भर्खरै :

कता जाँदै छ कज्जाखस्तान ?

कज्जाखस्तानको अहिलेको अवस्था अझै पनि अस्पष्ट छ । त्यहाँको पछिल्लो घटनाक्रमबारे समाचार अपूर्ण र विवादास्पद छन् । अहिले चर्किरहेको सङ्कटबारे मूलभूत प्रश्न अझै स्पष्ट भइसकेको छैन । न कुनै चित्तबुझ्दो जवाफ नै प्राप्त भइसकेको छ । कज्जाखस्तानमा भएको भनिएको सडक आन्दोलन स्वतःस्फुर्त थियो वा त्यो नियोजित रूपमा कुशलतापूर्वक चर्काइएको प्रदर्शन हो ? त्यहाँ देखिएको जनआक्रोश र विद्रोह कज्जाखस्तानकै भूमिमा आधारित थियो वा त्यसको पछाडि कुनै शक्तिशाली विदेशी प्रायोजक, प्रबन्धक वा षड्यन्त्रकारी छ ? आक्रामक भीडको मूल माग के के हुन् ? उनीहरूका माग आर्थिक मात्र हुन् वा राजनीतिक पनि छन् ?
यस्ता अनेकन अस्पष्ट चित्र दिमागमा बोकेर पनि कुनै पनि देशको नेतृत्व, नागरिक अभियन्ता र मुख्यतः अन्तर्राष्ट्रिय समुदायले मध्य एसियाली देश कज्जाखस्तानमा भइरहेको राजनीतिक घटनाबाट केही प्रारम्भिक पाठ सिक्न सक्ने निष्कर्षमा जो कोही पनि सहजै पुग्न सक्छ । विगतमा शान्त र स्थायित्व कायम रहेको देशमा चर्किएको अनपेक्षित सङ्कट अझै पनि समाधान भइसकेको छैन । यसको कुल मूल्य र प्रभाव यसमा संलग्न वा संलग्न भएर पनि देखिन नचाहेका सबै पात्रहरूको विवेक र दूरदर्शितामा भर पर्नेछ । कज्जाखस्तानको द्वन्द्वका विविध पक्षले ‘सबै आफ्नै भागमा पार्ने’ मनसाय राखे त्यसले पार्ने प्रभाव नाटकीय रूपमा ठुलो हुनेछ ।
पछिल्लो विरोध प्रदर्शनले कज्जाखस्तानको नेतृत्वलाई जिल्ल पारेको छ । तत्काललाई सडक आन्दोलन त थामिएको छ । तर, सामाजिक तथा राजनीतिक सुधारको सन्दर्भमा थप ढिलाई भए राज्य व्यवस्थामा थप राजनीतिक जोखिम र चुनौती थपिँदै जानेछ । सन् २०१९ मा कज्जाखस्तानमा प्रथम राष्ट्रपति नुरसुल्तान नजरबायेभको ठाउँमा कसिम–जोमर्ट तोकायेभ त्यहाँको नेतृत्वमा आए । त्यत्तिबेला धेरै कजाक जनतामा आफ्नो जीवनमा नयाँ आरम्भ हुने अपेक्षा जागेको थियो । तथापि, कोभिड–१९ महामारीको कारण पनि बितेका दुई वर्षमा कज्जाख जनताको जीवन कष्टकर बन्यो । जनताको आम्दानी घट्यो । आर्थिक अवसर सबै सुक्यो । इन्धनको मूल्यमा एकाएक भएको वृद्धिले जनताको आक्रोशलाई विस्फोटको अवस्थामा पु¥यायो ।
आन्दोलनकारीहरूले पनि शान्तिपूर्ण र असल मनसायले थालिएको सडक आन्दोलन पनि सजिलै हिंसात्मक राज्यद्रोहमा परिणत हुन सक्नेमा सचेत बन्न जरूरी छ जसले पार्ने प्रभाव कल्पनाभन्दा बाहिर पनि जान सक्छ । सडक आन्दोलनको क्रममा सयौं मानिस नभए पनि दर्जनौं मानिसले ज्यान गुमाए । मर्नेको सङ्ख्या अझै बढिरहेको छ । धेरै मानिस घाइते भए । धेरैको निजी सम्पत्ति र सार्वजनिक सम्पत्तिमा ठुलो क्षति भएको छ । हिंसात्मक प्रदर्शनबाट उदारपन्थी नागरिक अगुवाले भन्दा अतिवादी राजनीतिक नेतृत्व र उत्तरदायित्वविहीन आपराधिक समूहले फाइदा उठाउने कुरा फेरि पुष्टि भएको छ । त्यस्ता आपराधिक समूहहरू लुटपाट, गुण्डागर्दी र तोडफोडमा सक्रिय देखिएका छन् ।
अन्तर्राष्ट्रिय समुदायले आफ्नो ठाउँबाट कज्जाखस्तानको अवस्थाबारे दूधको दूध, पानीको पानी छुट्याउन सक्नुपर्छ । त्यहाँ खास के भइरहेको छ भन्ने कुरा बुझ्न ‘असल समाजविरूद्ध खराब तानाशाह’ को सोच अथवा ‘अतिवादी र आतङ्कवादीविरूद्ध वैधानिक सरकार’ को तर्क नै सहयोगी हुन सक्छ । संसारभर हामीले देखेका त्यस्तै अवस्था जस्तै हामी कज्जाखस्तानमा पनि नायक र खलनायक, रूमानी र शिल्ली दुवै पक्ष भएको जटिल अवस्था देखिरहेका छौँ ।
कज्जाखस्तानमा जो कोही पनि स्थायित्व र समृद्धि चाहन्छन् । युरेसियाको माझमा एउटा असफल राज्य हुनुले कुनै पनि छिमेकी देशको रणनीतिक हित गर्दैन । त्यसले न त कज्जाखस्तानका खानी र ऊर्जा क्षेत्रमा अथाह लगानी गरेका अन्य देशहरूलाई नै हित गर्छ । त्यस देशलाई बाटोको रूपमा प्रयोग गर्ने देशहरूको पनि त्यसले हित गर्न सक्दैन । अथाह रूग्न अवशेष, जीर्णावस्था र सम्भावित अस्थीरता छोडेर अफगानिस्तानबाट संरा अमेरिका फर्केपछि कज्जाखस्तानको रणनीतिक महत्व एकाएक बढेको हो ।
रूस र मध्य एसियामा उसका मिल्ने देशहरूले कजाक नेतृत्वको आग्रह मानेर त्यहाँ सैनिक सहायता पठाउनु राजनीतिक समर्थन र ऐक्यबद्धताको महत्वपूर्ण व्यवहार हो । यदि कज्जाखस्तानको सडक आन्दोलनमा आतङ्कवादी र अतिवादी समूहको घुसपैठ भएको पुष्टि भए त्यस्ता शक्तिलाई दबाउन अन्तर्राष्ट्रिय सहकार्य ज्यादै महत्वपूर्ण हुन्छ ।
तर, कज्जाखस्तानको अन्तिम निर्णय भने फेरि पनि कज्जाख जनताकै हातमा हुनुपर्छ । जतिसुकै सहयोगी भए पनि कोही पनि बाह्य शक्तिले त्यो निर्णय गर्न मिल्दैन । आर्थिक रूपमा सफल र स्थायी रहन कज्जाखस्तानले नयाँ सामाजिक सम्झौता गर्न जरूरी छ । त्यस्तो सम्झौता राज्य र समाजबीचको संवादबाट मात्र सम्भव हुन सक्छ । त्यस्तो संवाद चाँडै सुरू हुने अपेक्षा गरौँ ।
(लेखक रूसी अन्तर्राष्ट्रिय मामिला परिषद्का महानिर्देशक हुनुहुन्छ ।)
द ग्लोबल टाइम्सबाट नेपाली भाषामा अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *