भर्खरै :

सोभियत सङ्घका मार्सल जुकोभको सम्झना र संस्मरणबारे चर्चा

सोभियत सङ्घका मार्सल जुकोभ अर्थात् जर्जी कोन्स्टान्टिनोभिच जुकोभ (Georgy Konstantinovich Zhukov) एक अत्यन्त प्रभावशाली सोभियत सैनिक नेता हुनुहुन्छ । प्रथम विश्वयुद्धको समयमा उहाँलाई रूसको शाही सेनाको रूपमा उभ्याइएको थियो । प्रथम विश्वयुद्धमा उहाँले युद्ध र सैन्य मोर्चाको अनुभव बटुल्नुभयो । उहाँले सन् १९१८ मा सोभियत सेनामा प्रवेश गर्नुभयो । सन् १९४१ देखि १९४५ सम्म अगाडि बढेको सोभियत सङ्घको महान् देशभक्तिपूर्ण युद्धमा सोभियत सैन्यशक्ति एवम् सेनाको प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो ।
सन् १९४२ को अगस्तमा सर्वोच्च उपकमान्डरमा चुनिनुभयो । जुकोभले धेरैभन्दा धेरै भयानक र चुनौतिपूर्ण युद्धहरूमा अग्रपङ्क्तिमा उभिएर लड्नुभयो । सोभियत रूसविरुद्ध जर्मनीको हिटलर नाजीवादका प्रत्येक हमलाहरूमा साहसपूर्वक लड्नुभयो, सेनाको नेतृत्व गर्नुभयो । सोभियत प्रतिरोधयुद्धमा पहिलोपटक जुकोभको नेतृत्वमा येल्न्या (Yelnya) क्षेत्रमा सफलता मिलेको थियो जहाँ नाजी सेनाको ठूलो टुकडी समाप्त पारिएको थियो । नाजी सेनाले लेनिनग्राद सहर कब्जा गर्न खोज्दा तिनका योजनाहरू असफल पार्न मार्सल जुकोभले कुनै कसर बाँकी छोड्नुभएन । त्यतिमात्र होइन, मस्कोमाथि पटकपटकको हमलाबीच जर्मन सैन्य टुकडीलाई हार चखाउन जुकोभले नै नेतृत्व गर्नुभयो ।
सर्वोच्च कमान्डरको हैसियतले मार्सल जुकोभले स्तालिनग्राद र कुस्र्क तथा अन्य थुप्रै भिडन्तहरूमा नेतृत्व गर्नुभयो । लेनिनग्रादको नाकाबन्दी तोड्ने योजनाकार मार्सल जुकोभ नै हुनुहुन्थ्यो । युद्धको अन्तिम चरणमा उहाँ पहिलो बेलारूस मोर्चाको नेतृत्वमा हुनुहुन्थ्यो । त्यो मोर्चा बर्लिनबाट उठेको आँधीबेहरी जत्तिकै शक्तिशाली थियो । सन् १९४५ मे ८ का दिन जर्जी जुकोभले जर्मनीको निःसर्त आत्मसमर्पण सोभियत सर्वोच्च कमान्डको तर्पmबाट स्वीकार गर्नुभयो ।
त्यो युद्धपछि मार्सल जुकोभलाई उच्च सैन्य पदहरूबाट सम्मान गरियो । उहाँ सन् १९५५ देखि १९५७ सम्म सोभियत सङ्घको रक्षामन्त्री बन्नुभयो । उहाँको प्रतिष्ठित र प्रतिबद्ध सेवाका कारण सोभियत सङ्घको मात्र होइन अन्तर्राष्ट्रिय पदकहरू पनि प्राप्त गर्नुभयो । उहाँलाई चारवटा सुनको तारासहितको सोभियत सङ्घको हिरोको पदक दिइयो । हवाई रक्षाको सोभियत सङ्घ एकेडेमीले उहाँलाई यो नाम दिएको हो ।
सन् १९३९ मै उहाँले जापानी हमलाविरुद्ध सफल प्रतिकार गर्नुभयो । उहाँ त्यतिबेला मन्चुरियाली सीमा क्षेत्रमा सोभियत शक्तिको प्रमुख हुनुहुन्थ्यो । दोस्रो विश्वयुद्धकालीन समयमा फिनल्यान्डदेखि जर्मनीसम्मलाई घुँडा टेकाउने युद्धका नेतृत्वकर्ता जोसेफ स्तालिनको व्यक्तिगत सर्वोच्च हेडक्वाटरका प्रमुख बनेर पनि सोभियत सङ्घको सेवा गर्नुभयो । जर्मनीको छैटौँ सेनाले स्तालिनग्रादमा गरेको हमलाविरुद्ध विजय प्राप्त (१९४२) गरेपछि जुकोभलाई ‘मार्सल’ को उपाधि दिइएको थियो । सन् १९४१–१९४५ को युद्ध यो युगले इतिहासको रूपमा अध्ययन गर्छ । दोस्रो विश्वयुद्धमा सोभियत रूसको भूमिका र सोभियत रूसका सेनाहरूको भूमिका इतिहासमा सुनौलो अक्षरले लेखिएको छ । युद्धका पाठहरू यो युगले पनि सिक्न जरुरी हुन्छ ।
पुस्तक ‘सोभियत सङ्घका मार्सल जी. जुकोभ सम्झना र प्रतिविम्बहरू’ एक सैन्य कमान्डरको सम्झनामात्र होइन युद्धको प्रतिविम्ब पनि हो । यस पुस्तकले इतिहासको पाना पल्टाउन सघाउँछ । इतिहासका एक साक्षी, युद्धका प्रभावशाली सहभागी एवम् नेतृत्वकर्ताले देखेको, भोगेको र अनुभव गरेको इतिहासको फेहरिस्त हो, यो पुस्तक । मार्सल जुकोभको यस पुस्तक उहाँको व्यक्तिगतमात्र होइन इतिहासका दस्तावेजहरूको प्रतिलिपि पनि हो । नाजी जर्मनीको युद्ध विमानहरू ध्वस्त गर्न साहसी तथा प्रतिबद्ध सेनाले कस्तो भूमिका खेल्यो र खेल्न सक्दछ भन्ने यथार्थ पुस्तकले अवगत गराउँछ । विश्वमा हिटलर नाजी सेनाको दबदबाविरुद्ध इस्पातभैmँ उभिएर आफ्नो सैन्य कौशलबाट मातृभूमिलगायत विश्व कम्युनिस्ट खेमाको रक्षा गर्ने मार्सल जुकोभको अनुभव पठनीय छ । विश्वमा साम्राज्यवादी युद्धको बादल मडारिरहेको यो समयमा मार्सल जुकोभको अनुभव र आजभन्दा ८० वर्षअघिका युद्धहरूले हौसला प्रदान गर्ला ।
पुस्तक मार्सल जुकोभको आत्मकथामा आधारित छ । मार्सल जुकोभले पुस्तकमा इतिहासको वस्तुगत चित्रण गर्नुभएको छ । एक उत्कृष्ट र प्रभावशाली सैन्य कमान्डर हजारौँ युद्धहरूका प्रत्यक्षदर्शी हुन्छ । त्यसकारण, पुस्तकमा रोचक, पृथक युद्धका प्रसङ्गहरू छन् । सोभियत राज्यको सैन्य इतिहासको महत्वपूर्ण ‘हाइलाइट्स’ हरू पुस्तकमा छन् । सोभियत इतिहासको एउटा महत्वपूर्ण प्रतिविम्ब यस पुस्तकमा भेटिन्छ ।
मार्सल जुकोभले आफ्नो बाल्यकालबारे बताउनुभएको छ । कालुगा प्रान्तको स्टेलकोभ्का गाउँको मध्यमा जुकोभको घर थियो । घर अत्यन्त जीर्ण थियो । चरम गरिबीको सिकार थियो परिवार । जमिनहीन किसान परिवारमा जन्मनुभएका जुकोभको बाल्यकाल अत्यन्त दरिद्रता र अभावमा बित्यो । आमा र बुबाले दिनमा काम नगरे छाक टार्न नसकिने परिस्थिति थियो । जुकोभ ५–६ वर्षको उमेरदेखि खेतमा आमा–बुबालाई सघाउनुहुन्थ्यो । आफू ५ वर्षको छँदा भाइ जन्मियो र भाइ जन्मिएको केही दिनमै आमा काममा लाग्न पर्दा खान नपाएर भाइको मृत्यु भएको घटनालाई जुकोभले हृदयदेखि सुनाउनुभएको छ । जुकोभ ११ वर्षको उमेरमै सहरको कारखानामा काम गर्न थाल्नुभयो । रुसी अक्टोबर समाजवादी क्रान्तिअघि बहुमत रुसी जनताको स्थिति जुकोभ परिवारको जस्तै थियो । कारखानामा जुकोभ लगायतका बाल कामदारहरूमाथि चर्को शोषण गरिन्थ्यो । उहाँले काम गर्दागर्दै पढ्नुभयो, गाउँभन्दा एक माइल टाढाको विद्यालयमा ।

मार्सल जुकोभ


सन् १९०५ तिर मस्कोमा सैन्य विद्रोह भएको बारे उहाँको गाउँलाई जानकारी थियो । मस्को र रुसका अन्य सहरहरूमा कामदारवर्गीय आन्दोलनहरू उठिरहेको र ती आन्दोलनहरूलाई जार सरकारले निर्ममतापूर्वक दबाइरहेको घटनाबारे पनि गाउँ बेखबर थिएन । थुप्रै क्रान्तिकारीहरू मारिएको र असाध्यै कठिनत्तम सजाय दिइएकोबारे रूसका गाउँ–गाउँलाई खबर थियो । तिनले नेता लेनिनको विषयमा सुनेका थिए । बोल्सेभिक पार्टीका नेता लेनिनले सर्वहारा जनता, किसान, मजदुरको पक्षमा बोल्नुहुन्छ भन्ने थाहा थियो । नेता लेनिन जारशासन, पुँजीवादी शासकहरूविरुद्ध लडिरहेकोमा गाउँका जनता खुशी थिए । जुकोभको मानसपटलमा ती घटनाहरूले अमिट छाप छोडेको उहाँ स्वीकार्नुहुन्छ ।
त्यो सामन्तवादी समाजमा गरिब हुनु दास हुनु जत्तिकै थियो । गरिब भएकै कारण आफ्ना धनी इष्टमित्रले नचिन्ने समाज थियो त्यो । जुकोभ र जुकोभजस्ता थुप्रै बालकहरूले आफ्नो गरिबीको कारण बाल्यकाल अपमान, अभावमा व्यतित गर्न परेको समाज ।
आफू काम गर्ने कारखानामा काममा अलिकति तलमाथि भए कारखाना मालिकले मजदुरहरूलाई निर्ममतापूर्वक पिट्थ्यो । मजदुरहरूलाई कुकुरभन्दा तल्लो दर्जामा राखिन्थ्यो । बालमजदुरमाथि हुने अमानवीय ज्यादतीविरुद्ध उहाँ भित्रभित्रै आक्रोशित हुनुुभयो । बस्ने ठाउँ, खानपान पशुकोभन्दा तल्लो स्तरको हुन्थ्यो । कारखानाहरूमा दासप्रथा अभैm जिउँदो थियो ।
बोल्सेभिकहरूले कारखाना–कारखानामा गई मजदुरमाथिको शोषणविरुद्ध बोलेको जुकोभलाई चित्त बुझेको थियो । सन् १९१० देखि १९१४ सम्म समाजवादी आन्दोलनको जग मजदुरहरू बने । कारखानाहरूमा हडताल र आन्दोलन दिनहुँ हुनथाले ।
जुकोभ काम गर्ने कारखानाका मजदुरहरू सङ्गठित भइसकेका थिएनन् । तर, तिनीहरूले लिना सुनखानीका मजदुरहरूको नरसंहारबारे सुनिसकेका थिए । बिस्तारै कारखानामा बोल्सेभिक पत्रिका ‘भेज्दा’ र ‘प्राब्दा’ आइपुगेको थियो । ती पत्रिकाहरूले बोल्सेभिक पार्टीको विचार सञ्चार ग¥यो । कारखानाका मजदुरहरूले बुझ्ने भाषामा जमिनदार र किसान, मजदुर र मजदुर मालिकबीचको द्वन्द्वलाई ती पत्रिकाहरूले स्पष्ट पार्थे । सहरका सर्वहारा र गाउँका गरिब किसानको दुःख एउटै हो । त्यसकारण, क्रान्तिको निम्ति सबै एउटै ठाउँमा आउनुपर्छ भन्ने भावना सम्प्रेषण भयो ।
जुकोभ १३÷१४ वर्षकै उमेरमा जार सेनामा भर्ती हुनुभयो । पहिलो विश्वयुद्धमा सहभागी बनेर उहाँले युद्धको अनुभव बटुल्नुभयो । अर्थात्, सन् १९१५ अगस्त ७ को दिन उहाँलाई पहिलो विश्वयुद्धमा सहभागी बन्न कालुगा प्रान्तको मालोयारोस्लाभेट्स्को एउटा जिल्लाकोटामा उहाँलाई बोलाइयो । सेना भएर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने समय थियो । अत्यन्त कठिन तालिम र दृढ आत्मविश्वासका साथ उहाँ खरो उत्रिनुभयो । घोडचढीदेखि हवाई सेनासम्ममा निपुण बन्न उहाँले निकै मेहनत गर्नुभयो । एनसीओमा प्रवेश पाउन सैन्य कौशलका सिद्धान्तदेखि व्यवहारसम्मका परीक्षाहरूमा उत्तीर्ण हुनुभयो । युद्धमा सेना भएर मातृभूमिको रक्षा गर्न सकिनेमा जुकोभ प्रतिबद्ध हुनुहुन्थ्यो । एनसीओ (NCO) मा बसेर जिम्मेवारीबोध, स्वतन्त्र, अगुवाइकर्ता र प्रवल इच्छाशक्ति स्वाभाविक रूपमा विकास हुन्थ्यो । NCO का कमान्डरहरू पोख्त र असाध्यै सिपालु कहलिन्थे । आत्मविश्वास र दृढसङ्कल्प गुमाएका सेना NCO मा अटाउन्नथे । कहिलेकाहीँ तालिम क्षेत्रमा पनि हमलाहरू हुन्थे, अचानक । कहिले सेना त कहिले घोडाहरू घाइते बन्थे । जारको मूर्खतापूर्ण निर्णयहरूले गाउँहरू रगताम्य हुन्थे ।
सन् १९१६ तिरको कुरा हो, सेन्टपिटर्सवर्ग, मस्को र अन्य महत्वपूर्ण सहरहरूमा मजदुर आन्दोलन उठेको खबर फैलियो । ती मजदुरहरू बोल्सेभिक पार्टीको नेतृत्वमा जारविरुद्ध शान्ति, स्वतन्त्रता, जमिन र खानाको निम्ति लडिरहेका थिए । सेनाभित्र युद्ध अन्त्यको माग सेनाहरूले गर्न थालिसकेको समय थियो । सेनाहरू गोप्य रूपमा जार सेनाको दमनविरुद्ध छलफल गर्थे, भित्रभित्रै सर्वहारा वर्गीय सङ्घर्षको समर्थनमा कुरा गर्थे ।
त्यतिबेला जुकोभ पनि एक NCO हुनुहुन्थ्यो । यद्यपि, उहाँलाई थाहा थियो ती युद्धहरूले मुठीभरका धनीहरूको सेवा गर्छ । बोल्सेभिकहरूले बाहेक अरूले रूसी जनतालाई शान्ति, जमिन र मुक्ति दिलाउन सक्दैनन् भन्ने विषयमा उहाँ पक्का हुनुहुन्थ्यो । आफ्ना समकक्षीहरूसँग उहाँ यस्तै कुरा गर्नुहुन्थ्यो ।
सन् १९१८ जनवरीमा अर्थात् अक्टोबर समाजवादी क्रान्ति सफल भइसकेपछि सोभियतको तेस्रो अल–रसिया कङ्ग्रेस भयो जसले सैन्यशक्ति स्थापनाको अगुवाइ ग¥यो । नेता लेनिनले बोल्नुभएको थियो –“सर्वहारा अर्थात् काम गरी खाने जनताको सार्वभौम शक्ति सुनिश्चितताको निम्ति, शोषकहरूले आफ्नो गुमेको सत्ता कब्जा गर्ने सम्भावना शुन्य बनाउनको निम्ति कामगरी खाने जनतालाई नै सैन्यकौशल र सेनाको अनुशासन सिकाउन जरुरी छ । समाजवादी लालसेना त्यसैको निम्ति हो ।” पेट्रोगार्डबाट पहिलो समाजवादी लालसेना गठनको तयारी थालियो । त्यही समयमा १ हजारको लालगार्डहरूले पश्चिमी मोर्चाको लागि पेट्रोगार्ड छोडे । तिनलाई सम्बोधन गरी लेनिनले भन्नुभएको थियो, “म तपार्इँहरूलाई समाजवादी सेनाको पहिलो बहादुर स्वयम्सेवी टोलीको रूपमा अभिनन्दन गर्छु । तपार्इँहरूले समाजवादको निम्ति क्रान्तिकारी सेना तयार पार्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।”
लालसेना सैन्य विज्ञानमा आधारित रहेर अगाडि बढ्ने र अनुभवी सेनाहरूको कौशल सिकाउँदै अगाडि बढ्ने नीति लिइयो । त्यही समयमा जुकोभले समाजवादी लालसेनामा प्रवेश गर्नुभयो । उहाँ प्रवेश हुनुअघि नै लालसेना ५ लाख भन्दा बढी थिए । कठिन वर्षमा बोल्सेभिक पार्टीले सैन्य सवालहरूमा असाध्यै महत्वपूर्ण निर्णयहरू ग¥यो र अभ्यास ग¥यो । जुन सोभियत सैन्य शक्ति निर्माणको आधारशीला बन्यो । सर्वहारा वर्गीय र राजनीतिक रूपले सचेत लालसेना, जलसेना, घोडचढी सेना सोभियत रूसको बलियो सैन्य शक्तिको रूपमा विकास हुँदै गयो ।
पुस्तकमा जुकोभको सेना जीवनको सुरुआतदेखि लेनिनग्रादमा साहसपूर्वक लडिरहेका अन्तिम दिनहरूसम्मको अनुभव छ । उहाँले बाहिरी शक्तिमात्र होइन सेना र जनताको सहकार्यमा बोल्सेभिक पार्टीको नेतृत्वमा देशभित्रैबाट उठेका प्रतिक्रान्तिकारी गतिविधि कसरी समाप्त भयो भन्ने विषयमा पनि लेख्नुभएको छ । महान् अक्टोबर समाजवादी क्रान्तिले कसरी सारा रूसी जनताको भाग्य परिवर्तन ग¥यो भन्ने विषयका सन्दर्भहरू जोड्नुभएको छ । समाजवादी समाजमा जनताले आफ्नो क्षमता उपयोग गर्न पाउँछन् । शिक्षा, स्वास्थ्यलगायत मानिसका आवश्यकता पूरा हुन्छन् । स्वतन्त्रता र शान्तिको प्रत्याभूति दिलाउने समाजवादविरुद्ध साम्राज्यवादी र फासीवादीहरूको कुदृष्टि रहन्छ भन्ने कुरा रूसकै इतिहासले बताउँछ । त्यसैको परिणति हो १९४१–१९४५ को महान् देशभक्तिपूर्ण युद्ध ।
इतिहासमै ठूलो मानिएको त्यो युद्धको विषयमा कैयौँ सङ्ख्यामा पुस्तक प्रकाशित छन् । तीमध्ये मार्सल जुकोभको यस पुस्तकलाई एउटा महत्वपूर्ण कृति मानिन्छ । युद्धको विशाल र वस्तुगत यथार्थ यस पुस्तकले अवगत गराउँछ भन्ने पाठकहरूको प्रतिक्रिया छ । यसमा युद्धलाई सैन्य दृष्टिबाट मात्र होइन सामाजिक र राजनीतिक पक्षबाट पनि विश्लेषण गरिएको छ । उहाँले सिङ्गो पुस्तकलाई आफ्ना समकालीन र सेनाहरूमा समर्पित गर्नुभएको छ । युद्धहरूमा सेनाको भूमिका कति उच्चकोटीको थियो भन्ने एउटा प्रमाण यो पनि हो । सेनाको हिम्मत, बहादुरी, सीमाहीन समर्पण, देशभक्तिपूर्ण गौरवका लागि जीवन बलिदान गर्न तयार रहने भावनाका कारण युद्धहरूमा विजय सम्भव हुन्छ । आफू युद्ध मोर्चाहरूमा कमान्डर रहँदा आफ्ना सेनाहरूले गरेको सहकार्यका कारण सफलता मिलेको उहाँले पुस्तकमार्फत बताउनुभएको छ । सेनाहरू अनुशासनमा नबस्नु युद्धका निम्ति ठूलो क्षति हुने उहाँको अनुभव छ ।
उहाँले युद्धका आधारभूत प्रक्रिया अर्थात् कौशलबारे बताउनुभएको छ । लडाइँमा प्रगतिको अध्याय, हमलाहरू अर्थात् धावा बोल्दा कुशलतापूर्वक चाल्नुपर्ने कदम, राजनीतिक अधिकारी, जनरल र कमान्डरहरूका रणनीतिक सीपहरूको मापनका विषयमा उहाँले लेख्नुभएको छ । यो किताबले जुकोभको शक्तिशाली विचारधारात्मक झुकावबारे स्पष्ट पार्छ । समाजवादी मातृभूमिको रक्षाका निम्ति समर्पित र सक्रिय जुकोभको जीवन प्रेरणादायी छ । सोभियत सङ्घको समृद्धि र स्वतन्त्रताको नाममा भएका शोषणविरुद्ध सङ्घर्षको अध्याय पुस्तकभित्र छ । मार्सल जुकोभलाई चिनेका अर्का मार्सल ए.एम. भासिलेभ्स्की (A.M. Vasilevsky) बताउँछन्, “उनी एक बुद्धिमान कमान्डर र कट्टर कम्युनिस्ट हुन् ।” उनी मस्को, स्तालिनग्राद, कुस्र्क र बेलारूसका महत्वपूर्ण रणनीतिक हमलाहरूमा जुकोभसँगै थिए ।
जुकोभलाई सधँै अत्यन्त संवेदनशील र महत्वपूर्ण क्षेत्रको नेतृत्व दिइन्थ्यो । अनेकाँै निद्राविहीन रातहरू सर्वोच्च कमान्डको निर्देशनमा सँगै काम गरेको स्मरण छ पुस्तकमा । मार्सल ए.एम. भासिलेभ्स्कीका अनुसार जुकोभ बेजोड प्रतिभाशाली सेना, नेतृत्वकर्ता हुनुहुन्छ । उहाँ युद्धका हरेक तह र शृङ्खलाहरूमा रणनीतिक, कूटनीतिक र सङ्गठनात्मक सवालहरूमा सदैव स्पष्ट र चुस्त रहनुहुन्थ्यो । निर्णय लिने सन्दर्भमा एकदमै कडा र वस्तुपरक, तथ्य–तथ्याङ्कमा आधारित नभई निर्णय लिने स्वभाव थिएन । आफ्नो मोर्चाको कमजोरी पहिल्याई शत्रुको सबलपक्ष र दुर्बलपक्ष पत्ता लगाई आक्रमण या प्रतिकारको निर्णय लिने क्षमता उहाँसँग थियो । सदैव उही ऊर्जा र आत्मबलसहित युद्धमैदानमा तयार रहने जुकोभलाई कहिल्यै निराश र दुःखी, हतास भएकोे उहाँका समकक्षीले भेटेनन् । आफ्नो कार्यक्षेत्रमा जुकोभ तनमन लगाएर काम गर्नुहुन्थ्यो । सम्पूर्ण ध्यान सङ्घर्षको मैदानमा रहन्थ्यो । सन् १९४१ अक्टोबरमा जब शत्रुले मस्कोमा हमला ग¥यो तब जोसेफ स्तालिन र जुकोभबीच भएको कुराकानीको अंश यहाँ राख्नु उचित होला –
स्तालिन –“के तिमी निश्चिन्त या पक्का छौ कि हामी मस्कोलाई जोगाउन सक्छौँ ? मैले यो प्रश्न मुटुमा पीडा राखेर गरेको छु । एक कम्युनिस्टको हैसियतले इमानदारीपूर्वक जवाफ देऊ ¤”
जुकोभ –“हामी मस्कोलाई सुरक्षित राख्न सक्छौँ । तर, हामीलाई कम्तीमा दुई कमान्डर र २०० ट्याङ्क आवश्यक पर्छ ।”
जुकोभका यस्ता थुप्रै निर्णयहरूका कारण मस्को सुरक्षित रह्यो ।
जुकोभको सैन्य शैलीको प्रशंसा स्तालिन आफै पनि गर्नुहुन्थ्यो । सोभियत जनताको जीवनमा कुनै प्रभाव नपारी अर्थात् सोभियत जनताको जीवन रक्षा गर्दै युद्धलाई अगाडि बढाइयो । उहाँको सीप र बहादुरीकै कारण स्ताभ्काले उहाँलाई सोभियत–जर्मनी मोर्चामा पठायो । जुकोभ मार्सल बन्नुभयो, चार पटकसम्म देशको राष्ट्रिय हिरोको उपाधि पाउनुभयो । तर, उहाँको लागि कम्युनिस्ट हुनु जत्तिको गौरव केहीमा पनि मिलेन । उहाँ लेनिनको पार्टीमा ५५ वर्ष रहनुभयो । पार्टीको सिद्धान्त र विचारमा सदा दत्तचित्त रहनुभयो । आफूलाई पार्टीले दिएको जिम्मेवारी बहन गर्न अहोरात्र खट्नुभयो । उहाँ देश, पार्टी र जनताका सेना, कमान्डर बन्नुभयो ।
मार्सल जुकोभको यस पुस्तक कम्युनिस्ट पार्टीको नेतृत्व नाजी जर्मनीविरुद्ध लड्न कति बलियो थियो भन्ने प्रमाण पनि हो । नाजी जर्मनी र हिटलरको फासीवादलाई इतिहासको एक कुनामा पनि ठाउँ नदिने त्यो युद्धमा लेनिन र स्तालिनको नेतृत्व कति प्रभावशाली थियो भन्ने दृष्टान्त यो पुस्तक आफै हो । जुकोभ कहिल्यै पार्टीको निर्णय, निर्देशनभन्दा पर जानुभएन । उहाँले इमानदारीपूर्वक पार्टीको लाइनलाई व्यवहारमा उतार्नुभयो । सारा समाजवादी सैन्य मोर्चाले पार्टीको लाइन नछोडेकै कारण युद्ध विजयमा टुङ्गियो । यो जुकोभको अध्ययन हो । समाजवादी देश सैन्य शक्तिमा पनि अब्बल रहनुपर्ने इतिहासको शिक्षा यस पुस्तकले दिन्छ । स्ताभ्कामा सुधार्नुपर्ने पक्ष, हटाउनुपर्ने कमजोरीहरूका विषयमा जुकोभ पत्र लेख्नुहुन्थ्यो । मोर्चाहरूलाई हौस्याउने र युद्धको निम्ति तयार पार्ने विषयमा उहाँ पोख्त हुनुहुन्थ्यो ।
मार्सल जुकोभ गृहयुद्धमा भाग लिँदा, रेजिडेन्टल र ब्रिगेड कमान्डरको भूमिकामा रहँदा, लालसेनाको घोडचढी इन्स्पेक्टोरेटमा रहँदा, चौथो घोडचढी विभागको कमान्डमा रहँदा, बेलारूस सैन्य जिल्लाको तेस्रो र छैटौँ घोडचढी (cavalry) मोर्चामा रहँदा, खालखीन गोलमा अघोषित युद्ध हुँदा, कियम विशेष सैन्य जिल्लाको कमान्डमा रहँदा, युद्धको पूर्वसन्ध्यामा, युद्धको सुरुआतको समयमा, GHY सर्वोच्च कमान्डमा रहँदा, लेनिनग्रादमा लडिरहँदा मार्सल जुकोभले कस्तो भूमिका खेल्नुभयो ? के देख्नुभयो ? के अनुभव गर्नुभयो ? यी विषय अर्को अङ्कमा चर्चा गरिनेछ ।
पुस्तकले युद्धको राजनीतिक, सैन्य र नैतिक प्रभावबारे प्रस्ट बताउँछ । सेनामात्र हुँदाको अनुभव पनि भएको र कम्युनिस्ट सेना भएर लडेको अनुभव पनि बटुलेको जुकोभको जीवनले कम्युनिस्ट र क्रान्तिकारीहरूलाई ऊर्जा मिल्छ, उत्साह मिल्छ । सेना र सैन्य विज्ञान कम्युनिस्ट विचारसँग जोडिए शान्ति, स्वतन्त्रता निश्चित रूपमा प्राप्त हुन्छ । युद्ध, हिंसा र रक्तपातविरुद्ध लड्न कम्युनिस्ट सैन्यशक्तिको बेजोड महत्वबारे पुस्तकले इतिहासको यथार्थ उजिल्याउँछ ।
Marshal of the Soviet Union, G. Zhukov,
Reminiscences and Reflections, vol-I

Leave a Reply

Your email address will not be published. Required fields are marked *