भर्खरै :

गठबन्धनले लोकतन्त्र कमजोर बनाउँछ

सिद्धान्त र विचार नमिलेका राजनीतिक दलहरूको गठबन्धनले लोकतन्त्र जोगाउँछ, देश विकास हुन्छ भन्ने होइन । बरू, यसले लोकतन्त्र कमजोर बनाउँछ, देशको विकासलाई पछि धकेल्छ । गठबन्धनले विदेशी थिचोमिचो, अतिक्रमण, आक्रमणको विरोध गरेको भए, नेपाली भूमि बचाउने अभियानमा लागेको भए लोकतन्त्र अझ सुदृढ हुन्छ, नेपाली भूमि जोगाउन सकिन्छ । गठबन्धन बढी मत पाउन र बढी सीट जित्न गरिएको हो । सिद्धान्त र विचार बन्धक राखेर गरेको गठबन्धनले लोकतन्त्र जोगाउँछ भन्ने विचार सही होेइन । सत्तासीन र ठूला दलका नेताहरू स्थानीय तहको निर्वाचनमा जसरी भए पनि बढी सीट जित्नको निम्ति अनेक जाल बुन्दै छन्, भ्रम फैलाउँदै छन् । नेताहरू झूटको खेती गरेर प्रजातन्त्रको उपहास गर्दै छन् ।
लोकतन्त्रलाई जीवनपद्धतिको रूपमा विकास गर्नुपर्छ । लोकतन्त्रलाई जीवनपद्धतिको रूपमा विकास गर्न जनतालाई राजनीतिक र वैचारिकरूपले सुसूचित पार्नुपर्छ । समाजमा व्याप्त अन्धविश्वास र कुरीति अन्त्य गर्नुपर्छ । जनताको सांस्कृतिक स्तर उठाउनुपर्छ र नागरिक भावना जगाउनुपर्छ । देशमा सन्तुलित विकास गर्नुपर्छ । विकासको योजनामा चुहावट रोक्नुपर्छ । विकास योजना कुनै कार्यकर्ताले कमाइ खाने भाँडो बनाउनु हुँदैन । भ्रष्टाचार र अनियमितता अन्त्य गर्नुपर्छ । जनताका हक अधिकार सुनिश्चित गर्नुपर्छ । के यी काम ठूला दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताले गरिरहेका छन् ?
प्रम शेरबहादुर देउवाले बिहीबार भरतपुरमा आयोजित जनसभामा ‘लोकतन्त्र जोगाउन गठबन्धन’ भन्दै देश चलाउन गठबन्धन आवश्यक भएको विचार व्यक्त गरे । कुनै पनि पार्टी एक्लैले देश चलाउन नसक्ने प्रम देउवाको विचार थियो । गठबन्धनमा तलमाथि भए देशमा ठूलो दुर्घटना हुने विचार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यक्त गरे । गठबन्धन भएन या गठबन्धनको उद्देश्य पूरा भएन भने देशमा कस्तो दुर्घटना हुन्छ ? स्थानीय तहको निर्वाचनमा एउटा पदमा नजित्दैमा हुने दुर्घटना के हो ? पार्टी एक्लैले देश चलाउन नसक्ने थाहा भएका प्रम देउवाले किन बहुमत प्राप्त सरकार ढालेर अल्पमतको सरकार गठन गरेका हुन् ? देशको राष्ट्रिय आवश्यकता गठबन्धन होइन । देशको आवश्यकता जनताका आधारभूत वस्तु समयमा उपलब्ध गराउने हो, देश जोगाउने हो । विदेशीको इसारामा होइन आफ्नै देशका नेपाली जनताको भावना पूरा गर्न नेपालीहरूकै बुद्धि र विवेकअनुसार राजनीति गर्ने हो । देश आत्मनिर्भर बनाउन पूर्वाधारहरू तयार गर्दै जाने हो । अनि पो लोकतन्त्र स्थापित हुन्छ र देशको मुहार फेर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *