भर्खरै :

कोविन्द नै किन ?

–चिन्मय
भारतको चौधौँ राष्ट्रपतिको रुपमा रामनाथ कोविन्द विपक्षी उम्मेदवारलाई ६५.६५ प्रतिशत मतले पछि पार्दै निर्वाचित भएका छन् । पेशाले वकिल कोविन्दको परिचय मानिन्छ–उनको शालिनता । नब्बेको दसकबाट भाजपाको राजनीतिमा सक्रिय कोविन्द विहारका गभर्नर पनि भएका थिए । उनी भाजपाको अनुसूचितकृत जाति–जनजाति मोर्चाका अध्यक्ष हुन् । त्यसैगरी अखिल भारतीय कोली समाजको अध्यक्ष पनि हुन् । कोविन्द कोली समुदायका हुन् । अर्थात् कथित ‘दलित’ जातिका हुन् । मुसलवान धर्मावलम्बी, हिन्दु धर्मभित्रकै ‘दलित’ एवं आदिवासीहरुप्रति ‘धर्मयुद्ध’ छेडिरहेको भाजपा नेतृत्वकै राष्ट्रिय प्रजातान्त्रिक मोर्चा (एन.डि.ए.) गठबन्धनको उम्मेदवारको रुपमा एक ‘दलित’को छोरो भारतीय गणतन्त्रको राष्ट्रपति चुनिनु संयोग हुनै सक्दैन । छलफलको विषय यहीँ हो ।

शासकहरुको मिडियाले नदेखेझैँ गरेको हिन्दु धार्मिक उन्मादमा धेरै ‘दलित’ बस्तीहरु जलाइन्छन् वर्षेनि । आदिवासी एवं ‘दलित’ चेलीहरु नै भारतमा बढी बलात्कृत हुन्छन् । आरक्षण दिइएको नाममा त्यो तप्काका विद्यार्थीहरु अपहेलित हुन्छन् भारतीय विश्वविद्यालयहरुमा । किनभने भारतीय समाजको पिँधमा छन् यिनै गरिब आदिवासी, दलित एवं मुसलमान जनताहरु । जसरी इन्दिरा गान्धी प्रधानमन्त्री हुुँदैमा भारतका आम महिलाहरुको स्थिति उकासिएन, त्यसरी नै के.आर.नारायणन वा रामनाथ कोविन्द राष्ट्रपति हुँदैमा समग्र शोषित, उत्पीडित एवं दलितहरुको उत्थान भएको छैन र हुने छैन ।

कोविन्द राष्ट्रपतिमा चुनिनु विरोधाभाषपूर्ण देखिए तापनि यो शासकहरुको पुरानै चालबाजी हो । तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालसम्ममा सं.रा. अमेरिका अफ्रिका र अरबी देशहरुमा बद्नाम भयो । खासगरी उनको आक्रामक युद्ध नीतिका कारण । त्यसैले संरा अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुले अफ्रिका र अरबी देशहरुलाई फकाउनुपर्ने भयो । त्यसैले बाराक ओबामालाई उनीहरुले चुने । उखानमा भन्दा, एउटा तीर दुइटा शिकार । ओबामाका पुर्खा काला जातिका हुनुका साथै मुसलमान पनि थिए । अमेरिकामा कालाहरुमाथिको अत्याचारको इतिहास दर्दनाक छ । र, त्यत्तिकै दुःखद् छ, कालाहरुका लागि वर्तमान पनि । संगसंगै कालाहरुको संघर्षको इतिहास त्यत्तिकै गौरवपूर्ण र जुझारु छ । बीसौँ शताब्दीको ५० र ६० को दसकमा चुलिएको काला जातिको रङ्गभेद विरुद्धको संघर्षलाई जातिवादी अमेरिकी सत्ताले कुल्चेरै छाड्यो । त्यस संघर्षका नेताहरुलाई सिआईएले एक–एक गर्दै मारिदियो । नरम मार्टिन लुथर किंग जुनियर हुन वा गरम म्यालकम एक्स हुन् । लोकगायक पाउल रुबेसन हुन् वा पपगायक बब मार्ली फासीवादीहरुले कालाहरुलाई सताइरहे । यतिका वर्ष सेलाएको काला जातिको आन्दोलन फेरि एक पटक जुर्मुराएर उठ्यो ‘कालाहरुको जिन्दगीको महत्व छ’ (ब्ल्याक लाइफ म्याटर्स) आन्दोलनसंगै । त्यो पनि बाराक ओबामा शासनकालको अन्त्यतिर । काला जातिको पहिलो अमेरिकी राष्ट्रपतिको शासनकालमा पनि काला जातिहरुले भोग्दै आएको रङ्गभेद र जातिभेद कायमै रह्यो । काला जातिका मानिसहरुको दिनदहाडै प्रहरीद्वारा हत्या गर्ने, उनीहरुलाई सार्वजनिकस्थलमा अपमान गर्ने, कुटपिट गर्ने कार्य राज्यस्तरबाटै गरियो, गरिँदैछ । बाराक ओबामा स्वयंले सत्यलाई स्वीकार्दा–स्वीकार्र्दै पनि टुलुटुलु हेर्नुसिवाय केही गर्न सकेनन् । किनभने जातीय भेदभाव स्वयं जातिवादी अमेरिकी पूँजीपति वर्गले संस्थागत गर्दै आएको छ । र, ओबामा पनि त्यहीँ पूँजीपति वर्गका एक प्यादा थिए ।

भारतका लागि ‘दलित’ राष्ट्रपति नयाँ कुरा होइन । यसअघि के.आर. नारायणन पनि भारतका राष्ट्रपति भएकै हुन् । तर आज पनि भारतमा जातीय छुवाछुत विकराल रुपमा मुख बाइरहेकै छ । सन् २०१५ देखि २०१६ बीचमा मात्रै ‘दलित’ समुदायविरुद्ध ४५,३०० अपराधका घटनाको उजुरी दर्ता भएको भारतको राष्ट्रिय तथ्याङ्क विभागको रिपोर्टले देखाएको छ । हिन्दु धर्मले गाँजेको भारतीय समाजमा यस्ता घटनाहरु दर्ता नभएका अझै बढी हुनसक्ने सजिलै अनुमान गर्न सकिन्छ । रोहिथ भेमुलाको आत्महत्या मिडियाले बाहिर देखायो । शासकहरुको मिडियाले नदेखेझैँ गरेको हिन्दु धार्मिक उन्मादमा धेरै ‘दलित’ बस्तीहरु जलाइन्छन् वर्षेनि । आदिवासी एवं ‘दलित’ चेलीहरु नै भारतमा बढी बलात्कृत हुन्छन् । आरक्षण दिइएको नाममा त्यो तप्काका विद्यार्थीहरु अपहेलित हुन्छन् भारतीय विश्वविद्यालयहरुमा । किनभने भारतीय समाजको पिँधमा छन् यिनै गरिब आदिवासी, दलित एवं मुसलमान जनताहरु । जसरी इन्दिरा गान्धी प्रधानमन्त्री हुुँदैमा भारतका आम महिलाहरुको स्थिति उकासिएन, त्यसरी नै के.आर.नारायणन वा रामनाथ कोविन्द राष्ट्रपति हुँदैमा समग्र शोषित, उत्पीडित एवं दलितहरुको उत्थान भएको छैन र हुने छैन ।
कोविन्दले आफू राष्ट्रपति बन्नुमा भारतीय गणतन्त्रको महानता निहीत रहेको बताए । साथै आफू राष्ट्रपति बनुँला भन्ने आफूले कहिल्यै नचिताएको र आफ्नो लक्ष्य पनि नरहेको सम्झे । खासमा उनलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गर्ने व्यक्ति थिए भाजपा नेता अमित शाह । अमित शाह र नरेन्द्र मोदी मिलेर सन् २००२ को गुजरात काण्ड रचेको र सयौँ मुसलमान र ‘दलित’ बस्तीहरु जलाएको घटना जगजाहेर छ । भाजपाको अर्धसैनिक दस्ता राष्ट्रिय स्वयंसेवक संघ(आरएसएस)का गुण्डाहरुले महिनौँसम्म छानीछानी दलित एवं मुसलमान चेलीहरुका इज्जत लुटेका थिए, युवा, वृद्ध एवं बालबालिकाहरुलाई तरबारले छप्काएका थिए र जिँउदै जलाएका थिए । मुजफ्फरनगर हत्याकाण्ड भाजपाकृत त्यस्तै अर्को हत्याकाण्ड थियो । सन् २०१४ मा उत्तराखण्डको पश्चिममा सयौँ मानिसहरुको ज्यान लिनेहरुको यो घटना रच्न स्वयं भाजपाका ‘चाणक्य’ अमित शाह त्यहाँ पुगेका थिए । कैयौँ महिलाहरुलाई इज्जत लुटेपछि जिउँदै जलाइएको थियो । यसै घटनामा आधारित डकुमेन्ट्रीलाई क्याम्पस–क्याम्पसमा देखाउँदै हिँडिरहेका जेएनयुका विद्यार्थीहरुलाई देशद्रोहीको आरोपमा निकै सास्ती दियो भाजपा सरकारले । आज पनि वर्णश्रमजनित स–साना घटनाहरु भारतका विभिन्न स्थानमा दोहो¥याइरहेछन् भाजपाका नेता कार्यकर्ताहरुले । दैनिकजस्तो यस्ता समाचारहरु छापिएकै हुन्छन् भारतीय छापाहरुमा । त्यसैले प्रष्टै छ, भाजपाले जातीय भेदभावविरोधी नीति लिएकाले कोविन्द राष्ट्रपति बनाइएका होइनन् ।
‘दलित’ समुदायको सहानुभूति लिनका लागि नै भाजपाले कोविन्दलाई राष्ट्रपति बनाएको देखिन्छ । भारतका शोषित पीडितहरुमा एउटा भनाई खुब चर्चित छ, “जुन दल आए पनि हामीलाई आलुजस्तै प्रयोग गर्छन् । जेसित मिलाए पनि उस्तै स्वाद दिने ।” भारतका अचेत ‘दलित’, मुसलमान तथा आदिवासी कामदारहरुलाई भाजपाले पनि भोट बैङ्कको रुपमा प्रयोग गर्नका लागि भाजपालाई सकस थियो । किनभने भाजपा चतुवर्णाश्रम व्यवस्थालाई सर्वोपरी मान्छ । हिन्दु धर्मको यो अन्यायपूर्ण व्यवस्थाको खुलेआम आफू रक्षक भएको घोषणा गर्छ । रामनाथ कोविन्दलाई राष्ट्रपतिमा जिताएर भाजपाले समस्याको एउटा गाँठो फुकाएको छ । उसले ‘दलित’ जनताको भोट बटुल्ने बाटो खोलेको छ । यसलाई यसरी भनौँ, भाजपाले सम्बुकको हत्यालाई ढाकछोप गर्न सबरीको जुठोपुरो खाएको छ । र, फेरि पनि सबरीका सन्तानहरुको सहानुभूति लिने कुटिल चाल चालेको छ ।
डा.भीमराव अम्बेडकरबाट शुरु भएको भारतको ‘दलित’ आन्दोलनले अझै पनि प्रस्ट बाटो समात्न सकेको छैन । काँग्रेस, भाजपाजस्ता शासक दलहरुले उनीहरुलाई आलुको रुपमा प्रयोग गरेकै छन् भने भारतीय कम्युनिष्ट आन्दोलनमा पनि त्यस्तै ब्राह्मणवादी सोच हावी भएको ‘दलित’ अगुवाहरुको दुःखेसो छ । कतिसम्म भने, अनुभवले ती अगुवाहरुलाई ‘कम्युनिष्टहरुबाट जोगिनु’ भन्ने पारेको छ । ‘दलित’ अगुवाहरुमा ‘बाबा’ अम्बेडकरकै सोच हावी छ । त्यसलाई खारेर अघि बढ्ने चिन्तक र अगुवाहरु भारतीय‘दलित’ शोषित पीडितहरुले कहिले हुर्काउने हुन् ? समयको यो कठोर प्रश्नलाई अधुरै छाडेर कोविन्द राष्ट्रपतिको आसनमा विराजमान हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *