भर्खरै :

प्रलोभन देखाएर भोट माग्ने प्रवृत्ति नै गलत

मतदाता ढाँटेर, प्रलोभनमा पारेर जनताको मत तान्ने प्रवृत्ति सङ्घीय गणतान्त्रिक नेपालको लागि सुहाउँदैन । पैसा बाँडेर या प्रलोभन देखाएर भोट माग्ने प्रवृत्ति नै गलत छ । पञ्चायतकालदेखि चल्दै आएको यो प्रवृत्ति गणतान्त्रिक सरकारको पालामा पनि देख्नु नमज्जाको विषय हो । नेता तथा कार्यकर्ताहरूले मतदातालाई ढाँट्ने होइन, सिद्धान्त र विचारबाट प्रभावित बनाएर विश्वास जित्ने हो । चुनावमा आचारसंहितामा उल्लिखित रकमभन्दा बढी खर्चेर मतदातालाई आफ्नो हातमा लिने होइन, हातमा लिएर जनताको मन भाँड्ने होइन । दलले उठाएका उम्मेदवारले जनताको विश्वास जित्न व्यावहारिक कुरा गर्नुपर्छ, बनावटी होइन । निर्वाचित हुने जनप्रतिनिधि जनताको सेवामा खटिनुपर्छ । जनताको सेवा गर्न मन नपराउने, झर्कने, धम्काउने जनप्रतिनिधिले जनताको विश्वास जित्न सक्दैन । निर्वाचनमा बढी पैसा खर्च गर्ने उम्मेदवार जितेमा त्यो खर्च भएको पैसा उठाउन अनेक जञ्जिर चुँडालेर पैसामुखी राजनीति गर्छ या पैसा कमाउने धन्दामा लाग्छ । पैसाको निम्ति राजनीति गर्ने निर्वाचित जनप्रतिनिधिले कसरी जनताको सेवा गर्छ या समुदायको हितमा काम गर्छ ? जनतालाई झुक्याउने र दुःख दिने प्रवृत्तिमा प्रजातन्त्र प्राप्त भएको दशकौँपछि पनि किन दोहोरिरहन्छ ? यसरी ठूला दल या सत्तासीन दलका नेताहरू शुद्ध राजनीति गर्दैनन् । ठूला दलहरूको त्यस्तै विचार र कार्यशैलीले गर्दा नेपाल मजदुर किसान पार्टीले सिद्धान्त र विचारलाई जोड दिँदै आएको हो । खोटो विचार र सिद्धान्तको विरोध हुँदै आएको हो ।
गलत राजनीति गरेपछि जनताको विश्वास घट्नु स्वाभाविक हो । जनतामा राजनीतिप्रति चिन्ता नहुनु या वितृष्णा फैलिनुको कारण पनि जनताको भावनाअनुसार काम नगरी व्यक्तिगत स्वार्थमा भुल्नु हो । कतिपय मतदाताहरू निरास हुन्छन् र भन्छन्, दलका उम्मेदवारहरूले इमानदारीपूर्वक काम गरेनन् ।
यसकारण, राजनीतिमा या जनताबीच खटिएर जाने काममा जोश, जाँगर भएका योग्य तथा अनुशासित कार्यकर्ताको खोजी भएको हो । मतदाताले दलीय उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको खोजी गर्नु राम्रो सङ्केत होइन । बहुदलीय व्यवस्थामा दलहरूप्रति चासो कम भएमा या स्वतन्त्र उम्मेदवार छान्नुपर्छ भन्नेतिर लागेमा दलीय व्यवस्थाको के अर्थ रह्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *