भर्खरै :

आजको भारतः भारतीय पत्रकारको दृष्टिमा अध्ययन गर्दा

पुस्तकको चौथो खण्ड धर्म र राजनीतिअन्तर्गत रामचन्द्र गुहाद्वारा लिखित विवेक र विज्ञानविरुद्ध धर्मान्धता र घृणा अध्ययन गर्दा विज्ञान र प्रविधिको युगमा पनि भारतीय शासक दल र मन्त्रीहरू धार्मिक अन्धविश्वासमा लाग्नु विडम्बनाकै विषय हो । निमको पात जलाएर, गौमुत्र सेवन गरेर, तिल र नरिवलको तेलको प्रयोग गरेर, गाईको घिउ नाकको प्वालमा राखेर, गाईको गोब्बर जीउमा दलेर, वन यज्ञ गर्नेजस्ता काम गरेर कोरोनाबाट मुक्ति खोज्नेको प्रसङ्ग लेखकहरूले चर्चा गरेका छन् ।
भारतीय शासक दलका मन्त्री तथा नेताहरूले कोभिड–१९ को जोखिम न्यूनीकरणका उपायहरू बेवास्ता गरी भारत सरकारले ठूलठूला राजनीतिक एवं धार्मिक सभा, मेला गर्न उत्साहित गरिनुका साथै कोभिड–१९ प्रतिरोधी खोप उत्पादन गर्न र उत्पादनका निम्ति अनुमति दिन ठूलो कञ्जुस्याइँ गरेको लेखकहरूको अध्ययनबाट प्रस्टसँग बुझ्न सकिन्छ । भारतमा डढेलोसरि फैलिएको कोरोना भाइरसले भारतमा ठूलो मानवीय क्षति बेहोर्नु प¥यो । लेखकले लेखमा हिन्दूवादी सङ्घ परिवारका लागि धर्मान्धता र घृणा विवेक र विज्ञानभन्दा अघि हुने प्रस्टाएका छन् । भारतीय मोदी सरकारले असभ्य पारा नत्यागेको परिणाम भारतीय नागरिकले कोरोना सङ्क्रमणको कारण बढीको ज्यान गएको छ । लेखकले भारतीय मोदी सरकारले बेवास्ता गरे आम भारतीय नागरिकलाई अझ बढी घाटक र कठिन हुने लेखकले प्रस्ट पारेका छन् ।
खण्ड ४ मा धर्म र राजनीतिअन्तर्गत दिल्ली विश्वविद्यालयका प्राध्यापक अपूर्वानन्दद्वारा लिखित ‘स्वामी अग्निवेशः आधुनिक आध्यात्मिकताको खोजी’ शीर्षकको लेख साम्प्रदायिक र जातीय हिंसाविरुद्ध लागिपरेका मानवताका सच्चा योद्धा अग्निवेशको जीवन, भारतको जातीय र धार्मिक हिंसा मेटाउन गरिएको योगदानको चर्चा गरिएको छ । आन्ध्र प्रदेशको एक ब्राह्मण परिवारमा जन्मी सन्न्यासी जीवन निर्वाह गर्न आफ्नो नाम, धर्म, जात, परिवार र सम्पत्ति त्याग गरिएका स्वामी अग्निवेशले कसरी जातीय र धार्मिक हिंसाविरुद्धको युद्धमा आफूलाई अघि सारे भन्ने वीरताको गाथा पुस्तकमा वर्णित छ । अहिलेको एक्काइसाँै शताब्दी अर्थात् विज्ञान तथा प्रविधिको युगमा भारतीय सरकारले साम्प्रदायिक भावना कायम राखेको कारण साम्प्रदायिक हिंसा निम्तियो । घृणाले न्यायको निम्ति सङ्घर्षलाई आवेग प्रदान गर्दछ भन्ने तथ्य स्वामी अग्निवेशको घृणाको प्रतिक्रियाले प्रस्ट्याउँछ । हिम्मत र वीरताका प्रतीक अग्निवेश कसैको सङ्कटमाथि आगोमा कुद्न सक्ने, बगिरहेको भेलमा हाम फाल्न सक्ने योद्धा एवं वीर व्यक्तित्व हो भन्ने तथ्य सन् १९८४ को दिल्ली दङ्गामा हिन्दू भीडको सामना गरेर शिखहरूलाई नरसंहार हुनबाट जोगाएबाट पुष्टि हुन्छ भनी लेखक अपूर्वानन्दले चर्चा गरेका छन् ।
छत्तिसगढ, बङ्गाल, हरियाणा दिल्लीलगायतका राज्यमा आफ्नो पहिचान बनाउनुभएका अग्निवेश भारतीय शासक दल र उच्च पदस्थहरूको नजरमा कसिङ्गर बन्न पुगे । फलस्वरूप भारतीय जनता पार्टी अर्थात् भाजपाको इसारामा झारखण्डमा भएको भौतिक हमलाको सिकार अग्निवेश बन्न पुगे । तर पनि उनको मन कति पनि डगमगाएन । अरूको हित र सेवामा समर्पित अग्निवेशको ८१ वर्षको उमेरमा कलेजोको क्यान्सरबाट बिदा भए ।
प्राध्यापक अपूर्वानन्दद्वारा लिखित ‘के भारतको हिन्दू समाज हत्याहरूको साझेदार बन्दै गएको हो’ शीर्षकको लेखमा भारतीय जनता पार्टीको राजनीति मुसलमानविरोधी घृणाका कारण टिकेको छर्लङ्ग छ । भाजपासँगै भारतीय काङ्ग्रेस पार्टी र वामपन्थी दलहरू पनि मतदाता भड्किएला र चुनावमा प्रत्यक्ष असर होला भनी मौन बसेको तीतो यथार्थलाई पारदर्शी बनाइएको छ । मुसलमानविरोधी अभियानमा सामेलमध्ये केही आफ्ना मतदाता हुनसक्ने र मतदाता गुमाउन नचाहेको तथ्य प्रस्ट पारिएको छ । काङ्ग्रेस, वामपन्थी दलहरू, भाजपामात्र नभई किसान आन्दोलनका नेताहरूसमेत साम्प्रदायिक हिंसाविरुद्ध मौन बसेको प्रमाण मुसलमान आशिफको हत्याबाट प्रमाणित हुन्छ । भाजपाले खुलेआम आन्दोलनकारीहरूविरुद्ध हिंसा भड्काएको हुँदा हजारौँ विस्थापित हुन बाध्य भए । दिल्ली प्रहरीले हिंसा भड्काउनेमाथि कारबाही नगर्दा र न्यायालयले पनि हिंसाविरुद्ध जाहेरी दर्तालाई चिसो टोकरीमा फाल्नेजस्ता यथार्थले साम्प्रदायिक हिंसामा भाग लिने र मुसलमानविरोधी सङ्ख्या बढ्दै गएको पुष्टि हुन्छ । मुसलमानहरू हिंसा झेल्दै गरुन्, मुख पनि नखोलून् भन्ने उनीहरूको चाहना छ । मुसलमानहरू धर्म निरपेक्ष पार्टीहरूको स्वार्थको लागि हरदिन हरपल ज्यान दिइरहोस्, अपमान सहेर बसोस् भन्ने उनीहरूको अर्काे चाहना हो ।
साम्प्रदायिक हिंसाको आडमा भाजपाको सरकार अघि बढेको प्रस्ट हुन्छ । समय छँदै भारतका सबै राजनीतिक दल, सङ्गठन र हिन्दू समाजका मानिसहरूले गम्भीरतापूर्वक नसोचे घृणा, हिंसा र हत्याको श्रृङ्खला बढ्नेमा दुईमत नहोला ।
पुस्तकको खण्ड चारअन्तर्गत नै ‘अदालतलाई बाबरी मस्जिद विध्वंस सुनियोजित लागेन तर त्यसको फैसलापूर्व सुनियोजित लाग्छ’ भन्ने विशाल जयसवालद्वारा लिखित लेखमा बाबरी मस्जिद विध्वंस घटनामा कैयौँ साक्षीहरूमध्ये एक राजनीतिक विश्लेषक शरद प्रधानसँगको भेटवार्ताद्वारा बाबरी मस्जिद विध्वंस सुनियोजित नलागे पनि अदालतद्वारा गरिएको फैसलापूर्व सुनियोजित हुनसक्ने बताइएको छ ।
प्रधान भन्छन्, “मस्जिदका भित्ता ढाल्न सुरुमा पिक र साबेल प्रयोग गरी आगोको झिल्को निकालिएको लगत्तै ठूलठूला प्वाल बनाई बलियो डोरीले गाँठो बनाई भित्ता कारसेवकहरूलाई डोरी तान्न बाध्य बनाइएको र अन्ततः भित्ताहरू, पिलरहरू ढल्दै गुम्बजहरू आफै ध्वस्त भए ।” षड्यन्त्रपूर्ण विध्वंस नभएको भए तीन घण्टाभित्र तीनवटै गुम्बज ध्वस्त हुन कदाचित सम्भव थिएन । अदालतले सम्पूर्ण प्रमाण, सबुद, तथ्य हेर्ने कोसिस पनि गरेन । सबै सबुदहरू बेकामको प्रमाणित गरी भारतको न्याय प्रणालीलाई तोडमोड गर्ने काम फैसलाले ग¥यो । सुरुआतमा प्रत्यक्ष साक्षीहरूको सूची १४ देखि १५ सयको भए तापनि अन्तिममा आएर ३५० जनाको मात्र साक्षी बक्न पाए । कारण, सन् २०१७–२०१८ को अन्तसम्ममा बाँकी साक्षीहरूको देहान्त भइसकेको थियो । यसरी प्रधानलगायत अन्य साक्षी बकेका साक्षीहरूको बयानलाई फोहोर कसिङ्गरमा पठाइयो या बयानलाई कुनै मान्यता दिइएन । सुनिन्छ, अनुसन्धान संस्थाले केसलाई कमजोर वा बलियो बनाउने गर्दछ । सीबीआईले पुलिसले जस्तो प्रमाण यताउता फेरबदल गर्दैन । तर, अदालतको फैसला सुनियोजित भएकै कारण सीबीआईलाई दोषी देखियो, केस कमजोर बनाइयो ।
सत्य, तथ्य प्रमाणलाई फोहोर कसिङ्गरको टोकरीमा मिल्काएर विशेष सीबीआई अदालतले ६ डिसेम्बर १९९२ को अयोध्या बाबरी मस्जिद ढालेको मुद्दामा फैसला सुनाउँदै भन्यो, ३२ जना आरोपितलाई दोष मुक्त घोषणा गरी न्यायाधीश यादवले मस्जिद विध्वंस सुनियोजित थिएन, आकस्मिक थियो र गुम्बज ढलियो । यसरी फैसलाको सुनुवाइ षड्यन्त्रपूर्ण तरिकाले गरिएको खुलासा अपूर्वानन्दले गरेका छन् ।
पुस्तकको पाँचौँ खण्डमा लेखक शम्भुद्वारा लिखित ‘भारतमा आम हडताल तथा किसान आन्दोलन’ मा एक अर्ब चालीस करोड जनसङ्ख्या भएको भारत जहाँ तीस प्रतिशत जनता सहरमा बस्छन् भने सत्तरी प्रतिशत गाउँमा बस्छन् । त्यसमध्ये पचास–साठी प्रतिशत किसान छन् भने तीस प्रतिशत जनता भूमिहीन खेती मजदुरी छन् । ८६ प्रतिशत जनता एक हेक्टरभन्दा कम भूमि हुने तथ्याङ्क पनि छ ।
सन् १९९० को दशकदेखि बढेको निजीकरणले गर्दा कृषिमा राज्यको लगानी खुम्चियो, कृषि उपज मूल्यबीच बढ्दो गहिराइ र समयानुकूल मूल्य वृद्धिमा कमी आयो, कृषिमा सङ्कट भयो, ठूलो सङ्ख्यामा किसानको आत्महत्या भयो र भूमि बेच्न बाध्य भएको पुस्तकमा उल्लेख छ ।
भारतमा तीन थरीका श्रमिक वर्ग ग्रामीण, सहरी र घरेलु भनी प्रस्ट उल्लेख गरिएको छ । सहरी कामदारहरू ट्रेड युनियनमा आबद्ध हुने, रोजगारीको सुनिश्चितता हुने सामाजिक र न्यायिक सुरक्षाका दाबेदार हुने गर्दछन् जहाँ ग्रामीण र घरेलु वर्गका कामदारहरू रोजगारीदेखि सामाजिक र न्यायिक सुरक्षाबाट वञ्चित छन् ।
सन् २०२० नोभेम्बर २६ देखि नयाँ दिल्ली पञ्जाब, हरियाणा, उत्तर प्रदेश र राजस्थानमा लाखाँै किसानहरूको विशाल धर्ना प्रदर्शन भएको थियो । धर्नामा सहभागी किसानले वार्तामा तीन वटा कानुन खारेज गरी नयाँ कानुन विस्थापित गर्नुपर्ने माग राखेका थिए ।
किसानको समर्थनमा देशका विभिन्न भागमा जुलुस प्रदर्शन, धर्नाका साथै हडताल आयोजना गरियो । आन्दोलनमा किसान, मजदुर, बुद्धिजीवी, कलाकार, सञ्चारकर्मीहरूसमेत सडकमा उत्रे । यसरी किसान आन्दोलनमा किसानहरूले प्रजातान्त्रिक प्रक्रिया अपनाए । तर, सञ्चार माध्यममा प्रसारण हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *