भर्खरै :

भेनेजुयला संविधानसभाको मुखमा, द्वन्द्वबीच चुनाव हुने

भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले जुलाइए ३० मा हुने तय भएको संविधान सभाको निर्वाचनले शान्ति, न्याय तथा सत्यको सुनिश्चित गर्नुका साथै सबै भेनेजुयाली जनताबीच मेलमिलाप गराउने बताएका छन् ।
‘हामीलाई शान्ति, न्याय, सुव्यवस्था र एक देशको रुपमा एकताको खाँचो परेको छ । त्यसको निम्ति हामीसँग एकै उपाय छ र त्यो भनेको संविधानसभाको निर्वाचन हो ।’, भेनेजुयलाको राज्यनियन्त्रित टेलिभिजनमा दिएको एक अन्तर्वार्ताको क्रममा माडुरोले भने ।
भेनेजुयलामा दक्षिणपन्थी शक्तिले मच्चाएको हिंसालाई इंगित गर्दै उनले राजनीति शब्द, संवाद र कुराकानीमा अघि बढ्नु उपयुक्त हुने विचार राखे ।
यसैबीच भेनेजुयलाका पूर्वविदेशमन्त्री तथा हाल संविधान सभा निर्वाचनका उम्मेदवार देल्सी रोड्रिग्युजले संविधान सभाको गठन लगत्तै देश शान्तिको बाटोमा अघि बढ्ने कुरा दोहो¥याएका छन् ।
राजधानी काराकसको पश्चिममा आयोजित एक सभामा बोल्ने क्रममा उनले भने,‘अब कुनै हिंसा हुनेछैन, अब कुनै लडाई हुनेछैन अब हुन्छ भने मात्र संविधान सभाको चुनाव हुनेछ ।’
जुलाई ३० को चुनावबाट जम्मा ५४५ जना संविधानसभा सदस्यहरु निर्वाचन हुनेछन् । तर संरा अमेरिकाले त्यो चुनाव नरोके भेनेजुयलालाई लामो समयको लागि नाकाबन्दी लगाउने धम्की दिएको छ ।
‘हामी ती मित्रहरुलाई मतदानको लागि आह्वान गर्दछौं किनभने संविधान सभा सबैको लागि हो । हामीले हाम्रो नयाँ पुस्ताको भविष्यको लागि र गर्न बाँकी न्यायको लागि विविध उत्पादनमूलक आर्थिक ढाँचामा जाने अधिकार हामीलाई छ ।’, रोड्रिग्युजले भने ।
निर्वाचनका लागि अर्का उम्मेदवार सिलिया फ्लोर्सले विपक्षहरुले बोलिभारियाली माडुरो सरकारसँग संवादका सबै ढोका बन्द गरिसकेकाले आगामी चुनाव सबभन्दा महत्वपूर्ण अवसर भएको विचार व्यक्त गरेका छन् ।
उनले भने,‘सबै क्षेत्रको प्रतिनिधित्व गर्ने मानिसहरु टेबुलमा बस्नेछन् । ज्येष्ठ नागरिक, व्यापारी, युवा र सम्पूर्ण शहर यो ठूलो टेबुलमा बस्नेछन् र संवाद प्रारम्भ हुनेछ । संसारसामू देखाउनेछौं, यहाँ हामीलाई तर्साउन कोही पनि आउन जरुरी छैन । हाम्रो बन्दोबस्तलाई चुनौती दिने यहाँ कसैको आवश्यकता छैनन । हामीबीच भएका जे जति पनि समस्या छन्, ती हामी स्वंय बसेर सल्टाउन सक्षम छौं ।’
बोलिभारियाली देशका जनताको संगठन(अल्बा)ले भेनेजुयलामा तय भएको संसविधान सभा निर्वाचनप्रति ऐक्यबद्धता व्यक्त गरिसकेको छ । संसारभरका जनतालाई अनलाइन मार्फत भेनेजुयला सरकारप्रति समर्थन जनाउने अभियानको आरम्भ अल्बाले गएको जुलाई २४ बाट गरेको हो ।
ऐक्यबद्धता व्यक्त गर्न चाहने व्यक्तिले  #VenezuelaCorazóndeAmerica  र #VamosConLaConstituyente मा आफ्नो मत व्यक्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
यही बेला दक्षिण अमेरिकाका मुक्ति योद्धा सिमोन बोलिभारको पनि जन्म दिन परेको हुनाले अल्बाले आ–आफ्नो ठाउँमा हुने प्रदर्शन र अन्य कार्यक्रममा सहभागी बन्न अनि सामाजिक सञ्जालमार्फत आफ्ना ऐक्यबद्धता सन्देश सम्प्रेषण गर्न आग्रह गरेको छ ।
मादुरो सरकारले घोषणा गरेको चुनाव विफल बनाउन विपक्षीहरुले आगामी बुधबारबाट ४८ घण्टे आमहड्तालको घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *