भर्खरै :

महामारीले संसारमा धनीलाई अझ धनी बनायो गरिबको सङ्ख्या १६ करोडले बढ्यो

नयाँ दिल्ली, १७ जनवरी । अन्तर्राष्ट्रिय अध्ययन संस्था अक्सफामले आइतबार सार्वजनिक गरेको एउटा प्रतिवेदनअनुसार सन् २०२१ मा भारतका ८४ प्रतिशत घर परिवारको आम्दानी घटेको छ । तर, यही अवधिमा अर्बपतिको सङ्ख्या भने १०२ बाट बढेर १४२ पुगेको छ ।
‘घातक असमानता’ शीर्षकको प्रतिवेदनमा अक्सफामले सन् २०२१ मा भारतका सबभन्दा धनी एक सय जना व्यक्तिको सम्पत्ति ५७.३ लाख करोड भारु पुगेको छ । तर, त्यही वर्ष भारतको कुल जनसङ्ख्याको सबभन्दा विपन्न ५० प्रतिशत मानिसको हातमा राष्ट्रिय धनको ६ प्रतिशतमात्र थियो ।
कोरोना महामारीको समय (सन् २०२० को मार्चदेखि सन् २०२१ को नोभेम्बर) को अक्सफामले गरेको विश्लेषणले भारतका अर्बपतिको धन २३.१४ लाख करोड भारुबाट ५३.१६ लाख करोड भारु पुगेको देखाएको छ । विडम्बना ¤ सन् २०२० मा मात्र भारतमा थप ४.६ करोड मानिस चरम गरिबीमा धकेलिएका छन् । संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कअनुसार चरम गरिबीमा धकेलिएको यो सङ्ख्या संसारकै नयाँ गरिब जनताको झन्डै आधा भएको अक्सफामको प्रतिवेदनमा उल्लेख छ ।
भारतमा बढ्दो आर्थिक असमानता समाधानको लागि अक्सफामले भारतका अति धनी मानिसमाथि सम्पत्ति कर लगाउन सुझाव पनि दिएको छ ।
“यस्ता धनी परिवारको सम्पत्तिमाथि एक प्रतिशत करमात्र लगाउँदा त्यसबाट उठ्ने पैसाले भारतमा सिङ्गो खोप कार्यक्रम सञ्चालन गर्न पुग्ने ५० हजार करोड भारु उठ्ने देखिन्छ”, प्रतिवेदनमा लेखिएको छ । भारतका सबभन्दा धनी ९८ वटा परिवारमाथि ४ प्रतिशत कर लगाउने हो भने भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको दुई वर्षको बजेट धान्न पुग्छ । साथै सत्र वर्षको लागि विद्यालयहरूमा दिइने दिवा खाजाको लागि पुग्छ”, अक्सफामले भनेको छ ।
महामारीमा संसारका धनीको सम्पत्ति दोब्बर बढ्यो
अक्सफामको प्रतिवेदनअनुसार संसारका सबभन्दा धनी दस जना मानिसको कुल सम्पत्ति महामारीको समयमा ७ खर्ब अमेरिकी डलरबाट १५ खर्ब अमेरिकी डलर पुगेको छ । सन् २०२० को मार्चदेखि सन् २०२१ को नोभेम्बरसम्म हरेक दिन औसत १ अर्ब ३० करोड अमेरिकी डलरको हिसाबले सम्पत्ति बढेको छ ।
अर्कोतिर, महामारीमा संसारभर १६ करोड थप मानिस गरिबीको दलदलमा धकेलिएको छ । उनीहरूमध्ये पनि अश्वेत अल्पसङ्ख्यक आदिवासी र महिलाले सम्पत्तिमा बढ्दो असमानताको शिकार बनेको अक्सफामको प्रतिवेदनमा उल्लेख छ ।
“यो गतिमा आर्थिक असमानता नियोजितरूपमा भएको हो”, अक्सफामका कार्यकारी निर्देशक गाब्रिला बुचरले भने । “हाम्रो आर्थिक संरचनाले मात्र हामीलाई महामारीसामु कम सुरक्षित बनाएको छैन, बरु धनी र शक्तिशालीलाई आफ्नो नाफाको निम्ति यो अवस्थाको थप दोहन गर्न सहज बनाएको छ”, उनले आफ्नो वक्तव्यमा भनेका छन् ।
प्रतिवेदनमा असमानतालाई ‘आर्थिक हिंसा’ को रूपमा व्याख्या गर्दै यसले स्वास्थ्योपचारको अभाव, लैङ्गिक हिंसा, भोक र जलवायु परिवर्तनले हरेक दिन २१ हजार मानिसलाई मृत्युको मुखमा धकेलिरहेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *