भर्खरै :

एमसीसीविरोधी देशभक्तको जित

प्रजातन्त्रको जग स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारलाई भक्तपुरलगायत देशका अन्य जिल्लाका देशभक्त जनताले माया, साथ र सहयोग गरी विजय गराएका छन् । अपवित्र गठबन्धन गरेर नेमकिपाका उम्मेदवारहरूलाई हराउन खोजे पनि सफल हुन सकेन । विगतको स्थानीय निकायको निर्वाचनमा पनि यस्तै अपवित्र र अप्राकृतिक गठबन्धन असफल भएको थियो । जतिसुकै पैसाको खोलो बगाए पनि जनतालाई लोभलालच र धम्की देखाए पनि उनीहरू निर्वाचनमा हारे । उनीहरूको घिनलाग्दो गठबन्धन, बोली व्यवहारबाट वाक्कदिक्क भएका, रिसाएका देशभक्त जनताले निर्वाचनमा नेमकिपालाई झन् ज्यादै माया गरे, साथ दिए । यो जनताको मायाको मुख्य मियो भनेको नेमकिपाले निः स्वार्थरूपले देश र जनताको सेवा गर्नु हो । यसले कलेजहरू खोलेर शिक्षामा चमत्कार ल्याइदियो । यसले १०÷१५ लाखमा डाक्टर पढाउँछु, ख्वप विश्वविद्यालय खोल्छु भनेर कसेर लागिरहेको सबैलाई थाहा भएकै कुरा हो । तर, शासक दल र सरकारले स्वीकृति दिन आँट गरिरहेका छैनन् । जनताले सङ्घर्ष गरेर एक दिन विश्वविद्यालयको स्वीकृति लिएरै छोड्ने छन् । शिक्षा, सम्पदा संरक्षण, सरसफाइ, खेलकुद आदिमा उदाहरणीय काम गरेको जनताले हेरिरहेका छन् । कोरोना महामारीको सङ्कटको समयमा पनि कोरोनाको जोखिम मोलेर पीडित जनताको सेवा गरिएको थियो । जनताको माया र सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरेर भनपाले पीडित जनतालाई निः शुल्क वितरण गरिरहेको छ । यस्तो काम अरू कम्युनिस्ट र प्रजातन्त्रवादी भनिएका दलहरूले गर्न सकेका छैनन् । भक्तपुर नगरपालिका त्यसै रोल मोडल भएको होइन ।
अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको दबाबमा विकास र सहयोगको नाममा देशको स्वाभिमान र सार्वभौमिकतामा घात हुने गरी देउवाले माओवादी र एमालेको साथ र सहयोगमा देशघाती एमसीसी सम्झौता गरेका थिए । उनीहरूले एमाले, माओवादी, काङ्ग्रेसलाई प्रभाव र दबाबमा पारेर नेताहरूलाई धम्की दिएर एमसीसी सम्झौता गराएका थिए । यसको विरोधमा कोही सांसद रोस्टममा उभिन सकेनन् । बरु, एक्लै भए पनि नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले सुरुदेखि अन्तसम्म यो देशघाती हो, एसियाघाती हो, यसलाई पास गर्नु हुँदैन भनेर विरोध गरिरहे । नेमकिपाले एमसीसीको विरोधमा काठमाडौँको बानेश्वरस्थित सङ्घीय संसद् भवनअगाडि विरोध ¥याली र धर्ना गरेको थियो । नेपालका ४० भन्दा बढी जिल्लाको १०० भन्दा बढी ठाउँमा ¥याली र विरोध सभा गरेर जनतालाई सचेत पार्ने काम नेमकिपाले गरेको थियो । तर, दुःखको कुरा नेपाली माटोको रक्षा गर्न, देशको स्वाभिमान र सार्वभौमिकता रक्षा गर्न गरेको विरोध कार्यक्रमहरूको दृश्य केही पत्रपत्रिकाबाहेक नेपालका ठूला भनिएका दैनिक पत्रिकामा समाचार बनेन । पत्रपत्रिकामा यसको समाचार र फोटो अटेन । बानेश्वरमा भएको विरोध सभा नदेख्ने पत्रिका सञ्चालकहरू पनि के विदेशी दलाल हुन् ? यसका प्रकाशक र सम्पादकहरू के विदेशीबाट पोषित हुन् ? एमसीसीविरुद्धको विरोध सभा र ¥याली अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरुद्ध लक्षित थियो ।
एमसीसीविरोधी देशभक्त दल नेमकिपाका उम्मेदवारहरू भक्तपुर नगरपालिकामा धेरै मतको अन्तरले जितेका छन् । देशघाती एमसीसी सम्झौता पास गर्ने देशघाती दलका उम्मेदवारहरूलाई भक्तपुरका जनताले हराएर दण्ड दिएका छन् । नेमकिपाले यस चुनावलाई देशघाती एमसीसी समर्थक र यसका विरोधी देशभक्त दलबीचको लडाइँ भनेको थियो । परिणामतः जनताले उनीहरूलाई दण्ड दिएरै छाडे र भक्तपुर नगरपालिकामा देशभक्त पार्टी नेपाल मजदुर किसान पार्टीलाई जिताए ।
चुनावी सभामा भक्तपुरका मै हुँ भन्ने एमालेका एक नेताले ख्वप इन्जिनियरिङ कलेजको बारेमा बोलेको कुरा सामाजिक सञ्जालमा भाइरल भयो । उनले नेपालमा बलियो सरकार आयो भने (दुईतिहाइको सरकार आएको होइन ?) ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरूको प्रमाणपत्र अमान्य हुनसक्छ भने । उनले प्राध्यापकहरू अयोग्य छन् भनेका थिए । त्यही व्यक्तिले त्यहाँ पढ्ने विद्यार्थीहरू मेहनती छन्, राम्ररी पढेका छन् पनि भने । त्यस्ताको बारेमा बोल्नु फोहोरमा ढुङ्गाले हान्नुजस्तै बेकारको हुन्छ । दिनलाई रात पार्ने दुस्प्रयास गर्नु राम्रो होइन । धेरै वर्ष सरकारमा बसेको दलको एक नेताले भनिएका मान्छेले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयको मान सम्मानमा चोट पुग्ने गरी थुतुनो चलाउनु राम्रो होइन । त्यहाँ त्रिभुवन विश्वविद्यालयको नर्मअनुसार पढाइ र परीक्षाको मूल्याङ्कन हुनेछ । त्यहाँ सबै दलका नेता, कार्यकर्ता, जनता, नेपाल सरकार पूर्व र बहालवाला उच्चपदस्थ कर्मचारीका सन्तानहरू पढिरहेका छन् । उनका ती अभिव्यक्तिले त्यहाँ पढिरहेका र पास भई गएका विद्यार्थीहरूको सम्मान र स्वाभिमानमा चोट पु¥याएको छ । बरु अरबौँ अर्ब बजेट भक्तपुरमा ओसारेको धाक लगाउने मनुवाले भक्तपुरको कुनै गाउँमा, नेपालको कुनै दुर्गम गाउँमा भक्तपुर नगरपालिकाले बनाएको भन्दा ठूल्ठूला कलेजहरू खोलेर त्यहाँभन्दा सस्तोमा जनतालाई सेवा दिएर देखाउने आँट गरे भइहाल्यो नि ।
उनले ख्वप इन्जिनियरिङ कलेजलाई लगाएको गम्भीर आरोपको प्रतिक्रियामा जनताले रामवान प्रतिक्रिया दिएका छन् । उनको काम भुक्नु हो भुके । उनले शैक्षिक क्षेत्रमा, जनताको आँखामा ऐनाझैँ छर्लङ्ग सङलो ख्वप इन्जिनियरिङ कलेजलाई धमिल्याउन खोजे, त्यसको फल अहिले उनी भोग्दै छन् । बाँदरले आफू पनि बनाउँदैन अर्काले बनाएको पनि सहँदैन । जनताको रगत पसिनाको करबाट जम्मा भएको अरबौँ अरबौँ मैले ल्याएको भनेर धक्कु लाउने उनले गाउँमा त्योभन्दा ठूल्ठूला कलेजहरू खोलेर निःशुल्क सेवा होइन, त्यहाँभन्दा कम शुल्कमा पढाएर देखाउँदा राम्रो हुन्छ । उनले विकासको नाममा, बाटो बनाउने नाममा जङ्गल मासेर, जथाभावी सांस्कृतिक सम्पदा र पर्ती जग्गा मासेर, डोजर चलाएर कथित विकास गर्नेहरूले संरक्षण दिइरहेका छन् । उनले जङ्गल, पर्ती जग्गा, खोला, पँधेरा, कुवा आदि मासेर जग्गा प्लटिङ गर्न दिएका छन् । त्यसबापत उनले तिनीहरूबाट उपहार, दक्षिणा, भागबन्डा, कमिसन लिइरहेको जनताले आरोप लगाइरहेका छन् । त्यसैले कसैले पनि सङलो पानी धमिल्याउने काम नगर्न र नेपाली माटोको संरक्षण गरी देशभक्त नागरिक बनाउन जनताले सचेत गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *