भर्खरै :

निर्वाचन सिद्धान्त र विचारको लडाइँ हो, जीवन मरणको होइन

  • चैत्र ४, २०७८
  • – मेरिना शाक्य
  • विचार

हरेक निर्वाचन सिद्धान्त र विचारको लडाइँ हो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भनेझैँ जीवन मरणको लडाइँ होइन । निर्वाचन बलको लडाइँ होेइन न त हतियारको लडाइँ हो । सिद्धान्त र विचारको युद्धमा जीवन मरणको सवाल उठ्दैन । यदि कुनै निर्वाचन जीवन मरणको लडाइँमा परिणत हुन्छ भने त्यो बलको लडाइँ हुनेछ । त्यहाँ हातहतियारको लडाइँ हुनेछ । बलको लडाइँमा सत्य र न्यायको ख्याल गरिँदैन । त्यहाँ प्रजातान्त्रिक मूल्य र मान्यताको प्रसङ्ग उठ्दैन । बल या कसैको धाक धम्कीको भरमा हुने निर्वाचनमा सत्य या न्यायको कसरी जित हुन्छ ? त्यहाँ सही र गलतको प्रसङ्ग कसरी उठ्छ ? जसको तरबार उसको दरबार गर्न खोजियो भने त्यहाँ सिद्धान्त, विचार र घोषणापत्रको मतलब हुनेछैन । तथापि माओवादी केन्द्रका अध्यक्ष दाहालले अबको निर्वाचनलाई किन जीवन मरणको लडाइँ भनेका हुन् ?
के अबको निर्वाचनमा माओवादी केन्द्र पत्तासाफ हुने भयो ? पत्ता हुने भयले यो निर्वाचन जीवन मरणको भनिएको हो ? साँच्चै अबको स्थानीय तहको निर्वाचनमा रगतको खोलो बग्छ ? पार्टीका कार्यकर्ताहरू जीवन मरणको स्थितिमा पुग्छन् ? जीवन मरणको निम्ति हुने निर्वाचन कसरी स्वच्छ, शान्तिपूर्ण र निष्पक्ष हुन्छ ? शक्तिको आडमा निर्वाचन भयो भने निर्वाचन आयोगको आचारसंहिताको के अर्थ हुन्छ ? आयोगले निर्धारण गरेको खर्चको सीमाभित्र रहेर के ठूला दलहरूले चुनाव गतिविधि गर्लान् ?
माओवादी केन्द्रका अध्यक्ष दाहाल निर्वाचनमा गठबन्धन या तालमेल भएन भने कहिले पार्टीलाई नै निरन्तरता दिन गा¥हो मान्छन् भने कहिले गठबन्धनको भर नपर्न नेता कार्यकर्तालाई निर्देशन दिन्छन् । कहिले तिनै नेताहरू नेकासँग चुनावी तालमेल नभए वाम दलहरूको मोर्चा गर्ने कुरा उठाउँछन् । निर्वाचनमा माओवादी केन्द्रलाई एक्लै लड्ने आँट किन भएन ? एक्लै लडेपछि धेरै सीट गुम्ने भएरै कहिले कोसँग कहिले कोसँग एकता गर्ने कुरा गर्छन् – सत्तारुढ दलका नेताहरू । जोसँग पनि मिलेर जित्ने ध्येय राखेपछि त्यहाँ सिद्धान्त र विचारको कुरा कसरी उठ्छ ? अनि के राजनीति भनेको पद, पैसा र शक्तिको आधारमा हुन्छ ? पद, पैसा र शक्ति छैन भने सच्चा राजनीति हुँदैन ? के देश यसरी नै चलिरहन्छ ? देश कसरी बन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *