भर्खरै :

कार्यकर्ता जनताका आँखाका नानी

पार्टीका नेता तथा कार्यकर्ताहरू जनताका आँखाका नानी हुन् । जनताको आँखाको नानी भएरै नेता तथा कार्यकर्ताले काम गर्नुपर्छ । जसरी हामीलाई आँखाको नानी प्यारो हुन्छ, काम लाग्छ त्यसरी नै जनताको लागि काम गर्ने कार्यकर्ता त्यतिकै प्रिय हुन्छ । जनताको आपतविपत्, सङ्कट या दुःख कष्टको बेला कार्यकर्ताहरू जुट्नुपर्छ, खट्नुपर्छ, साथ र सहयोग दिनुपर्छ । जनतालाई दुःख–कष्ट परेको बेला साथ र सहयोग नगर्ने कार्यकर्ता जनप्रिय हुनेछैन । हरेक नेता तथा कार्यकर्ता सिद्धान्तनिष्ठ हुनुपर्छ । सिद्धान्त र विचारलाई प्राथमिकता राखेर नै उनीहरू जनतामाझ पुगेका हुन्छन् । तिनीहरू नै जनताका सच्चा कार्यकर्ता हुन् ।
इमानदारी र निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्ने कुनै पनि नेता तथा कार्यकर्ताहरू जनतामाझ लोकप्रिय हुन्छन् । तिनीहरू शत्रुको अगाडि झुक्दैनन् । जनताको समस्या बुझ्ने, मर्का बुझ्ने र जनताको समस्या सम्बन्धित निकायमा ध्यानाकर्षण गर्ने काममा तिनीहरू अगाडि हुन्छन् । जनताको समस्या सम्बन्धित ठाउँमा पु¥याउने या समस्या समाधान गर्ने काममा कार्यकर्ताहरूको ठूलो योगदान हुन्छ । जनताको दुःख पीडा बुझ्ने, जनताको सेवाभन्दा पदको दुरूपयोग गरेर कमाउधन्दामा लाग्ने कार्यकर्ताहरू सद्दे हुने छैनन् । देश र समाजको परिस्थिति बुझ्न नचाहने, बुझेर अघि नबढ्ने कार्यकर्ता जनताका कार्यकर्ता हुने छैनन् । तिनीहरू सिद्धान्त र विचारभन्दा अनेक लोभलालच देखाएर, धम्की दिएर, भ्रमको खेती गरेर जनताको मत आफ्नो हातमा लिन्छन् । सत्तासीन दलका नेता तथा कार्यकर्ताहरूले गरिरहेको यही हो ।
जसरी गधालाई धोएर गाई हुँदैन त्यसरी नै शोषक, सामन्त र जमिनदारलाई सरापेर शोषक वर्ग अन्त्य हुनेछैन । कसैलाई गालीगलौज र हिलो छ्यापेर ठाउँमा आउँछ भन्ने होइन । गालीगलौज सैद्धान्तिक आलोचना पनि होइन । यसकारण, कम्युनिस्ट नेता तथा कार्यकर्ताहरूले शोषक र सामन्त वर्गको चरित्रबारे जनतासमक्ष उदाङ्ग्याउनुपर्छ, शोषक, सामन्त र पुँजीपति वर्गविरूद्ध सैद्धान्तिक र वैचारिक सङ्घर्ष गर्नुपर्छ । शोषक, सामन्त र पुँजीपति वर्गले जनतालाई गरिरहेको शोषण र दमनको विरोध गर्नैपर्छ । जनताको पसिनामा रजाइँ गर्ने प्रवृत्तिको विरोध गर्नैपर्छ । शोषणरहित समाज स्थापना गर्न सर्वहारा वर्गको हुकुम चाहिन्छ, कामदार वर्गको पक्षमा राजनीति गर्ने दलको सरकार हुनुपर्छ । शोषक वर्गको अस्तित्व समाप्त पार्नु भनेको कुनै व्यक्तिको हत्या होइन । शोषण गरेर आर्जन गरिएको रकम या सम्पत्ति देश र जनताको सम्पत्ति बनाउने हो । यसकारण शोषक र सामन्तहरूको अन्त्य कसरी हुन्छ भन्नेतर्फ हरेक कम्युनिस्ट नेता तथा कार्यकर्ताहरूको ध्यान जानुपर्छ, त्यतातर्फ चिन्तन गर्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *