भर्खरै :

समाजवादी राजनीति जनमुखी राजनीति

कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिको आधिकारिक पत्रिका ‘कुल्लोजा’ मा १ मार्च १९९३ मा प्रकाशित ‘समाजवादलाई गाली दिएको असह्य छ’ शीर्षकको लेख प्रजग कोरियाका प्रिय नेता किम जङ इलले रचेका हुन् । यस लेखलाई सन् १९९४ मा नेपाल–कोरिया मैत्री सङ्घ काठमाडौँले पुस्तककारको रूपमा प्रकाशित गरेको थियो । समाजवाद ‘सर्वसत्तावादी’, ‘व्यारेक जस्तो’ र ‘हुकुमी’ ढङ्गको छ भन्ने साम्राज्यवादी र पुँजीवादीहरूको दुष्प्रचारलाई उदाङ्ग्याउने हेतुले सो लेख प्रिय नेता किम जङ इलले रचेको देखिन्छ । समाजवाद स्वतन्त्रता र प्रजातन्त्र नभएको समाज हो भन्ने साम्राज्यवादी र प्रतिक्रियावादीहरूको भ्रमको खेती चिर्ने काम सो पुस्तकमा उल्लेख गरिएको छ ।
साम्राज्यवादी, प्रतिक्रियावादी, पुँजीवादीहरूको काम नै समाजवादी व्यवस्थाकोे विरोध गर्नु हो, समाजवादीहरूविरुद्ध बोल्नु हो । तिनीहरू समाजवादी मुलुकले गरेको प्रगति र विकास हेर्न चाहँदैनन्, बरु उल्टो विकासमा अवरोध पु¥याउँछन् । साम्राज्यवादीहरूको काम आक्रमण, दबाब, नाकाबन्दी गरी ध्वंसात्मक गतिविधि गर्ने हो, गरिरहेको छ । यस्तो कार्य सफल पार्न साम्राज्यवादी र प्रतिक्रियावादीहरूले मजदुर वर्गीय आन्दोलनबाट भागेका, क्रान्तिबाट विचलित भएका, पैसामा बिकेका नेताहरूलाई उपयोग गरेर समाजवादी आन्दोलनलाई भड्काउने काम गर्छन्, गरिरहेका छन् । यस्ता जालझेल, लोभलालच, भड्काउने, फुटाउने आदि षड्यन्त्रहरू गर्न उनीहरू पछि पर्दैनन् । हो, संसारका तानाशाहहरू र साम्राज्यवादीहरू मजदुर–वर्गीय आन्दोलन गर्न दिँदैनन्, वर्गसङ्घर्ष गर्न दिँदैनन् । बरु, उनीहरू मजदुर र मजदुरबीच, किसान र किसानबीच झगडा लगाउँछन्, जुधाउने प्रयत्न गर्छन् र कमजोर बनाउने काम गरिरहन्छन् । समाजवादी जस्तो उन्नत व्यवस्थालाई उनीहरू जनतालाई गुमराहमा पार्छन्, भ्रमको जाल फ्याकेर अन्योलमा पार्छन् ।
पुँजीवादी समाजले श्रमिक जनतालाई पुँजीको दास बनाउँछ, पैसा नै सबथोक ठानेर सर्वसाधारण नागरिकलाई किनबेच गर्ने काम गर्छ । जनताको मन बिगार्ने र जनता–जनता भड्काउने काम पुँजीवादी व्यवस्थामा हुन्छ । यसकारण, देशका सबै सच्चा कम्युनिस्टहरू र सच्चा समाजवादी दलहरू समाजवादी सिद्धान्तको कुरा गर्छन् र जनतामाझ पु¥याउने काम गरिरहेका हुन्छन् । प्रजग कोरियाका महान् नेता किम इल सङले जुछे विचारधारा सिर्जना गरी समाजवादी विचारधारालाई विकसित गरे । जुछे समाजवादी विचारधाराको मान्यताअनुसार आम जनता नै सबथोकको मालिक हो, आम जनताको सेवा नै समाजको उन्नत व्यवस्था हो । यसकारण, कम्युनिस्ट पार्टीहरू या समाजवादी दलहरू समाजका सबै सदस्य या नागरिकलाई समाजवादी विचारधाराबाट सुसूचित पार्छन्, सुसूचित पार्न जनताको घर आँगनमा पुग्छन् । नेपाल मजदुर किसान पार्टीले समाजवादी प्रचार अभियान थालनी गर्नुको कारण पनि यही हो ।
पुस्तकमा भनिएको छ, जनता सबथोक मालिक बन्नको लागि सबभन्दा पहिले उनीहरू राजनीतिको मालिक बन्नुपर्छ । समाजवादी राजनीति नै जनमुखी राजनीति हो । समाजवादी समाजमा मजदुर वर्गीय पार्टी सर्वोच्च राजनीतिक सङ्गठन हो । समाजवादी समाजमा राजनीतिक दलले जनताको इच्छा र आकाङ्क्षा प्रतिनिधित्व गरेको हुन्छ । मजदुर वर्गीय पार्टी र समाजवादी सरकारको मुख्य ध्येय नै बहुमत जनताको सेवा हो । त्यसो त नेपालमा समाजवादी सिद्धान्त बोकेको या माक्र्सवाद–लेनिनवाद नै आफ्नो पथ प्रदर्शक मान्ने दलको नेतृत्वमा सरकार नपुगेको होइन । तर, ती दलका नेता र सरकारका मन्त्रीहरू समाजवादी सिद्धान्तको विचार बोक्दैनन्, समाजवादी सिद्धान्तको कुरा गर्दैनन् । समाजवादी सिद्धान्त नबोक्ने, कुरा नगर्ने दलको नेतृत्वमा सरकार भएरै के गर्ने ? नेपालका सत्तासीन दलका नेता र मन्त्रीहरू त कम्युनिस्टको नाउँमा कम्युनिस्टकै सिद्धान्त र विचार उल्लङ्घन गर्छन् । ती दलका नेताहरूले माक्र्सवाद–लेनिनवादलाई देखाउने दाँत बनाएका छन्, त्यस वादमा टेकेर त्यसैको खिल्ली उडाइरहेका छन् ।
पुँजीवादी समाजमा राजनीतिक इमानदारिता हुँदैन । बल, धाक, रवाफको राजनीति हुन्छ । पैसाको खोलो बगाएर चुनाव जितिन्छ । प्रजातन्त्र र स्वतन्त्रताको नाउँमा उच्छृङ्खल क्रियाकलाप हुन्छ, उपद्रो हुन्छ । मारपिट र हिंसात्मक गतिविधि बढेको हुन्छ । त्यहाँ विवेक र बुद्धि प्रयोग हुँदैन । आपराधिक घटना दोहोरिएको हुन्छ । सामाजिक दुष्कर्महरू भइरहेका हुन्छन् । विभेद, पक्षपात र शोषण हुन्छ । न्याय र समानता पाइँदैन । चोरीचकारी बढ्छ । अपराधीहरूमाथि खासै कारबाही हुँदैन । अनियमितता, कमिसन र घूस चल्छ । भ्रष्टाचार रोक्न सकिँदैन । श्रमिक वर्गको ठूलो सङ्ख्या बेरोजगारी र गरिबीले दुःख पाइरहेको हुन्छ । पुँजीवाद व्यक्तिवादमा आधारित समाज हो । पुँजीवादी समाजमा समुदायलाई भन्दा व्यक्तिलाई जोड दिन्छ । सरकारले नै जनताका आधारभूत आवश्यकता पूर्ति हुने उद्योग तथा कलकारखाना सञ्चालन गर्नुपर्नेमा उल्टो भएका सरकारी उद्योग तथा कलकारखाना निजीकरण गरेको हुन्छ । सरकारी उद्योग तथा कलकारखाना निजीकरण गर्न नै ती कारखानाहरू डुबाइएको हुन्छ । उद्योग डुबाउन त्यहाँ अनावश्यकरूपमा व्यक्ति भर्ना गरिन्छ, चुहावट या अनियमितता गरिएको हुन्छ । उद्योग डुब्छ, व्यक्ति पोस्ने काम हुन्छ ।
समाजवादी व्यवस्थामा प्रत्येक व्यक्तिको स्वाधीन र सिर्जनात्मक जीवन व्यतीत गर्ने अधिकार हुन्छ र पाउँछ । प्रजग कोरियामा रोजगारी नभएका मानिसहरू छैनन् । शिक्षा र स्वास्थ्यमा उपचार पाउन नसक्ने मानिसहरू छैनन् । प्रजग कोरियाका नागरिकहरू न्यायोचित र समृद्ध जीवन बिताउँछन्, सामाजिक र राजनीतिक सङ्गठनमा आबद्ध भएर स्वाधीन राजनीतिक जीवन बिताउँछन् । त्यहाँको पार्टी र सरकारले जनताको भाग्य निर्माण गर्न पथ प्रदर्शकको भूमिका निर्वाह गरेको हुन्छ । सारमा पार्टी र सरकारले जनताको सेवा गर्छ, देशभक्त जनता तयार गर्छ, कुनै पनि बाह्य शक्तिको हमला, दबाब र अतिक्रमण सहँदैन । जनताले पार्टी र नेताको निर्देशनमा आफ्ना मागअनुरूप जीवन बिताइरहेको हुन्छ । प्रजग कोरियाका प्रिय नेता किम जङ इलले लेखेको ‘समाजवादलाई दिएको गाली असह्य छ’ भन्ने पुस्तकले दिएको सन्देश यही हो । यो पुस्तक पढेपछि साम्राज्यवादी र प्रतिक्रियावादीहरू समाजवादबारे के कस्ता भ्रम छर्छन् र समाजवादी समाज कस्तो हुन्छ भन्ने कुरा छर्लङ्ग हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *