भर्खरै :

अमेरिकी रक्षा मन्त्रालयको वेबसाइटमा नेपाल ‘एसपीपी’ को साझेदार

 
काठमाडौँ, १ असार । इन्टरनेटको भित्तामा अमेरिकी रक्षा मन्त्रालयअन्तर्गत पर्ने न्यासनल गार्ड ब्युरोले बनाएको एउटा आधिकारिक नक्सा पाइन्छ । नक्साले १ जनवरी २०२२ सम्ममा अमेरिकाको ‘एसपीपी’ कार्यक्रममा संसारभर कुनकुन देश सहभागी भएका छन् भन्ने जानकारी दिन्छ । अमेरिकी सेनाका ६ वटा कमान्डले ओगट्ने ८५ वटा देशलाई ‘एसपीपी’ कार्यक्रमका ‘साझेदार’ (पार्टनर) भनिएको छ । त्यसमध्ये ‘इन्डो–प्याकम’ अर्थात् हिन्द–प्रशान्त कमान्डमा १३ वटा देश देखाइएको छ । जसमध्ये नेपाललाई सन् २०१९ मा अमेरिकाको युटाह राज्यको साझेदार देश बनेको भनी अङ्कित गरिएको छ । देशलाई ‘एसपीपी’ सम्झौतामा लैजाने वा नलैजाने भन्ने बहस चलिरहेको बेला अमेरिकी रक्षा मन्त्रालयको आधिकारिक वेबसाइटले नेपाल ‘एसपीपी’ को साझेदार भएको जनाइसकेको छ । अमेरिकाले प्रस्ताव गरेको ‘एसपीपी’ सम्झौताका बुँदाहरू अखबारमा आएका छन् । यहाँ ‘एसपीपी’ को अनुभवबारे छोटो चर्चा गरिनेछ ।
‘एसपीपी’ कार्यक्रम सन् १९९३ मा संरा अमेरिकाले सुरु गरेको कार्यक्रम हो । सोभियत सङ्घबाट छुट्टिएका देशहरूलाई सैन्य तालिम दिएर ती देशलाई उत्तर एटलान्टिक सन्धि सम्झौता (नेटो) को सदस्य बनाउने लक्ष्य लिएर उसले यो कार्यक्रम सुरु गरेको थियो । त्यसबेला यो कार्यक्रम १३ देशले लागु गरेका थिए । त्यसमध्ये कजाखस्तानबाहेक सबै देश युरोपेली थिए । अन्ततः अमेरिकी योजना सफल भयो । कजाखस्तान र युक्रेनबाहेक बाँकी ११ वटा देशहरू नेटोका सदस्य बने । ती देश थिए – बुलगेरिया (२००४), चेक गणतन्त्र (१९९९), इस्टोनिया
(२००४), हंगेरी (१९९९), लाटभिया
(२००४), लिथुवानिया (२००४), उत्तरी म्यासेडोनिया (२०२०), पोल्यान्ड
(१९९९), रोमानिया (२००४), स्लोभाकिया (२००४) र स्लोभेनिया
(२००४) । ‘एसपीपी’ कार्यक्रममा साझेदार देशलाई सघन सैन्य तालिम दिइन्छ र तिनलाई नेटो देशका सहयोगी देशमा फेरिन्छ । कतिपय देश नेटोकै सदस्य बनेका छन् । ‘एसपीपी’ को सहयोगबाट नेटोसम्म पुग्ने अन्य देश यसप्रकार छन् – अल्बानिया
(२००१ मा साझेदार, २००९ मा नेटो सदस्य), क्रोएसिया (१९९६ मा साझेदार, २००९ मा नेटो सदस्य) र मोन्टेनिग्रो
(२००६ मा साझेदार, २०१७ मा नेटो सदस्य) । यसरी नेटोका झन्डै आधा देशहरू ‘एसपीपी’ कार्यक्रममार्फत नेटो सदस्य बनेका हुन् । तर, सत्ताधारीहरूले चाहेर पनि नेटो बनाउन नसकेको देश युक्रेन हो ।
सन् १९९३ मा अमेरिकी राज्य क्यालिफोर्निया र युक्रेन ‘साझेदार’ बने । क्यालिफोर्नियाका राष्ट्रिय दस्ता वा ‘न्यासनल गार्ड’ का सैनिकहरू युक्रेन आउजाउ गर्न थाले । ‘राष्ट्रिय दस्ता’ नियमित सेना होइन । यो एकप्रकारको मिलिसिया वा नागरिक सेना हो । यसलाई जानकारहरूले संसारकै सबैभन्दा ठूलो ‘जगेडा सेना’ भनेका छन् । गत २९ वर्षमा यस दस्ताले युक्रेनमा ३३० भन्दा बढी संयुक्त सैन्य अभ्यास गरेको छ । दुई देशका सैनिकहरू दर्जनौँपल्ट एकअर्काकहाँ आउजाउ गरेका छन् । ‘राष्ट्रिय दस्ता’ एक स्थायी सेना हो । त्यसैले गत ३ दशकमा युक्रेनी अफिसरहरूसँग यसका अधिकारीहरूको व्यक्तिगत हिमचिम बाक्लिएको छ । उनीहरूबीच अझै पनि दैनिकजसो सूचना आदानप्रदान हुन्छ । सुरुदेखि नै ‘एसपीपी’ कार्यक्रममा संलग्न क्यालिफोर्नियाका मेजर जनरल बाल्डविनले यस्तो आदानप्रदान भिडियो कनफ्रेन्स, फोन र म्यासेजको माध्यमबाट हुने बताए । कहिलेकाहीँ लडाइँको मैदानबाटै टोली नेताहरूले आफूलाई फोन गरेको उनले बताएका छन् । अमेरिकी अधिकारीहरू ‘राष्ट्रिय दस्ता’ मार्फत बन्ने यसखाले ‘नागरिक तह’ को सम्बन्धबाट लोभिएका छन् । अमेरिकन होमफ्रन्ट प्रोजेक्टका लागि पत्रकार जे प्राइस लेख्छन्, “रुसविरूद्ध युक्रेनको सैन्य सफलतामा रक्षामन्त्रालयको कम परिचित कदमको ठूलो हात छ । राज्यका ‘राष्ट्रिय दस्ताहरू’ को अगुवाइमा ती कदमहरू चालिएका थिए ।” उनी ‘एसपीपी’ कार्यक्रमलाई “विश्वमा अमेरिकी मूल्यमान्यता फैलाउने कूटनीतिको सशक्त माध्यम” भन्छन् ।
‘एसपीपी’ ले अमेरिकी रक्षा मन्त्रालय र विदेश मन्त्रालयबीच रहेर काम गर्छ । अमेरिकाका ५० वटै राज्यका ‘राष्ट्रिय दस्ता’ ले ‘एसपीपी’ मा भाग लिएका छन् । युक्रेनबाट हौसिएर पेन्टागनले सन् २००६ मा नाइजेरिया हेर्ने जिम्मा पनि क्यालिफोर्नियाकै ‘राष्ट्रिय दस्ता’ लाई दिएको छ । हाल पेन्टागनले वर्षको झन्डै २ करोड ६० लाख अमेरिकी डलर ‘एसपीपी’ कार्यक्रमको लागि छुट्याउने गरेको छ । यस्तै सहयोगले अहिले पेन्टागनले ६ वटै कमान्डमा आफ्ना साझेदार खडा गरेको छ । सुरुमा रुस नचिढियोस् भनेर सौम्य शक्ति वा ‘सफ्ट पावर’ को रूपमा ‘राष्ट्रिय दस्ता’ को प्रयोग गरेको अमेरिकी रक्षा मन्त्रालयले पूर्वी युरोपको अनुभवबाट उत्साहित बनेर ‘एसपीपी’ कार्र्यक्रम विश्वभरि लागु गर्दै छ । सन् १९९३ यता यसलाई युरोप कमान्ड (२३ देश) र मध्य–एसिया कमान्ड (८ देश) मा लागु गरिएको छ । सन् १९९६ यता यसलाई दक्षिण–अमेरिकी कमान्ड (२४ देश) मा लागु गरिएको छ । सन् २००० यता यसलाई प्रशान्त कमान्ड (नेपालसहित १३ देश) मा लागु गरिएको छ । हाल यो कमान्डको नाम हिन्द–प्रशान्त कमान्ड राखिएको छ । सन् २००३ यता यसलाई अफ्रिका (१६ देश) मा लागु गरिएको छ । सन् २००५ मा यसलाई उत्तर–अमेरिकी कमान्ड
(बहामास) मा लागु गरिएको छ । अनौठो कुरा के छ भने ‘एसपीपी’ कार्यक्रम अपनाउने देशहरूको सङ्ख्या बढिरहेको छ । ‘नेटो डिभेन्स कलेज’ का प्राध्यापक डा. समिर ब्याटिसले अमेरिकाले ‘तटस्थ’ देशहरूलाई ‘एसपीपी’ को ‘साझेदार’ बनाउने गरेको खुलाएका छन् । एसियाली ‘साझेदार’ देशहरूले चीनलाई तारो बनाउनुपर्ने अमेरिकी युद्ध व्यापारीहरूको प्रस्ताव छ ।
डा. समिरको अध्ययनपत्रले ‘एसपीपी’ बारे धेरै कुरा भन्छ । उनको अध्ययनपत्रको सार यस्तो छ –
“पछिल्ला वर्षहरूमा आतङ्कवाद, मानव तस्करी, लागु पदार्थ ओसारपसार र अन्य सीमापार अपराधहरू बढेका छन् । यिनलाई नियन्त्रण गर्न नसक्ने ‘असफल राज्यहरू’ शीतयुद्धपछिको कालखण्डमा पश्चिमा मुलुकहरूको निम्ति खतरा बने । यसको लागि विश्वभरि सैन्य गतिविधि बढाउनुपर्छ । सोभियत सङ्घको विघटनपछि उसका सहयोगी देशहरूलाई आफ्नो पोल्टोमा पार्न नेटोलाई ‘एसपीपी’ जस्ता कार्यक्रमहरूले निकै सघाएका छन् । सैन्य आँखाबाट हेर्दा ‘एसपीपी’ र नेटोले चलाउने ‘साझेदारी कार्यक्रम’ बीच गजबको सामञ्जस्य छ । खासमा ‘एसपीपी’ ले नेटोलाई फैलाउन सघाउँछ । ‘एसपीपी’ ले ‘नागरिक तह’ को सम्बन्ध बढाउँछ । ससाना सैन्य टुकडीको आदानप्रदानबाट यो कार्यक्रम सुरू हुन्छ ।
सानो विषयबाट फैलिँदै यसले तत् देशको सम्पूर्ण सुरक्षा निकायमा पकड जमाउँछ । यसैगरी १० वर्षभित्र यस कार्यक्रममार्फत पूर्वी युरोपका देशहरूलाई नेटो सदस्य बनाउन सकियो । अहिले विश्वको परिस्थिति फेरिएको छ । अनिश्चयको युग छ । कमजोर देशका परम्परागत, अनियमित र सङ्कटापन्न स्थितिले पश्चिमा मुलुकहरूको स्वार्थमा ठेस पुगेको छ । विश्वव्यापीकरणले ल्याएका समस्याहरूले असहज र अस्थिरता फस्टाउनेछ । यसलाई सन्तुलनमा ल्याउन पश्चिमा शक्तिहरूले ‘कठोर कदम’ पनि चाल्नुपर्ने हुनसक्छ । तर, ‘नरम कदम’ बाटै सुरु गर्नुपर्छ । दोस्रो चरणमा तालिम प्राप्त देशका सुरक्षा दस्ताहरूलाई तेस्रो देशमा पठाउन सकिन्छ । जस्तोः फ्रान्स, इटली, स्पेन, नेदरल्यान्ड र पोर्चुगलका ‘जन्डामरे दस्ताहरू’ लाई यो काममा खटाउन सकिन्छ । साथै, बदलिँदो परिस्थितिमा ‘एसपीपी’ कार्यक्रमको बजेट सानो हुने र यसले गर्दा साँघुरिने उसको दायरालाई अझ बढाउन आवश्यक छ । अलि आक्रामक शैलीमा जानुपर्छ ।”
जर्नेल चाल्र्स ए फ्लिनको नेपाल भ्रमणसँगै बाहिरिएको ‘एसपीपी’ कार्यक्रमको प्रस्तावका १० धाराहरूमा डा. समिरको ‘आक्रामक शैली’ स्पष्ट देखिन्छ । यससँगै देशलाई ‘एसपीपी’ को आँगनमा पु¥याउने ‘एमसीसी’ का मतियारहरू र तिनका मालिकहरूविरूद्ध सङ्घर्षको अर्को चरण सुरु भएको छ ।
सन्दर्भ सामग्री
१. समिर ब्याटिस । नेटो मिलिट्री पार्टनरसिप्स ।
२. जे प्राइस । अ लङ पार्टनरसिप ।
३. स्टेफेन विल्सन । न्यासनल गार्ड स्टेट पार्टनर्सिप प्रोग्राम्स ।
४. ‘न्यासनल गार्ड’ को वेबसाइटमा प्रकाशित नक्सा, तथ्याङ्क र समाचारहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *