भर्खरै :

भक्तपुरका मौलिक उत्पादनको अन्तर्राष्ट्रियकरण आवश्यक

भक्तपुर १०, मंसिर । भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले सातौँ उद्योग दिवसको अवसरमा उद्योग वाणिज्य सङ्घ भक्तपुरका निर्वाचितहरू र २०७८ मंसिर १ गते बागमती प्रदेशको हेटौँडामा सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बागमती प्रदेशको दोश्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई शुक्रबार बधाई तथा शुभकामना कार्यक्रम ग¥यो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले उद्योग–व्यापार गर्नु पनि देश र जनताको सेवा भएको उल्लेख गर्दै केही ठूला उद्योगी–व्यापारीहरूले कालोबजारी, तस्करी, कृत्रिम अभाव, मूल्यवृद्धि र करछली गरेकाले अन्य इमानदार उद्योगी–व्यापारीलाई समेत अप्ठ्यारो परेको बताउनुभयो ।
उहाँले सबै जनताले आर्थिक गतिविधिमा संलग्न हुने अवसर पाए जनताको क्रय शक्ति बढ्ने चर्चा गर्दै उद्योगी–व्यापारीले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकारी राख्नु जरुरी रहेको बताउनुभयो ।
सांसद सुवालले ठूला उद्योगी–व्यापारी दाबी गरेकाहरूले कर छली गर्नुका साथै अन्य देशहरूमा लगानी रहेको समाचार प्रकाशित भइरहेको प्रसङ्ग उल्लेख गर्दै धेरै धन–सम्पत्ति हुँदैमा र विश्वविद्यालयको डिग्री हासिल गर्दैमा मानिसको सांस्कृतिक स्तर उँचो नहुने बताउनुभयो ।
उहाँले उद्योगी–व्यवसायीले पनि आफ्नो सांस्कृतिक स्तर बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली युवाहरूलाई वैदेशिक रोजगारीमा सस्तो कामदार बन्न पठाएर, विदेशबाट सामान आयात गरेर, सार्वजनिक ऋण र व्यापारघाटा बढाएर नेपालको विकास नहुने प्रस्ट पार्दै सांसद सुवालले नेपाललाई आत्मनिर्भर बनाउन कृषि, घरेलु तथा साना उद्योगको विकास गर्नु जरुरी रहेको औँल्याउनुभयो ।
सांसद सुवालले भक्तपुरको जुजु धौ (दही), भादगाउँले टोपी, हाकुपटासी, च्युरा, ढाका कपडाको विश्व व्यापार सङ्घमा दर्ता गरी त्यसमा भक्तपुरवासीकै स्वामित्व हुनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले एमसीसी सम्झौता नेपालको जलविद्युत् भारत हुँदै सिङ्गापुरसम्म लाने र एसियामा युद्ध गराउने अमेरिकी चाल भएको हुँदा यसलाई खारेज गर्नुपर्ने उल्लेख गर्दै नेपालको जलविद्युत् उत्पादन गरेर बेच्ने बेला नभइसकेको र खाना पकाउने ग्यास प्रतिस्थापन गरी व्यापारघाटा घटाउन नेपाली जनतालाई सस्तोमा बिजुली उपलब्ध गराउनु जरुरी रहेको बताउनुभयो ।
अमेरिकामा एसियालीमाथि हेलाहोचो र कुटपिट हुने प्रसङ्गग उल्लेख गर्दै काला जाति, ल्याटिन अमेरिकी, हिस्पानिक, अमेरिकी इन्डियन र अलास्काका आदिवासीहरूको स्वास्थ्य बीमासमेत नभएको उल्लेख गर्नुभयो ।
युरोपेली सङ्घ र अमेरिकाले तिब्बतमा शरणार्थी, हङकङ, थाइवान मामिला र सिन्च्याङका मुसलमानहरूको मानव अधिकारबारे झूटा कुरा उठाएर भ्रम सृजना गरेको उल्लेख गर्दै उनीहरूले भारतका मुसलमान, जनजाति र दलितहरूमाथि भइरहेको दमन र विभेदबारे सत्य कुरा नबोलेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवप्रसाद मानन्धरले भक्तपुर जिल्लालाई व्यावसायिकरूपले अगाडि बढाउन जरुरी रहेको बताउनुभयो ।
घरेलु तथा साना उद्योग सङ्घका पूर्वअध्यक्ष सत्यनारायण प्रजापतिले नेपालीले नेपाली उत्पादन नै प्रयोग गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
नेपाल महिला उद्यमी समिति बागमती प्रदेशका अध्यक्ष सुलोचना श्रेष्ठले महिलालाई सुसूचित, सबल र स्वावलम्बी बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग बागमती प्रदेशका सचिव सनीस लागेजूले कृषि क्षेत्रका जमिनहरू खण्डीकरण भएर चुनौती खडा भएको चर्चा गर्नुभयो ।
नेपाल घरेलु तथा साना उद्योगका निवर्तमान अध्यक्ष वीरेन्द्र जतीले राज्य तथा शासकले घरेलु तथा साना उद्योगी–व्यवसायीलाई पञ्चायतकालका शासकहरूले गरेको जस्तो व्यवहार गरेको गुनासो व्यक्त गर्नुभयो ।
घरेलु तथा साना उद्योगका अध्यक्ष प्रेमकृष्ण खर्बुजाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महिला उद्यमी समितिका देवकी श्रेष्ठ र घरेलु तथा साना उद्योगका श्यामसुन्दर श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *