमा केही सुधार गरेको समेत बताएको थियो ।
पूर्वराष्ट्रपति ह्युगो चाभेज सत्तामा आएयता सत्तारुढ दलले भेनेजुयलामा जरा तहमा राजनीतिक सहभागिता बढाउन उल्लेखनीय प्रयास भएको म पनि थप्न चाहन्छु ।
उदाहरणको लागि, चाभेज छँदा हरेक साताको आइतबार उनले नै चलाउने कार्यक्रम ‘हेलो राष्ट्रपति’ कार्यक्रममार्फत् उनी भेनेजुयलाका विभिन्न महत्वपूर्ण राष्ट्रिय विषयमा जानकारी दिन्थे । त्यो कार्यक्रम संरा अमेरिका पूर्व राष्ट्रपति फ्रान्कलिन रुजवेल्टको चर्चित फायरसाइड च्याटजस्तै कार्यक्रम थियो ।
भेनेजुयला सरकारले देशलाई प्रजातान्त्रीकरणमा लगातार फड्को मारे पनि र चुनावी प्रणालीमा सुधार गरे पनि संरा अमेरिकाको आशिर्वादले चलेका भेनेजुयाली विपक्षीहरूले चुनाव धाँधलीपूर्ण भएको भन्दै आधार दाबी गरे । यस्ता दाबीलाई संरा अमेरिका र उसका सहयोगी देशहरूले टिपेर हल्लाखल्ला गर्ने गरेको छ । उनीहरूका सरकार र सञ्चारमाध्यम मिलेर यो कुरालाई ठुलठुलो स्वरले प्रचार गर्ने गरेको छ । सरकारप्रतिको जनताविश्वास घटाउने मनसायले नै यस्ता काम हुने गरेका छन् ।
तर, हालैका ‘महानिर्वाचन’ ले यस्ता दाबीलाई छिन्नभिन्न बनाइदिएको छ । भेनेजुयला सरकारप्रति जनताको विश्वासले सबैको ध्यानाकर्षण भएको छ । विपक्षीहरूप्रति जनताको घृणा पनि प्रदर्शन भएको छ । चार वर्षमा पहिलोपटक चुनावमा सबै विपक्षी दलहरूले पनि चुनावमा भाग लिए र सत्तारुढ पीएसयुभी दलले भारी मतका साथ विजय हासिल गरेको छ ।
यसो हुनुको कारण भेनेजुयाली सरकारले विभिन्न क्षेत्र जस्तै कोभिड–१९ को व्यवस्थापन, महत्वाकांक्षी सुलभ आवास कार्यक्रमको निरन्तरता र खाद्य कार्यक्रम आदिले पनि सत्तारुढ दलप्रति जनताको विश्वास प्रगाढ बनेको हो । भेनेजुयलामाथि संरा अमेरिकी नाकाबन्दीबीच यी सबै काम भएका थिए ।
त्यसका साथै भेनेजुयलाको आर्थिक अवस्था पनि सुधारोन्मुख छ । अर्थतन्त्रमा स्थायित्व कायम भएको छ । चार वर्षको अन्तरालमा त्यहाँको मुद्रास्फीति पहिलोपटक एक अङ्कमा झरेको छ । वृद्धि पूर्वानुमान पनि सकारात्मक छ । इरानसँगको व्यापार सम्झौताले तेल उत्पादन पनि बढेको छ । मतसर्वेक्षणहरूले बितेका साढे दुई वर्षमा भेनेजुयलाका आधा जनसङ्ख्याले आफ्नो जीवनमा सुधार भएको प्रतिक्रिया दिएका छन् ।
अर्कोतिर विपक्षीहरूले पनि आफुसँग राजनीतिक वैधता नभएको प्रमाणित गरेका छन् । त्यही भएर उनीहरूले वाशिङ्टनसँगको मिलिभगतमा पछिल्ला चुनावहरू बहिस्कार गरेका थिए । उनीहरूलाई चुनावमा सहभागी आफ्नो जीत नहुने कुरा थाहा थियो ।
विपक्षीहरूबीच पनि आपसमा विभाजन छ । चुनावअघि केही राजनीतिक दलहरूले बहिस्कारको नीतिलाई निरन्तरता दिने र सरकारलाई अस्थिर बनाउने अडान लिएका थिए । तर केही राजनीतिक दलहरूले चुनावमा सहभागी बन्ने नीति लिएका थिए । अन्त्यमा भेनेजुयलाका सबै प्रमुख राजनीतिक दलले चुनावमा भाग लिए । तर, विपक्षी दलहरू झन्डै सबै प्रतिस्पर्धामा एकआपसकै विरोधमा लडे ।
चुनावी परिणामले संरा अमेरिकाको सहयोगमा आफैलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेका ह्वान ग्वाइडो र उनका सहयोगीहरू सामेल रहेको एमयुडी मोर्चा (प्रजातान्त्रिक सर्वदलीय एकता) जनताबीच कति अलोकप्रिय रहेछ भन्ने कुरा छर्लङ्ग भयो । एमयुडीले चुनावमा जनतालाई सहभागी नबनाउन हतास बनाउने नीतिलाई समर्थन गरेको थियो । तर, जनताले उनीहरूको सो प्रयासलाई पनि असफल बनाए ।
ग्वाइडो र एमयुडीले चुनावमा निकै खराब परिणाम दियो । यो परिणामले फेरि पनि एमयुडीलाई समर्थन गर्नु भनेको असफल रणनीति अङ्गीकार गर्नु हुने कुरा संरा अमेरिकी जो बाइडेन सरकारले पनि हृदयाङ्गम गरेको हुनुपर्छ । दुर्भाग्यवश, संरा अमेरिकी परराष्ट्रमन्त्री एन्थोनी ब्लिनकेनले सोमबार चुनाव निष्पक्ष र स्वतन्त्र नभएको बताए । उनको यो दाबी पूर्णतः आधारहिन छ । दसकौँदेखि चुनावमा सुपरीवेक्षण गर्दै आएका अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको निष्कर्षभन्दा यो नितान्त उल्टो छ ।
यो चुनावको तथ्य त्यही हो जे देखिएको छ । यसबाट भेनेजुयला सरकार र भेनेजुयलाको प्रजातन्त्र फेरि विजयी भएको छ । विपक्षीहरू असान्दर्भिक सिद्ध भएको छ ।
(लेखक प्राग बस्ने अमेरिकी राजनीतिक विश्लेषक हुनुहुन्छ ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *