आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
सोभियत सङ्घ
‘फ्री फ्रेन्च’ (स्वतन्त्र फ्रान्सको) आन्दोलन सुरु भएको एक वर्ष बितेको थियो । जून २२ मा हिटलरले सोभियत सङ्घमाथि आक्रमण गरे । यसले दे गालको आशा एकाएक बढ्यो । एकदिन सोभियत सङ्घ युद्धमा तानिनेमा उनको विश्वास थियो । त्यसको लगत्तै उनले आफ्नो लन्डनस्थित प्रतिनिधिलाई सोभियत राजदूतसँग सम्बन्ध बढाउन अ¥हाइहाले । फ्रान्सेली जनता रूसको पक्षमा हुनाले मस्कोसँग सैन्य सम्बन्ध बढाउन आफू तयार रहेको विचार दे गालका प्रतिनिधिले सोभियत राजदूतसामु राखे । अमेरिका र बेलायतसँग अनेक तीतापीरा भोगेका दे गालले सजिलै सोभियत सङ्घबाट सहयोगी हात पाए । यसको ठोस कारण पनि थियो । बेलायत र अमेरिकासँग फ्रान्सको साम्राज्यवादी स्वार्थ बाझिन्थ्यो । त्यसैले रूससँगको सम्बन्ध समानतामा आधारित हुन गयो ।
रूसलाई दे गालले राजनीतिक व्यवस्थालाई पर राखेर हेरे । त्यसैले रूसलाई उनले सोभियत सङ्घ नभनी रूस मात्र भने । पश्चिमा नेतामध्ये दे गाल जर्मनी पराजित हुनेमा ढुक्क थिए । यसमा सोभियत सङ्घको योगदान निर्णायक हुने उनको अनुमान थियो । अमेरिका र बेलायतले दे गाललाई एक्लाउने नीति लिइरहँदा रूससँगको सम्बन्धले उनको स्वतन्त्र नीतिलाई ठूलो टेवा पुग्यो । यसबीच पनि दे गाल आफ्नो वर्गीय धरातलबाट विचलित भएनन् । उनी फ्रान्समा क्रियाशील जनमोर्चा वा वामपन्थीहरूको प्रतिकारप्रति उदासिन थिए । त्यसरी नै सोभियत सङ्घले युद्ध जितेमा संसारले अनेक सास्ती भोग्नुपर्ने विचार उनको थियो । तर, मृत्युको मुखमा दर्शनको कुराभन्दा पनि बाँच्नु महत्वपूर्ण हुने भएकोले मात्र सोभियत रूससँग हात मिलाएको उनको स्पष्टीकरण थियो ।
सोभियत सङ्घसँग सम्बन्ध विस्तार गर्न दे गालले १९४१ सेप्टेम्बर २४ मा आफ्नो अध्यक्षतामा फ्रान्सेली राष्ट्रिय समिति बनाए । समितिका सदस्यहरूलाई मन्त्रीको पद दिइएको थियो । खासमा यो समिति एउटा सरकार थियो । २ दिनपछि लन्डनस्थित सोभियत राजदूत माइस्कीले दे गाललाई स्वतन्त्र फ्रान्सेली भूभागको नेता स्वीकारेको पत्र दिए । साथै, रूसले दे गाललाई हिटलरको जर्मनीविरुद्ध सबैखाले सरसहयोग दिने र विजयपछि फ्रान्सको स्वाधीनता पुनः स्थापना गर्ने आश्वासन दियो । रूसले खुला मनले दे गालको पक्ष लियो । तर, सेप्टेम्बर २५ को पत्रमा दे गाललाई एक सार्वभौम राज्यको नेताको हैसियत दिन बेलायतले कन्जुस्याइँ ग¥यो । त्यसैले सेप्टेम्बर २७ मा सोभियत नेता जोसेफ स्तालिनलाई पठाएको पत्रमा दे गालले रूसी जनता, सेना र तिनका नेताहरूको उच्च प्रशंसा गरे । भएभरको बल लगाएर आक्रमणकारीहरूविरुद्ध जुधिरहेको रूसले संसारभरका उत्पीडित जनतामा एक दिन स्वाधीन हुने आत्मविश्वास जगाएको दे गालको ठहर थियो । पत्रमा उनले मित्र शक्तिको विजयमा आफू विश्वस्त रहेको र दुई देशबीचको सम्बन्ध ऐतिहासिक हुने जनाएका थिए । यसप्रकार सोभियत सङ्घको विजयमा दे गालको विश्वास जागेको थियो ।
सोभियत सङ्घलाई सलामी
दे गालको कूटनीति सोभियत सङ्घमुखी बन्दै गयो । लिबियाको घटनाले यो कुरा खुलस्त पा¥यो । बेलायतले लिबियामा हमलाको तयारी गर्दै थियो । १९४१ अक्टोबर ७ मा दे गालले चर्चिल र बेलायती सेनाका मध्य – एसिया प्रमुख अकिनलेकलाई दुई डिभिजन फ्रान्सेली सेनाले सघाउने प्रस्ताव राखे । नोभेम्बरको अन्त्यतिर त्यसलाई बेलायती नेतृत्वले लत्यायो । खासमा बेलायतले ‘फ्री फ्रेन्च’ लाई ठूला गतिविधिहरूबाट वञ्चित गर्ने नीति लिएको थियो । बेलायतबाट हिस्स परेपछि दे गालले डिसेम्बर ९ मा आफ्नो सेनालाई लालसेनाअन्तर्गत लडाउने प्रस्ताव राखे । सोभियत राजदूतसँगको कुराकानीमा उनले बेलायत आधुनिक युद्धमा पछि रहेको र सोभियत सङ्घले मात्र जर्मनीलाई हराउन सक्ने बताए । सोभियत सङ्घले हुन्छ भनेपछि उनले दोस्रो ‘फ्री फ्रेन्च’ डिभिजनलाई १९४२ मार्च १५ मा ककेसस जाने आदेश दिन भने । अन्त्यमा बेलायतले त्यो डिभिजनलाई लिबिया पठाउन अनुरोध ग¥यो ।
फ्रान्सको स्वाधीनताको लागि पश्चिमी मोर्चामा के हुन्छ भन्ने कुराको धेरै महत्व थिएन । बरु सोभियत सङ्घ र जर्मनीको मोर्चा नै निर्णायक थियो । दे गालले यो तथ्यमा सुरुदेखि नै जोड दिए । उनी मस्को, लेनिनग्राद र सेभास्तोपोलमा रूसी सेना र त्यसका मार्सलहरूले देखाएको बहादुरीबाट प्रभावित भए । हिटलरका कमीकमजोरीबाट फाइदा लिँदै रूसी सेना अघि बढ्ने उनको आकलन थियो । यस्तैमा सन् १९४२ जनवरी २० मा रूसी सेनाको महानताबारे दे गालले एउटा लामो रेडियो भाषण दिए । यो भाषणको उद्देश्य युरोपमा आशा र लडाकू भावनाको सञ्चार गर्नु थियो । रूससँगको मित्रतामा जोड दिँदै पश्चिमा देशहरूलाई हिस्स पार्नु भाषणको भित्री उद्देश्य थियो । उक्त भाषणको सार यस्तो थियो – “रूसको विजय हुनेमा फ्रान्सेलीहरूलाई शङ्का छैन । रूसी हतियार, रोग, भोक र जाडोसामु जर्मनहरू गल्दै छन् । उनीहरूको पतनसँगै रूसी तारा चम्किँदै छ । रूसी जनता महान् हुन् किनभने उनीहरूलाई कसरी लड्ने, दुःख खेप्ने र आक्रमण गर्ने भन्ने कुरा थाहा छ । रूसी जनता महान् छन् किनभने उनीहरू जागेका छन्, हतियारबद्ध छन् र आफूलाई उनीहरूले सङ्गठित गरेका छन् । अनेक सास्ती खेपेर उनीहरूले एक हुन सिकेका छन् । फ्रान्सेली जनता रूसी जनताको सफलतामा जिन्दावाद भन्छन् ‘अमर’ भएको देख्न चाहन्छन् । किनभने, प्रत्येक जर्मन हारले फ्रान्सलाई माथि उठ्ने मौका दिन्छ । अरू शक्तिभन्दा पनि रूस विजयी भयो भने युरोपलगायत विश्वभरि स्थिरता छाउने छ । त्यसैले उसलाई फ्रान्सले स्वागत गर्नुपर्छ । त्यसैले फ्रान्सले सोभियत सङ्घको पक्ष लिन्छ । यसले गर्दा अरूसँगको फ्रान्सको सम्बन्ध बिथोलिने छैन । निर्णायक घडीमा फ्रान्स नयाँ रूसको पक्षमा रहनेछ । पीडा खेपिरहेको फ्रान्स पीडा खेपिरहेकै रूसको साथमा छ । लडिरहेको फ्रान्स लडिरहेकै रूसको साथमा छ । निराशाबीच डुबिरहेको फ्रान्स कालरात्रीबाट माथि उक्लेर उज्यालो नियालिरहेको रूसको साथमा छ ।”
भावुक भाषा बोल्ने दे गाल एकदम व्यावहारिक थिए । सोभियत सङ्घ र फ्रान्सबीचको सम्बन्धले गर्दा पेट पोलेकाहरूलाई उनले देशघाती भने । उनले भने – “ती विश्वासघातीहरू युद्धमा रुसी विजयले फ्रान्समा सामाजिक उथलपुथल होला भनी तर्सिन्छन् । यो फ्रान्सेली जनताको अपमान हो । आफ्नो देशमा कस्तो शासन ल्याउने भन्ने कुरा जनताकै हातमा छ ।” दे गाललाई बेलायती एजेन्ट, मस्कोको एजेन्ट भन्ने गरिन्थ्यो । यस्तो माहोलमा उनको यो विचारले फ्रान्सेली पुँजीपतिलाई सान्त्वना दियो । उनले कुनै सामाजिक उथलपुथल हुन नदिने वचन दिए । उनी सशक्त सत्ता र सामहिक नेतृत्व दिने संसद्को पक्षमा थिए ।
अमेरिका र बेलायत
रूसी विजय नभइकन दे गालका सबै विचार दिवास्वप्न मात्र हुने थिए । त्यसैले रूसलाई उनले पश्चिमविरुद्ध विशेष महत्व दिइरहे । रूसले दे गाल र उनको समितिलाई मान्यता दियो । संरा अमेरिकाले उनको समितिलाई होच्यायो । पेताँको फ्रान्समा अमेरिकाले राजदूत राखेको थियो । फ्रान्सको अस्तित्व हराएर जानेछ भन्ने शैलीमा अमेरिकाले व्यवहार गर्दै थियो । अमेरिकी राष्ट्रपति रुजवेल्टले दे गाललाई रुचाउन्नथे । पर्ल हार्बरमाथिको जापानी आक्रमणपछि अमेरिका युद्धमा आयो । तर, उसको फ्रान्सेली नीतिमा कुनै हेरफेर आएन । क्यानडानजिकै फ्रान्सका केही टापुहरू थिए । सन् १९४१ डिसेम्बर २४ मा एडमिरल मुसेल्येको नेतृत्वमा फ्री फ्रेन्च जहाजहरू त्यहाँ पुगे र त्यसलाई दे गालको झन्डामुनि ल्याए । यसले अमेरिका चिढियो । उसले दे गालको सेनालाई खेद्ने बतायो । निडर दे गालले अमेरिकीसँग लड्नुपरे लड्ने बताए । अमेरिका हच्कियो तर दे गालसँग ऊ झन् रिसाउन थाल्यो । प्रशान्त महासागरका फ्रान्सेली टापुहरूमा पनि अमेरिकासँग दे गालको खटपट भयो । अमेरिकाले दे गालविरोधी भावना फैलाइरह्यो । दे गालले भने भिशेबाट मुक्त गरेको भूभागमा ‘फ्री फ्रेन्च’ को अधिकारलाई अमेरिकाले मान्यता देओस् भन्ने चाहिरहे । अमेरिकाले उनले चाहेजस्तो ग¥यो । तर, ती स्थानलाई आफ्नो सैन्य अखडा वा आधार इलाका बनाउने कुनियतले अमेरिकाले त्यस्तो मान्यता दिएको थियो ।
अमेरिकी दोहोरो चरित्रबारे दे गालले सोभियत राजदूतलाई सन् १९४२ को जनवरीमा भने – “म फ्रान्सलाई मुक्त गर्न चाहन्छु, जर्मनीविरुद्धको युद्धलाई नयाँ सिराबाट सुरु गर्न चाहन्छु । तर उनीहरू मलाई फ्रान्सेली टापुहरू परित्याग गर्न भनिरहेका छन् । नत्र उनीहरूले युद्धबाट पछि हट्ने कुरा गर्छन् । यो अमेरिकी नीतिपछाडि एउटा रहस्य छ । अमेरिका र पेताँबीच गोप्य सम्झौता भएको छ । सम्झौताअनुसार पेताँले उत्तर अफ्रिकाको फ्रान्सेली जलबेडा र आधार इलाकाहरू जर्मनीलाई दिनेछैनन् भने अमेरिकाले दे गाललाई अफ्रिकामा पस्न नदिने वचन दिएको छ । बेलायत अमेरिकी प्रभावमा छ । ती दुवै सोभियत सङ्घ र फ्रान्सविरुद्ध एउटा शक्तिशाली जर्मनी खडा गर्न चाहन्छन् । फ्रान्सेली टुकडीहरू लिएर म ट्युनिसिया पस्न खोजेँ भने बाइबल लिएको अमेरिका बाटोमा तगारो हालेर उभिनेछ भन्नेमा म ढुक्क छु । फ्रान्सेली जनताले अब बेलायत वा अमेरिकाले के भन्लान् भनी सोच्नेछैनन् । उनीहरू तपाईँहरूतिर हेर्दै छन्, सोभियत सङ्घतिर फर्किँदै छन् ।”
त्यसबेला सबैले सोभियत सङ्घतिर हेर्दै थिए । सोभियत सङ्घमाथि जर्मन आक्रमणपछि युद्धको धार फेरिने अनुमान सर्वत्र थियो । दे गालजस्ता दक्षिणपन्थीहरूले पनि रूसकै बाटो हेरिरहेका थिए । चर्चिल झन् दक्षिणपन्थी थिए । रूसी सेनाको बहादुरीको खुब तारिफ गरे पनि चर्चिलले सोभियत सङ्घलाई सघाउन सिन्को भाँचेनन् । दे गाल चर्चिलभन्दा अलग रहे । लन्डनमा बसेका अन्य देशका धेरै सरकार प्रमुखले सोभियत रूसप्रति पूर्वाग्रह राखेका थिए । तर, विविध परिबन्दबीच यथार्थवादी बन्दै दे गालले रूसको पक्ष लिए ।
वास्तविक प्रतिरोध
दोस्रो विश्वयुद्धताका ‘प्रतिरोध’ शब्द प्रयोग गर्ने दे गाल पहिलो व्यक्ति थिए । जर्मनीविरुद्ध लडाउन नियमित फ्रान्सेली सेना खडा गर्ने मनसायले उनले यो शब्दको प्रयोग गरेका थिए । तर, फ्रान्सका जनता मित्र देशको सहयोग पर्खिने पक्षमा थिएनन् । उनीहरू स्वतःस्फूर्त नाजी सेना र भिशे सरकारविरुद्ध लडाइँमा उत्रे । यो नै पिल्सिँदो फ्रान्सको वास्तविक प्रतिरोध युद्ध थियो । दे गालले त्यो युद्धबारे जानकारी बटुल्दै गए । वास्तविक लडाईँबाट अलग्गिएमा आफू शरणार्थी झुन्डको नाइके बन्ने र आफ्नो राजनीतिक लक्ष्य पूरा नहुने उनले महसुस गरे । यसै पनि दे गालले वास्तविक फ्रान्सको प्रतिनिधित्व नगर्ने प्रचारबाजी बेलायत र अमेरिकाभरि थियो ।
फ्री फ्रेन्च आन्दोलन थालेको पहिलो वर्ष दे गालले मातृभूमिमा भइरहेको प्रतिरोध सङ्घर्षसँग सम्बन्ध बढाउन केही पनि गरेनन् । लन्डनमा दे गालले समर्थन पाएका थिए, तर मातृभूमिमा उनका सहयोगीहरू थिएनन् । त्यसबेलासम्म फ्रान्समा थरीथरी प्रतिकार समूहहरू बनिसकेका थिए । जर्मनीको कब्जापछि नै यस्ता समूहहरू बन्न थालेका थिए । फ्रान्स दुई भागमा विभाजित थियो । उत्तरी भाग जर्मनहरूले कब्जा गरेका थिए । दक्षिणमा पेताँ सरकारको शासन थियो । राजधानी पेरिस उत्तरमा थियो । दक्षिण भागमा लियोन सहर प्रतिकार युद्धको केन्द्र थियो । जर्मनको प्रतिक्रियावादी गेस्टापो लठैतका कारण उत्तरमा प्रतिकार सङ्घर्ष जटिल थियो । तैपनि त्यहाँ अनेक भूमिगत सङ्घर्ष समूहहरू बनेका थिए । यस्ता समूहहरू फुट्ने–गाभिने, बन्ने–भत्किने भइरहन्थ्यो । यी देशभक्त योद्धाहरूका समूहहरू गोप्य काममा खप्पिस हुन्थे । उनीहरूलाई एकअर्काबारे अक्सर थाहा हुन्नथ्यो । फरक वर्ग, राजनीतिक विचार, पेशा वा उमेर समूहका मानिसहरू प्रतिकारमा उत्रेका थिए । धेरैजसो मजदुर, किसान, पादरी, शिक्षक, विद्यार्थी, घरेलु महिला र अफिसरहरू थिए । फ्रान्सेली इतिहासको चिनो यही थियो । देशप्रतिको माया र विदेशी हस्तक्षेपकारीहरूप्रतिको घृणा तिख्खर भएको थियो । फ्रान्सेली स्वतन्त्रता सङ्ग्रामीहरूको प्रवाह बढिरहेकोबारे सहर्ष लेखे – “फ्रान्स तनावग्रस्त र अपमानित भएको बेला कामदार वर्गमात्र पूर्णतः देशप्रति बफादार रह्यो ।”
प्रतिरोध सङ्घर्षमा कामदार वर्गको सहभागिताले कम्युनिस्ट पार्टीको महत्व बढ्यो । कम्युनिस्ट पार्टीमाथि सन् १९३९ मै प्रतिबन्ध लागेको थियो । धेरै कम्युनिस्टहरू थुनामा थिए, कतिपय मारिएका थिए । तैपनि कम्युनिस्टहरू नै प्रतिकारमा सबैभन्दा सक्रिय र जुझारू साबित भएका थिए । कम्युनिस्टहरू नै प्रतिकारका जग, मुटु र आत्मा थिए । दे गालका एक नजिकका सहयोगीले युद्धपछि लेखे – “शत्रुले कब्जा गर्दैगर्दा लामो समयसम्म फ्रान्सेली कम्युनिस्ट पार्टी एकमात्र सुदृढ राजनीतिक सङ्गठन साबित भयो । त्यसको संरचना सुगठित थियो । त्यसका सदस्यहरू एकदम अनुशासित थिए । उनीहरू एकदम सिद्धान्तनिष्ठ थिए । यी सबै विशेषताले गर्दा आक्रमणकारीहरूमाथि चोटिलो प्रहार गर्न ऊ सफल भयो । समग्र पार्टी केन्द्रीय समितिबाट निर्देशित हुन्थ्यो र शत्रुको पन्जाबाट सधँै उम्किन्थ्यो । प्रतिकार समूहहरूको गठनमा फ्रान्सेली कम्युनिस्ट पार्टीले ठूलो भूमिका खेल्यो ।”
समाजवादीहरूले पनि धेरथोर प्रतिकारमा योगदान दिए । तर, उनीहरूमध्ये धेरैजसो पछि फासीवादी भिशे सत्तापछाडि लागे । केही त प्रतिगामी पेताँका मन्त्री पनि भए । रेडिकल (परिवर्तनवादी) नामको पुरानो पार्टी पहिले प्रतिगामी म्युनिखपन्थी बाटोमा थियो । पछि त्यसले भिशे सरकारलाई समर्थन दियो । त्यस्तै, केही धार्मिक समूहहरू पनि प्रतिरोध सङ्घर्षमा थिए । मजदुरहरूका टे«ड युनियनहरूले सङ्घर्षमा मुख्य भूमिका खेले । यसप्रकार प्रतिरोध सङ्घर्ष अनेक सामाजिक, राजनीतिक तह र स्तरको समन्वयमा थियो ।
प्रतिरोध सङ्घर्षको एकीकरण
सन् १९४१ मा दे गालले प्रतिकार समूहहरूसँग सम्पर्क राख्न खोजे । यसको लागि उनले अनेक सङ्घसंस्थासँग सम्बन्ध बढाउनुपर्ने भयो । लन्डनको बसाइ यो काम गर्न लाभदायी रह्यो । विदेशमै रहेकोले प्रतिरोध सङ्घर्षका आन्तरिक उतारचढाव र अन्तरविरोध देख्न दे गाललाई सजिलो भयो । दे गालको ‘फ्री फ्रेन्च’ आन्दोलन र प्रतिरोध सङ्घर्षबीच कहिल्यै पूर्ण तालमेल भएन । दे गालको आन्दोलन र प्रतिकार समूहहरूको फरक राजनीतिक एवम् सामाजिक पृष्ठभूमिले गर्दा यो स्वाभाविक थियो । दे गाल समग्र प्रतिरोध सङ्घर्षलाई एउटै धागोमा उन्न चाहन्थे र त्यसको कमान आफै सम्हाल्न चाहन्थे । यसको लागि प्रतिकार समूहहरूले केही समयलाई आफ्नो गतिविधि र कारबाहीहरू रोक्नुपथ्र्यो र दे गालको आदेश पर्खिनुपथ्र्यो । यो कुरा प्रतिकार समूहहरूलाई मञ्जुर भएन । खासमा उनीहरू दे गालको सैन्य रणनीति बुझ्ने स्थितिमा थिएनन् । उनीहरूलाई दे गालका गुप्तचर प्रमुखको सुराकी मात्र बनिने डर थियो । त्यस्तै, प्रतिकारका नेताहरू दे गालको शक्ति बढाउने मोहरा बन्ने उनीहरूको आशङ्का थियो । त्यसैले दे गालको सल्लाहलाई बेवास्ता गर्दै उनीहरूले फासीवादविरोधी लडाइँ जारी राखिरहे ।
अन्ततः दे गालले अनेक प्रतिकार समूहहरूसँग सम्पर्क कायम गरे । लड्दैपढ्दै उनीहरूले रणनीति निर्माणमा दे गालले दिएको जोडको अर्थ बुझे । फेरि उनीहरूलाई हतियार र पैसाको अभाव अचाक्ली थियो । यस्ता सहयोगहरू दे गालले मात्र दिन सक्थे । त्यसैले भूमिगत आदानप्रदान जतिसुकै सकसपूर्ण भए पनि सम्पर्कहरू बाक्लिन थाले । केही भूमिगत नेताहरूको समर्थन दे गालको लागि महत्वपूर्ण हुने निश्चित थियो । तर, भूमिगत नेताहरू दे गालले पठाउने गुप्तचर वा अफिसरहरूलाई रुचाउन्नथे । यस्तोमा ज्याँ मौलीँ कारगर साबित भए । उनी जर्मन कैदमा परिसकेका व्यक्ति थिए । भिशे सरकारले सरकारी ओहोदाबाट निकाला गरेपछि उनले एउटा भूमिगत प्रतिकार समूह गठन गरेका थिए । प्रतिरोध सङ्घर्षमा देखिएको टुटफुटबाट आजित भएका उनले सङ्घर्षलाई एकीकृत गर्ने आवश्यकता देखे । उनले केही प्रतिकार समूहका नेताहरूको मन जिते । उमेरले सानै भए पनि उनमा गहिरो राजनीतिक अनुभव थियो । उनले प्रशासनमा काम गरेका थिए र कम्युनिस्टहरूसँग उनको नजिकको सम्बन्ध थियो । सन् १९४१ अक्टोबरमा ज्याँ मौलीँ लन्डन गए र दे गाललाई प्रतिरोध सङ्घर्षबारे विस्तृत जानकारी दिए । १९४२ जनवरीमा बेलायती विमानबाट प्यारासुटबाटै ओर्लेर ज्याँ मौलीँ प्रतिगामी भिशेशासित दक्षिणी भेगमा गए । त्यहाँ उनले केही मुख्य सङ्गठनहरूलाई जोडेर संयुक्त प्रतिरोध आन्दोलन नामक सङ्गठन बनाए । प्रतिरोध सङ्घर्षका धेरैजसो नाइकेहरूले उनलाई दे गालको दूत ठान्थे । नयाँ सङ्गठनलाई लन्डनमा समग्र प्रतिरोध सङ्घर्षको सर्वोच्च निकायको रूपमा प्रस्तुत गरियो । तर, कामले त्यो खालि सम्पर्क वा मध्यस्थतामा मात्र समिति थियो । त्यसले पैसा, हातहतियार आदि वितरण गथ्र्यो । यसरी ज्याँ मौलीँ ‘फ्री फ्रेन्च’ र प्रतिरोध सङ्घर्षलाई एकीकरण गर्न सफल भए ।
एकीकरणकै क्रममा समाजवादी र कम्युनिस्टहरूसँग पनि सम्पर्क स्थापित भयो । समाजवादी ट्रेड युनियनका नेता पिनेउसँगको छलफलमा दे गालले फासीवादी पेताँ र नाजी जर्मनीको बदख्वाइँ गरे । यसको अर्थ दे गालले संसदीय प्रजातन्त्र र लोककल्याणकारी व्यवस्थाको विरोध गर्छन् भन्ने पिनेउको बुझाइ रह्यो । उनी लन्डनबाट फर्किने बेला दे गालले पेताँ र नाजी सरकारलाई एउटै आँखाले नहेर्ने बताए । बरु, उनले प्रजातान्त्रिक स्वतन्त्रता र सामाजिक सुधारप्रति प्रतिबद्धता जनाए । अन्य समाजवादी नेताहरूको पनि दे गालसँग मतभेद रह्यो । ‘दिआस्तेयर’ नाउँका एक प्रतिरोध सङ्घर्षका नेताले प्रतिरोध आन्दोलनले प्रजातान्त्रिक र कम्युनिस्ट शक्तिहरूलाई एकजुट बनाउनुपर्ने आवश्यकता देखे । अनुभवबाट उनी यो निष्कर्षमा पुगेका थिए । त्यसैले उनले दे गाललाई भेट्नुअघि बेलायती र फ्रान्सेली गुप्तचरहरूबारे केरकार गरे । कसैलाई नपत्याउने दे गालको व्यवहार उनलाई जाती लागेन ।
दे गालको पन्छ्याइँ
जनतामा भर नपरी कुनै पनि राजनीतिक उद्देश्य पूरा हुन सक्दैन । त्यसैले दे गालले आफ्नो विचारमा बिस्तारै परिवर्तन गरे । आफ्ना भाषणहरूमा उनले क्रान्ति, वर्ग, कामदार जनताजस्ता शब्दहरू प्रयोग गर्न थाले । सन् १९४२ को अप्रिलमा उनले भने – “आफ्नो शासक र कुलीन वर्गले धोका दिएपछि फ्रान्समा इतिहासकै महान् क्रान्ति हुँदै छ ।” शत्रु र धोकेबाजहरूबीच रहेर फ्रान्सेली कामदार जनताले प्रतिरोधको नमुना पस्किरहेका छन् । जेजस्तो आइलागे पनि उनीहरूले फ्रान्सेली जनताको अभिमान र गरिमाको रक्षा गरिरहेका छन् । त्यसैगरी २३ जून १९४२ मा एक भूमिगत पत्रिकाले युद्धपछि फ्रान्सेली जनताको उद्देश्य के हुने भनी तयार पारिएको दे गालको घोषणापत्र छाप्यो । घोषणपत्रमा फ्रान्स मुक्त भएपछि राष्ट्रियसभाको चुनाव हुने र त्यस सभाले नै फ्रान्सको भाग्य निक्र्योल गर्ने लेखिएको थियो । साथै, दे गालले व्यक्तिगत स्वतन्त्रतासँगै सबैलाई सामाजिक न्यायको प्रत्याभूति दिलाउने विचार अघि सारेका थिए ।
जुलाई २७ मा समाजवादी नेता आन्द्रे फिलिपलाई मन्त्री बनाइयो । उनलाई राजनीतिक मामिला र पासीलाई सैन्य क्षेत्रको जिम्मेवारी दिइयो । दे गाल सबैभन्दा माथिका हर्ताकर्ता बने । प्रतिकार समूहहरूलाई एकजुट पार्ने प्रयास चलिरहेको थियो । तर, कम्युनिस्ट पार्टीको प्रतिरोध मोर्चा अझै बाहिर थियो । कम्युनिस्ट पार्टीको सैन्य सङ्गठनलाई एफटीपीएफ भनिन्थ्यो । कम्युनिस्ट पार्टीले सम्पूर्ण प्रतिरोधी शक्तिहरू एकगठ हुनुपर्ने औँल्यायो । यसको लागि उसले दे गालको नेतृत्व पनि स्वीकार्न तयार भयो । यस्तो व्यहोरासहित कम्युनिस्ट पार्टीले दे गालसामु प्रस्ताव पनि पठायो । तर, दे गालले त्यसको उत्तर दिएनन् । उनलाई सङ्घर्षमा कम्युनिस्टहरूको हात माथि पर्ला भन्ने डर थियो ।
यसरी सङ्घर्षको दोस्रो वर्ष सकिँदै गर्दा दे गालले समाजवादीहरूसँग हात मिलाए तर कम्युनिस्ट पार्टीको सहयोग लत्याए । देशभित्र चलिरहेको प्रतिरोध सङ्घर्ष दे गालको उद्देश्य थिएन । बरु ‘फ्री फ्रेन्च’ सङ्गठनलाई ठूला शक्तिहरूबीच स्थापित गर्नु नै उनको ध्येय थियो । सोभियत सङ्घसँगको सम्बन्ध स्थापित गर्नुबाहेक दे गालले अरू केही गर्न सकेनन् । सिरिया र लेबनानबाट सन् १९४१ को सेप्टेम्बरमा लन्डन फर्केपछि उनले चर्चिलबाट चिसो व्यवहार भोगे । केही समयलाई चर्चिलले उनीसँग भेट्न पनि चाहेनन् ।
प्रस्तुती :सुरेन
Leave a Reply