भर्खरै :

भक्तपुर बुद्धिजीवीहरूको नगर होस्

भक्तपुर नगरपालिकाले गर्दै आएको शिक्षा, सम्पदा संरक्षण, पुनः निर्माण आदि सबै काम अनुकरणीय छ । शासक दलहरूको नेतृत्वमा रहेका नगरपालिकाहरूको तुलनामा यस नगरपालिका सफा नै छ । तर, नगरपालिकाले लगानी गरेअनुरूप सफा र स्वच्छ भने हुन सकिरहेको छैन । केही दशकअगाडि यहाँ खर्पनमा तरकारी बोक्ने हजुरबुबा र हाकुपटासीमा सजिएका आमाहरूले काखीमा साग च्यापेर सूर्योदयसँगै बेच्न ल्याउनुहुन्थ्यो । अहिले विभिन्न ब्रान्डका कुकुरहरू घर–घरमा पाली बिहान बेलुका कुकुरसँगै घुम्ने नगरवासीको सङ्ख्या पनि बढ्दो छ । कुकुर पालिसकेपछि कुकुरले गरेको फोहोर व्यवस्थापनमा पनि ध्यान जानु आवश्यक छ । सार्वजनिक स्थानहरूमा कुकुरले फोहोर गरेको देखिन्छ ।
नगरपालिकाद्वारा निर्माणाधीन बालबगैँचाको छेउतिर फोहोरहरू बढेका छन् । हरेक दिन बिहान बेलुका घर घरबाट कुकुर ल्याई फोहोर गराए पनि त्यो फोहोरलाई व्यवस्थापन नगरेको देखिन्छ । कुकुर पाल्नेले सडकलाई शौचालयको रूपमा उपयोग गर्दै आएको देखिन्छ । कतिले कौसीबाटै कुकुरको फोहोर बाटोमा फालेर बटुवालाई असर पारेको दखिन्छ ।
सुसूचित नगरको रूपमा विकास गराउनका लागि अग्रजहरूले पु¥याउनुभएको योगदान कोसेढुङ्गा साबित भएको छ । घर–घरमा स्नातक देखि स्नातकोत्तर गर्ने व्यक्तिहरूको सङ्ख्यामा वृद्धि भएको पाइन्छ । शिक्षाको हिसाबले हेर्ने हो भने बुद्धिजीवीहरूको नगरको रूपमा विकास हुँदै छ । तर, नगरमा बसोबास गर्ने केही नगरवासीहरूको सांस्कृतिक स्तर, आचरण र व्यवहारले गर्दा अग्रजहरूको नमुना नगर निर्माणको चाहना पूरा हुन कठिन हुने देखिएको छ ।
नगरवासीको व्यवहार र आचरण परिवर्तन नभएसम्म नगरपालिकाले दिनदिनै गर्ने सरसफाइले मात्र सार्थकता पाउन सक्दैन । नगरपालिकाले सफा गर्नेमात्र होइन नगरका नागरिकहरूलाई जिम्मेवार नागरिक बन्नका लागि केही कार्यक्रमहरू तर्जुमा गरे नगरको सपना साकार पार्न सहयोग पुग्ने देखिन्छ । भक्तपुर नगरभित्र स्थानीयले आफूले पालेका घरपालुवा जनावर (कुखुरा, हाँस) जस्ता पशुपन्छीले जथाभावी फोहर गर्नाले कति पाटीहरूसमेत बस्नलायक देखिँदैन । भनपाले यसमा ध्यान दिए नगरबासीलाई सहज हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *