भक्तपुरको ख्वप अस्पतालबाट सिक्नुपर्ने पाठ
- कार्तिक १८, २०८३
जनवादी गणतन्त्र चीनको लु सुन सांस्कृतिक प्रतिष्ठानका महासचिव चउ लिङफेईको नेतृत्वमा पाल्नुभएका प्रतिनिधिमण्डलका सबै सदस्य र देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठानका मित्रहरूलाई सांस्कृतिक नगर भक्तपुरमा हार्दिक स्वागत गर्दछौँ ।
चीनका प्रसिद्ध लेखक एवम् साहित्यकार लु सुनको नाउँमा स्थापित लु सुन कल्चर एकेडेमीका प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा हामी ज्यादै खुसी छौँ । लु सुन चीनको मात्र होइन संसारका काम गरी खाने वर्गको पक्षमा साहित्य कोर्ने एक क्रान्तिकारी साहित्यकार हुनुहुन्थ्यो । उहाँले बन्दुक नबोके पनि चिनियाँ समाजलाई कुरीति, अन्धविश्वासबाट मुक्त पार्न र जनतामा राजनीतिक चेतनास्तर उठाई समाजवादी क्रान्तिको वातावरण तयार गर्न अतुलनीय योगदान गर्नुभयो । उहाँका थोरै मात्र साहित्यहरू नेपालीमा अनुवाद भएका छन् । आगामी दिनमा देवकोटा लु सुन फाउन्डेसनको तर्फबाट अन्य साहित्यहरूको पनि नेपालीमा अनुवाद आउने र नेपाली पाठकहरूले पढ्न पाउने अपेक्षा गर्दछौँ ।
भक्तपुर नगरपालिका आकारको हिसाबले नेपालको सानो नगरपालिकामध्ये एक हो । यस पालिकामा स्थायी बासिन्दाहरू ८० हजार छन् भने बाहिर जिल्लाबाट आएर विभिन्न पेसा वा व्यवसाय तथा अध्ययन गरेर बस्नेहरू पनि त्यत्तिकै सङ्ख्यामा छन् । यस नगरपालिकाले दैनिक १ लाख ५० हजार जनतालाई सेवा प्रदान गर्दै आएको छ ।
जुजु धौ, भादगाउँले टोपी, टाइचीन च्युरा, हाकुपतासी, माटाका भाँडाहरू यहाँका विशेषताहरू हुन् । पाँचतले मन्दिर, पचपन्न झ्याल दरबार, सुनढोका, दत्तात्रय मन्दिर यहाँका काष्ठकला, प्रस्तर कला र धातुकलाका अनुपम उदाहरणहरू हुन् ।
यो नगर १० वटा वडामा विभाजित छन् । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सबै वडाबाट नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरू निर्वाचित भएर काम गर्दै छौँ । नेपाल मजदुर किसान पार्टी माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अङ्गीकार गर्दै आएको पार्टी हो । यस पार्टीको नेतृत्व नेपालका वरिष्ठ वामपन्थी नेता नारायणमान बिजुक्छेँ
(रोहित) ले गर्दै आउनुभएको छ । उहाँले भक्तपुरको भविष्यको रूपरेखा कोर्दै एक पुस्तक लेख्नुभएको छ – ‘सय वर्षपछिको भक्तपुर’ । त्यसलाई मार्गनिर्देशनको रूपमा लिएर भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, पर्यटनलगायत विभिन्न विकास निर्माणका कार्यहरू गर्दै आएको छ । हरिबहादुर श्रेष्ठको नाउँले परिचित उहाँ राजनेताको साथै एक प्रतिष्ठित प्रगतिशील लेखक र साहित्यकार पनि हुनुहुन्छ । उहाँले नेपाली जनताको राजनीतिक चेतनास्तर उठाउन थुप्रै प्रगतिशील साहित्य र राजनीतिक पुस्तकहरू लेख्नुभएको छ ।
यस नगरमा ९२ वटा विद्यालयहरू छन् । नगरपालिकाले शिशुस्याहार केन्द्रदेखि २ वटा इन्जिनियरिङ कलेजसहित उच्च शिक्षा प्रदान गर्ने ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको छ । नपाले स्वास्थ्य क्षेत्रमा घरदैलो नर्सिङ, वडा वडामा स्वास्थ्य केन्द्र र १०० शय्याको ख्वप अस्पताल सञ्चालन गरी कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
विश्व सम्पदामा सूचिकृत दरबार क्षेत्र, टौमढी र दत्तात्रय क्षेत्र भक्तपुरका प्रसिद्ध पर्यटकीय क्षेत्रहरू हुन् । भक्तपुरमा वर्षमा लाखौँ पर्यटकहरूले भ्रमण गर्छन् । नेपाल आउने पर्यटकहरूमध्ये करिब तीस प्रतिशत विदेशी पर्यटकहरू भक्तपुर आउने गर्छन् । चीन र सार्क देशका नागरिकहरूसँग भक्तपुरको प्राचीन सहर प्रवेश शुल्क रु. ५०० र गैरसार्क मुलुकसँग १५ डलर वा ने.रु. २०००।— उठाउँदै आएका छौँ । त्यसरी सङ्कलित रकमबाट भक्तपुरको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र विकास निर्माणलगायतमा खर्च गर्दै आएका छौँ ।
भक्तपुर आउने विदेशी पर्यटकहरूमा चिनियाँहरू दोस्रो नम्बरमा पर्छ । वार्षिक ३६ हजारभन्दा बढी चिनियाँहरूले भक्तपुर भ्रमण गरेको तथ्याङ्क छ । नेपाल भ्रमणमा आउने चिनियाँ नेताहरू, सरकारका विभिन्न तहका उच्च पदाधिकारीहरूले भक्तपुरलाई प्राथमिकता दिएर बरोबर भक्तपुर भ्रमण गर्नुभएको छ । उहाँहरूले नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटघाट गर्नुहुन्छ र सो क्रममा भक्तपुरका महत्वपूर्ण क्षेत्रहरूको पनि भ्रमण गर्नुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ नगरपालिकाको पार्टी सचिव युआन चियाच्युन, चिनियाँ जनकाङ्ग्रेसका अध्यक्ष लि चाङ्सु, विदेशमन्त्री वाङ यी, चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख लिऊ जिआन्चाओलगायत थुप्रै पार्टी र सरकारका उच्चपदस्थ पदाधिकारीहरूले भक्तपुर भ्रमण गर्नुभएको छ ।
भक्तपुर नगरपालिका र चीनको सि च्याङ प्रान्तको सान्नान नगरपालिकाबिच भगिनी सम्बन्ध कायम छ भने स्छुवान प्रान्तको लसान नगरपालिकासँग भगिनी सम्बन्ध बनाउन समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । भक्तपुर नगरपालिका र सान्नान नगरबिच भ्रमणहरूको आदानपदान भइरहेको छ । यसले एक अर्कोबाट सिक्ने अवसर पनि प्राप्त भएको छ । चीनको उच्चस्तरीय नेताहरूको भ्रमण, भक्तपुर नगरपालिका र चीनका सान्नान नगर तथा लसान नगरपालिकाबिचको सम्बन्ध, सहयोग र सहकार्यसम्बन्धी सबै विवरणहरूको सँगालो ‘चिनियाँ मित्रहरू भक्तपुरमा’ पुस्तक नेपालीमा प्रकाशित गरेका छौँ ।
नेपालमा २०७२ सालको भूकम्प र कोभिड १९ सङ्कटको बेला चीन सरकारले नेपाली जनताको लागि धेरै सहयोग गरेको थियो । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको सान्नान नगरपालिकाले कोभिडको बेला नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका लागि स्वास्थ्य सामग्री र उपकरणहरू दिएर सहयोग गरेको प्रति आभारी छौँ ।
भक्तपुर नगरपालिकाले चिनियाँ भाषाको नियमित प्रशिक्षण दिँदै आएको छ । अहिले थुप्रै विद्यार्थीहरू चीनमा इन्जिनियरिङ, चिकित्सक र अन्य विभिन्न विषयहरूको उच्च शिक्षाको निम्ति गइरहेका छन् । सयौँको सङ्ख्यामा विद्यार्थीहरूलाई छात्रवृत्ति सहयोग दिएर चीनले एक असल छिमेकीको परिचय दिइरहेको छ ।
नेपाल सधैँ एक चीन नीतिको पक्षमा छ । चीनले गरिरहेको तीव्र आर्थिक विकासले चिनियाँ विशेषतासहितको समाजवादको निर्माण चीनमा सफलतापूर्वक अगाडि बढिरहेको देखाउँछ । चीनले गरेको भौतिक विकास र आर्थिक प्रगति देखेर विश्वका जनता आश्चर्यमा परेका छन् । छिमेकी चीनले गरेको विकास र समृद्धिबाट नेपाल र नेपालीलाई पनि फाइदा पुग्ने अपेक्षा छ ।
स्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशी, बौद्धिक समाजका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँ र नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबन्जार यही हुनुहुन्छ । उहाँहरूले भाषा साहित्यको विकासमा महत्वपूर्ण योगदान गर्दै आउनुभएको छ । लु सुन एकेडेमीसँग ती संस्थाहरूको सम्बन्ध बढाउन पाए राम्रो हुने आशा गर्दछौँ । लु सुनको जन्मजयन्ती मनाउने क्रममा पञ्चायती शासनकालमा प्रहरी हस्तक्षेप भएको तीतो अनुभव पनि हामीसँग छ । यस्ता भ्रमणहरूले दुई देशबिचको सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वाससहित पुनः एकपटक सबै अतिथिहरूलाई स्वागत एवम् धन्यवाद ज्ञापन गर्दछ ।
(२०८३ कार्तिक १४ गते देवकोटा—लु सुन एकेडेमीको आमन्त्रणमा नेपाल आउनुभएका जनवादी गणतन्त्र चीनको लु सुन सांस्कृतिक प्रतिष्ठानका महासचिव चउ लिङफेईको नेतृत्वमा आएको १७ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको स्वागत कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)
Leave a Reply