भर्खरै :

हामीले साहित्यको अध्ययन गर्दा

दक्षिण भारतीय समाजको दैनिक जीवनमा रामायण र महाभारतबाट परेको प्रभावबारे हामी सबै अवगत छौँ । तर, रामायण र महाभारतलाई हामीले साहित्यको रूपमा हेर्नुभन्दा बढी त्यसको धार्मिक तथा भावुक पक्षबाट प्रभावित हुने गरेको पाउँछौँ । कहिलेकाहीँ सिनेमाको कथाबाट प्रभावित भएर दर्शकहरू रुँदै घर फर्केका हुन्छन् । तर, लेखकले देखाउन खोजेको सूक्ष्म विषयमा पाठक र दर्शकको पहुँच नपुगेको थाहै हुन्न ।
ऋषि वा कवि वाल्मीकिले रामायण अनुष्टुप छन्दमा लेखेको मानिन्छ । त्यस्तै वेदव्यासले महाभारत लेखे । रामायण र महाभारतका राम्रा र नराम्रा एवम् अनेक प्रकारका साथै फरकफरक चरित्रका पात्रबारे लेखकले लेखेका छन् । तर, कथा वाचन गर्ने पण्डित वा कक्षाका शिक्षकले मूल पात्रहरूको बयान गरेरै अन्य सूक्ष्म विषयहरू ओझेल पार्ने गरेको पाइन्छ ।
सीता र द्रौपढीप्रति दर्शक र पाठकहरूको सहानुभूति हुँदाहुँदै तिनीहरूका अनावश्यक इच्छा र उत्सुकता, कडा भाषा तथा आक्रोशले घटनाहरू अगाडि बढेका हुन्छन् र दुःख एवं पीडाका विषय बनेका हुन्छन् । तर, धार्मिक र भावुक पाठकहरूले त्यसबाट कम सिकेका हुन्छन् ।
लेखकले एउटै परिवारका फरक–फरक पात्रहरू रचेर हरेकको व्यक्तित्वबारे उत्तिकै प्रकाश पार्ने दुःख गरेनन् । सामान्यरूपमा हेर्दै गर्दा लेखकको उद्देश्य र पाठक वा दर्शकहरूको गहन प्रवृत्तिमा आनकातान फरक देखिन्छ । राम र लक्ष्मणको चरित्रमाथि बढी प्रकाश पारियो तर भरत र शत्रुघनको चरित्रबारे पाठकहरूले कम चिन्तन गर्न पाए । त्यस्तै पाण्डवका नहकुल र सहदेवको चरित्र चित्रणमा लेखकले कम मेहनत खर्चे । एउटै परिवारका व्यक्तिहरूको व्यक्तित्व फरक भएजस्तै समाजका हरेक परिवारका सदस्यहरू समान हुँदैनन् । यस मानेमा रामायण र महाभारतमा मुख्य पात्रहरू नै समाजको पूर्णता होइन भन्ने सन्देश कमजोर देखिन्छ ।
आफूप्रति भएको भेदभाव र अन्यायको विरोधमा कर्णले क्रोध र बदलाको भावना प्रकट गर्नु स्वाभाविक थियो । कौरवप्रतिको उनको पक्षधरताले उनीलाई कर्तव्यप्रति अटल रहने र आफ्ना आस्थाप्रति अटल रहने एक आकर्षक पात्रको रूपमा देखाए लेखकले । सत्ताप्रतिको आफ्नो भक्तिलाई प्रदर्शन गरेको हुनाले कर्णले कर्तव्यपरायणता र आफ्नो निष्ठाप्रतिको अडानको पुरस्कार दिन कन्जुसी गरेको प्रस्ट छ । अथवा, लेखकले पाठकहरूको सहानुभूति र समर्थन प्राप्त गराउँदै सत्तामा हुने भेदभाव र न्यायको कमीलाई सङ्केत गरेका त होइनन् भन्ने प्रश्न पनि उठ्न सक्छ । अर्थात्, कर्णलाई एक बहादुर, निडर र आस्थाको प्रतीक बनाएर सत्ताका अहङ्कारीहरूलाई कमजोर देखाएर कर्णलाई प्रकाशमा ल्याउने लेखकको उद्देश्य त झल्केको होइन ?
कहिलेकाहीँ छोराहरू त यस्तो हुनुपर्छ भनी देखाउनमात्र लेखकले अभिमन्यू र घतोत्कोचजस्ता पात्रहरूको सिर्जना गरेका त होइनन् भन्नेबारे छलफलको विषय बन्छ । भीष्मपितामह र द्रोणाचार्यजस्ता ज्येष्ठ र गुरुबाहरूलाई उचित आदरको सम्मानसँगै आफ्नो पक्षप्रतिको कर्तव्य र अन्यायको विरोधमा युद्ध गर्ने अठोट, साहस र वीरताले महाभारतलाई एक सजीव साहित्य बनायो । तर, आत्मबलिदानलाई प्राथमिकता दिलाएर सत्ताप्रति आशक्त देखाउनेहरूप्रति लेखकको पक्षधरता देखाउनु के भविष्यप्रति लेखकबाट भएको अन्याय होइन ?
प्राचीन साहित्यलाई पुनः लेखन र आलोचनात्मक विवेचना गर्दा समाजको बढी हित हुन्छ । नत्र, एउटै परिवारका परस्परविरोधी दृष्टिकोणका पात्रहरूलाई एउटै आँखाले हेर्ने पाठकहरूको भावुकता र धर्मपरायणता एक प्रकारको सत्ताप्रतिको अन्धविश्वास, आत्मसमर्पण एवम् समाजमा ल्याउनुपर्ने सत्ता परिवर्तनको आवश्यकतातिर पाठकहरूलाई घच्घच्याउन पुग्दैन ।
व्यवहारमा एउटा परिवारको पाँच भाइ छन् । जेठो सरलतापूर्वक सबैसँग समान व्यवहार गर्छ र सामूहिक जीवनलाई प्राथमिकता दिन्छ । माइलो आफ्नै छोराछारीको मात्रै पिर गर्छ, परिवारको हेर्दैन र स्वार्थी छ । अरूको भावना बुझ्ँदैन, पूरै असामाजिक र अमली छ, त्यसैमा मस्त छ । साहिलो दिएको काम गर्छ, कसैको चियो चर्चा गर्दैन, कसैलाई हानि गर्दैन र आफ्नो स्वार्थ हेर्न जान्दैन, त्यसैले आफ्नो पत्नीसमेत ऊसँग सन्तुष्ट छिन् । काहिँलो अल्छी छ । आत्म–केन्द्रित छ । आफ्नै मनको लड्डु बनाउनमै हराउँछ । कान्छो अगाडि देखेको काम गर्छ, सबैलाई सन्तोष पार्न खोज्छ तर उमेर एवम् अनुभवको कमीले गल्ती पनि गर्छ तर सक्रिय छ ।
अमेरिकी नाटककार शेक्सिपियरको ‘राजा लियर’ का तीन छोरी छन्, तीनैलाई माया गर्थे । तर, एक परीक्षामार्फत तीन छोरी तीन प्रकारका– स्वार्थी, मध्यम र बुबाको पिर लिने ।
एकै आमाबाबुका चार छोरा छन् भने चार स्वभावका मात्रै होइन जुदुवा भाइबहिनीहरू सुरुमा एक जना रोए, दोस्रो पनि रुने, बिरामी भयो भने दुवै बिरामी र एकरूपता देखिन्थ्यो । उमेर बढ्दै गएपछि तिनीहरूको स्वभाव उल्टो हुँदै गएको अभिभावकलाई थाहा हुन्छ ।
विद्यालय र पार्टीको कक्षा सञ्चालनमा समेत सँगै हुर्केका युवाहरूमा असमानता देखापर्छ । जेठो अनुशासित, समयमा आफ्नो काममा पुग्ने, मन लगाएर काम गर्ने र ढीलो भए पनि काम नसिध्याई घर नजाने । भाइ ढीलो आउने, काम गर्न अल्छी, छिटो घर फर्कने, कार्य स्थलको कापीमा ११ बजे आएर १० बजे हाजिर जनाउने र ३ बजे भए पनि ४ बजे लेखेर जाने । सम्भवतः दाजु र भाइको सङ्गत फरक हुने र अध्ययनको विषवस्तुले भिन्नता ल्याउँछ । विवाह भएपछि पत्नीहरूको स्वभाव र प्रभावले काम गर्नु स्वाभाविक छ ।
एउटै सामाजिक परिवेशमा हुर्केका र हुर्कँदै गरेका युवाहरू समाजसेवा र राजनैतिक क्षेत्रमा प्रवेश गर्छन् । एक भाइ नेपाली काङ्ग्रेस, एमाले, माओवादी वा कुनै एक पुँजीवादी साहित्यबाट प्रभावित हुन्छ । ‘जो योग्य छ, ऊ अगाडि बढ्छ, जसले सक्छ उसले हान्ने हो, पटकाउने हो’ भन्ने दर्शनबाट प्रभावित हुन्छ । निश्चय नै ऊ स्वार्थी र व्यक्तिवादी हुन्छ, उसले अरूलाई कुल्चेर अगाडि बढ्ने काम गर्छ ।
अर्काे भाइ ‘समानतावादी’ वा ‘साम्यवादी’ साहित्यबाट प्रभावित हुन्छ । उनी आफ्नोभन्दा समूह र समाजलाई प्राथमिकता दिन्छन्, पछि परेका, अशक्त, अपाङ्ग, बिरामी, टुहुरा–टुहुरीबारे प्रकाश पार्न चाहन्छ । शोषण र अन्याय, अत्याचारको कारण र मुक्तिको उपायबारे चिन्तन गरी घोत्लिन्छ । परदेशमा जाँदा होस् वा जेल र पार्टी कक्षा वा तालिममा– उनी सबैतिर हेरेर काममा सघाउन पुग्छन् र अलमलमा परेका साथीहरूसँग छलफल गरी सहयोग गर्नुमा आनन्द र खुसी अनुभव गर्छन् ।
कोही कार्यकर्ता अग्लो जिउको छ, फुर्तीफार्ती पनि कम छैन तर सामूहिक काममा अल्छी गर्छ र अरूलाई अ¥हाउन खोज्छ, जब कि त्यस समूहमा बौद्धिकरूपमा ऊभन्दा सधैँ अब्बल छ । उसको मनमा आफू तुलनात्मक धनी वा सम्पन्न सम्झेको हुनाले अरूलाई कज्याउन खोज्छ भने अरूको उसलाई मनमनै शोषक–धन–सम्पत्ति भएको टोपलेका भनी उनीमाथि आलोचनात्मक धारणा राख्छन् । त्यस्ता व्यक्ति आफै नखटेकै हुनाले असफल हुने निश्चय छ र उसलाई स्कूल, कलेज, कार्यालय, प्रेस वा योजनामा प्रमुख बनायो भने ती कुनै पनि संस्था सफल हुन्न । व्यवहारले देखाउँछ– उसमा गम्भीरता छैन, सिक्ने चाख छैन, सेवाको भावना र अरूबाट सिक्ने प्रवृत्तिको पनि कमी छ । व्यवहारबाटै उसले अरूको आदर ग्रहण गर्ने हो हप्की–दप्की वा समूहको कामभन्दा घरको काममा बढी ध्यान दिने समूह नाइके आफ्नै सफल र ‘नाइके खोट’ भएपछि समूह नै पछि पर्छ । यसकारण, साहित्यले राम्रो पात्रलाई अगाडि वा प्रकाशमा ल्याउनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *