के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
स्तालिनको स्वाभाविक मृत्यु होइन, हत्या गरिसकेपछि पनि साम्राज्यवादीहरू र कम्युनिस्ट लुगामा पुँजीवादी संशोधनवादीहरूले सोभियत कम्युनिस्ट पार्टी र सरकारका नेताहरूलाई समेत कुटिल नीति प्रयोग गर्दै एक–एक गरेर मार्दै आपसमा भिडाए र पार्टीबाट निकाले । अन्ततः समाजवाद र कम्युनिस्ट पार्टीलाई विघटनपछि सोभियत सङ्घलाई नै विशृङ्खलित पारे । देखिने शत्रुहरूभन्दा लुकेका शत्रुहरू झन् डरलाग्दा हुन्छन् भन्ने उखान त्यसैकारण पुस्तौँपुस्तादेखि समाजमा प्रचलित हुँदै आएको छ ।
हरेक देशमा चाणक्यजस्ता कुटिल राजनीतिज्ञहरू हुन्छन्, कोही समाजवादको पक्षमा हुन्छन् भने कोही समाजवादको विरोधमा हुन्छन् । माओ त्से तुङले भन्नुभएजस्तै ‘गोलीले जित्न नसकिने कम्युनिस्टहरूलाई चास्नी पोतेको गोलीले जित्छन् ।’
शत्रुको प्रशंसा, उपहार र आर्थिक सहयोग (घुस, छात्रवृत्ति, नातागोतालाई पुँजीवादी देशहरूका कम्पनीहरूका एजेन्ट बनाउँदै) बाट टाढा नरहने हो भने कुनै पनि देशका राजनीतिक दलका नेता र कार्यकर्ताहरू शत्रुका जाल र षड्यन्त्रबाट जोगिने छैनन् । आफ्नै देशका कर्मचारीतन्त्र र पार्टीका नेताहरूमार्फत पद र पैसाको जोहो गरेर एक–एक जना नेता र कार्यकर्ताहरूलाई हुर्मत लिँदै जनताको सामुन्ने पत्रु बनाई देशको राजनैतिक मञ्चबाट दुधको झिङ्का जस्तै फाल्नेछन् । देशको स्वतन्त्रता र सार्वभौमिकता नै समाप्त हुने खालका गतिविधि बढाउनेछन् ।
गोर्भाचोभले प्रस्टै भने, उनको जीवनकै उद्देश्य ‘समाजवाद र कम्युनिस्ट पार्टीलाई विघटन गर्ने तथा सोभियत सङ्घलाई विशृङ्खलित पार्ने’ हो । घुस, पदलोलुपता र आलोचना–आत्मालोचना एवम् सैद्धान्तिक सङ्घर्षलाई पार्टीभित्र बरोबर चलाउँदै नगए कम्युनिस्ट पार्टी कम्युनिस्ट रहने छैन भन्ने उदाहरण सोभियत सङ्घको पतन र रुसमा पुँजीवादको पुनस्र्थापनापछि पूर्वी युरोपेली समाजवादी देशहरूको रङ्क फेराईबाट प्रस्ट हुन्छ । स्वाभाविकरूपले र सरलताबाटै समाजवादको स्थापना हुन्छ भन्ने युरोपेली देशहरूका कम्युनिस्ट दलहरू पनि सुक्दै गए । सङ्घर्षहीनताको परिणाम यस्तै हुन्छ ।
यसकारण, नेपालका प्रगतिशील नयाँ पुस्तालाई विभिन्न देशका उत्थान र पतनका विषयमा अध्ययन र अध्यापन गराउन स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनको ‘स्तालिनसँग’ भन्ने संस्मरण अत्यन्त महत्वपूर्ण संस्मरण हो । यसको अनुवाद गर्ने युवा साथीहरू धन्यवादका पात्र हुन् ।
नयाँ युवा साथीहरूलाई स्तालिन को हुनुहुन्थ्यो भन्नेबारे र उहाँको योगदानबारे स–साना ऐतिहासिक घटनाहरू बताउने उद्देश्यले स्तालिनका महत्वपूर्ण घटनाहरूलाई छोटोमा उल्लेख गरिएको हो ।
त्यस्तै, सोभियत सङ्घको समाजवादी क्रान्ति र समाजवादको रक्षाको निम्ति सङ्घर्ष गर्ने नायक र खलनायकहरूको पनि स–साना परिचय राख्नु सान्दर्भिक देख्छु ।
स्तालिन एक पार्टी कार्यकर्ताको रूपमा
रूसको दक्षिण–पश्चिम भागको ककेसियामा सन् १८७९ अर्थात् १४२ वर्ष पहिले जन्मनुभएका स्तालिनको बालक बेलाको नाम शोशो थियो । एक गरिब किसान परिवारमा जन्मनुभएका स्तालिनको सानैमा बुबाको देहान्त भयो र आमाबाट हुर्काइनुभयो । १५ वर्षको उमेरमा उहाँलाई एक धार्मिक विद्यालयमा भर्ना गरियो ।
तिफलिस त्यसबेला जर्जियाको राजधानी थियो । त्यहाँ रेल पुग्यो, कल–कारखानाहरू पनि खुले, स्कूल–कलेजहरू पनि स्थापना भए । मजदुर सङ्कठनहरू पनि बिस्तारै स्थापना भए । गुप्तरूपले माक्र्सवादी अध्ययन गोष्ठीहरू सक्रिय भए, समाजवाद चाहने क्रान्तिकारी मजदुर सङ्कठनहरू पनि भित्र–भित्र काम गर्न थाले । शोशो पनि त्यस्ता माक्र्सवादी अध्ययन गोष्ठीमा सामेल हुनुभयो, मेहनती विद्यार्थी हुँदा माक्र्स–एँगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ देखि ‘पुँजी’ भन्ने पुस्तक समेत अध्ययन गर्न थाल्नुभयो ।
शोशोको गतिविधि र पाठ्य सामग्रीबाट राजा जारको गुप्त प्रहरी उहाँको कोठामा पुग्यो । त्यस बेलासम्म उहाँ मजदुरहरूको एक युवा शिक्षकको रूपमा परिचित भइसक्नुभएको थियो । साथीहरूसँग मिलेर उहाँले ‘सङ्घर्ष’ भन्ने एक पत्रिका प्रकाशित गर्नुभयो । सन् १९०२ मा उहाँ पहिलो पटक २३ वर्षको उमेरमा पक्राउ पर्नुभयो । त्यसपछि उहाँ बारम्बार पक्राउ पर्नुभयो र कालापानी भन्ने साइबेरियाका गाउँ र दुर्गम क्षेत्रमा निर्वासनमा पठाइनुभयो । निर्वासनबाट पनि उहाँ बरोबर फुत्किरहनुहुन्थ्यो र आफ्नो कर्मक्षेत्र मजदुर सङ्घर्षमा पुग्नुहुन्थ्यो ।
स्तालिनले ‘सर्वहारा सङ्घर्षका अग्रदूत’ नामका समाचारपत्र र आफ्नै सम्पादनमा प्रकाशित ‘सर्वहारा सङ्घर्ष’ मा पनि विभिन्न सैद्धान्तिक रचनाहरू लेख्नुहुन्थ्यो । सन् १९०५ को ९ जनवरीको आइतबारको दिन आफ्नो मागलाई लिएर ग्यापोन भन्ने एक धार्मिक नेताको अगुवाईमा दरबारमा प्रदर्शन गर्न गराका निःशस्त्र हजारौँ जनतामाथि राजा जारको शासनले गोली काण्ड गराएको थियो ।
सन् १९०५ डिसेम्बर महिनामा रूसी बोल्शेविकहरूको पहिलो राष्ट्रिय सम्मेलन फिनल्यान्डमा भयो । त्यहीँ स्तालिनले लेनिनसँग भेट गर्नुभएको थियो । सम्मेलनको निम्ति राजनैतिक दस्तावेजको खेस्रा लेनिन र स्तालिन मिलेर गर्नुभयो ।
१९०६ अप्रिल महिनामा पार्टीको चौँथो महाअधिवेशन स्वीडेनको राजधानी स्टकहोममा भएको थियो । स्तालिनले लेनिनसँग मिलेर मेन्सेविकहरूको फितलो नीतिको खण्डन गर्दै भन्नुभयो, “पार्टीभित्रको मुख्य विवाद सर्वहारा वर्गको प्रभुत्व हो वा प्रजातन्त्रवादी पुँजीपति वर्गको हो भन्ने प्रश्नमा हो ।”
सन् १९१२ जनवरी महिनामा प्रागमा बोल्शेविक पार्टीको छैटौँ सम्मेलन भयो र जारको दमनचक्रबाट पार्टीलाई जोगाउन सम्मेलनको बैठकले कानुनी र गैर–कानुनी सङ्घर्ष गर्ने निर्णय ग¥यो तथा मेन्सेविकहरूलाई पार्टीबाट निकाला ग¥यो । मेन्सेविकहरू (अल्पमत) भई पराजित भएको र बहुमत भएका ‘रूसी समाजवादी प्रजातान्त्रिक मजदुर पार्टी’ लाई बोल्शेविक नाम राखियो । देशभित्र व्यावहारिक काम गर्न स्तालिनको नेतृत्वमा एक केन्द्रीय समिति बनाइयो ।
सन् १९१२ मा चौँथो संसद् (ड्यूमा) को निर्वाचन भएको थियो । त्यस निर्वाचनमा ६ जना ‘बोल्शेविक’ मजदुर प्रतिनिधिले १० लाख मत प्राप्त गरेका थिए भने ७ जना मेन्सेविक प्रतिनिधिले मात्र २ लाख मत पाएका थिए । त्यस संसदीय निर्वाचनको निर्देशन स्तालिनले गर्नुभएको थियो । तर, त्यस बोल्शेविक प्रतिनिधिहरूमध्ये मेलिनोभ्स्की नामको एकजना सरकारी गुप्तचर थियो । उसले सच्चा र सक्रिय कार्यकर्ताहरू पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको विषय धेरैपछि मात्र पार्टीलाई थाहा भयो ।
फेबु्रअरी १९१३ मा पोल्यान्डको काक्रो भन्ने सहरमा पार्टीको केन्द्रीय समितिको बैठक भएको थियो, त्यस बैठकमा संसद्का जनप्रतिनिधिहरूले पनि भाग लिएका थिए । त्यसैबेला लेनिन र स्तालिनले पार्टीको गम्भीर विषयमा छलफल गर्ने अवसर पाउनुभएको थियो ।
स्तालिन, प्रहरी, जेल र कालापानी
२५ मार्च १९०१ मा स्तालिन २२ वर्षका युवा हुनुहुन्थ्यो । प्रहरी उहाँको कोठामा पुग्यो । पहिलो चोटी उहाँ पक्राउबाट बच्नुभयो र भूमिगत भई पूर्णकालीन कार्यकर्ता बन्नुभयो । बाकु क्षेत्र सर्वहारा वर्गको गतिविधिको एक केन्द्र बन्यो ।
२ अप्रिल १९०२ बाटुम सहरका ठाउँ–ठाउँमा ‘मुख्य व्यक्ति’ समात्न प्रहरीले छापा मार्दै गर्दा स्तालिन २३ वर्षको उमेरमा पहिलो पटक पक्राउ पर्नुभयो र बाटुम जेलमा थुनिनुभयो । जेलमा पनि आफ्नो राजनैतिक गतिविधिका कारण उहाँ बरोबर जेल सरुवामा पर्नुभयो ।
सन् १९०३ मा स्तालिनलाई पुर्वी साइबेरियाको इर्खुटस्क प्रान्तमा ३ वर्षको निम्ति कालापानीमा पठाइयो ।
५ जनवरी १९०४ मा उहाँ पार्टी सङ्कठनको विकासको निम्ति कालापानीबाट बेपत्ता हुनुभयो । २ वर्षको जेलपछि पुनः ककेसियाको बाटुम र तिफलिसमा सक्रिय हुनुभयो ।
२५ मई १९०८ मा उहाँ पुनः पक्रिनुभयो र आठ महिना जेलमा थुनिनुभयो । त्यसपछि उहाँ भोलाग्दा प्रान्तमा दुई वर्षको निम्ति निर्वासनमा पठाइनुभयो ।
२४ जून १९०९ मा निर्वासनबाट उहाँ गायब भई बाकुमै भूमिगतरूपले सक्रिय हुनुभयो । त्यसबेला उहाँ २९ वर्षको युवा हुनुहुन्थ्यो ।
२३ मार्च १९१० मा स्तालिन फेरि पक्राउ पर्नुभयो र ६ महिना जेलमा थुनिनुभयो । आफ्नो अध्ययन र सङ्कठनको काम चालु राख्नुको कारण उहाँलाई पाँच वर्षको निम्ति कालापानीको निर्वासनमा पठाइयो ।
लेनिनले पार्टीभित्रको गन्जागोलबारे स्तालिनलाई पत्र पठाउनुभयो र ६ सेप्टेम्बर १९११ मा कालापानीबाट गायब भई अर्को मजदुर सङ्घर्षको नगर सेन्ट पिटर्सवर्ग पुग्नुभयो ।
९ सेप्टेम्बरको दिन उहाँ पुनः पक्राउ पर्नुभयो र पहिलेकै कालापानीमा निर्वासित गरिनुभयो ।
कालापानीबाट क्रान्तिमा
२९ फ्रेबुअरी १९१२ को दिन निर्वासनबाट भाग्न सफल हुनुभयो र पिटर्सवर्गको पार्टी केन्द्रीय समितिको काम सम्हाल्नुभयो ।
२२ अप्रिल १९१२ मा स्तालिन सेन्ट पिटर्सवर्गमै पक्रिनुभयो र केही महिना जेलमा थुनिनुभएपछि ३ वर्षको निम्ति निर्वासनमा पठाइनुभयो । क्रान्तिकारीहरूको निम्ति टाढा र नजिकको अर्थ हुने गर्दैन, त्यस्तै गा¥हो र सजिलोको कुरा पनि हुन्न । खाली सङ्घर्षप्रति समर्पणको भावनाले काम गर्छ ।
१ सेप्टेम्बर १९१२ मा स्तालिन निर्वासनबाट सरकारको आँखा छलेर अचानक पुनः सेन्ट पिटर्सवर्ग जस्तो सङ्घर्षको थलोमा पुग्नुभयो । उहाँ त्यसबेला ३३ वर्षको हुनुहुन्थ्यो ।
स्तालिन २२ फेब्रुअरी १९१३ मा सेन्ट पिटर्सवर्गमा पार्टी कार्यालयमा ‘प्राब्दा’ प्रकाशनको निर्देशन दिँदै हुनुहुन्थ्यो, भवनमा जारका गुप्तचरहरू घुसिसकेका थिए । उहाँ पक्राउ पर्नुभयो र ४ वर्षको निम्ति दुरुखान्सको कोस्तिनो कालापानीमा निर्वासित हुनुभयो । बरोबर निर्वासनबाट अलप हुनाको कारण उत्तरी ध्रुवको सुमेरुको कुरिया भन्ने ठाउँमा सरुवा गरिनुभयो । त्यो ठाउँ मस्कोबाटै ५–६ हजार माइल टाढा थियो । तर, लेनिनसँग पत्रद्वारा सम्पर्क भइरहेको थियो ।
सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भयो । लेनिन स्वीजल्यान्डमा हुनुहुन्थ्यो । दोस्रो इन्टरनेसनलका नेताहरूले आ–आफ्नो पुँजीवादी सरकारको समर्थन गरेको हुँदा लेनिनले त्यस अन्ध–राष्ट्रवाद र बडा–राष्ट्रवादको खण्डन गर्नुभयो । सन् १९१५ मा कालापानीमा स्तालिनले बन्दी बोल्शेविकहरूको बैठक गर्नुभयो । तर, पार्टीभित्रै मिलिनोभ्स्की जस्ता जासुसहरू हुँदा स्तालिनलाई जार सरकारले थप कडा पहरा राख्दै एभिन्समा सरुवा ग¥यो । जार सरकार युद्धमा हार्दै थियो । देशको विभिन्न ठाउँमा मजदुर हडताल चर्किँदै थियो । २६ फेबु्रअरी १९१७ मा मजदुर वर्गको विद्रोह सुरु भयो । २७ फेब्रुअरीको दिन ६० हजार सरकारी सेना जनतासँग मिल्न गए । सबै मन्त्रीहरू पक्राउ परे । जार सरकारको पतन भयो । रूसमा पुँजीवादी क्रान्ति सफल भयो । राज–बन्दीहरू सबै छुटे । १२ मार्चको दिन स्तालिन कालापानीबाट राजधानी सेन्ट पिटर्सवर्ग पुग्नुभयो ।
स्तालिन– एक माक्र्सवादी र लेनिनवादीको रूपमा
स्तालिन सुरुदेखि नै माक्र्सवादी साहित्य र दर्शनबाट प्रभावित एक युवक हुनुभएको हुँदा उहाँ भावुकताभन्दा विषयवस्तुको गहिराइमा जानुहुन्थ्यो । उहाँले माक्र्स–एँगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ देखि माक्र्सको ‘पुँजी ’को पनि गहिरो अध्ययन गर्नुभएको थियो ।
रूस विभिन्न जातजाति र भाषभाषीको देश हुँदा त्यहाँका जातिय वा राष्ट्रियताको प्रश्न महत्वपूर्ण थियो । यसकारण, स्तालिनले लेनिनकै निर्देशनमा त्यसबारे एक गहन रचना लेख्नुभयो । ‘माक्र्सवाद र अराजकतावाद’ देखि ‘लेनिनवादको मूल सिद्धान्त’, ‘लेनिनवादका समस्याहरू’ जस्ता गहन विषयमा पनि उहाँले महत्वपूर्ण विश्व सर्वहारा वर्ग र समाजवादको निम्ति बाटो देखाउनुभयो ।
यस अर्थमा स्तालिन सुरुदेखि नै रूसी कम्युनिस्ट पार्टीको निम्ति एक सशक्त सिद्धान्तकारको रूपमा प्रस्तुत हुनुभयो । सङ्घर्षकै सिलसिलामा उहाँले धेरै पत्रपत्रिकाको सम्पादन र प्रकाशनको चाँजोपाँजो मिलाएर मजदुर आन्दोलनलाई अगाडि बढाउनुभयो ।
रूसको अक्टोबर क्रान्ति
पुँजीपति वर्गको हितको निम्ति पुँजीवादी सरकारको माझमा सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भयो, त्यसमा जारको रूस पनि सामेल थियो ।
२७ फेब्रुअरी १९१७ मा २७ हजार सरकारी सेनाका जवानहरू क्रान्तिमा सामेल भएपछि परिस्थितिमा ठूलो उथलपुथल भयो । जारका सबै मन्त्रीहरू पक्राउमा परे, बन्दी क्रान्तिकारीहरू जेलमुक्त भए र जारतन्त्र फालिएपछि पुँजीवादी दलहरूको अस्थायी सरकार बन्यो, त्यसको पुँजीवादी नेता प्रधानमन्त्री रेकेन्स्की थिए ।
युरोपका ‘समाजवादी’ दलहरूले साम्राज्यवादी देशहरूको युद्धमा आ–आफ्नो सरकारको समर्थन गरे । नाम समाजवादी तर कामले साम्राज्यवादलाई समर्थन गर्ने ‘दोस्रो इन्टरनेसनल’ भन्ने अन्तर्राष्ट्रिय समाजवादी पार्टी र त्यसका नेताहरूलाई लेनिनले ‘समाजवादी साम्राज्यवादी’ भनी उदङ्ग्याउनुभयो ।
त्यस लेनिनवादी नीतिअनुसार बोल्शेविक पार्टीले आ–आफ्नो देशमा पुँजीवादी सरकारहरूको विरोधमा गृहयुद्ध गर्न आह्वान गर्ने निर्णय ग¥यो । कामेनेभले आफ्नो देशको पुँजीवादी सरकारलाई समर्थन गर्दै लेनिनवादी नीतिको विरोध गरे । मिलिनोभ्स्कीले पार्टी निर्णयलाई सरकारसम्म पु¥याए । अल्पमतमा परी निकालिएका मेन्सेविकहरूले पनि देशको ‘रक्षा गर्ने’ नाममा पुँजीवादी सरकारको समर्थन गरे ।
२४ अप्रिल १९१७ को दिन बोल्शेविक पार्टीको सातौँ सम्मेलन भयो र अन्तर्राष्ट्रिय पुँजी र सङ्कीर्ण राष्ट्रवादको विरोध गर्दै लेनिनले पुँजीवादी प्रजातान्त्रिक क्रान्तिलाई समाजवादी क्रान्तिमा फेर्ने सिद्धान्त प्रस्तुत गर्नुभयो ।
कामेनेभ, जिनोभित्र्, बुखारिन जस्ता नेताहरूले सिद्धान्तमा अडान नराख्ने दोधारे नेताहरूकोे विरोध गरेपनि सम्मेलनको बहुमत प्रतिनिधिहरूले प्रस्तावलाई समर्थन गरी पारित गरे । त्यस बैठकले एक राजनीतिक समिति निर्वाचित ग¥यो । स्तालिन पनि त्यस समितिको सदस्य चुनिनुभयो । लेनिन पेट्रोग्रादमा बसेर काम गर्ने निर्णय गरियो । लेनिन त्यसबेला ४७ र स्तालिन ३८ वर्षका हुनुहुन्थ्यो ।
२६ जुलाईदेखि ३ अगस्तसम्म पार्टीको आठौँ गुप्त महाअधिवेशन भयो । सोअनुसार स्तालिनले शान्तिको समय टुङ्ग्यो र अब सशस्त्र विद्रोहको समय आएको रिपोर्ट प्रस्तुत गर्नुभयो । त्रोत्स्कीहरूले पश्चिमी देशहरूमा समाजवादी क्रान्ति नभएसम्म रूसमा समाजवादी क्रान्ति नहुने कुतर्क प्रस्तुत गरे ।
स्तालिनले ‘युरोपको बाटोमात्र समाजवादको बाटो’ भन्ने विचार त्यागेर रचनात्मक माक्र्सवादको तर्क अगाडि सार्नुभयो । बैठकले बैङ्क र कलकारखाना राष्ट्रियकरण गर्ने, किसानहरूलाई निःशुल्क जग्गा प्रदान गर्ने नीति पारित ग¥यो । स्तालिनले गरिब किसानहरूलाई मजदुर वर्गको साथी र क्रान्तिको सहयोगीको रूपमा घोषणा गर्नुभयो ।
बुखारिनले किसानहरूसँगको मित्रतालाई विरोध गरे भने कामेनेभ, राइकोभ र त्रोत्स्कीहरू लेनिनलाई अदालतमा हाजीर गराउने पक्षमा थिए । तिनीहरू अस्थायी पुँजीवादी सरकारबाट लेनिनको हत्या गराउने षड्यन्त्र गर्दै थिए ।
बैठकले पार्टीको तलदेखि माथिल्लो सबै समितिहरू निर्वाचित गराउने, वर्गीय सङ्कठनहरूले पार्टीलाई सबै रिपोर्टहरू दिनुपर्ने र बहुमतको निर्णयलाई मान्नुपर्ने कडाइपूर्वक अनुशासन मान्ने, तल्लो समितिले माथिल्लो समितिको निर्णय मान्ने एवम् प्रजातन्त्र र केन्द्रीयताको नीति स्वीकार्नुपर्ने निर्णय ग¥यो । बैठकहरूमा लेनिन सिपाहीहरूले आ–आफ्नो देशको पुँजीवादी सरकारहरूलाई हराउन बन्दुकलाई आफ्नै देशमा सोझ्यानुपर्नेमा जोड दिनुहुन्थ्यो ।
१६ अक्टोबर १९१७ मा विद्रोहको नेतृत्व गर्न स्तालिनको नेतृत्वमा एक केन्द्रलाई निर्वाचित गरियो । कामेनेभ र जिनोभित्र्ले विद्रोहको विरोध गरे । अक्टोबर क्रान्तिमा सर्वहारावर्गले विजय प्राप्त ग¥यो ।
क्रान्तिलाई सफलतातिर लान रूसलाई शान्ति आवश्यक हुँदा ‘मित्र’ देशहरू बेलायत र फ्रान्ससँग शान्तिको प्रस्ताव अघि सा¥यो । रूसले जर्मनी र अस्ट्रियासँग शान्तिको वार्ता ग¥यो । जर्मर्नीले पोल्यान्ड, युक्रेन र बाल्टिक प्रदेशहरू कब्जा गर्न चाहन्थ्यो । समाजवादलाई जोगाउन ब्रेस्टलिटोभ्स्क सन्धि गर्न त्रोत्स्कीलाई सोभियतय प्रतिनिधिमण्डलको सभापति बनाइयो । १० फेब्रुअरी १९१८ मा सम्झौता वार्ता भङ्क गरी त्रोत्स्की, बुखारिन, रोडेक, प्याताकोभले ‘वामपन्थी कम्युनिस्ट’ नामको एक षड्यन्त्रकारी गुट बनाए । ‘वामपन्थी कम्युनिस्ट’ को नाममा साम्राज्यवादी जर्मनीलाई पोल्यान्ड, लातभिया, एस्टोनिया दिन चाहन्थ्यो । युक्रेन समेत जर्मनीलाई दिई तिनीहरूले रूसलाई ठूलो हर्जाना दिन बाध्य पारे । तिनीहरूसँग लड्न लेनिनसँगसँगै सङ्घर्षमा स्तालिन पनि हुनुहुन्थ्यो ।
पार्टीभित्र ‘मजदुरविरोधी’ ‘प्रजातान्त्रिक केन्द्रवादी’ र ‘वामपन्थी कम्युनिस्ट’ भनिने विभिन्न गुटले लेनिनको सिद्धान्तको विरोध गर्दै थिए । वास्तवमा तिनीहरूले सर्वहारा क्रान्तिको वर्ग शत्रुहरूलाई सहयोग गरिरहेको बताउनुहुँदै लेनिनले ३ अप्रिल १९२२ मा केन्द्रीय समितिको विस्तारिक बैठकमा ४३ वर्षिय स्तालिनलाई महासचिव बनाउन पार्टीमा प्रस्ताव राख्नुभयो । पार्टीले यो प्रस्ताव पारित गरेर अत्यन्त दूरदर्शी निर्णय लिएको साबित भयो ।
लेनिनलाई रोगले चाप्दै लगेपछि पार्टीभित्रका जिम्मेवार नेताहरूले आफ्ना गतिविधि बढाउँदै गए । २१ जनवरी १९२४ मा मस्को नजिकैको गोर्की भन्ने गाउँमा लेनिनले अन्तिम सास लिनुभयो । रूसी कम्युनिस्ट पार्टी, रूसी जनता र संसारका तमाम कामदार वर्गको निम्ति दुःखद घटना थियो ।
सन् १९२४ मा त्रोत्स्कीहरूले ‘स्थायी क्रान्ति’ र ‘पुँजीवादको घेरा चुँडाल्ने’ नाममा युरोपमाथि हमला गर्न लगाई रूसको समाजवादलाई समेत क्षति पु¥याउन चाहन्थे ।
बुखारिनहरू पुँजीपतिहरूलाई नास नगरी गरिबलाई धनी बनाउने गफ हाँक्थे, सारमा ‘धनी बन’ भन्दै रूसको शोषक किसान कुलाकहरूलाई जोगाउन चाहन्थे ।
जिनोभित्र् र कामेनेभले कला–कौशलमा पछि परेको रूसमा समाजवादको विजय सम्भव नहुने बताउँदै रूसलाई कच्चा माल आपूर्ति गर्ने देशमै झार्न चाहन्थे, मेसिनरी (यान्त्रिक सामान) र तयारी सामानमा रूसलाई परनिर्भर बनाउन चाहन्थे । यसरी पार्टीविरोधी पक्षहरू मजदुर वर्गको सहयोगी मध्यम किसानलाई समाजवादको पक्षमा हुनसक्दैनन् भन्दै कुलाकहरूसँग मिलाउन चाहन्थे, जसको अर्थ समाजवादलाई पछाडिबाट तान्ने काम थियो ।
डिसेम्बर १९२५ मा पार्टीको चौधौँ महाअधिवेशनले त्रोत्स्की, बुखारिन, कामेनेभ, जिनोभित्र्का खोटा दृष्टिकोणलाई अस्वीकार भन्दै स्तालिनले ‘लेनिनवाद’, को ‘नयाँ विरोध’ भनी ‘रूसलाई एक खेतीवाल देश’ बाट मेसिनहरूमा आत्मनिर्भर बनाई एक औद्योगिक देशमा रूपान्तरण गर्ने योजना प्रस्तुत गर्नुभयो । जिनोभित्र् र कामेनेभले स्तालिनको त्यस आर्थिक योजनाको विरोध गरेपनि महाअधिवेशनमा प्रतिनिधिहरूले योजनाविरोधीहरूले देशलाई पुँजीवादी र साम्राज्यवादीहरूको कमारा बनाउने षड्यन्त्र गरेको बताउँदै ‘स्तालिनको योजना’ लाई नै पूर्ण समर्थन गरे ।
सोभियत सङ्घको औद्योगीकरणको निम्ति सैद्धान्तिक सङ्घर्ष
औद्योगीकरणविना रूस स्वतन्त्र हुने थिएन नत रूसमा समाजवाद सफल हुने थियो । त्यसको निम्ति ठूलो धनराशी आवश्यक थियो । जार सरकारले जनतासँग चुसेर साम्राज्यवादी देशलाई वर्षमा ५० करोड रुबल हर्जाना तिर्दै थियो । फेरि समाजवादी देशले कमजोर देशलाई उपनिवेश बनाएर हर्जाना लिने र पुँजीवादी देशहरूसँग ऋण मागेर पुँजी जम्मा गर्ने दृष्टिकोण खोटपूर्ण थियो । समाजवादको निम्ति त्यस्ता अन्याय र पुँजीवादी देशसँग झुक्ने कुरा पनि थिए ।
औद्योगीकरणको निम्ति आफ्नै देशमा मेसिनहरू, कल–पूर्जा, मोटर, रासायनिक वस्तु, फलाम, इस्पात, इन्जिन बनाउने, बिजुली निकाल्ने, धातु र कोइला खानी उत्खनन, देशको रक्षाको निम्ति गोला–बारुद, तोप, हवाई–जहाज, टैङ्क आदि युद्ध सामाग्रीहरू बनाउनु आवश्यक थियो । कृषिको निम्ति कुटो–कोदालीदेखि हलो र ट्याक्टर एवम् खेतीसँग सम्बन्धित मेसिनहरू उत्पादन गर्नु जरुरी थियो ।
सोभियत सरकारले शोषक वर्गको कल–कारखाना, जग्गा–जमिन, यातायातका साधन, व्यापार र बैङ्कको नाफा एवम् हर्जाना दिने ५० करोड रुबलले उद्योग र कलकारखाना निर्माण गर्न सुरु ग¥यो । त्यही रिसमा बेलायती साम्राज्यवादले सोभियत सङ्घमाथि १९२७ मे महिनामा हमला ग¥यो र २६ मे को दिन कूटनैतिक सम्बन्ध चुँडाल्यो । ७ जूनको दिन पोल्यान्डको रूसी राजदूतको हत्या ग¥यो । रूसको विभिन्न भागमा बेलायती गुप्तचरहरूले विध्वंसात्मक गतिविधिहरू गरे । जर्मनी र अन्य देशमा रूसी वाणिज्यदूतहरूमाथि हमला गरे ।
जिनोभित्र् र कामेनेभहरूले नयाँ छापाखानाहरूमार्फत औद्योगीकरणको विरोध गरे, पेरिस कम्युनको बेला जस्तो मजदुर र किसानबीच झगडा लगाउने काम गरे । कुलाकहरूको पक्ष लिएर औद्योगीकरणको विरोध गरे । एकै साथमा बेलायती सरकार र पार्टीका शत्रु, त्रोत्स्कीहरू सबै एक भए ।
सन् १९२९ को वर्ष रूसको निम्ति उत्पादन वृद्धिको गौरवको वर्ष थियो । तर, बुखारिन र अन्य विरोधीहरूले विदेशी तत्वहरू, कुलाक, काला बजारियासँग मिलेर उपद्रवहरू गर्न थाले ।
स्तालिनका सम्भावित उत्तराधिकारी
किरोभको हत्याकाण्ड
किरोभ २७ मार्च १८८६ मा रूसको कजाकिस्तानमा जन्मेका थिए । आमा–बुबाबाट वञ्चित ७ वर्षको उमेरमा किरोभ र उनकी बहिनीलाई बज्यैले पालेकी थिइन् ।
सन् १९०१ मा कजाकको एक औद्योगिक विद्यालयमा एक धनी परोपकारीले किरोभलाई छात्रवृत्तिको बन्दोवस्त गरेका थिए । इन्जिनियरिङको स्नातक भएपछि उनी साइबेरियाको एक नगर टोम्स्कमा बसाइँ सरे । सन् १९०४ मा किरोभ माक्र्सवादी बने र रूसी समाजवादी प्रजातान्त्रिक श्रमिक पार्टीमा सामेल भए । उनी त्यसबेला १८ वर्षका युवा थिए ।
सन् १९०५ को रूसी क्रान्तिमा किरोभले पनि भाग लिए र पक्राउ परे । त्यसपछि बोल्शेविक पार्टीको सदस्य बनी जेलबाट रिहा भए ।
दोस्रो पटक उनी सन् १९०६ मा पक्राउ परे र कानुनविरोधी साहित्य छापेको अपराधमा उनलाई ३ वर्षको जेल सजाय भयो । जेलमुक्त भएपछि फेरि उनी क्रान्तिकारी गतिविधिमा लागे । केही समयपछि उनी तेस्रो पटक कानुनविरोधी साहित्य छापेकोमा पक्राउ परे । एक वर्षको हिरासतपछि उनी ककाससमा सरुवा भए । १९१७ को मार्च महिनामा राजतन्त्रविरोधी फेबु्रअरी क्रान्तिपछि किरोभ रिहा भए । उनको उमेर त्यसबेला ३१ वर्षको थियो ।
क्रान्तिपछि प्रतिक्रियावादीहरूले ठाउँ–ठाउँमा सङ्घर्ष गरे । त्यसको विरोधमा किरोभले पनि बोल्शेविक सैनिक प्रशासनको नायक भएर १९२० सम्म आस्ट्राखान भन्ने ठाउँमा लाल सेनाको तर्फबाट सङ्घर्ष गरेका थिए ।
सन् १९२१ मा किरोभ अजरबैजानको कम्युनिस्ट पार्टीको प्रथम सचिव भए । उनी औद्योगीकरण र सामूहिकीकरणका समर्थक थिए । तर, बुखारिन, राइकोभ र त्रोत्स्की त्यस नीतिका कट्टर विरोधी थिए । यसकारण, तिनीहरू किरोभलाई मन पराउन्नथे । १९३० को दशकमा उनी सा¥है सक्रिय भए ।
सन् १९३० तिर सोभियत कम्युनिस्ट पार्टीको तर्फबाट लेनिनग्राद पार्टीको प्रमुख र पार्टीको सर्वोच्च पद राजनैतिक समितिको सदस्य थिए । त्यसैबेला उनलाई स्तालिनका उत्तराधिकारी सम्झिन थालिएको थियो । यसकारण, १ डिसेम्बर १९३४ मा उनकै कार्यालय स्मोल्नीमा पार्टी विरोधीहरूले ठूलो षड्यन्त्र गरे र निकोलात्र् (ल्ष्पयबिथभख) भन्ने व्यक्तिले किरोभलाई पछाडिबाट गर्धनमा गोली हानेर मारे । उनी ४८ वर्षका थिए र स्तालिनपछिका सम्भावित पार्टी नेता तथा सोभियत रूसका नेता थिए, जुन कुरो साम्राज्यवादीहरूलाई मन पर्दैनथ्यो ।
किरोभको व्यक्तित्व
पेट्रोग्रादको विद्रोहको निम्ति केन्द्रीय समितिले आफ्ना प्रतिनिधिहरू पठाएर सबै मोर्चा सम्हाल्ने कार्यमा भोरोशिलोभ, मोलोतोभ, जेरजिन्स्की, कगानोविच जस्तै अन्य महत्वपूर्ण व्यक्तिहरू मध्ये एक जना किरोभ पनि थिए । तिनीहरू आफ्नो उद्देश्यको लडाइँलाई न्यायपूर्ण मान्थे, अनुशासित, आत्म बलिदानी र सामूहिक बलिदानलाई महत्व दिन्थे । सोभियत कम्युनिस्ट पार्टीको सत्रौँ महाअधिवेशनमा बुखारिन, राइकोभ, जिनोभित्र्, कामेनेभ आदि पार्टीका विश्वासघाती र विदेशी शत्रुहरूसँग मिलेका जासुसहरूले भाषणमा पार्टीको सफलतालाई सा¥है प्रशंसा गर्थे र पार्टीको सफलताको निम्ति सा¥है खुसी प्रकट गर्थे । तर, भित्रभित्र षड्यन्त्र गरिरहेका हुन्थे ।
१ डिसेम्बर १९३४ को दिन किरोभलाई लेनिनग्रादको स्मोल्नीमा क्रुरतापूर्वक गोली हानेर मारेपछि पार्टीभित्रका शत्रुहरूको विरोधमा छानबिन सुरु भयो ।
जिनोभित्र्पन्थीहरूको एक सोभियतविरोधी गुटको एक सदस्य पक्राउ परे । त्यो गुट पार्टीभित्र लुकेको एक विश्वासघाती गुट थियो ।
किरोभ मजदुर वर्गमा सा¥है प्रिय नेता थिए । उनको हत्याले रूसभरि आक्रोश र विरोधको ठूलो लहर चल्यो । त्रोत्स्कीपन्थीहरूको पनि त्यसमा हात थियो । तिनीहरूले आफूलाई फासीवादीहरूको पैसामा बेचिसकेका थिए । यसरी त्यो हत्याकाण्ड त्रोत्स्कीपन्थी र बुखारिन गुटले गरेको अपराध थियो ।
किरोभको हत्याले सोभियत पार्टीका सबै सदस्यहरूलाई शत्रुहरूदेखि होसियार हुन र शत्रुहरू कमजोर भएपछि समाजवादतिर लत्रेर आउनेछन् भन्ने उदार दृष्टिकोण हुनेछ भनी सचेत पार्ने सूचना प्रवाह ग¥यो, ‘सफलाले सन्तोष वा आत्मसन्तोष लिनुहुन्न ।’
किरोभको हत्या र अन्य विध्वंसात्मक गतिविधिका साथै गोर्कीको हत्यामा २० वर्षसम्म पुँजीवादी राज्यहरूको गुप्तचर विभागहरूसँग त्रोत्स्की, जिनोभित्र्, कामेनेभ, बुखारिन, राइकोभ आदिको सम्बन्ध थियो र विदेशबाट तिनीहरू सञ्चालित थिए । सोभियतको अदालतले ती सम्बन्धित सबैलाई गोली हानी मार्ने सजाय सुनायो ।
नक्कली कम्युनिस्टहरूबाट कुटिल चाल
(१ डिसेम्बर १९३४ मा जर्मनी र अन्य प्रतिक्रियावादीहरू मिलेर बोल्शेविक पार्टीका ठूला नेता किरोभलाई गोली हानेर मारे ।) सर्वोच्च न्यायालयको सैनिक अदालतले १९३७ मा त्रोत्स्की, जिनोभित्र्, कामेनेभ, बुखारिन, राइकोभ आदिलाई प्रमाणहरू र अपराध स्वीकार गरेको आधारमा गोली हानेर मार्ने सजाय सुनायो । तिनीहरूले ‘किरोभको हत्या स्तालिनले गर्न दिएको’ हल्ला गरेर रूसी पार्टी र देशमै आतङ्क मच्चाउन चाहेका थिए । त्यस अदालती कारबाहीको बेला अमेरिकी राष्ट्रपति रुजवेल्टका अमेरिकी राजदूत समेत उपस्थित थिए । ती अपराधीहरूको युक्रेन, बेलारुस कब्जा गर्ने र देशको समुद्री इलाका विदेशी शत्रुको हातमा सुम्पने षड्यन्त्रको खुलासा पनि भयो ।
पार्टीका विश्वासघातीहरूसँगको सङ्घर्षमा स्तालिन
त्रोत्स्की
त्रोत्स्की नामले चर्चित लिओन त्रोत्स्की (ीभयल त्चयतकपथ) ७ नोभेम्बर १८७९ मा एक धनी यहुदी परिवारमा रूसको युक्रेनमा जन्मेका थिए । आठ वर्षको उमेरमा उनी कालासागरको उत्तरमा पर्ने ओडेसाको एक विद्यालयमा भर्ना भएका थिए । सन् १८९६ मा उनले युक्रेनकै अर्को सहर निकोलाएभको विद्यालयबाट आफ्नो प्रवेशिका परीक्षा दिए ।
त्यसबेला उनी १७ वर्षका थिए र माक्र्सवादतिर आकर्षित भए । सन् १८९७ मा उनी दक्षिण रूसी मजदुर सङ्घ स्थापना गर्न सहयोगी भए । उनी भर्खर अठार वर्षका थिए र पक्राउ परे । दुई वर्ष नहुँदै जेलबाट भाग्न खोजेको हुँदा चार वर्षको निम्ति उनी साइबेरियामा अर्थात् कालापानी पठाइए । त्यहाँ उनले एक सहयोगीसँग विवाह गरे । उनका दुई छोरी भए ।
चार वर्षको कालापानीको सजायमा उनले दुई वर्षमात्र बिताए र सन् १९०२ मा उनी जहान र छोरीहरू छोडेर भागे । उनी बेलायत पुगे र लन्डनमा समाजवादी प्रजातान्त्रिक दलमा सामेल भए । त्यसैबेला उनले लेनिनसँग भेटे । त्यसबेला उनी २३ वर्षका थिए ।
समाजवादी–प्रजातान्त्रिक सानो पार्टी भए पनि लेनिन पेशेवर क्रान्तिकारीहरूले ठूलो समूहका पार्टी समर्थकहरूको नेतृत्व गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । तर, मार्तोभ भन्ने अर्को रूसी नेता समर्थकहरूको ठूलो समूहलाई पनि समान प्रजातान्त्रिक अधिकार दिनुपर्छ भन्ने पक्षमा थिए । त्रोत्स्की त्यस मामिलामा तटस्थ थिए । अर्थात्, लेनिनको पक्षमा थिएनन् ।
२२ जनवरी १९०५ मा रूसमा निःशस्त्र जनतामाथि गोली चलाउँदा धेरै मानिस मारिए र जनता विद्रोहमा उठे । बा¥हौँ महिना वा वर्षको अन्त्यमा विद्रोह दबाइयो । त्रोत्स्की फेरि पक्राउ परे र साइबेरिया पठाइए । त्यसबेला २८ वर्षको उमेरमा उनी चर्चामा आए र जनवरी १९०७ मा उनी विदेश भागे । १० वर्षसम्म उनी अस्ट्रिया, स्वीजरल्यान्ड, फ्रान्स, अमेरिकाजस्ता देशका सहरमा बसेर रूसी क्रान्तिकारी पत्रिकाहरूमा लेख्दै गए । उनी ३४ वर्षका भए ।
फेब्रुअरी सन् १९१७ मा रूसमा पुँजीवादी क्रान्ति भयो । त्यसबेला उनी क्यानाडामा थिए । जारको गुप्तचरले बेलायत सरकारमार्फत उनलाई क्यानाडामै पक्राउ गर्न दबाब दियो । उनी एक महिना बन्दी भए र रूसको अस्थायी सरकारले उनको रिहाइको माग ग¥यो, उनी छुटे ।
रूसको अस्थायी सरकारको प्रधानमन्त्री पुँजीवादी दलको नेता करेन्स्की थिए । प्रम करेन्स्कीको निम्ति त्रोत्स्की एक आतङ्क लाग्यो र उनी पक्राउ परे । उनी जेलमा बोल्शेविक पार्टीमा सामेल भए र छिट्टै रिहा भए । त्यसपछि अस्थायी सरकारको विरोधको एक बलियो गढ पेट्रोग्राद सोभियतको उनी अध्यक्ष निर्वाचित भए ।
नोभेम्बर सन् १९१७ मा अस्थायी सरकारको पतन भयो र लेनिन जनताको सोभियत मन्त्रिपरिषद्को अध्यक्ष चुनिनुभयो । त्रोत्स्कीलाई नयाँ सरकारको विदेश विभागको मन्त्री बनाइयो । जर्मनीले सोभियत सङ्घमाथि हमलाको निहुँ खोज्दै थियो । सन् १९१८ जनवरी महिनामा जर्मनीले रूसको केही क्षेत्र र युद्धको क्षतिपूर्ति माग्दै थियो । रूसमाथि त्यसबेला धेरै साम्राज्यवादी देशहरूले आक्रमणको अवसर खोज्दै थिए । लेनिन तिनीहरूको एकतालाई टुक्र्याउन र जर्मनीको अन्यायपूर्ण मागहरूलाई अस्थायीरूपमा पूरा गरी पहिले रूसलाई बलियो बनाउन चाहनुहुन्थ्यो । तर, शान्तिको निम्ति लेनिनको उद्देश्यलाई अस्वीकार गर्दै त्रोत्स्कीले आफ्नो पदबाट राजीनामा गरी भर्खरको कम्युनिस्ट सरकार, त्यसको रक्षा र समाजवादको निर्माणलाई खतरा पु¥याउने काम गरे ।
लेनिनले त्रोत्स्कीलाई लालसेनाको नेता बनाउनुभयो । तर, त्रोत्स्कीका समर्थकहरूले सेनामाथि बोल्शेविक पार्टीको नियन्त्रण वा प्रभावको विरोध गरे । प्रतिक्रियावादी सेनाको आत्मसमर्पणपछि त्रोत्स्की पार्टी केन्द्रीय समितिको सदस्यमा चुनिए । लेनिनलाई सन् १९२२ मे महिनामा पहिलो हृदयघात भयो । सन् १९२२ मा लेनिनले स्तालिनलाई नयाँ पद, केन्द्रीय समितिको महासचिवमा नियुक्त गर्नुभयो । सन् १९२४ मा लेनिनलाई तेस्रो हृदयघात भयो । त्यही वर्षको २१ जनवरीमा उहाँ बित्नुभयो । सन् १९२७ को अक्टोबरमा त्रोत्स्कीलाई पार्टी केन्द्रीय सदस्यबाट निष्काशन गरियो र सन् १९२९ फेब्रुअरीमा कजाकिस्तानको अल्मा–अटामा निष्काशन गरियो । त्यसपछि उनी टर्की, फ्रान्स, नर्वे र मेक्सिको नगर गरी सात वर्ष घुमिरहे । ३० अगस्त १९४० मा मेक्सिको नगरमा बन्चरोको प्रहारबाट उनी ६० वर्षको उमेरमा मारिए ।
कामेनेभ
कामेनेभ सन् १८८३ जुलाई १८ मा मस्कोमा जन्मेका थिए । उनका बुबा एक रेल्वे मजदुर थिए । १९०१ मा १८ वर्षको उमेरमा उनी कम्युनिस्ट पार्टीमा सामेल भएका थिए । उनी जर्जियाको तिफलिस भन्ने विद्यालयमा भर्ना भए र पछि मस्को विश्वविद्यालयमा अध्ययन गरे । तर, १९०२ मा पक्राउपछि अध्ययनमा निरन्तरता पाएनन् र पिटर्सवर्ग, मस्को र तिफलिसमा कार्यकर्ता भई काम गरे ।
कामेनेभले त्रोत्स्कीकी बहिनी ओल्गा (Olga) कामेनेभसँग १९०० अर्थात् १७ वर्षको उमेरमा विवाह गरेका थिए ।
सन् १९०२ मा कामेनेभले विदेशमा गएर ‘रूसी समाजवादी प्रजातान्त्रिक’ दलका नेता लेनिनसँग भेटेका थिए । पेरिसमा गएर ‘फिलिङ्को’ समूहसँग भेटे । सन् १९०५ मा ‘रूसी समाजवादी प्रजातान्त्रिक श्रमिक पार्टी’ को लन्डनमा तेस्रो महाअधिवेशनमा भाग लिएका थिए । सन् १९०५ को रूसी क्रान्तिमा उनी पिटर्सवर्गमा सामेल भएका थिए । त्यसपछि उनले लन्डनमा रूसी समाजवादी–प्रजातान्त्रिक श्रमिक पार्टीको पाचौँ महाअधिवेशनमा भाग लिए तथा सन् १९०७ को मई महिनामा बोल्शेविक केन्द्रको पार्टी केन्द्रीय समितिमा निर्वाचित भए । रूस फर्कँदा उनी पक्राउ परे तथा १९०८ मा जेलबाट छुटेपछि उनी विदेश गई लेनिनको ‘सर्वहारा’ पत्रिकाका सहयोगी बने ।
सन् १९०८ को मध्यमा लेनिनसँग अलेक्जेन्डर बोग्दानोभसँग मतभेद भएपछि कामेनेभ र जिनोभित्र् लेनिनका सहयोगी बने । तिनीहरूले बोेग्दानोभलाई निष्कासन गर्न मद्दत गरे ।
पेरिसमा १९१० मा बोग्दानोभले केही मेन्सेविक गुटसँग मिलेर पुनः एकताको प्रस्ताव राखे । लेनिनले त्यस प्रस्तावको कडा विरोध गर्नुभएको थियो । कामेनेभ र जिनोभित्र्ले दोधारे चरित्र देखाए । लेनिनको घोषणामा दुवै ‘भगुवा’ थिए ।
सन् १९१८ मा कामेनेभ मस्को सोभियतको अध्यक्ष भए तथा छिट्टै श्रम र रक्षा परिषद्मा लेनिनको सहायक बने । १९१९ मार्चमा उनी पहिले राजनैतिक समितिको पूर्ण सदस्य छानिए । उनको व्यक्तिगत सम्बन्ध उनको जेठान त्रोत्स्कीसँग १९१७ को क्रान्ति, रूसी गृहयुद्ध र सन् १९२० पछिसम्म पनि राम्रो थियो । त्यो सम्बन्ध पछिल्लो १५ वर्षसम्म थियो । जिनोभित्र् उनीभन्दा बढी महत्वाकाङ्क्षी थिए । अध्ययनले तिनीहरू कहिले फरक देखिन्थे र कहिले एक हुन्थे ।
सन् १९२४ मा त्रोत्स्कीले सन् १९१७ को क्रान्तिबारे ‘जिनोभित्र् र कामेनेभ सत्ता कब्जा गर्नेबारे विरोधमा थिए’ भनी लेखे । त्रोत्स्कीको विरोधमा ती दुवै स्तालिनसँग मिले । रूसी गृहयुद्धमा, सेनाको मन्त्रीबाट दिएको राजीनामा र जहाजको विषयमा सन् १९२५ को जनवरीमा क्रान्तिकारी सैनिक परिषद्को अध्यक्ष पदबाट राजीनामा गरेको हुँदा त्रोत्स्कीको प्रतिष्ठामा ठूलो धक्का लागेको थियो । जिनोभित्र्ले त्रोत्स्कीलाई कम्युनिस्ट पार्टीबाट निकाल्न माग गरेका थिए । तर, स्तालिनले बडो कुशलतापूर्वक भद्रताको भूमिका खेल्नुभयो ।
सन् १९२५ मा त्रोत्स्की किनारा लागेपछि स्तालिन, जिनोभित्र् र कामेनेभ एक ठाउँमा भए र पार्टीको मुखपत्र ‘सत्य’ का सम्पादक बुखारिन र सोभियत प्रधानमन्त्री राइकोभ लाई हटाए । जिनोभित्र् र कामेनेभ लेनिनकी पत्नी (विधवा) लाई उक्साउन पुगे ।
डिसेम्बर १९२५ मा चौधौँ पार्टी महाअधिवेशनमा जिनोभित्र् र कामेनेभले स्तालिनलाई पार्टी महासचिवबाट हटाउने निर्णय गराउने पक्षमा थिए, जुन कुरा असम्भव थियो ।
जिनोभित्र्
जिनोभित्र् रूसको युक्रेनमा २३ सेप्टेम्बर १८८३ मा जन्मेका थिए । उनका बुबा एक डेरी किसान थिए । उनको औपचारिक शिक्षा थिएन, घरमै पढेर १४ वर्षको उमेरमा एक कर्मचारी भएका थिए ।
सन् १९०१ मा उनी रूसी समाजवादी प्रजातान्त्रिक श्रमिक पार्टीमा सामेल भए । उनी त्यसबेला १८ वर्षका युवा थिए र मजदुर सङ्घको गतिविधिमा लागे । प्रहरीको पक्राउ र यातनाबाट जोगिन उनी रूसबाट जर्मनी (बर्लिन) हुँदै पेरिस पुगे, सन् १९०३ मा उनी स्वीजरल्यान्ड पुगे तथा लेनिन र प्लेखानोभ सँग भेटे ।
सन् १९०३ को शरद ऋतुमा जिनोभित्र् रूस फर्की ‘फिलिङ्को’ को प्रकाशनमा लागे । पछि स्वीजरल्यान्डमा गई वर्न विश्वविद्यालयमा रसायनशास्त्र पढे । उनले बोल्शेविक पत्रिका ‘भेरोड’ मा योगदान गरे ।
सन् १९०५ को क्रान्तिमा जिनोभित्र् रूस फर्की पिटर्सवर्गको आम हडतालमा काम गरे । गम्भीर मुटुको व्यथाको कारण उनी सङ्घर्ष छोडेर उपचार गर्न विदेश गए ।
सन् १९०६ को मार्च महिनामा रूस फर्की पिटर्सवर्गको धातु मजदुर गतिविधिमा भाग लिए तथा बोल्शेविक भएर पनि पिटर्सवर्गको मजदुर र सशस्त्र सङ्घर्षलाई रोक्न मेन्सेविकहरूसँग लागे ।
सन् १९३५ मा सेर्गेइ किरोभ (क्भचनभथ पष्चयख) को हत्याको आरोपमा जिनोभित्र् पक्राउ परे अपराधमा संलग्न हुँदा १० वर्षको जेल सजाय भयो र पछि स्तालिनको हत्या गर्न आतङ्कवादी सङ्कठन बनाएको अभियोगमा जिनोभित्र् र सरकारमा रहेका अन्य नेताहरू समेत अपराधमा संलग्न पाएको हुँदा २५ अगस्त १९३६ मा मस्कोमा ज्यान सजाय भयो ।
बुखारिन
निकोलाई इभानोभिच बुखारिन ९ अक्टोबर १८८८ मा मस्कोमा जन्मेका थिए । उनी एक प्राथमिक विद्यालयका शिक्षक थिए । सन् १९०५ को रूसी क्रान्तिको बेला उनी एक विद्यार्थी कार्यकर्ता थिए । त्यसबेला उनी १७ वर्षका थिए ।
१८ वर्षको उमेरमा अर्थात् सन् १९०६ मा उनी रूसी समाजवादी प्रजातान्त्रिक श्रमिक पार्टी, बोल्शेविक गुटको सदस्य भए । १९०९ मा १९ वर्षको उमेरमा उनी मस्कोमा भएको राष्ट्रिय युवा सम्मेलनमा सहभागी भए ।
सन् १९०८ मा उनी २० वर्षको उमेरमा पार्टीको मस्को समितिको सदस्य भए । त्यसबेला त्यस्ता पार्टी समितिहरूमा जारका गुप्तचरहरू छ्याप्छ्याप्ती हुने गर्थे । उनी एक समितिका सक्रिय कार्यकर्ता भएको हुँदा गुप्तचरहरू पछि लाग्नु स्वाभाविक थियो ।
२३ वर्षको उमेरमा सन् १९११ मा केही समयको निम्ति उनी पक्राउ परे तथा निर्वासनबाटै उनी जर्मनीको हानोभर सहरमा भागे ।
सन् १९१२ मा उनले पोल्यान्डको काक्रोमा लेनिनसँग पहिलो पटक भेटे । निर्वासनमै उनले लेनिनको ‘साम्राज्यवाद – पुँजीवादको चरम अवस्था’ भन्ने पुस्तक पढेका थिए । त्यस पुस्तकबाट प्रभावित भएर उनले ‘साम्राज्यवाद र विश्वको अर्थतन्त्र’ भन्ने लेख लेखे । उनमा युरोपेली वामपन्थी नेताहरूको प्रभाव परेको थियो । उनी खास गरेर अस्ट्रियाली माक्र्सवादी साहित्यबाट आकर्षित थिए । त्यसकै सिलसिलामा उनी गैर–माक्र्सवादी आर्थिक सिद्धान्तकारहरूको नजिक पुगे ।
लेनिनसँग बरोबर छलफल हुन्थ्यो र कहिलेकाहीँ चर्काचर्की पनि पथ्र्यो भन्ने गरिन्छ । १६ अक्टोबर १९१६ मा बुखारिन न्युयोर्क पुगे । त्यहाँ उनले ‘नयाँ विश्व’ (नोई मिर) भन्ने रूसी समाचारपत्र प्रकाशित गरे । त्यहीँ उनको लियोन त्रोत्स्की र अलेक्जान्द्रा कोलोन्ताईसँग सङ्कत भयो । त्रोत्स्की जनवरी १९१७ मा न्युयोर्क पुगेका थिए र बुखारिन २८ वर्षका थिए ।
सन् १९१७ को रूसको फेब्रुअरी क्रान्तिबारे उनले न्युयोर्कमै समाचार सुने र उनी जापानबाट रूस पुगे अनि बोल्शेविक पार्टीको नेतृत्व तह केन्द्रीय समितिमा पुगे ।
(पत्रकार समाज नेपालले हालै प्रकाशित गरेको स्तालिनका अङ्करक्षक ए. टी. रेबिनको संस्मरण पुस्तकको नेपाली रुपान्तरण ‘स्तालिनसँग’ मा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको भूमिका पाठकको अध्ययनको निम्ति प्रकाशित गरिएको छ । भूमिकाको शीर्षक हामीले राखेका हौँ ।–सम्पादक)
Leave a Reply