भर्खरै :

अफ्रिकाले झेल्न सक्दैन अर्को शीतयुद्ध

सन् २०२० मा हिंसात्मक द्वन्द्वहरूमा परी अफ्रिकामा बीस हजारभन्दा बढी मानिस मारिए । एक दशकअघि हिंसामा मारिने मानिसको तुलनामा सन् २०२० को सङ्ख्या झन्डै दस गुणाले बढी थियो । अहिले चीन र संरा अमेरिकाबीचको वैरभाव तीखो बनेको छ । यो पक्कै संयोगमात्र होइन । यो पटक संरा अमेरिका र चीनबीचको नयाँ शीतयुद्ध र अन्य क्षेत्रीय सुरक्षा खतराले अफ्रिकाको आर्थिक विकास र हरित सङ्क्रमणमा घातक प्रभाव पार्न सक्छ ।
अफ्रिकामा द्वन्द्वको नाटकीय वृद्धिसँगै अफ्रिकी देशहरूमा आतङ्कवादी सञ्जालको बिस्तार भएको छ । त्यस्ता सञ्जालमा एक ठाउँबाट अर्को ठाउँमा घुमिरहने विदेशी लडाकुहरूको ठूलो सहभागिता रहने गरेको छ । साथै चीन–अमेरिका भूराजनीतिक तनाव बढेसँगै अफ्रिकामा विदेशी सैनिक आधारहरू पनि बढेका छन् । शक्ति देशहरूबीचको विश्वव्यापी प्रतिस्पर्धाले अफ्रिकाभरि छद्म लडाइँहरू बढेका छन् । प्राकृतिक स्रोत र रणनीतिक महत्वका बाटामाथि नियन्त्रण गर्ने संरा अमेरिका र चीनबीचको प्रतिस्पर्धाले अफ्रिकी सङ्घको मुख्यालय रहेको इथियोपियालगायत सिङ्गै अफ्रिकालाई प्रभावित बनाएको छ ।
सन् २०१९ मा मात्र १३ विदेशी राष्ट्रले अफ्रिकी माटोमा सैनिक अभ्यास चलायो । त्यो वर्ष संसारको कुनै पनि क्षेत्रको तुलनामा अफ्रिकामा बढी सैनिक कारबाही भएको थियो । सैनिक अभ्यास गरेका देशहरूको अफ्रिकाका धेरै स्थानमा सैनिक आधारहरू छन् । अफ्रिकामा कम्तीमा ४७ वटा विदेशी सैनिक आधार छन् । तीमध्ये सबभन्दा धेरै संरा अमेरिकाका सैनिक आधार छन् । त्यसपछि फ्रान्सका सैनिक आधार बढी छन् । चीन र जापान दुवैले दोस्रो विश्व युद्धपछि अफ्रिकाको जीओटीमा पहिलो पटक आफ्नो देशभन्दा बाहिर सैनिक आधार स्थापना गरेका थिए । जीओटी संसारको एउटै त्यस्तो देश हो जहाँ अमेरिका र चीन दुवैका सैनिक आधार छन् ।
विदेशी राष्ट्रको बढ्दो संलग्नताले मध्य अफ्रिकादेखि साहेल र हर्न अफ अफ्रिका हुँदै उत्तर अफ्रिकासम्मका स्थानीय द्वन्द्वलाई प्रभावित बनाएको छ । ‘चीनको महत्वाकाङ्क्षा’ माथि नियन्त्रण गर्न संरा अमेरिकाले धेरै देशलाई सो क्षेत्रमा सैनिक मोर्चामा सामेल हुन निमन्त्रणा गरेको छ । सन् २०१८ मा नयाँ संरा अमेरिका–अफ्रिका रणनीति सार्वजनिक गर्ने क्रममा तत्कालीन अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिकालाई कूटनीतिकरूपमा समर्थन नगर्ने अफ्रिकी नेताहरूलाई भविष्यमा अमेरिकी सहायताको अपेक्षा नगर्न चेतावनी दिएका थिए । बोल्टनको भनाइले सशर्त विकास सहायताको चरण पुनः सुरु भएको देखाएको छ । अर्थात् धनी देशले पुँजीको हिसाबले गरिब देशमा स्रोत परिचालन गर्दा लगानीअनुसारको लाभ फिर्ता पाउनभन्दा भूराजनीतिक कारणबारे सोचिने गरेको देखियो ।
सन् १९५० मा संरा अमेरिकी राष्ट्रपति ड्विट एजेनहावरले छद्म युद्धलाई ‘संसारकै सबभन्दा सस्तो बीमा’ बताएका थिए । छद्म युद्धमा राजनीतिक जोखिम सीमित हुनुका साथै त्यस्ता युद्धका प्रायोजकको मानवीय लागत पनि कम हुने कुरा बुझेर उनले त्यसो बोलेका थिए । तर, त्यस्ता द्वन्द्व जुन देशमा हुन्छ, त्यो देशले भने यसको ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।
छद्म युद्धको कारण अफ्रिकाले ठूलो मानवीय क्षति भोग्नुका साथै छद्म युद्धले असुरक्षा लम्ब्याउनुका साथै पुस्तौँ पुस्तादेखिको गरिबीलाई अझ उँधो झार्दै छ । साथै, त्यसै पनि अफ्रिकामा कम रहेको वैदेशिक मुद्रालाई बाहिर पठाएको छ । अफ्रिकाको उसै पनि साँघुरो आर्थिक क्षेत्रलाई थप खुम्च्याएको छ । त्यसले प्रजातान्त्रिक उपलब्धिलाई उल्ट्याएको छ । अफ्रिकामा पछिल्लो समय भएका सैनिक विद्रोहमा त्यो प्रतिबिम्बित भएको छ ।
अफ्रिकी देशका सरकारहरूको बढ्दो सैनिक खर्चले उनीहरूको बजेटमा बढी हिस्सेदारी ओगट्दै छ । जब कि संसारका अन्य भागमा सैनिक बजेट आमरूपमा घटेको छ । यसरी सैनिक खर्च बढेर अन्य क्षेत्रको खर्च घटाउनुपर्दा बृहत् आर्थिक व्यवस्थापनका चुनौती बढ्दै गएको छ । स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान प्रतिष्ठान (सिप्री) का अनुसार सन् २०२० मा अफ्रिकाको सैनिक खर्च ४३ अर्ब अमेरिकी डलर नाघेको छ । सन् १९९० दशकसम्म अफ्रिकाको सैनिक खर्च १५ अर्ब अमेरिकी डलरमात्र थियो । सन् २०२० मा सिङ्गो अफ्रिकाको औसत रक्षा खर्च कुल बजेटको ८.२ प्रतिशत थियो । संसारभरको औसत रक्षा बजेट ६.५ प्रतिशत छ । द्वन्द्वग्रस्त देशहरूजस्तै माली र ब्रुकिना फासोमा रक्षा बजेट अझ बढी छ । मालीको रक्षा बजेट १८ प्रतिशत छ भने ब्रुकिना फासोको रक्षा बजेट १२ प्रतिशत छ ।
अफ्रिकामा नै छोटो अवधिमा रक्षा बजेट तीव्रगतिमा बढिरहेको छ । सिप्रीका अनुसार निकै तेजगतिमा सैनिक बजेट बढिरहेका पाँचमध्ये तीन वटा अफ्रिकी देशमा आतङ्कवादीहरूको सञ्जालविरुद्ध लडाइँ चलिरहेको छ । अफ्रिकी महादेशको सेनेगलदेखि सुडान हुँदै इरिट्रियासम्मको ज्यादै गरिब क्षेत्रको अवस्था यस्तो छ । बितेको एक दशकमा मालीको रक्षा बजेट ३३९ प्रतिशतले बढ्यो, नाइजरमा २८८ प्रतिशत र ब्रुकिना फासोमा २३८ प्रतिशतले रक्षा बजेटमा वृद्धि भएको छ ।
कोभिड–१९ महामारी सुरु हुनुभन्दा अघिबाटै अफ्रिकाका अधिकांश गरिब देशहरूले निकै गहिरो र लामो समयदेखि पूर्वाधारमा लगानीमा कमी भोगिरहेका थिए । सैनिक खर्च बढ्दा उत्पादनमूलक र जलवायुअनुकूल परियोजनामा लगानी कमी भएको छ । सरकारी खर्चमा भएको यस्तो परिवर्तनले सरकारी लगानी निजी पुँजी बढाउनमा लगानी गर्ने नीति निर्माताको क्षमतालाई कमजोर बनाएको छ । तसर्थ, अफ्रिकाको दीर्घकालीन वृद्धिको प्रक्षेपणले विश्वव्यापी आम्दानीसँग मेल खान जरुरी छ ।
राजनीतिक र द्वन्द्वसँग जोडिएको जोखिम बढ्नुले लगानीमा पनि असर गरिरहेको छ । अफ्रिकी देशहरूको सापती पनि बढाइएको छ । उदाहरणको लागि सन् २०२१ को फेब्रुअरीमा फिट्च रेटिङले इथियोपियाको सार्वभौमा ऋण दरलाई तल झारेको थियो । गृहयुद्ध र क्षेत्रीय तनावका कारण त्यहाँको राजनीतिक र सुरक्षा अवस्था खराब भएको कारण देखाएर यस्तो निर्णय गरिएको थियो ।
दसौँ लाख मानिसको ज्यान लिएको गृहयुद्धले अफ्रिका र बाँकी देशबीचको आम्दानीको खाडल अझ फराकिलो बनाएको छ । शीतयुद्धको यो घाउ अझै आलै छ । अब अफ्रिकाले यस्तो युद्ध थप सामना गर्नसक्दैन । अथाह मानवीय र आर्थिक मूल्यका साथै शीतयुद्धले अफ्रिकामा राजनीतिक विभाजन पनि बढाएको छ । अफ्रिकी देशहरू या त पश्चिमा देशतिर अथवा सोभियत मोर्चातिर सामिप्यता बनाउन थालेका छन् । यो विभाजनले बजारको विभाजनलाई स्थायी बनाएको छ । उपनिवेशवादी सीमालाई अझ प्रवद्र्धन गरेको छ । अन्तरसीमा व्यापार र क्षेत्रीय एकतालाई ओझेलमा पारेको छ । दोस्रो शीतयुद्ध भए त्यसरी नै अफ्रिकी देशहरूलाई कमजोर बनाउनेछ । भर्खर जन्मेको अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार क्षेत्रमार्फत गहिरिएको एकतालाई यसले क्षीण बनाइदिनेछ ।
सुरक्षा प्राथमिकताको कारण वृद्धि र विकासको लक्ष्य ओझेल पर्दा पुस्तौँ पुस्ताको गरिबीलाई अझ खराब बनाउनेछ, आप्रवासनको समस्या अझ बल्झाउनेछ । वातावरणलाई हानि पु¥याउनेछ । जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका प्रयासलाई कमजोर बनाउनेछ । नीति निर्माताहरू सीमित मात्रामा भएको स्रोत पनि पूर्वाधार लगानीबाट अन्यत्र खर्च गर्न बाध्य हुन्छन् । अफ्रिकी देशहरूको वृद्धिमा विविधीकरण र विश्व अर्थतन्त्रमा अफ्रिकी अर्थतन्त्रलाई तेजगतिमा एकाकार गर्न पूर्वाधारमा लगानी बढाउन आवश्यक छ ।
शताब्दीऔँसम्म उपनिवेशवादी शक्ति र त्यत्तिबेलाका महाशक्तिहरूले अफ्रिकालाई आफ्ना आर्थिक, सुरक्षा र भूराजनीतिक स्वार्थको आँखाले मात्र हेर्दै आएको छ । त्यसले अफ्रिकामा दीर्घकालीन लगानी र क्षेत्रीय एकता उपेक्षित रह्यो । दीर्घकालीन महत्वका लगानी र क्षेत्रीय एकताले नै संसारका अन्य भागमा उल्लेखनीय विकास सम्भव भएको हो । आज संरा अमेरिका–चीनबीचको तनावको कारण उही पुरानो मानसिकताले अफ्रिकी देशहरूमा असुरक्षाले जरा गाड्नुका साथै असुरक्षाभाव फैलिएको छ । विशेषतः साहेल क्षेत्रमा यस्तो अवस्था छ । ‘द्वन्द्वको जालो’ र ‘गरिबीको जालो’ दुवैले अफ्रिकालाई ओरालो दिशामा धकेलेको छ ।
जोन मेनार्ड किन्सले भनेका थिए,“कठिनाइ नयाँ विचारको विकासमा भन्दा पुराना विचारबाट पन्छिनुमा हुन्छ ।” शीतयुद्धकालीन मानसिकतालाई विशेषतः आजको भूराजनीतिक परिवर्तनको सन्दर्भमा त्यत्ति सजिलो छैन । प्रविधि सम्मिश्रणको कारण छद्म युद्धका प्रायोजकहरूले व्यहोर्दै आएको प्रत्यक्ष लागत कम गरेको छ । तर, अफ्रिकाको भविष्यमा समृद्ध तुल्याउनु, अप्रवासन समस्या निर्मुलन गर्नु, जलवायु परिवर्तनको प्रतिरोध गर्नु र निर्दोष जीवनको रक्षा गर्न अत्यावश्यक छ ।
(लेखक अफ्रिकी आयात–निर्यात बैङ्कका प्रमुख अर्थशास्त्री र निर्देशक हुनुहुन्छ ।)
स्रोतः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *